बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प « Khabarhub

बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ ।

सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उनको भनाइ छ । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ ।

बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए ।

उनले भने, ‘थामे यतिबेला तनावग्रस्त अवस्थामा छ, यहाँ बत्ती छैन फोन लाग्दैन, टिभी केही छैन सबै बाढीले बगायो, स्थानीयको ज्यानबाहेक सबै बाढीले बगायो, यहाँ असाध्यै गा¥ह्रो छ । पर्यटकीय गाउँ सबै बगायो, देख्दै विरक्ता लाग्दो छ ।’

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच घरपरिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।

उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ ।

बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पाकी मोटरेबल पुलमा सवारी सञ्चालन गर्न नमिल्नेगरी क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ ।

यसैबीच रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगेको छ । शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले बगाएको थामे गाउँको स्थलगत निरीक्षणका लागि काठमाडौँबाट रक्षामन्त्री राईसहित विपद् व्यवस्थापन समितिको टोली थामे पुगेको हो ।

निरीक्षण टोलीमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल, जिल्लाका सांसदलगायत रहेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ११ : ३२ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको