काठमाडौं- घोषणादेखि नै चर्चामा रहको फिल्म ‘होस्टल’को छायाङ्कन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा आइतबार शुभमुहूर्त गर्दै निर्माण पक्ष छायाङ्कनमा निस्किएको हो ।
फिल्ममका मुख्य कलाकार पारस बम ‘कुल ब्वाई’ र सिम्रन पन्तले मुहूर्त सट दिएका हुन् । निर्देशक सशान कँडेलका अनुसार भक्तपुरको बोडेमा पहिलो चरणको छायाङ्कन हुनेछ । त्यहाँ २५ दिनको छायाङ्कन तालिका रहेको उनले बताए । दोस्रो चरणको छायाङ्कन भने तिहारपछि हुने बुझिएको छ ।
यस फिल्ममा पारस र सिम्रनसहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटीलगायतका कलाकार मुख्य भूमिकामा छन् । मुख्य भूमिकामा रहेका धेरैको यो डेब्यू फिल्म हो ।
टिकटकबाट चर्चामा आएका पारस, कलाकार केदार घिमिरे मग्ने बुढाका छोरा आशीष, भोइस अफ नेपालबाट चर्चामा आएका गायक रिहानको यो डेब्यू फिल्म हो ।
त्यस्तै, युट्युबबाट भिडियोबाट चर्चामा आएका पदमले पनि यही फिल्ममार्फत ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् । उनीहरू चारैजना फिल्मको केन्द्रीय भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।
त्यस्तै फिल्मकी नायिका सिम्रनको पनि यो डेब्यू फिल्म हो । उनीसँग केही म्युजिक भिडियो र एक दर्जन विज्ञापनमा काम गरेको अनुभव छ । उनी पनि फिल्मको मुख्य भूमिकामा रहेको बताइएको छ ।
नायक आर्यन सिग्देल होस्टल वार्डेन र नायिका परीक्षा लिम्बू विशेष भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।
यो फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलको हो । होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर-किशोरी र उनीहरूको भविष्यका घटनाहरूमा आधारित कथामा फिल्म बन्न लागेको निर्माण पक्षले जनाएको छ ।
यो फिल्मको प्रदर्शन मिति फागुन १६ लाई तोकिएको छ ।
प्रतिक्रिया