पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ ।

आँबुखैरेनी गाउँपालिकाले वडा नम्बर १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो ।

चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरी ताल निर्माणको काम प्रारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

‘आँधीमूललाई धार्मिक गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित ताल निर्माण सुरु गरिएको छ । चालु  आर्थिक वर्षको अन्त्यसम्म तालले आकार लिने र दोस्रो चरणमा बाँकी पूर्वाधार निर्माणको काम अगाडि बढाउने छौँ’, अध्यक्ष चुमानले भने । उनले पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माण र विद्युत् उत्पादनका निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको बताए ।

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाले यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको र ताल निर्माणपछि आन्तरिक पर्यटक वृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार मन्दिर परिसरमा रहेको पोखरीमा जलदेवताका रूपमा विश्वास गरिने माछा छन् । पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको छ । त्यसैले माछा मरेमा पुजारीले खाल्डो खनेर अन्त्येष्‍टि गर्दै आएको अध्यक्ष थापाले जानकारी दिए ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । यहाँ हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ग्ने कार्य चलिआएको छ ।

जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ ।

पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यो ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको हो । पृथ्वीराजमार्गको सत्रसयबाट साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । त्यसमध्ये करिब एक किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने र बलि दिने प्रचलन पनि छ । धार्मिक तथा पर्यटकीयस्थल भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि पनि यहाँ टाढा–टाढाबाट मानिस आउने गरेका छन् ।

प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचनाले यहाँको सुन्दरतामा थप महत्व थपेको छ । यहाँ तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ५० बजे

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडौं– नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय

रास्वपाको ‘फ्लाइङ किस’ अभियान प्रभाव : रवि- बालेनको गालासम्मै आउन थाले फ्यान

काठमाडौं– नेपाली राजनीतिमा कहिल्यै नदेखिएको ‘फ्लाइङ किस’ अभियान यतिबेला राष्ट्रिय

नवलपुर–२ : रास्वपाका उम्मेदवार मनिषको वाचापत्र सबैभन्दा पहिले आमालाई 

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी

शेखर कोइरालाको प्रतिबद्धता- सुकुम्बासी व्यवस्थापन र विराटनगर चक्रपथ निर्माण 

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६

विद्यालय शिक्षामा ठूला दल : कानुन बनाउने बेला एउटा, घोषणापत्रमा अर्को

काठमाडौं– विद्यालय शिक्षालाई हेर्ने विषयमा दलको व्यवहार र चुनावी घोषणापत्र