पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ | Khabarhub Khabarhub

पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका खेलाडीले मौरिस हर्जोग पदमार्ग र संसारको सातौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरेका छन् । घराम्दीका भलिबल खेलाडीको १९ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलाबाट त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेका फोहर व्यवस्थापन गरेका हुन् ।

कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर जलाइएको सरसफाइ कार्यक्रमको अगुवाइ गरेका धनकुमार पाइजाले बताए । यही असोज १७ गते आधार शिविरतर्फ गएको १९ जनाको टोली आज बिहान फर्किएको छ ।

‘पर्यटक आगमन बढ्न थालेसँगै मौरिस हर्जोग पदमार्गमा फोहर बढ्न थालेकाले सरसफाइका लागि सन्देश दिन कार्यक्रम गरिएको हो’, पाइजाले भने, ‘यहाँको सुन्दरतालाई कायम गर्न फोहर व्यवस्थापनप्रति पर्यटकसहित सरोकार भएका सचेत हुनुपर्ने छ । अहिले गरिएको सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।’

घराम्दी गाउँको विकास र प्रवर्द्धनमा सहयोग गर्दै आएका हाल बेलायत निवासी पाइजा र फगामीले भ्रमण तथा सरसफाइ टोलीको सबै खर्च व्यक्तिगत रुपमा व्यवस्थापन गरेका थिए । आठ हजार मिटर अग्लो पहिलो मानव पाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं–४ मा पर्दछ ।

फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो ।

मौरीस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

गत वसन्तयाममा २५ जनाले अन्नपूर्ण आरोहणको अनुमति लिएका पर्यटन विभागले जनाएको छ । चालु शरदयाममा भने कसैले पनि अन्नपूर्ण आरोहणको अनुमति लिएका छैनन् । मौरिस हर्जोग पदमार्गका अभियन्ता गुरुङले दैनिक जसो आन्तरिक पर्यटकहरू आधार शिविर जान थालेका बताए ।

हुमखोला हुँदै गुरासेडाँडा, फुतफेते झरना, सम्धीखर्क, भुसकेत, नारच्याङ पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामकरण गरिएको उनले जानकारी दिए ।

नारच्याङबाट ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किमी सडकको मार्ग खोलिएको छ । विसं २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सवसमेत आयोजना गरिएको थियो ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्ग मिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँको थप आकर्षणको रुपमा रहेको छ ।

होटल तथा लजको सुविधा नभएको यस पदमार्गमा पदयात्रीले आफैँ खाने सामग्री लैजानुपर्छ । पाँच ठाउँमा आश्रय स्थल निर्माण भएका छन् । अस्ट्रेलियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा आश्रय स्थल, सार्वजनिक शौचालयलगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको रु एक करोड बजेट कार्यान्वयनको तयारी भइरहेको बताए । उनले यस क्षेत्रमा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिने जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १ : ३० बजे

अर्थ मन्त्रालयद्वारा राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाउन स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौं– अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र

प्रधानमन्त्री उद्धार कोषमा एमालेको पनि ५० लाख सहयोग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

पाटन– गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी

हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार

काठमाडौं– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक