बाख्रा बेचेको १३ सयले खोलेको हितकुमारीको ‘मखमली’ ढोका | Khabarhub Khabarhub

बाख्रा बेचेको १३ सयले खोलेको हितकुमारीको ‘मखमली’ ढोका

देशदेशावर फैलिँदैछ राता पाउपोश 



सामान्य परिवारको छोरीले गाउँबाट शहर पसेर अध्ययन गर्ने लक्ष्य सानो थिएन । २०५५ सालमा एसएसलसी पास गरेर जम्मा १३ सय रुपैयाँ बोकेर हिँडेकी काभ्रेकी हितकुमारी लामा(४२) का अगाडि चुनौतीका चाङ थिए । एउटा बाख्रा बेचेको पैसा लिएर उनी काठमाडौं आएकी थिइन् । उनी संघर्षसँग डट्ने बहादुर छोरी थिइन् । पढेर केही गर्छु भन्ने हुटहुटीले उनलाई काठमाडौं डोर्‍याएर ल्याएको थियो ।

तर उनले आफूलाई प्रमाणित गर्न निकै वर्ष लाग्यो । गार्मेन्टको काम गर्दै, शिक्षिका हुँदै आज उनी आफ्नै कम्पनी हाँक्नेसम्मको यात्रा त्यति सजिलो भने थिएन । ‘ए एण्ड ए ह्याण्डी क्राप्ट नेपाल’ की अध्यक्ष लामा पछिल्लो समय करौडौंको कम्पनी हाँकेर बसेकी छिन् ।

उनले कम्पनीमा हाल सय जना भन्दा बढीलाई रोजगारी दिएकी छन् । सरल र मिठो बोली भएकी लामाले परिवारले साथ दिएमा महिलाले कुनै पनि मुकाम चुम्न सक्ने बताइन् । खबरहबसँग कुरा गर्दै उनले आफ्नो व्यावसायिक यात्राको उकाली ओराली बारेमा सुनाइन् ।
उनको कम्पनीले मखमल ढाकाको भान्सा, विवाह, पास्नी, गुन्यू चोलीमा लगाउने पाउपोश उत्पादन गर्छ ।

विद्यार्थी जीवन

दुई सन्तानमध्ये उनी कान्छी छोरी हुन् । उनको एक दाइ छन् । मामाको छोरी र छोरा अर्को काकाको छोरा मिलेर एक कोठामा चार जना बस्थे । त्यसले बसाइ असहज भए पनि भाडा तिर्न सजिलो भयो । त्यति बेला बालुवाटारस्थित घरमा एक हजार कोठा भाडा थियो । पढ्न भनेर आएपनि कमाउनुपर्ने बाध्यताले विद्यार्थी उमेरदेखि संघर्ष सुरु भयो ।

पहिलो रोजगारी

उनले गरेको पहिलो काम पस्मिनाको सलमा फुर्का बाट्ने थियो । उनको मामाको छोरीले त्यो काम गर्थिन् । उनैले गरेको देखेकी थिइन् । उनलाई काम चाहिएको थियो । त्यही सुरु गरिन् । पहिलो दिन नै तीनवटा बाटिन् । स्ट्यान्ट थिएन, खुट्टामा राखेर बाटेको भएर धेरै दुख्ने त्यो बटार्नुपर्ने हुन्थ्यो । एक पिसको चार, आठ, दश, बाह्र रुपैयाँ थियो सलको साइज अनुसार ।

आठ महिना त्यो काम गरेपछि अर्को गार्मेन्टमा जिन्स पाइन्टको धागो काट्न सुरु गरिन् । त्यहाँ एक पिसको पाउने ज्याला पचास पैसा थियो । त्यहाँ पजि जति काट्न सक्यो, त्यति पैसा थियो ।

उनी कलेजको ड्रेस ब्यागमा हालेर फ्याक्ट्री जान्थिन् । एक दिन गार्डले चेक गर्दा कलेजको ड्रेस देख्यो । ‘पढ्ेको मान्छे यस्तो काममा किन आएको भने ?’ उनले ‘बाध्यता’ भनेर जवाफ दिइन् ।

त्यहाँ काम गर्दाको रमाइलो किस्सा पनि उनले सुनाइन् । भनिन्, ‘एकाउन्टेन्टलाई मेरो माया लागेर पचास पिस काट्यो भने पनि सय पिस लेख्दिने रहेछन् ।’ इमान्दारीको पर्यावाची उनी एकाउन्टेन्टलाई अब उप्रान्त त्यस्तो नगर्न आग्रह गरिन् ।

पाइन्टको हरेक पार्टको नाम हुन्छ । पकेट राख्ने, टाँक राख्ने लगायत । उनले हरेक दिन त्यो नाम याद राख्थिन् र घरमा गएर कापीमा टिन्थिन् । एक महिना बढी धागो काट्दै नकाट्दै त्यहिँ भ्याकेन्सी खुल्यो । चेकिङ र प्याकिङमा । अन्तर्वार्तामा सबै पार्ट पार्टको नाम सोध्ने थियो ।

त्यसको तयारी उनले पहिले देखि गरेकी थिइन् । उनैको नाम निस्क्यो । १२ सय तलब थियो । पछि उनी उक्त गार्मेन्टको सुपरभाइजर समेत भइन् । तर गार्मेन्ट कपनदेखि पनि पर सर्‍यो । बालुवाटारदेखि टाढा भयो । उनलाई जागिर छाड्नुपर्ने स्थिति आयो ।

त्यसपछि उनले फर्निचर पसलमा काम गरिन् । त्यही पसलको दिदीले पढेको मान्छे यहाँ काम नगर, पढाउन जाऊ भनेर सुझाइन् । गाउँमा पढेर आएको पढाउन सक्दिन भन्ने लाग्यो । तर प्रौढ शिक्षाको तालिम लिएकाले कता कता आत्मविश्वास जाग्यो ।

कम्तीमा कोसिस गर्छु भन्ने लाग्यो । तिनै दिदीले आफैँले पढाइरहेको स्कुलमा एक हप्ता सिकाएर लगाइदिनुभयो । १५ सय तलब थियो । त्यति बेला उनलाई बल्ल आफ्नो लेबल बढेजस्तो अनुभव भयो । मेरिगोल्ड इङलिस बोर्डिङ स्कुलमा ३ वर्ष पढाइन् । अहिले यो स्कुल छैन ।

यसरी कसियो घरजम 

ठुलो बुवाको छोरा भिम दाइ, मामाकी छोरी अञ्जुले उनको विवाह गरिदिए । तिमीले धेरै दुख पायौ, बिहे गर भनेर केटा ल्याए । साथीको भाइ विकु लामा (हाल श्रीमान)को कुरा ल्याए । पर्यटन क्षेत्रमा काम गर्ने राम्रो मान्छे हो भने । तर उनलाई बिहे गर्ने मन थिएन ।

पछि उनलाई पनि एक्लै दुख गर्न भन्दा साथी भएपछि अलि सजिलो होला भन्ने लाग्न थाल्यो । विकुसँगै उनको २०५८ सालमा बिहे भयो । त्यति बेला १९ वर्षकी थिइन् । बिहेमा अञ्जु दिदीको साडी र ठूलो बुवाको छोरीको चुरा लगाइन् । बिकुले पनि एक तिलरी मात्रै लिएर आएका थिए ।

बिहे गरेपछि सुख हुन्छ भन्ने चाहिँ भ्रम मात्रै रहेको उनको बुझाइ छ । बिहे गरेपछि अर्को थरीको संघर्ष सुरु भयो । पर्यटन क्षेत्रको काम मौसमी हुने भएकाले श्रीमान्को कमाई निरन्तर हुँदैनथ्यो ।

बिहेपछि उनको पढाइ र शिक्षण पेशा चलिरहेकै थियो । तर ठुली छोरी पेटमा आएपछि कामलाई निरन्तरता दिन सकिनन् । तीन महिना निकै गाह्रो भयो । त्यसपछि हल्का हुँदै गए पनि स्कुलको जागिर फुत्किसकेको थियो । एक निजी स्कुलले तीन महिना कुनै शिक्षकलाई किन पो पर्खियोस् ।

उनले पुनः घरै बसेर गर्ने काम सुरु गरिन् । त्यहि पुरानो पस्मिनाको सलमा बुट्टा भर्ने । अर्को टोपी, पञ्जा, गलबन्दी बुन्ने काम पाइन् । घरै बसेर गर्न सकिने दिनभर बस्नुभन्दा काम गर्नुपर्छ जस्तो लाग्यो । घरमै ल्याइदिन्थे । कम्पनीमा जानु पर्दैनथ्यो । उनलाई त्यो सबै बुन्न आउँथ्यो । छोरी जन्मिएको दिनको बिहानसम्म काम गरेकी थिइन् । २० वर्षको हुँदा उनले पहिलो छोरीको जन्म दिइन् ।

आर्थिक अभाव भए पनि हितकुमारी र बिकुको बीचमा गहिरो प्रेम थियो । मागी विवाह भए पनि दुवैले एक अर्कालाई मन पराएर बिहे गरेका थिए । त्यही प्रेमले दुवैलाई संघर्ष गर्ने शक्ति प्रदान गरेको हितकुमारी स्वीकार गर्छिन् । सुत्केरी भएको डेढ महिनाको आरामपछि उनले पुनः कामलाई निरन्तरता दिइन् ।

समय बित्दै थियो एक दिन छिमेकी सीता दिदीले उनलाई आफ्नो श्रीमान्को रिसर्च अफिसमा अन्तर्वार्ता दिन सुझाइन् । त्यहाँ उनको अन्तर्वार्तामा नाम निस्क्यो । डेढ वर्षकी छोरी बुवाको साथमा छोडेर उनी काठमाडौं बाहिर फिल्डमा गएर काम गर्थिन् । उक्त संस्थाले एचआइभी, शिक्षा लगायतका विषयमा डाटा संकलन गर्थ्यो । त्यहाँ  फिल्डमा गएको दिनको मात्रै तलब आउँथ्यो । त्यो समयमा कान्छी छोरी पनि जन्मिइन् ।

त्यसपछि शुरु भयो स्वरोजगारको यात्रा

उनी फिल्ड गएको समयमा श्रीमान् दुई छोरीको हेरचाह गर्थे । त्यसैमा बिकुले  कान्तिपुर पत्रिकामा घरेलु उद्योगको तालिमको विज्ञापन देखे । श्रीमतीले तालिम लिए हुन्थ्यो भन्ने उनलाई लागेछ । श्रीमान्ले भनेअनुसार उनी तालिमको लागि फम भर्ने लाइनमा बसिन् । तर उनलाई आफ्नो नाम निस्कन्छ भन्ने लागेन । जम्मा २१ जनाले पाउने तालिममा २८६ जना लाइनमा थिए ।

तर कहिलेकाहीँ नसोचेको हुन्छ । त्यो २१ जनामा उनको नाम थियो । तालिम सुरु भयो, उनले त्यहाँ सिकेको काम घर आएर पनि गर्न थालिन् । अभ्यास न हो जति धेरै गर्‍यो, उति अभ्यस्त । उनले तालिम सेन्टरबाटै जुत्ता बनाउने काठको साँचो किनेर ल्याएर घरबाटै काम सुरु गरिन् ।

घरेलु उद्योगले त्यो पहिलो पटक नेपालमा मखमली ढाकाको जुत्ता बनाउने तालिम दिएको थियो । सादा भान्सामा प्रयोग हुने जुत्ता बन्थ्यो । कच्चा पदार्थ संकटा मन्दिरको आसपासमा पाउँथ्यो । काम सुरु गरेको १५ वर्ष भए पनि कम्पनी दर्ता गरेको पाँच वर्ष मात्रै भयो  ।

एलिजा र एञ्जिला दुई छोरीहरूको नामबाट ‘ए एण्ड ए ह्याण्डीग्राफ्ट नेपाल’ राखिएको हो । ठूली व्यवस्थापन पढ्दैछिन्, सानी एलेबल आइटी पढदैछिन् ।

हितकुमारीको सन्देश : व्यवसाय गर्नेले लाज त्याग्नुपर्छ

उनका जुत्ता किन्ने पहिलो ग्राहक छिमेकीहरू थिए । पछि उनीहरूले नै लामा बैनीले जुत्ता बनाउँछिन् भनेर मार्केटिङ गर्दिए । तर त्यति व्यापार गरेर रहर पुरा गर्ने काम मात्रै भएको थियो । व्यवसायले बजार माग्छ । त्यो उनीसँग थिएन ।

त्यसैबखत श्रीमान्ले घरबाहिर मार्केटिङ गर्नुपर्ने बताए । अब कसरी र कहाँ गएर मार्केटिङ गर्ने ? आफ्नो उत्पादन मन पराउँछन् वा पराउँदैनन् । मनमा एक किसिमको डर थियो ।

उनले फेसन डिजाइनको पनि कक्षा सुरु गरिन् । बिहान ३ बजेर उठेर छोरीहरूको लागि खाना तयार गरेर ६ बजेको कक्षा भेट्न पुग्थिन् । कक्षा सकिएपछि आफूले बनाएको जुत्ता र थैली बजार–बजारमा देखाउँदै हिँड्न थालिन् ।

पहिलो पटक न्यूरोडमा थैली बिक्री हुँदा आँखाबाट उनको आँसु नै आयो । अर्को पसलमा जुत्ता किन्दिनुभयो । कति राम्रो बनाएको भनेर किन्नेले प्रशंसा पनि गरे । त्यो जति खुशीको पल मेरो लागि अरु केही थिएन । जुत्ताको २० सेट अर्डर आयो । अब यति मान्छेले मात्रै माग धान्न सकिँदैन । अरु मान्छे खोज्न पर्‍यो ।

बाटोमा हिँड्दा दिदीबहिनी गफ गरेको ठाउँमा गएर काम गर्ने हो ? भनेर उनले सोधिन् । दिदीबहिनी खाली बस्यो कि किन बसेको होला ? मसँग यत्तिका काम छ जस्तो लाग्ने र कुरा राख्थिन् ।

३० हजारबाट सुरु गरेको व्यवसाय हाल करोडमाथिको भयो । डिजाइन र फिटिङ लगायत सबै गरेर अहिले सय जना बढीले काम गर्छन् । हितकुमारीसँग दश वर्षदेखिसँगै काम गर्नेहरू छन् । मान्छे चिन्न उसको घरको सहयोगी कति पुरानो छन् भनेर थाहा हुन्छ । त्यस्तै हितकुमारीलाई चिन्न पनि उनीसँग दशौँ वर्ष सहकार्य गर्ने स्टाफ देखेर थाहा हुन्छ ।

उनीसँग बच्चाको आमाहरूले सँगै काम गर्छन् । कति केटाकेटी यहिँ हुर्किएर स्कुल जाने भइसके । केही अझै हुर्कँदै छन् । हिजो आफूले बच्चा जन्माउँदा जागिर छोड्नुपरेको नमिठो सम्झनाले पनि उनलाई बच्चाको आमालाई प्राथमिकतामा राखेर काम दिने गर्छिन् ।

उनको उत्पादन सबै जिल्लामा जान्छ । अमेरिका निरन्तर पठाइरहेकी छन् । अन्य देशमा समय समयमा आएको अर्डर मात्रै जान्छ । हाल उनकोमा दुई सयदेखि २ हजारसम्मको जुत्ता चप्पल छन् । बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका लागि उत्पादन हुन्छ ।

महिलाको संघर्ष परिवारभित्रै

तालिम लिएका २१ जनामध्ये कम्पनी खोलेर काम गरेको उनी एक्लै हुन् । उनीसँगै तालिममा आएको एक दिदीले परिवारसँग लुकेर आएको सुनाउँथिन् । तालिममा त लुकेर आउनुपर्ने भएपछि ती दिदीले काम कसरी गर्लिन् ?

महिलाले काम गर्छु भन्दा आज पनि परिवारले साथ नदिएको अवस्था छ । महिलालाई अगाडि बढ्न सबैभन्दा पहिले परिवार र श्रीमान्ले साथ दिनुपर्छ । उनले आफ्नो सफलताको श्रेय श्रीमान् बिकुलाई दिन्छिन् । श्रीमतीले सक्छिन् भन्ने विश्वास हरेक श्रीमान्मा हुनुपर्छ तब न प्रगति गर्न सकिन्छ ।

घरबाहिर निस्किएको मन नपराउने । कसैसँग बोलेको मन नपराउने श्रीमान् महिलाको लक्ष्यको बाधक हुन् । अर्को महिला आफैं पनि अवसर खोज्दै हिँड्नुपर्छ । घरमै बसेर केही आउँदैन । घरबाहिर निस्कनु पर्छ ।

सरकारी सहयोग शून्य
कर तिरेका छौँ, तर सरकारले केही कुरामा सहुलियत दिएन । मुख्य कुरा बजार दिन सकेन । स्टलमा भाडा तिरेर व्यापार गर्न सकिँदैन । व्यक्तिगत रूपमा जति गर्न सक्यो गर्‍यो । सरकारले के गर्‍यो भन्दा शून्य ।

खाली जग्गामा टहरा बनाएर उद्यमीहरूलाई कम भाडामा चलाउन दिनुपर्छ । साना व्यवसायीलाई सहुलियतको आवश्यकता छ । कच्चा पदार्थ धेरै भारत र चीनबाट आउँछ । बाहिरबाट ल्याउनुपर्दा खर्चिलो हुन्छ ।

कम्तीमा नेपालमै कच्चा पदार्थ उत्पादन गर्न सके अझै रोजगारी बढाउन सकिन्छ । कच्चा पदार्थको मूल्य बढ्यो तर जुत्ताको मूल्य उही छ ।
नेपाल भनेको सम्भावना नै सम्भावना भएको देश हो । विदेश जानुभन्दा यहीँ के गर्ने भनेर सोच्नुपर्छ । विदेशमा के सुख छ, त्यही दुख आफ्नै देशमा गर्ने हो । अरूलाई रोजगार दिनु भनेको आफू पनि रोजगारी हुनु हो ।

सरकारले बाटो देखाइदिन पनि नसकेको अवस्था विद्यमान छ । नागरिकलाई बाटो देखाउने दायित्वको सरकारको पनि हो । अहिले नगरपालिका वडाले पनि घरेलु तालिम दिएको छ । केही न केही सिकेर काम गर्न महिला दिदीबहिनीहरूमा उनको आग्रह छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : ३४ बजे

खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं– लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको

औपचारिक माध्यमबाट सुनको आयातमा ८६ प्रतिशतले गिरावट

काठमाडौं– औपचारिक माध्यमबाट सुनको आयातमा ठूलो गिरावट देखिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौं– ‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं– भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता