सद्भावको पर्व बन्दै छठ | Khabarhub Khabarhub

सद्भावको पर्व बन्दै छठ


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभई सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ । अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ । त्यसैले यो पर्व आस्था र विश्वास मात्र नभएर सद्भावको पर्व बन्दै गएको हो ।

अन्य पर्वहरूको मौलिकता गुम्दै गए पनि छठको मौलिकता जीवित छ । मधेशका महिलाले परिवार र सन्तानका सुख समृद्धिको कामना गर्दै छठ मनाउने गर्छन् । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भई षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

कृषि प्रदर्शनीको पर्व
छठले किसानको परिश्रमलाई सम्मान गर्छ । कृषि उपजलाई प्रसादका रूपमा प्रयोग गरिन्छ । झन्डै ७२ प्रकारका कृषि उपजको छठ पूजामा प्रयोग गरिन्छ । यसले हराउँदै गएको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ । छठ सुरु हुनु अघिदेखि ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी हुने र नरिवल, बाँसका ढाकी, सुपलीको जोडजाम गरिने मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी बताउँछन् ।

गबडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गर्ने उनको भनाइ छ । छठ पर्वले कृषि पहिचानलाई जगेर्ना गरेको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनियाका प्रमुख मथुरा यादवले बताए ।

स्थानीय कृषि उत्पादनलाई छठको प्रसादका रूपमा प्रयोग गरिन्छ । उखु, चामल, केरा जस्ता दर्जनौँ कृषि उपजको प्रयोग छठमा हुन्छ ।   छठमा सूर्यको पूजा हुन्छ । सूर्य शक्तिको प्रतीक हो । सारा संसार यसैको आधारमा चलिरहेको छ । कृषि उत्पादनको सबै प्रक्रिया सूर्यको प्रकाशबाट सञ्चालित रहेको ज्योतिष पण्डित अमित झाले बताए । ‘छठ प्रकृतिको पूजा मात्र होइन शक्तिको उपासना पनि हो’, छठ पर्वका जानकार डा राजेन्द्र विमलले भने ।

प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवन सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैँ प्रयोग गरिनेभन्दा फरक कृषि उत्पादन चढाउनुले पुष्टि हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्ण्ब बताउँछन् । उत्तराधिकारी महन्त रामरोशन दास बैषण्वका अनुसार छठमा प्रसादका रूपमा जे जति कृषि सामग्री प्रयोग हुन्छन् ती हाम्रा खेतबारीकै उत्पादन हुन् । यस पर्वको खानपिन वातावरणमैत्री मानिन्छ । गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ पर्व मनाइन्छ ।

विभिन्न वस्तु प्रसादका रूपमा छठी मातालाई चढाइन्छ । यो पर्वले देखावटी परिपाटीलाई पूर्णरूपमा निषेध गरेको  छ । किसानले आफ्नो बारीमा फलाएका कृषि उपजको प्रदर्शनी गरिने जानकारहरू बताउँछन् । ‘कसको बारीमा के फलेको छ ? के उब्जिएको छ भन्ने कुरा छठीघाटमा राखिएको पूजासामग्रीबाट सबैले थाहा पाउँछन्’, किसान दीपेन्द्र साहले भने ।

छठले सांस्कृतिक रूपमा विशिष्ट स्थान ओगटेको छ । संस्कृति मानवीय जीवनपद्धति र मान्छेले धारण गर्ने वस्त्रसँग सम्बन्धित मानिन्छ ।  संस्कृतिविद् एवं जानकार राजर्षिजनक विश्वविद्यालय जनकपुरधामका रजिस्ट्रार सत्यनारायण साहले संस्कृति मानव जीवन पद्धति भएको बताए । छठले यसलाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ ।

डा राजेन्द्र विमलका अनुसार कृषि उत्पादन, सामाजिक रहनसहन र सभ्यताका पक्षलाई एकैसाथ छठले प्रतिबिम्बित गर्ने गर्छ ।

‘छठको गीतले सबैलाई मन्त्रमुग्ध बनाइदिन्छ । मनमनमा भक्तिभाव जगाइदिन्छ । जनजनमा ऊर्जा भरिदिन्छ’, स्थानीय पण्डित डिगम्बर झाले भने, ‘सामाजिक एकता, सद्भाव र सहिष्णुताको कसीलाई चट्टान झैँ बलियो बनाइदिन्छ । अनि सबै घर र बस्तीबाट लामबद्ध हुँदै पूजा सामग्रीसहित एकाकार हुन्छन् ।’

छठका उपासकहरू जलाशयमा उभिन्छन् । पूजा सामग्री हातमा राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् र भोलिपल्ट बिहानीपख उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठीमाईको महिमा गाउँदै आराधना गरिन्छ ।

सामाजिक एकता 
छठ पर्व मनाउने सनातन धर्मावलम्बीबीच विविधता छ । समुदायगत, जातिगत, भाषागत भिन्नता उस्तै छ । ‘तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन,’ जानकार नित्यान्द मण्डलले भने । कुनै समय हिन्दुहरूले मात्रै मनाउँदै आएको छठ अब मुस्लिमहरूले पनि मनाउन थालेका छन् ।

छठले समाजको विविधतालाई एकताको मालामा उन्ने उनले बताए। छठघाटमा सबै जातजाति, धर्मावलम्बीको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको लस्करै राखिन्छन् ।

प्रकृतिको पूजा
मधेस प्रदेशसभा सदस्य एवं गङ्गाआरती अभियन्ता रामअशिष यादवले भने, ‘चुरे पानीको भण्डार हो भने तराई अन्नको भकारी हो । छठ पर्व मान्नु भनेको चुरेको संरक्षण अर्थात् प्रकृतिको पूजा पनि हो ।’ मिथिला र मधेशबाट विश्वभरि छठ फैलिएको छ । पुर्खाहरूले यसैकारण पनि छठ सुरु गरेको बताइन्छ ।

‘चुरे दोहनले छठ पर्वको अस्तित्व सङ्कटमा पर्न थालेको छ । जलाशयमा उभिएर सूर्यलाई अर्घ दिइन्छ । तर जलाशय पोखरी एवं नदीहरू सुक्न थालेको छ’, उनले भने ।

अहिंसाको पर्व
छठमा प्रसादका रूपमा शाकाहारी चीज वस्तु प्रयोग गरिन्छ । यो पर्वले बलि प्रथालाई पूर्ण रूपमा वर्जित  गरेको छ । स्वास्थ्यवर्धक खानपिनलाई मात्रै प्रोत्साहन गरिएको पण्डित रामचन्द्र झा बताउँछन् । छठको खानपिन वातावरणमैत्री छ । गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ मनाइन्छ । छठको मुख्य प्रसाद ठेकुवा र केरा हो । ठेकुवा सक्खरको प्रयोग गरेर बनाइन्छ । चिसो मौसममा ठेकुवा खाँदा शरीरलाई तापक्रम प्रदान गर्छ । जसले चिसोसँग लड्ने शक्ति प्रदान गर्छ ।

लोकतान्त्रिक पर्व
लोकतन्त्रमा सबै बराबर हुन्छन् । यो भावलाई छठ पर्वले बोकेको छ । सूर्यको प्रकाशविना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन । सूर्यको प्रकाश सबैका लागि बराबर हुन्छ । प्रचण्ड घाम लाग्दा त्यसले गरिबलाई मात्र पोल्दैन, धनीलाई पनि पोल्छ । त्यसैले सूर्यको व्यवहार सबैका लागि बराबर हुन्छ । सूर्यबिना विश्वको अस्तित्वको कल्पना गर्न सकिँदैन । सूर्य ऊर्जाकै कारण विश्व जीवित र चलायमान छ, जीवन र प्रकृतिबीचको सन्तुलन कायम राखिएको विश्वास यस पर्वले फैलाउने पण्डित तपु झा बताउँछन् ।

छुवाछूतविरुद्धको पर्व
हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बाराबारको अवस्था अझै देखिन्छ । कानुनी रूपमा वर्जित छुवाछूत समाजमा अझै कायम छ । तर, छठले सामाजिक भेदभावको बाँधलाई भने परापूर्वकालदेखि भत्काएको प्राध्यापक श्यामसुन्दर शशिले बताए । उनका अनुसार यस पर्वमा कुनै पनि जातजातिको विभेद गरेको छैन । समाजलाई एकताको सूत्रमा बाँध्न छठको ठूलो योगदान रहेको उनको भनाइ छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने पर्व 
सूर्यलाई रोग र दुःख नष्ट गर्ने शक्तिको स्रोत मानिन्छ । दैनिक घरमा पूजाआजा हुन्छ । हिन्दु परम्परामा पञ्चायन पूजा गरिन्छ । जहाँ गणेश, विष्णु, शिव,  सूर्य र कालीको पूजा गरिन्छ ।  पञ्चायनमा सूर्यको पूजा गर्दा उदाउँदा सूर्यको पूजा हुन्छ । तर, छठमा भने अस्ताउँदो सूर्यको पनि पूजा गर्ने अनौठो चलन छ । संस्कृतिका जानकार डा विमलका अनुसार उपभोग गरेको शक्तिलाई पनि आराधना गर्नुपर्छ भन्ने भाव पैदा गर्न अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । हराउँदै गएको अस्तित्वलाई स्वीकार गरेर फेरि नयाँ बिहानीको सुरुआत हुन्छ भन्ने यसको मूल सन्देश हो ।

नारी सशक्तीकरण पर्व
छठ नारी सशक्तीकरण अनुष्ठानको पर्व हो । सूर्यको उपासनाको पर्व भए पनि यसले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर एवं पवित्रता यसको मूल मान्यता रहेको अधिवक्ता रेखा झा बताउँछिन् । सूर्यको उपासनामा कृपालु छठी माताको आशिषविना अनुष्ठान पूरा हुन सक्दैन भन्ने विश्वास छ । यो मातृशक्तिप्रतिको श्रद्धा हो । ‘छठ मात्र यस्तो अनुष्ठान हो,’ उनले भने, ‘जसमा छोरीको कामना गरिन्छ ।’

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ४ : ५१ बजे

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार

चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

झापा – मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि

माछापुच्छ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गण्डकी – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

द हेग – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन