बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि « Khabarhub

बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् । 

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।

बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहेका छन् । खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने गरेको १८ दिन भएको उनले बताए। 

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण घरखेत सबै बगाएपछि अहिले बस्तीमाथिको लुइचे पाखामा त्रिपालमुनि बस्दै आएका छन्। चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि सो डाँडामा उनीसँगै अरू ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आएका छन् । 

‘असोज ११ गते रातिको बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ’, फुलबहादुरले भने, ‘खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ ।’ बाह्र जनाको परिवार रहेको उनको सातजनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढिले बगाएको छ ।

.बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले तत्कालका लागि आश्रयस्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उनीहरुको भनाइ छ ।

पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिएरहेका छन् ।

गाउँले जीवन, सम्पत्तिका नाममा रहेको त्यही सानो घर, नजिकै वस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ । बालबालिकासमेत बिचल्लीमा छन् । बाढीबाट विस्थापित ती परिवार अहिले माथि रहेको लुइचे पाखामा एउटै त्रिपालको अस्थायी बासस्थानमा गुजारा चलाउँदै आएका छन् ।

खानीखोला गाउँपालिका–६ का राजन अधिकारी सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दैआएका बताए। ‘नौ बालबालिका त एउटै त्रिपालमुनि बसेका छन्’, उनले भने।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले कुलेखानी ड्यामबाट बगेको पानीले बागमती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा बस्ती पूर्ण रुपमा बगाएको बताए।

त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन । अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघुजलविद्युत् आयोजनालगायत संरचना ध्वस्त भएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ४ : ४३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई