एक मूर्तिकारको अपेक्षा : राज्यले राजस्व पाओस् ! | Khabarhub Khabarhub

अर्थ

एक मूर्तिकारको अपेक्षा : राज्यले राजस्व पाओस् !


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली समाजको बहुसङख्यक हिस्साले देवआस्था र पूजाआजाको जीवित संस्कृतिलाई निरन्तरता दिइरहेको छ । हिन्दु र बौद्धदेखि प्रकृतिपूजकसम्मले घर, मन्दिर, थान र पूजास्थलसम्म मूर्ति या देवताका रूपमा विभिन्न भौतिक कलाकृति अनिवार्य प्रयोग गर्छन्‌ ।

पछिल्लो समय त मानिसहरूले घर सजाउनकै लागि भए पनि विभिन्न डिजाइन भगवानका मूर्तिहरू किन्ने गर्दछन् । यस्तै, आफूले मान्ने धर्म अनुसार पनि भिन्न-भिन्न भगवानको मूर्ति खोजिरहेका हुन्छौं ।

यस्तै मूर्ति टुकटुक कुँदिरहेका हुन्छन्‌ गोपी बराइली ! उनले सानैबाट सिकेको सीप नै यही हो । विभिन्न खालका मूर्ति बनाउने र बुट्टा भर्ने काममा पोख्त छन् उनी । आफूले जानेको सीपलाई व्यवसाय बनाएर थुप्रै कामदारहरू पनि राखेका छन् ।

काम गर्न पढ्नैपर्छ भन्ने मान्यतालाई गलत साबित गर्दै पढेर भन्दा पनि परेर धेरै कुरा जानिने कुरामा उनी विश्वास राख्छन् । हरेक दिन बिहान ७ बजे कारखाना आइपुग्ने बराइली दिनभर साथीहरूसँगै काममा तल्लीन हुन्छन्‌ । उनले बनाएका मूर्तिहरू भने देश तथा विदेशमा प्रख्यात छन् ।

परिवारबाटै सिके सीप

गोपीले सानैदेखि कसैले केही गरेको देखे भने त्यसलाई नियालेर हेर्ने गर्थे । मूर्ति बनाउने कुरा त उनका लागि नयाँ नै भएन । किनभने उनका घरपरिवारको जीविकोपार्जन नै लगभग मूर्तिकलामै आश्रित थियो । उनले मूर्ति बनाउने सीप घरबाटै पाए ।

काम सिके पनि पहिले त्यति बनाएनन्‌ । अलि पछि बुबाले काम गर्न नसकेपछि आफैँले घरव्यवहार चलाउनुपर्ने भयो । अब उनले परिवारको जीविकोपार्जनका लागि केही न केही त गर्नैपर्थ्यो । अनेक विकल्पबारे सोचे । अन्तिममा उही पुर्ख्यौली उद्यम मूर्तिकलाबाटै आडभरोषा पाए । गाउँबाट मूर्ति बनाउने अर्डर आयो । अनि बनाउन थाले ।

काभ्रेको पाँचखालमा जन्मिएका गोपीलाई यो व्यवसाय नै बन्छ भन्ने लागेको थिएन । उनले त्यति धेरै औपचारिक अध्ययन गरेका छैनन्‌ । उनलाई सुचना प्रविधिबारे ज्ञान पनि छैन । उनी जान्दछन् त मूर्तिलाई कसरी आकर्षक बनाउने भन्ने मात्रै !

अहिले उनले यही पेसालाई व्यवसाय बनाएर मूर्ति बनाउने उद्योग नै दर्ता गरेका छन् । जसलाई ‘चोली ह्याण्डीक्राफ्ट’को नाम दिएका छन् ।सुरुमा उनले मूर्ति बनाउँदै/बेच्दै गर्दथे । पछि अरूलाई पनि यो पेसाप्रति आकर्षण गराउन उनले उद्योग स्थापना गरेका हुन् ।

उद्योग खोल्न सात लाख रुपैयाँ ऋण

गोपीले राम्ररी जानेको काम मूर्ति बनाउने नै थियो । कसरी काम गर्ने भने ठूलो चिन्तामा थिए । अरूको उद्योगमा जागिर खाने योजना पनि नबनाएका होइनन् । तर, अरूकहाँ काम गरेर मात्रै जीवननिर्वाह नहुने भएपछि आफैँ केही गर्न उनले उद्योग दर्ता गर्ने निणर्य गरे ।

त्यसपछि आफ्नो घरजग्गा धितो राखेर उनले बैंकबाट ऋण लिए । जम्मा ७ लाख रुपैयाँ ऋण लिएर उनले पहिले जमिन भाडामा लिए । टहरो ठड्याए । केही कच्चा पदार्थ किनेर ल्याए ।

सुरुमा बौद्ध गुम्बाहरूमा आवश्यक पर्ने साना स-साना सामग्रीहरू बनाउन थाले । त्यसलाई चाबहिलमा ल्याएर बेच्न थाले । उनले बनाएका सामानलाई पसलेहरूले मन पराए । सामानको अर्डर बढ्दै गयो । उत्पादन बढाउन थाले ।

बनाउँदै जाने क्रममा उनले अझै धेरै सिक्दै पनि गए । सुरुमा उनले एकजना मात्रै साथी राखेर काम थालेका थिए । काम बढ्दै गयो । उद्योगमै आएर भगवानका मूर्ति अर्डर दिन थाले । दुई जना कामदार थपे । मानिसहरूले उनले बनाएका सामानहरूको फिनिसिङ धेरै नै मन पराए ।

धार्मिक मान्छे (विशेष गरेर बौ धर्मावलम्बी)हरू उनको उद्योगमा धाउन थाले । त्यो ठाउँमा मात्रै उत्पादन गरेको सामानले पुगेन । अब उद्योग विस्तार गर्नुपर्ने भयो । नयाँ ठाउँको खोजीमा हिँडे । कोठाभन्दा केही पर एउटा नयाँ भवन भाडामा लिए र कामलाई विस्तार गरे । कामदार पनि थपे ।

अहिले उनको उद्योगमा १० कामदार छन् । उनीहरूसँगै गोपी पनि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्छन् । ‘मलाई काम गर्न अल्छी लाग्दैन, साथीहरूसँगै काम गर्छु । अर्डर जाने दिन त राति १० बजेसम्म पनि काम गर्नुपर्छ । त्यस्तो समयमा त म घर जानै भ्याउँदिन । यहीँ बस्छु रातभर काम गर्छु । एकजना साथी पनि राख्छु । उनीहरूलाई पनि रातमा काम गरेको पैसा दिन्छु,’ गोपी सुनाउँछन् ।

माग धान्नै मुस्किल

गोपीको मूर्ति उद्योगबाट उत्पादित सामानको माग उच्च छ । तर, आर्थिक सङ्कटका कारण उनले माग भए अनुसारको सामान नै पुर्‍याउन सकेका छैनन् ।

विषेशगरी बौद्ध धर्मसँग सम्बन्धित मूर्ति वा पूजाका लागि आवश्यक पर्ने सामानहरू बनाउने गोपीको उद्योगमा दिनहुँ लाखौं रुपैयाँ बराबरका सामानको अर्डर आउँछ । तर, कच्चा पदार्थ किन्ने पर्याप्त रकम नहुँदा सामान बनाएर दिन नसक्ने अवस्था रहेको उनी बताउँछन्‌ ।

‘आफूसँग सीप त छ, तर त्यसको उपयोग गर्न सक्ने पूर्ण आर्थिक आधार छैन । आर्थिक अवस्था कमजोर भएक कारण सोचेजस्तो सामान दिन सकिरहेको छैन,’ गोपी भन्छन् ।

केही अघि उनलाई ३० लाख रुपैयाँ जति लागत लाग्ने मूर्तिका अर्डर आएको थियो रे ! तर, आफूसँग मूर्ति बनाउन आवश्यक कच्चापदार्थ किन्ने रकम नभएका कारण ग्राहक नै फर्काउनुपरेको उनी बताउँछन्‌ ।  सामान अर्डर दिने बिक्रेताहरूले सुरुमा सबै पैसा नदिने र थोरै पेश्कीले मात्रै मूर्ति बनाउने कच्चापदार्थ किन्न नपुग्ने भएकाले आफूले नचाहँदा-नचाहँदै अर्डर फिर्ता गरेको उनले बताए ।

‘ठूलो–ठूलो अर्डर पनि आउँछ, तर हामीसँग बचत रकम नहुने हुनाले अर्डर पूरा गर्नै सक्दैनौँ । बनिसकेपछि त पैसा आउँछ, तर पहिले सामान किन्ने रकम नै नभएका कारण मैले धेरै अर्डर फर्काएको छु,’ उनी भन्छन् ।

मूर्तिमा भगवानका विभिन्न रूपहरू धेरै सामान प्रयोग गरेर बनाइएको हुन्छ । यस्तै, कतिपय मूर्तिमा सुनको मात्र लेपन लगाइन्छ भने कतिमा चाँदी पनि प्रयोग गरिएको हुन्छ । ठूला मूर्ति बनाउन तीनदेखि चार महिनासम्म लाग्ने उनी बताउँछन् ।

यस्ता मूर्तिहरू विशेषगरी विदेश निर्यात गरिन्छ । तर, उनी आफैँले भने अन्य देशहरूलाई बेच्न सकिरहेका छैनन् । किनभने विदेशतर्फ एकैपटक ठूलो परिमाणमा सामान पठाउनुपर्ने हुन्छ । त्यति सामान आफूले एकैपटक बनाउन नसक्ने उनी बताउँछन्‌ । मूर्ति कुँद्न चाहिने लाहादेखि सम्पूर्ण सामानहरूको भाउ महँगो भएको र आफूले पर्याप्त व्यवसाय गर्न नसकेका कारण अलि पछि परेको उनको अनुभव छ ।

काम गर्ने कामदारहरूलाई पनि अगाडि नै आधा तलब दिनुपर्ने भएका कारण बचत गर्न गाह्रो हुने उनी बताउँछन् । आफ्नो जीविकोपार्जनदेखि छोराछोरीलाई शिक्षादीक्षा दिनेसम्मको आधार यही पेसा भएकाले बचत गर्न नसकेको गोपीले सुनाए ।

पाए स्टार्टअप कर्जा

केही समयअघि सरकारले साना उद्योगहरूलाई प्रोत्साहन गर्ने उद्धेश्यले स्टार्टअप कर्जा प्रदान गर्ने घोषणा गरेको थियो । त्यसबारे उनलाई थाहै थिएन ।

एकजना साथीले उनलाई यो सुविधाबारे बताए । उनले पनि फर्म भर्न लगाए । उद्योगको अवस्था हेरेर प्रदान गर्ने उक्त सुविधाअन्तर्गत उनले २५ लाख रुपैयाँ माग गर्दै फर्म भरेका थिए । आठ लाख रुपैयाँमात्रै पाए । सोही रकमबाट उनले उद्योगका लागि नयाँ मेसिन अर्डर गरिसकेका छन् ।
‘मलाई यो कर्जा पाउँछु भनी आश नै लागेको थिएन, पाएँ । त्यसैले उद्योगमा मेसिन ल्याउन अर्डर गरेको छु,’ उनले भने । मेसिन आइसकेपछि काम गर्न अझै सजिलो हुने र अहिलेभन्दा धेरै सामान दैनिक बनाउन सकिने उनको भनाइ छ ।

उद्योग विस्तार गर्ने लक्ष्य

गोपीले बाबुबाजेको पेसालाई अपनाउँदा कामबाट पछुताउनु परेको छैन । यो पेसामा खट्न सक्दा राम्रो कमाइ पनि हुने गरेको छ ।

उनले बैंकबाट लिएको ऋण पनि यही उद्यमबाट भएको आम्दानीले तिरिसकेका छन् । दुई छाक खान पनि धौ-धौ पर्ने उनलाई अहिले त्यस्तो समस्या छैन । त्यसैले उद्योगलाई बढाएर अझै ठूलो बनाउने उनको योजना छ । उनलाई आफूले बनाएका सामानहरू आफ्नै पसल खालेर बेच्ने ठूलो रहर छ ।

‘मलाई आफूले बनाएका सम्पूर्ण सामग्रीहरू आफ्नै पसलबाट बेच्न र ती सामान कसरी बन्छन्‌ भनी राम्ररी बुझाउन मन छ । तर, अहिलेसम्म पसल खोल्न चाहिँ सकेको छैन । एक वर्षअघि चाबहिलमा एउटा पसल हेरेको थिएँ । भाडा धेरै महँगो भनेपछि आँट गर्न सकिनँ,’ उनले भने ।

गोपीले बनाएका मूर्तिहरू चिनियाँहरूले निकै मन पराउने गरेका छन् । अहिले त चिनियाँहरूले आफूलाई भेट्न थालेको उनी बताउँछन् । नयाँ मेसिन आएपछि काम गर्न धेरै सहज हुने र व्यवसाय बढ्ने उनको अपेक्षा छ ।

‘सरकारले यो क्षेत्रलाई चिन्न सकेन’

गोपीले बनाएका ८० प्रतिशभन्दा धेरै मूर्ति तथा सामानहरू विदेश निर्यात हुन्छन् । बौद्ध धर्म मान्नेहरूका लागि नेपाल महत्वपूर्ण स्थल भएका कारण नेपालबाट यस्ता मूर्तिहरू विदेशमा लैजानेहरू धेरै छन्‌ ।

तर, सरकारले भने यो क्षेत्रलाई बेवास्ता गरेको उनको भनाइ छ । महिनौं लगाएर बनाएका मूर्तिको न निश्चित मूल्य छ, न त मापदण्ड नै ! उनलाई मान्छे अनुसार डिल गर्नुपर्दा साह्रै झन्झट लाग्छ ।

‘निश्चित मूल्य भएको भए सामानमा बार्गेनिङ गर्नु पर्दैनथ्यो । तर, सरकारले उद्योगको रूपमा नै हेरेन । यसबाट सरकारले पाउने राजस्व नै बुझेन । यसको फाइदा अन्य देशहरूले उठाइरहेका छन् ।’

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  २ : ०७ बजे

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार सन्