अर्थसंक्षेप : १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स खारेज हुने, सुनको मूल्य घट्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स खारेज हुने, सुनको मूल्य घट्यो


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूरसञ्चार कम्पनी एनसेलको आगामी भदौ १५ भित्र नविकरण शुल्कबापत १९ अर्ब नबुझाए लाइसेन्स खारेज हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको छ । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ ।

त्यस्तै, मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व संकलन गरेको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । चालु आर्थिक वर्षमा म्याग्दीका किसानलाई अनुदान वितरण गर्न नौ करोड छ लाख बजेट प्राप्त भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले देशका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको जानकारी दिएको छ । पछिल्लो पटक निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा पर्यटकको रोजाइमा पर्न थालेको छ । त्यस्तै, लगातारको वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडक अवरुद्ध बनेका छन् ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरू : 

भदौ १५ भित्र १९ अर्ब रुपैयाँ नबुझाए लाइसेन्स खारेज !

दूरसञ्चार कम्पनी एनसेलको सेवा सञ्चालन अनुमतिपत्रको म्याद आगामी भदौ १५ गते सकिँदैछ । सो समयभित्र एनसेलले शुल्क बुझाएर नवीकरण गर्नुपर्ने हुन्छ । दूरसञ्चार सम्बन्धी कानुनी व्यवस्थाअनुसार अनुमतिपत्रको म्याद सकिनुभन्दा तीन महिना अगाडि नै तोकिएको शुल्क बुझाएर नवीकरण प्रक्रिया अघि बढाउनुपर्छ । एनसेलले अबको १० दिनभित्र तोकिएको प्रक्रियाअनुसार नवीकरण शुल्क नतिरे लाइसेन्स अर्थात् सेवा सञ्चालन अनुमतिपत्र खारेज हुनेछ ।

वि.सं. २०६१ भदौ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आउनेगरी सेवा सञ्चालन अनुमतिपत्र लिएको एनसेलले शुरुमा १० वर्ष र त्यसपछि ५ वर्ष अवधिका दरले नवीकरण गर्दै आएको छ । यसपटक भने २५ वर्षको सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरेको एनसेलले अन्तिम ५ वर्षको लागि सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गर्नुपर्ने भएको हो । दूरसञ्चार ऐन, २०५३ को दफा २५ मा दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र अवधि र नवीकरणसम्बन्धी स्पष्ट व्यवस्था छ । दूरसञ्चार ऐन, २०५३ को दफा २५ को (२) मा अनुमतिपत्र नवीकरण गर्न चाहने अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रको अवधि समाप्त हुनु अगावै तोकिएको अवधिभित्र अनुमतिपत्र नवीकरणको लागि प्राधिकरण समक्ष दिनुपर्ने व्यवस्था छ ।

वीरगञ्ज भन्सारद्वारा १२ अर्ब १६ करोड राजस्व संकलन

प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत संकलन गरेको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन उत्साहप्रद रहेको बताए ।’ साउन खासै धेरै वैदेशिक व्यापार हुने महिना होइन,’ उनले भने, ‘पहिलो महिनामै १२ अर्बभन्दा धेरै राजस्व संकलन हुनलाई उत्साहजनक मान्नुपर्छ ।’ भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार राजस्व संकलन गरेको थियो ।

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड

स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् ।  सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इन्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो ।

पहिलो वर्ष ३२ हजार छ सय दुई पटक सेवा दिइएको थियो । त्यसबापत अस्पतालले बीमा बोर्डबाट रु एक करोड २८ लाख ९२ हजार दुई सय २० प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७५–७६ मा एक लाख १२ हजार नौ सय ९१ पटक सेवा दिएबापत अस्पतालले रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ प्राप्त गरेको थियो ।

मेची भन्सारको राजस्व १५ प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व संकलन गरेको छ । गत आव २०८०–८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो ।  मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व संकलन भएको थियो ।

‘मेची भन्सारबाट आयात १४ दशमलव ५४ प्रतिशतले बढ्दा निर्यात भने ३३ दशमलव ९८ प्रतिशतले घटेको छ’, उनले भने, ‘चालु आवको साउनमा रु तीन अर्ब ८९ करोड १० लाख ५८ हजार बराबरको मालबस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजारको निर्यात भएको छ ।’ मेची भन्सार कार्यालयको तथ्यांक अनुसार चिया, प्लाइड, भेनियर सिट, मोलासिसको निर्यात क्रमशः ३८ दशमलव ०८, ४३ दशमलव ४९, पाँच सय तीन दशमलव ९७ र सत प्रतिशतले बढ्दा अलैँची ८३ दशमलव २८, अदुवा आठ दशमलव ८६, अम्रिसो २१ दशमलव ८८, छुर्पी ७८ दशमलव ७८ प्रतिशतले घटेको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

आज नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि सोमबार सुन तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

म्याग्दीका किसानलाई नौ करोड अनुदान

चालु आर्थिक वर्ष २०८०–८१ मा यहाँका किसानलाई अनुदान वितरण गर्न नौ करोड छ लाख बजेट प्राप्त भएको छ ।  गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रमार्फत तीन करोड ३३ लाख २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट रु दुई करोड ५२ लाख २१ हजार र संघीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट रु तीन करोड २१ लाख ६८ हजार बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट छिमेकी जिल्ला मुस्ताङ, पर्वत र बागलुङका किसानले पनि सुविधा पाउनेछन् । कूल लागतको ५० देखि ८५ प्रतिशत अनुदान प्राप्त हुने कार्यक्रमका लागि तीन वटै कार्यालयले सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेका छन् । खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताए ।

५३९ पालिकामा पूर्ण विद्युतीकरण, हुम्लामा राष्ट्रिय ग्रीड पुग्न बाँकी

नेपाल विद्युत् प्राधिकरणले देशका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार, १९६ स्थानीय तहमा पनि आंशिक रूपमा विद्युतीकरण भएको छ । १८ स्थानीय तहमा भने नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत् पु¥याउन सकेको छैन । राष्ट्रिय प्रसारण ग्रीड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत र सौर्य ऊर्जा उपभोग गरिरहेका छन् ।

प्राधिकरणले देशभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क, २०८१ अनुसार, कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको हो । विद्युतको पहुँच पुगेको जनसङ्ख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रीडबाट र २ प्रतिशतले ग्रीडभन्दा बाहिर रहेका लघुजलविद्युत, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन् ।

 पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा

झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालिगडले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले खोटाङको ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रूपमै आकर्षक विभिन्न आकृति देखिने ढुङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुङ्गे बगैँचा) निर्माणाधीन अवस्थामा छ ।

लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो । प्राकृतिक रूपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्वार) बनाउने, ढुङ्गेधारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ । हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ ।

पहिरोले कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडक अवरुद्ध

अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ ।

यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिङ्गा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए । सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । उनका अनुसार सडकबाट करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । यता, बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।

वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताए । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : ४९ बजे

‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायाङ्कन सकियो

काठमाडौं- वि.सं २०७२ मा प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को दोस्रो

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

लुक्ला–  ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको

स्पेनी प्रधानमन्त्री सान्चेज भारतमा

नयाँदिल्ली– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले

सुरु भयो अनमोलको ‘जेरी अन टप’को छायाङ्कन

काठमाडौं – नायक अनमोल केसी केन्द्रीय भूमिकामा रहने बताइएको फिल्म

डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान

दमौली – डेङ्गी सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन