ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल « Khabarhub

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ ।

तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो ।

फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार दशैँतिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गर्नेको सङ्ख्या बढ्ने छ ।

सिङ्जेमा ताल फक्ताङ्लुङ–७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ । यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ । समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराइको मापन भने अझै हुन सकेको छैन ।

प्राकृतिक रुपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन् । तालमा भाकलगरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ ।

तालको परम्परागत धार्मिक आस्थाअनुसार, यहाँ पूजा गर्न आउने व्यक्तिले भाकलस्वरुप गरगहना, घडी, औँठी, चुरालगायत वस्तु चढाउने गर्छन । तर, ती भेटी गहनाको उचित व्यवस्थापन नहुनुले यो धार्मिक परम्परालाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता पनि देखिन्छ । सिङ्जेमा तालमा जाँदा स्थानीय परम्पराअनुसार चोखो मुखमा जाने र आफूसँग भएको वस्तु चढाउने चलन छ ।

तालमा पुग्न जिल्ला सदरमुकाम फुङ्लिङदेखि तमोर करिडोरको कच्ची सडकमार्ग हुँदै गाडीमा ओलाङचुङ्गोलासम्म पुग्न सकिन्छ । ओलाङचुङ्गोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुईतीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौँरीगोठमा बास बस्न पुग्नुपर्छ ।

तालक्षेत्र जाने बाटोमा होटल, चियापसलजस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । यसैले यात्राको तयारी आफैँले गर्नुपर्ने हुन्छ । ताल क्षेत्रको कठिन यात्रा भए पनि यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिपूर्ण छ ।

वैशाखदेखि असोजसम्मको समय सिङ्जेमा ताल भ्रमणका लागि उपयुक्त मानिन्छ । यस अवधिमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ । अन्य समयमा भने गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १० : ३३ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका