धादिङ- देशका ४ हजार पालिकालाई घटाएर ७५३ मा झार्दा धादिङका खरी, ढोला, मैदी र चैनपुरसमेत चारवटा गाविसले आपसमा मिलेर ‘जलमुखी गाउँपालिका’ बनाउने सहमति गरे । ‘जलमुखी’ नाम प्रस्ताव गरेर माथि पठाइयो । तर, सिंहदरबारका कर्मचारीले कलम घुमाएर ‘जलमुखी’लाई ‘ज्वालामुखी’ बनाइदिए ।
अहिलेसम्म यो गाउँपालिकाको नाम ‘प्रुफ मिस्टेक’ भएर ‘ज्वालामुखी गाउँपालिका’ नै रहेको छ । स्थानीय तहले नेतृत्व पाएको दुई कार्यकाल बित्यो तर दुईटा अक्षर सच्याउन सिंहदरबारले अहिलेसम्म टेरेको छैन । गाउँगाउँमा सिंहदरबार पुग्यो भनिए पनि पालिकाको अशुद्ध नामसमेत सच्याउन नसकेको वैरागलाग्दो स्थिति छ ।
काठमाडौंको छिमेकी जिल्ला धादिङमा पर्ने यो गाउँपालिकाको दुःखान्त कथा अर्को पनि छ । पञ्चायतकालमा भूमिगत गिरोहले देशका मूल्यमान मूर्तिहरु चोरेर विदेशमा बेचेको हामी सबैले सुनेकै हौं । तर, यस गाउँका बासिन्दाले आफ्नै गाउँबाट ३२ धार्नी (करिब ८० किलो) को बडेमानको घण्टी चोरी भएको पीडा प्रत्यक्ष अनुभूत गरेका छन् ।
त्यति ठूलो घण्टी हराएको अहिले ३३ वर्ष बितिसक्दा पनि अत्तोपत्तो छैन ।
गाउँ वस्ती डुल्दा कथाहरु प्रशस्त भेटिन्छन् । त्यहाँ इतिहास पाइन्छ । समाज, संस्कृति र अर्थतन्त्रको अध्ययन गर्न पाइन्छ । आखिर के छैन गाउँमा ?
आउनुहोस् हामी तपाईलाई धादिङको ज्वालामुखी गाउँपालिकामा रहेको ‘जलमुखी माई’को कथा सुनाउँछौं–
धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका वडा नम्बर ६ मा पर्ने ऐतिहासिक धार्मिकस्थल हो, जलमूखी मन्दिर । मन्दिरको आधाजसो भाग धादिङकै नीलकण्ठ नगरपालिकातर्फ पर्छ भने बाँकी भाग ज्वालामुखी गाउँपालिकामा पर्छ । यही मन्दिरले दुई पालिकाको सीमाना छुट्याएको छ ।
जलमूखी मन्दिरको उत्पत्तिको किंवदन्ती र स्थापनाको इतिहास रोचक छ ।
जलमूखीमाई उत्पत्तिको किंवदन्ती
जलमूखी देवीको अस्तित्व कहिलेदेखि आयो भन्ने आधिकारिक प्रमाण छैन । तर, स्थानीयरूपमा प्रचलित किंवदन्तीले हामीलाई चार सय वर्षअघि लान्छ ।
लगभग चार सय वर्षपहिले (हाल मन्दिर रहेको डाँडाभन्दा पश्चिमतर्फ) साबिकको चैनपुर गाविसस्थित सुनखानी गाउँका एकजना विश्वकर्मा बुढा अरू बेलाजस्तै पानी भर्न कुवामा गए ।
बिहान सबेरै पानी भर्न गएका उनले गाग्री कुवामा डुबाएर पानी उबाउने कोसिस गरे । गाग्री कुनै कडा चट्टानसँग ठोकिन पुग्यो र गाग्रीको मुखले एउटा शिला बाहिर निकाल्यो ।
उनले त्यस शिलालाई कुवाको माथितिर फ्याँकिदिए र पानी लिएर घरमा गए ।
अर्को बिहान पनि उनी पानी भर्न गए । तर, अघिल्लो दिनकै घटना दोहोरियो । कोही गोठाला वा उरन्ठेउला मान्छेले कुवामा ढुङ्गा फालिदिएछन् भनेर पुनः त्यस शिलालाई उनले निकै टाढा हुत्याइदिए र पानी लिएर घर फर्के ।
यो प्रक्रिया तेस्रो दिन पनि दोहोरियो । उनी आश्चर्यचकित भए । तेस्रो शिलालाई कुवाको माथिपट्टि राखेर उनी पानी लिई फर्किए ।
त्यो साँझ उनले सपना देखे ।
सपनामा देवीले दर्शन दिइन् र भनिन्– म जलमुखी हुँ । तिमीले पटकपटक निकालेर फालेको शिला मै हुँ । मलाई उच्चस्थानमा राखेर पूजाआजा गरेमा यहाँका सबैको कल्याण गर्नेछु ।
बिहान उनी पहिलेजस्तै कुवामा गए । उनले अघिल्लो दिन कुवामाथि राखेको शिला फेरि कुवामै भेटियो । उनले त्यस दिन शिलालाई दर्शन गरे र पानी भरेर फर्केपछि गाउँका ठूलाबडालाई भेला गरी तीन दिनदेखिको घटना र सपना सुनाए ।
सबै गाउँलेहरू जम्मा भएर कुवामा गए । उनीहरूले वेद मन्त्रोच्चारणसहित शिलालाई डोलीमा राखेर पञ्चेबाजा बजाउँदै माथिको डाँडामा लगे र एउटा विशाल सालको फेदमा शिला राखेर नित्य पूजाआजा गर्न थाले । जलको मुखबाट निस्किएको शिलालाई सालको रूखमुनि स्थापना गरी लामो समयसम्म पूजापाठ गरिँदै आएको किंवदन्ती छ ।
साहित्यकार दैवज्ञकेशरीका पालामा बन्यो मन्दिर
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई सहयोग गर्ने पण्डित चक्रपाणि अर्ज्याल (अर्याल) ले साबिकको चैनपुर गाविसस्थित सुनखानी (हालको पालिका केन्द्र) मा बिर्ता पाएका थिए । पछि उनका कान्छा छोरा दैवज्ञकेशरी अर्ज्याल धादिङ आई बसोबास गरे । उनैका पालामा सालको फेदमा रहेको जलमूखीको शिलालाई मन्दिर बनाएर संरक्षण गर्ने कार्य भएको गाउँलेको भनाइ छ ।
इतिहास शिरोमणि बाबुराम आचार्यद्वारा लिखित पुराना कवि र कविता पुस्तक अनुसार, विसं १८६३ मा दैवज्ञकेशरी काठमाडौंबाट निकाला भई सुनखानी गाउँमा आफ्नो बिर्तामा गएर बसेका थिए, त्यहीँ विद्यारण्यकेशरीको जन्म भएको थियो ।
अर्कोतर्फ, पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सञ्चालन गर्दा उनलाई सहयोग गर्ने पण्डित चक्रपाणि अर्याललाई सुनखानीमा बिर्ता दिएका र पछि पण्डित चक्रपाणिले आफ्नो कान्छो छोरा दैवज्ञकेशरी अर्ज्याललाई बिर्ता पाएको स्थानमा ल्याएको अनि दैवज्ञकेशरीले त्यसै स्थानमा बस्ने इच्छा राखेको समेत वर्णन भेटिन्छ ।
इतिहासमा सुनखानी नजिकको जग्गा गोविन्द उपाध्यायलाई कुशविर्ता गरी श्री ५ गीर्वाणयुद्धविक्रम शाहबाट प्रदान गरिँदा दैवज्ञकेशरीको नाम उल्लेख हुनुले उनीहरू कुन समयमा यहाँ रहेका थिए भन्ने कुरा प्रमाणित हुन पुग्छ ।
अर्याल बंशको कथा
गोरखाका शाहवंशीय राजाहरूको राज्य सञ्चालन तथा एकीकरणमा अर्याल वंशको मनग्ये योगदान भेटिन्छ । गोरखा राज्यका संस्थापक राजा द्रव्य शाहको दरबारका गुरु पं. नारायणदास अर्ज्यालले द्रव्य शाहलाई राजा बनाउन ठूलो भूमिका खेलेका थिए । त्यसपछि तीन सय वर्षसम्म अर्ज्यालहरूले गोरखा दरबारमा राजपुरोहितका काम गरे । यस अर्ज्याल वंशमा धेरै विद्वान् ज्योतिषी र कविहरू पैदा भए, जसमध्ये एक दैवज्ञकेशरी अर्ज्याल हुन् ।
दैवज्ञकेशरी अर्ज्यालको जन्म वि.सं. १८२५ मा भएको मानिन्छ । अर्ज्यालबाट नै धादिङको साहित्य सृजन परम्परा सुरुवात भएको हो, यद्यपि नेपालको प्रथम कविता– ‘पृथ्वीनारायण (राजैभक्तिकृत)’ कविता (रचनाकालः १८२६) का रचयिता सुवानन्द दास हुन् । दासका अन्य कविता नभेटिएको हुँदा अर्ज्यालद्वारा ‘गोरक्ष योगशास्त्र (१८७७)’ र ‘अश्व शुभाशुभ परीक्षा’ नामक दुईवटा कृति नै धादिङका पहिला कृतिहरू हुन् भनी दावा गर्न मिल्छ ।
वि.सं. १८३९ तिरको मानिएको कवि दैवज्ञकेशरी अर्यालद्वारा लिखित ‘अश्वशुभाशुभ परीक्षा’ लाई नेपाली खण्डकाव्यको पहिलो स्वरूप मानिन्छ ।
विभिन्न खोज तथा अनुसन्धानमा दैवज्ञकेशरी अर्ज्यालभन्दा पूर्ववर्ती साहित्यकार नभेटिएकाले यिनी नै धादिङका प्रथम साहित्यकार हुन् भनी किटान गर्न सकिन्छ । त्यसपछि वि.सं. १८६३ मा जन्मिएका उनैका छोरा विद्यारण्यकेशरी अर्ज्यालले सुनखानीमा बसेर युगल गीत, द्रौपदीस्तुति र वंशीचरित्र रचना गरेको पाइन्छ ।
स्मरण रहोस्, देवीको मन्दिरमा चढाएको घण्ट (हाल चोरी भइसकेको) मा समेत दैवज्ञकेशरीको नाम उल्लेखित थियो । उनले वि.सं. १८५७ को दशहरा तिथिका दिन मन्दिरमा चढाएको घण्टमा उल्लेखित व्यहोरा यसप्रकार छ –
(स्रोतः रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण (०३२ साल), पुरातत्त्व विभाग)’
यस घण्टको घेरोमा लेखिएको घण्टाभिषेकका सम्बन्धमा अध्येता हरि खनाल लेख्छन्, ‘लेखकले जलमूखीको अध्ययनको क्रममा घण्टको समेत अवलोकन गरी त्यसमा कुँदिएका श्लोकहरूको व्यापक अर्थ खोजेको थियो । घण्टको घेरोमा लेखिएको श्लोक टिपोट गरेर छलफल गर्दा उक्त घण्ट वि.सं. १८५७ को दशहरा तिथिका दिन दैवज्ञकेशरी अर्यालले चढाएको निष्कर्ष निकालियो ।
स्थानीय अर्यालहरूका अनुसार (नोदराज र नर्मराज), दैवज्ञकेशरी अर्ज्याल वि.सं. १८५० पछि नै त्यस स्थानमा आएका थिए भन्ने भनाइले यस कुरालाई पुष्टि गर्न आधार दिन्छ ।
घण्ट मन्दिरको निर्माण सकिएपछि चढाइएकाले मन्दिर निर्माण पनि वि.सं. १८५६/५७ मा सम्पन्न भएको अनुमान गर्न सकिन्छ र यसको निर्माणमा प्रधानमन्त्री भीमसेन थापासँग सहयोग लिने कार्य दैवज्ञकेशरीबाट नै सम्भव भएको अनुमान गर्न सकिन्छ ।
(स्रोतः मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरोः धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, पर्यटकीय विम्बचित्रमा धादिङ)
तर, इतिहास शिरोमणि आचार्यले ‘वि.सं.१८६३ मा दैवज्ञकेशरी काठमाडौंबाट निकाला भएका कारण..’ भनेकाले खनाल र आचार्यको भनाइ परस्परमा काटिन पुग्छ । किनभने, बाबुराम आचार्यले बताएबमोजिम वि.सं. १८६३ मा काठमाडौंबाट निकालिएका दैवज्ञकेशरीले वि.सं. १८५७ को दशहरा तिथिमा धादिङ आई जलमूखीमा घण्ट चढाउन मिल्दैन ।
खनालको तर्कलाई विभागको अनुसन्धान भ्रमणले समर्थन भने गरेको छ, किनभने, उसले ‘वि.सं. १८५७ मा दैवज्ञकेशरीले चढाएको घण्टको घण्टाभिषेक’को व्योहरा लिखितरूपमा उतारी प्रकाशितसमेत गरेको छ ।
इतिहासले बहुमतलाई कदर नगर्ने हुँदा दैवज्ञकेशरी काठमाडौंबाट सुनखानी आइपुगेको वास्तविक मिति र कारण पत्ता लगाउन सकेमा मात्रै यो ६ वर्ष अन्तरालको साँचो छिनोफानो सम्भव छ । साथै, यस विवादबाट दैवज्ञकेशरी सुनखानीमा जन्मिएका नभई यहाँ आएर साहित्य साधनामा जुटेको प्रष्ट हुन्छ ।
(स्पष्टोक्तिः विभाग एवं हरि खनालले प्रत्यक्ष देखेका, पढेका घण्टाभिषेकसहितको ऐतिहासिक घण्ट २०६० सालको कात्तिक महिनामा चोरी भइसकेको हुनाले हामीसँग यतिबेला एउटा निचोडमा पुग्नुपर्ने बाध्यता आइपरेको छ ।)
पुरातत्व विभागले अनुसन्धान भ्रमण नै गरेको हुँदा हामीले ‘वि.सं. १८५७ मा दैवज्ञकेशरीले चढाएको घण्टको घण्टाभिषेक’लाई आधिकारिक मान्नु उचित हुन्छ । यद्यपि यस सम्बन्धमा ठोस अध्ययनको खाँचो छ ।
जे होस्, थप अनुसन्धान नभएसम्मका लागि धादिङका प्रथम साहित्यकार दैवज्ञकेशरी अर्ज्यालले तत्कालीन समयका प्रधानमन्त्री भीमसेन थापासँग सहयोग लिई जलमुखी मन्दिर निर्माण गरेका हुन् भन्न सकिन्छ।
भीमसेन थापाले बुङ्कोटघाटमा सत्तल, कालिका, शिवालय सत्तल, खरिकोट (त्रिपुरासुन्दरी माइको थान) लाई गुठी बक्सिस एवं माथिल्लो हटियामा भीमसेनस्थान निर्माण आदि गरेको देखिन आएकाले त्यहीबेला दैवज्ञकेशरी अर्ज्यालको सल्लाहमा जलमुखी मन्दिर निर्माणलाई अगाडि बढाएका हुन् भन्न सकिन्छ ।
दैवज्ञकेशरीको राजघरानासँग सम्बन्ध भएको र छिमेकी स्थान (गोरखा) का व्यक्ति जनरल भीमसेन थापाको राजकाजमा प्रमुख वर्चस्व कायम भएका बेला गरिएका देशव्यापी पाटीपौवा, मठमन्दिर निर्माणकै क्रममा जलमूखी मन्दिर पनि निर्माण हुनु धेरै सम्भव छ ।
भीमसेन थापाको राजकाजमा प्रमुख वर्चस्व कायम भएका बेलामा उनैको सहयोगमा दैवज्ञकेशरीको अगुवाइ एवं स्थानीयद्वारा जलमूखी मन्दिर निर्माण भएको हुनुपर्छ ।
साथै, मन्दिर बनिसकेपछि घण्टा चढाइने हुनाले वि.सं. १८५७ अघि नै जलमुखी माईको मन्दिर बनेको अनुमान गर्न सकिन्छ । यस हिसाबले जलमूखी शिलाको संरक्षणका लागि मन्दिर निर्माण भएको २२३ वर्ष भएको मान्न सकिन्छ । करिब चारसय वर्षअघिको किंवदन्ती रहेको हुँदा करिब १८७ वर्ष जलमूखी शिला सालको फेदमा नै रहिन् भनेर मान्नुपर्ने हुन्छ ।
घण्ट चोरीको कथा
प्रस्तुत स्पष्टोक्तिपश्चात् हामी चोरिएको घण्टको कथालाई अगाडि सारौँ । जसलाई अध्येता हरि खनालले यसरी चर्चा गरेका छन्–
मन्दिरको ऐतिहासिकतालाई प्रतिनिधित्व गरिरहेको एउटा घण्ट थियो । जुन ३२ धार्नी १ सेर र ४ तोला वजनको थियो । बिहानको नित्य पूजाका क्रममा पुजारीको आगमन र भक्तजनको आगमनलाई त्यही घण्ट रन्किएर सञ्चार गर्दथ्यो । त्यही घण्ट थियो, जसले मन्दिरको निर्माणको इतिहास बताउँथ्यो ।
त्यसै घण्टका आधारमा लेखकले स्थानीय समुदायका जानकारहरूसँग यस मन्दिरको ऐतिहासिकताका विषयमा कुराकानी गर्ने अवसर पाएको थियो । त्यो घण्ट ०६० सालको कात्तिक महिनामा अपराधीहरूको कर्तुतको शिकार भयो ।
मन्दिरमा शून्यता छाएपछि स्थानीय बासिन्दाले घण्ट हराएको शंका गरे । नित्य पूजा गर्न गएका पुजारी घण्ट नदेखेर भावुक भए । तर, पहिलेजस्तै चोरहरू कुनै कानुनी कारबाहीको दायरामा आउनु परेन । घण्ट स्थायी रूपले हरायो । स्थानीयवासीले परम्परागत रूपमा चिन्ता व्यक्त गरे । मन्दिर उजाडियो ।
अचेल साना–साना घण्टहरूमात्र बज्ने गर्छन् । जलमूखीमा अब ३२ धार्नीको घण्टको आवाजले वरिपरिका गाविसहरूमा मन्दिरको चहल पहल सुनाउँदैन ।
हाल मन्दिर परिसरमा साना चारवटा घण्ट झुन्डिएका छन् । भुइँचालोपश्चात् पुनर्निर्माण गरिएको यस मन्दिरले हालसम्म त्यो ऐतिहासिक घण्टको झल्को दिइरहने ज्वालामूखी वडा–३ निवासी रेवतीरमण भट्ट बताउँछन् ।
‘मेरो सालो कृष्ण अर्यालको बिहे त्यही मन्दिरमा भएकाले मलाई त्यस बडेमानको घण्टको तौल राम्रैसँग याद छ’ भट्ट भन्छन्, ‘साङ्लोले बाँधेर राखेको सो घण्ट मैले पनि उचालेको थिएँ, घण्ट उचालेमा गानो गएको बिसेक हुन्छ भनिन्थ्यो । त्यसपछि मलाई गानो गएको छैन, सत् रहेछ ।’
ढलौटको सिंह पनि गायब
चोरिएको घण्टको कथापश्चात् अब हामी चोरिएको ऐतिहासिक ढलौटको सिंहको कथा सुनौं–
पुरानो मन्दिरमा ढलौटको एक विशाल सिंहको मूर्ति थियो । हाल सिमेन्टले कुँदेर सिंह राखिएको छ, तर त्यसलाई ढलौटकै राख्दा उपयुक्त हुन्थ्यो । यो सिंह कसले चढाएको हो भन्नेबारेमा सिंह चढाई समर्पण गर्दाको ताम्रपत्रले यस्तो बताउँछ–
(स्रोत : रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण-२०३२, पुरातत्त्व विभाग)
चिफ कर्णेल गङ्गाबहादुरले वि.सं. १९८६ सालमा ढलौटको सिंह देवीको शरणमा चढाएको व्यहोरा यस ताम्रपत्रले बोल्छ । अध्येता हरि खनालका अनुसार, हाल नित्य पूजा चलाइरहेका लक्ष्मण शाक्यसँग सो ताम्रपत्र रहेको छ ।
दुःखको कुरा, चिफ कर्णेल गङ्गाबहादुरले चढाएको सिंहको मूर्ति अहिले चोरी भइसकेको छ । ढलौटको विशाल सिंहको मूर्ति सँगसँगै मन्दिरबाट जल स्वर्णमुकुट पनि चोरी भैसकेको छ ।
विसं ०३८ सालतिर करिब १५ दिनको अन्तरालमा ती दुवै अमूल्य वस्तु चोरिएको पुजारी लक्ष्मणलाई उधृत गर्दै खनालले उल्लेख गरेका छन् ।
ढलौटको सिंह चोरिएर विदीर्ण भएको मन्दिरमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य श्री हरिबहादुर थापाले हालको सिमेन्ट निर्मित सिंह राख्न लगाएका हुन् ।
जलमूखी माईको नित्य पूजासम्बन्धी लालमोहर
अब जलमूखी माईको नित्य पूजाको व्यवस्थाका लागि भएको लालमोहरका सम्बन्धमा चर्चा गरौं–
यो लालमोहर वैद्य धनराज वाडालाई वि.सं. १८४९ वैशाखमा मा श्री ५ महाराजाधिराज रणबहादुर शाह (१८३४–१८५५) ले बक्सेका हुन् ।
(स्रोतः रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण-२०३२ साल, पुरातत्त्व विभाग)
विभागद्वारा ०३२ सालमा देवीप्रसाद लम्साल, बलराम चित्रकार र राधेश्याम भट्टराईद्वारा रसुवा र धादिङ जिल्लामा अनुसन्धान भ्रमण गरिएको थियो । सो अनुसन्धानपछिको रिपोर्टमा भनिएको थियो, ‘शीलरूप माईको मूर्तिका वरिपरि उनका गण रहेका थिए । ती कुनै अंगप्रत्यंग अर्थात् मूर्ति छन् । कुनै शिला रूपमा रहेका छन् । अग्लो थुम्कोमा अवस्थित सो मन्दिरको भित्रीभाग १.९५÷१.८४ मिटर छ भने बाहिरी घेरा ३.४७र३.४७ मिटरको रहेको थियो । हाल नयाँ मन्दिर नयाँ संरचनामा बनिसकेको हुँदा यसमा फेरबदल आएको छ ।
(स्पष्टोक्तिः विभागद्वारा गरिएको अनुसन्धानमा भ्रमणमा उतारिएको लालमोहर, तामपत्र एवं घण्टाभिषेकमा र सो अध्ययनको व्यहोरामा ‘ज्वालामुखी, ज्वालामाई’ मात्रै भेटिनु दुखःद छ । विभागबाट पुरातात्त्विक अध्ययन गरिँदा यस्ता विवादबारे सम्बोधन नभएको पाइन्छ । सँगै, हामीसँग ऐतिहासिक घण्ट र सिंह दुवै नहुनुले त्यसको तथ्यजाँच गर्न नसकिने अवस्था पनि रहेको छ । तर, त्यसो भन्दैमा जलमूखीदेवीलाई ‘ज्वालामूखीदेवी’ भन्न हतारिनुहुँदैन ।)
पूजा र गुठी
जलमूखीमाईका पुजारी बंश परम्परागत रूपमा बाँडाहरू हुन्छन् । पूजा बिहान–बेलुका अटुट हुन्छ । मन्दिरमा नित्य पूजाआजा चलाउनका लागि दुई किसिमका गुठीहरूको व्यवस्था गरिएको छ । पूजारी र दमाई (बाजे) हरूका निम्ति सरकारी गूठीको राम्रो प्रबन्ध छ । करिब २२४ मुरी माटोको गुठी व्यवस्था भए पनि यसले मन्दिरको संरक्षण तथा संवर्द्धनमा खासै उल्लेख्य काम गरेको देखिँदैन ।
जलमूखीको मन्दिर परिसरमा नित्य पूजाआजा चल्ने व्यवस्था छ । यसबाहेक दसैँका बेला गरिने नवरात्री पाठ र महाअष्टमीमा गरिने बली पनि यस मन्दिरको अर्को विशेषता हो ।
बर्सेनि धान्य पूर्णिमाका दिन विशेष पूजा गर्ने प्रथा हालसम्म छँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमा, पञ्चमीका र फागु पूर्णिमाको साँझ यो मन्दिरमा विशेष मेला लाग्ने गर्छ । मेलामा, काठमाडौं, छिमेकी पालिका र गोरखादेखि नुवाकोटसम्मका श्रद्धालुहरू आउने गर्छन् । कात्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन श्रद्धालु भक्तजनले बाबियोले बनेको डोरीमा रङ्गीचङ्गी फूल उनेर त्यसलाई डोलीमा राखी पञ्चेबाजा बजाउँदै, गाउँदै र नाच्दै मन्दिर आउने चलन छ ।
अन्य श्रद्धालु गृहिणीहरू रातभरि जाग्राम बसेर दियो बाल्छन् । कतिपयले यो मन्दिरमा महाद्विप पनि बाल्दै आएका छन् । मानिसहरू भजन, कीर्तन, नाचगान गर्छन् ।
जलमूखीदेवीका नाममा पूजाआजा तथा गौदान गरेपछि मात्र फूल विसर्जन गरी घर जाने चलन विगतमा थियो । तर, हिजोआज भने ती चलन हराएको स्थानीय बुढापाका बताउँछन् । जाँडरक्सी, होहल्ला र झैँझगडाका कारण पुरनना संस्कार र चलन मेटिँदै गएको उनीहरूको गुनासो छ ।
गोलादेवी
यस मन्दिर पुग्नुअघि विश्वकर्माहरूको सुन्दर बस्तीबाट बायाँ लागेपछि मन्दिरको फेदीमा रहेको मुरलीभञ्ज्याङ पुगिन्छ । साबिकको मुरलीभञ्ज्याङ गाविसको वडा नं. ९ को काफलपानी गाउँमा गुरुङहरूको बाक्लो बस्ती छ ।
मन्दिर उक्लिनुअघि एउटा सानो मन्दिर छ, जसलाई ‘गोलादेवी’ भनिन्छ । गोलादेवी एउटा ठूलो गोलाकार शिला हो । कुनैबेला यो शिला उचाल्दा गानोगोला कम हुने तथा धर्म मिल्ने विश्वास गरिन्थ्यो ।
ठूलो शिला उचाल्दा धेरै जोखिम हुने भएकाले यतिबेला सो शिलालाई गाडेर राखिएको छ र त्यसैमा पूजाआजा गरिँदै आइएको छ ।
गोलादेवी मन्दिरलाई पार गरेर सिँढी उक्लिन थालेपछि जलमूखी मन्दिरको परिसरतर्फ लागिन्छ । सिँढीको उकालो चढ्दा लाग्ने थकानलाई मन्दिर परिसरभित्र पुगेपछि त्यहाँबाट देखिने प्रकृतिको मनोरम दृश्यले बिर्साइदिन्छ ।
वसन्त ऋतुमा फूलेका लालीगुराँसले अलग्गै आनन्द दिन्छ । मन्दिर परिसरमा चल्ने सिरसिर बतासमा सुस्ताउनुको मज्जा बेग्लै हुन्छ ।
मन्दिरबाट गरिने दृश्यावलोकन
जिल्ला सदरमुकाम धादिङवेशीबाट करिब दुई घण्टाको पैदलयात्रा अथवा सवा घण्टाको बस यात्रापछि मन्दिर नजिकै पुग्न सकिन्छ । मन्दिरको तल्लो भागबाट करिब ३० मिनेटको पैदलयात्रा वा साना सवारी साधनमार्फत मन्दिरको पाउमै पुग्न सकिन्छ । त्यहाँबाट करिब सात मिनेट रेलिङसहितको सिँढी उक्लेपछि पहाडको टुप्पोमा रहेको जलमूखी मन्दिर पुग्न सकिन्छ ।
मन्दिर परिसरमा उभिएर आँखु र बुढीगण्डकीको काखमा लम्पसार सुतेको सल्यानटार, धावा लगायत गोरखाका कैयन उत्तरपश्चिमी भूभागका अतिरिक्त धादिङको पुरानो सदरमुकाम सुनौलाबजार, कुम्पुर, नीलकण्ठ, खाल्टे, ढोला, चैनपुर, धुवाँकोटदेखि उत्तरका विभिन्न पालिकाहरू मज्जाले एकसाथ हेर्न सकिन्छ ।
बूढापाकाहरू यहाँबाट चन्द्रागिरिसमेत देखिने बताउँछन् । मन्दिरको परिसरबाट गणेश हिमाल, लाङटाङ हिमाल लगायत अन्नपूर्ण हिमशृङ्खला मुसुक्क हाँसेझैँ देखिन्छ ।
मन्दिर रहेको पहाडको टुप्पो वरिपरि घना सल्लाघारी र गुराँसका बोटले ढाँकेको छ । मन्दिर प्रवेश गर्नुपूर्व फूलपाती चढाउने देउरालीसमेत भेटिन्छ ।
( यो सामग्री ‘मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरोः धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, पर्यटकीय विम्बचित्रमा धादिङ’ नामक पुस्तकमा आधारित रहेर तयार पारिएको हो ।)
यो पनि-
प्रतिक्रिया