काश्मिरमा भारतीय सेनाबाट शङ्कास्पद विद्रोही मारिए « Khabarhub

काश्मिरमा भारतीय सेनाबाट शङ्कास्पद विद्रोही मारिए


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

श्रीनगर – भारतीय सेनाले सोमबार कास्मिरमा एक शङ्कास्पद विद्रोहीलाई मारेको छ । यो घटना बन्दुकधारीहरूले सैन्य सवारीहरूमाथि गोली बर्साएको केही घन्टापछि भएको हो । विवादित हिमाली क्षेत्रमा भएको यो पछिल्लो आक्रमण हो ।

मुस्लिम बहुल काश्मीर सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तानबीच विभाजित छ र यहाँ लामो समयदेखि विद्रोह चलिरहेको छ ।

सोमबार बिहान पाकिस्तानसँगको अनौपचारिक सीमा नजिकै दक्षिणी अखनूर क्षेत्रको पहाडी भागमा बन्दुकधारीहरूले एम्बुलेन्ससहितको सैन्य सवारीहरूमाथि गोली चलाउँदा कोही पनि घाइते भएनन् ।

सैनिकहरूले आक्रमणकारीहरूको खोजी सुरु गरे र पछि एक जना मारिएको जानकारी दिएका छन् । “एक आतङ्ककारीको शव हतियारसहित बरामद गरिएको छ”, सेनाको व्हाइट नाइट कोर्को विज्ञप्तिमा उल्लेख छ ।

काश्मीरमा कम्तीमा पाँच लाख भारतीय सैनिक तैनाथ छन् र उनीहरूले सन् १९८९ देखि चलिरहेको विद्रोहसँग लडिरहेका छन् । यस विद्रोहमा हजारौँ नागरिक, सैनिक र विद्रोहीको मृत्यु भइसकेको छ ।

यसै महिनाको सुरुमा बन्दुकधारीहरूले लद्दाखतर्फ जाने रणनीतिक सुरुङ मार्ग निर्माणस्थल नजिकै सात जनाको हत्या गरेका थिए । लद्दाख चीनसँग सीमा जोडिएको उच्च भू–भाग हो । शुक्रबार भारतीय अधिकारीहरूले सैन्य सवारीहरूमाथिको आक्रमणमा तीन सैनिकसहित पाँच जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

नयाँदिल्लीले नियमित रूपमा पाकिस्तानमाथि आतङ्कवादीहरूलाई हतियार उपलब्ध गराउने र आक्रमण गर्न सहयोग गरेको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गर्दै आएको छ ।

सेनाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सन् २०१९ मा काश्मीर क्षेत्रको सीमित स्वायत्तता खारेज गरेपछि सात सय २० भन्दा बढी विद्रोही मारिएका छन् । अक्टोबरको सुरुमा काश्मीरमा सन् २०१४ पछि पहिलो पटक करिब एक करोड २० लाख जनसङ्ख्या भएको यस क्षेत्रमा विधानसभाको निर्वाचन सम्पन्न भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : ४० बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता