ओलीलाई वर्षमानको सुझाव : शहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस् « Khabarhub

ओलीलाई वर्षमानको सुझाव : शहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ भन्दै हिँडेको टिप्पणी गरेका छन् ।

पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिनँ भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताए ।

‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टाचारीको मुख हेर्दिनँ भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन् । मान्छेहरू भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिनँ भन्नुभएको छैन ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस–एमालेबीच सहमति भएको उनको आरोप छ ।

उनले भुटानी शरणार्थी र गिरीबन्धु टी-स्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्याशित रुपमा कांग्रेस–एमालेबीच गठबन्धन भएको उल्लेख गरे ।

पुनले माओवादी सशस्त्र जनयुद्ध, ०६२–०६३ को संयुक्त आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा कांग्रेस–एमालेलाई रूपान्तरण गरियो होला भन्ने आफूहरूको अनुमान पछिल्ला घटनाक्रमहरूले गलत साबित भएको तर्क गरे ।

‘भ्रष्ट आचरणका कारण जनताबीच डुङ्डुङ् गन्हाएका पुराना पार्टी कांग्रेस–एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौँ। हामीलाई लागेको थियो उनीहरु यहाँसम्म आउँदा केही सुध्रिए होला । तर उनीहरु भ्रष्टाचार, बेथिती र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन् । हामी उनीहरूलाई पुरानै ठाउँमा फर्कन दिँदैनौँ । खबरदारी गर्छौँ’, पुनले भने ।

पुनले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्न आफूहरूले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिए ।

फरक प्रसंगमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरु सरकारबाहिर आउनुपर्दा नआत्तिएको बताए । तर, काँग्रेसकै वरिष्ठ नेताहरुले सरकार सय दिन मात्र टिक्ने बताउन थालेको उनको दाबी छ ।

उनले सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्व र बिचौलियाहरुको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी दिए। पुनले बंगलादेशको राजनीतिक हावा काठमाडौंसहित देशका ठूला शहरमा चल्न थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई सचेत हुन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ८ : २३ बजे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव