सामान्य मान्छेले आफ्नो बारेमा मात्रै सोच्छ। अर्काको बारेमा सोच्नेहरु सम्भवतः असामान्य नै हुन्। आफूसँगै अरुले पनि प्रगति गर्नुपर्छ भनेर सोच्ने मानिस अत्यन्त कम हुन्छन्। अरुको दुःख, पीडा र अभावले केही नगन्य मान्छेलाई मात्रै छुन्छ। आफ्नो जीवनलाई अरुको संघर्षमा हैंसे गर्न समर्पित थोरैले सक्छन्। ती मध्येकी एक हुन्- दीक्षा पौडेल।
काभ्रेपलाञ्चोक मण्डनदेउपुरकी दीक्षा विज्ञान संकायकी विद्यार्थी हुन्। उनले स्नातक पढ्दै गर्दा अभिभावकमाथि आर्थिक भार नपरोस् भनेर स्कुल पढाउन थालिसकेकी थिइन्। उनले गणित विषय पढाइरहेकी थिइन्। तर उनलाई घरभित्रै हुने छोरा र छोरीबीचको विभेदले पोल्थ्यो। गाउँघरमा महिलामाथि हुने हिंसाले मन कुडिन्थ्यो। बालबालिकाले उचित हेरचाह र पौष्टिक आहार नपाएको देखेर छटपटी हुन्थ्यो।
सानैदेखि माटोमै हुर्किएँ। बुवाआमा खेतिपातीमै रमाउनु भयो। त्यसकारण पनि छोरीले सरकारी जागिर खाओस् भन्ने थियो। तर मैले माटोमै भविष्य देखेँ।
पढाइ सकेर सरकारी जागिरको तयारी गर्ने उनको योजना थियो। तर कक्षामा पढाइरहँदा पनि उनलाई आफ्नो वरपर भएका यस्ता घटना कसरी न्युनीकरण गर्ने भन्ने लाग्थ्यो। समाजमा यो विभेद र हिंसा जस्ता घटना किन भइरहेको छ ? भनेर खोज्न थालिन्। निष्कर्षमा आर्थिक अभाव देखियो। महिलाहरु अर्थमा जोडिन नसक्दाको परिणाम हिंसा सहन बाध्य रहेछन्।
अब कसरी महिलालाई अर्थसँग जोड्ने ? दीक्षा सामु ठुलो चुनौती थियो। सोचलाई व्यवहारमा उतार्न निकै कठिन थियो। पैसा कमाउनेतिर लाग भनेर भन्नु मात्रै समाधान थिएन। कहाँ लाग्ने ? कसरी लाग्ने ? त्यो मार्गदर्शन बन्नु पर्ने दायित्व थियो। सानो लगानीबाट कसरी व्यवसाय सुरु गर्न सकिन्छ भन्ने सिकाउनु थियो। आफ्नो अभियानलाई सार्थकता दिन उनले बनेपामा ‘कोसिस इन्टरप्राइजेज’ सञ्चालनमा ल्याइन्।
उद्यमशीलता सिकाउँछु भन्दै गर्दा उद्यमी बनेर पनि देखाउनु पर्ने थियो। फलस्वरुप उनले गाउँमै उत्पादन हुने लप्सीबाट विभिन्न परिकार उत्पादन थालिन्। स्थानीय तहमै उपलब्ध स्रोत तथा उत्पादनबाटै उद्यमी बन्न सकिने अभियान चलाउँदै आएकी दीक्षाले खबरहबसँग आफ्नो अनुभव र संघर्ष यसरी सेयर गरेकी छन्।
सपना एकातिर, अभ्यास अर्कातिर
म किसानकी छोरी हुँ। परिवारमा आमाबुवा, एक भाइ र एक दिदी छन्। सानैदेखि माटोमै हुर्किएँ। बुवाआमा खेतिपातीमै रमाउनु भयो। त्यसकारण पनि छोरीले सरकारी जागिर खाओस् भन्ने थियो। तर मैले माटोमै भविष्य देखेँ।
बुवाले कृषिसँगै किसानका समस्या, अप्ठ्यारा र चुनौतीका विषयमा बोल्नुहुन्थ्यो। उहाँले गरेको संघर्षले मलाई यस क्षेत्रमा काम गर्नुपर्छ भन्ने लाग्यो। आफ्नो तर्फबाट योगदान गर्नुपर्छ। देखेका समस्या उठाउनुपर्छ भन्ने कुरा बुबाबाटै सिकेँ।
उनले भौतिक विज्ञानमा स्नातक र ग्रामीण विकासमा स्नातकोत्तर गरेकी छन्। उनले आफ्नो करिअर शिक्षण पेशाबाटै गरिन्। काभ्रेमै निजी विद्यालयमा उनी गणित विषय पढाउँथिन्।
स्नातक सकेपछि सरकारी जागिरतिर लाग्छु भन्ने थियो। बुवाआमाको चाहना पनि त्यही थियो। समाजमा सरकारी जागिरेलाई उच्च महत्त्वका साथ हेरिन्छ। सरकारी जागिरमा प्रवेश गरेको अवस्थामा पनि महिला बालबालिकाको क्षेत्रमा काम गर्ने रुचि थियो।
महिलाहरुले लोग्नेको पिटाइ किन सहिरहेका छन भने उनीहरु आर्थिक रुपमा बलिया छैनन्।
त्यसै समयमा उनले ‘टिच फर नेपाल’ को बारेमा सुनिन्। यो सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि युवाको अभियान हो। स्नातक सकेर दुई वर्ष गाउँमा शैक्षिक सुधारको लागि योगदान गर्छु र पछि आफूले चाहेको सरकारी क्षेत्रमा प्रवेश गर्छु भन्ने उनको योजना थियो। तर यही अभियानले उनको बाटो मोडियो।
महिला र बालबालिकाको क्षेत्रमा मोह
सानैदेखि आफू छोरी भएकोले विभेद भोग्न पर्यो। बाँधिएर बस्न मन पराउने स्वभाव थिएन। तर सामाजिक संरचनाले छोरा र छोरीबीच भिन्नता छुट्याइ दिएको रहेछ। ठूलो भेदभाव र हिंसा नै भोग्न परेन तर घरभित्रै स–सानो विभेद रहेछ। बिहे गरेर जाने जात जस्ता टिप्पणी सुने। म विद्रोहीे र समानतामा विश्वास राख्ने मान्छे हो।
टिच फर नेपालमा जोडिएपछि उनीहरुको समस्यालाई अझै नजिकबाट देख्न र अनुभव गर्न पाएँ। शिक्षणमा हुँदा कक्षामा मात्रै सीमित थिइन्। समाजमा महिलाहरुको अवस्था बुझ्ने गर्थें। यसै सिलसिलामा सिन्धुपलाञ्चोकको एक गाउँ पुगें। त्यहाँ हामीलाई स्वागत गर्ने महिलाको अनुहारमा निलडाम थिए। ‘के भयो ?’ भनेर सोधें पनि। उनले ‘गोरुले हानेको’ बताइन्। अर्को महिना जाँदा पनि त्यस्तै। अरु महिलाको अवस्था पनि त्यस्तै। बुझ्दै जाँदा के थाहा भयो भने उनीहरुका लोग्नेले पिट्ने रहेछन्।
अर्को पछिल्लो समय महिला पनि वैदेशिक रोजगारीमा गइरहेका छन्। आमाको अभावका बालबालिकाको लालनपालनमा धेरै असर गरिरहेको पाएँ। यी सबै देखेपछि कम्तिमा म आफू भएको ठाउँमा यस्ता समस्या निराकरण गर्नुपर्छ भन्ने लाग्यो।
त्यसपछि मैले सौच्न थाले। सरकारी जागिरे भएर समाज वा राष्ट्रलाई कति योगदान गर्न सक्छु ? अथवा अरु क्षेत्रबाट नै के योगदान गर्न सक्छु ? २४ वर्षको उमेरमा मलाई यस्तो लाग्न थाल्यो।
बालबालिकाको उचित हेरचाहको लागि आमा चाहिन्छ। आमाहरुलाई वैदेशिक रोजगारीमा रोक्न गाउँमा स्वरोजगारको व्यवस्था गरिदिनुप-यो। महिलाहरुले लोग्नेको पिटाइ किन सहिरहेका छन भने उनीहरु आर्थिक रुपमा बलिया छैनन्। उनीहरुलाई हिंसाबाट जोगाउन आर्थिक सशक्तिकरणमा जोड दिनुप-यो। महिला सशक्तिकरणको पहिलो सर्त आर्थिक सुरक्षा हो।
अब एनजिओ र आइएनजीओलाई भनेर गाउँमा गएर पैसा बाँडेर मात्रै सशक्तिकरण हुँदैन। उद्योगको क्षेत्रमा एनजिओ र आइएनजीओको काम भनेको तालिम दिनेसम्म मात्रै हुन्छ। महिलाहरुले तालिम लिएर सामान उत्पादन पनि गरे। तर बजारसम्म जान सकेनन्। किनकी उनीहरुले मार्केटिङ सिकाउँदैनन्। तालिम लिने र मार्केटिङ गर्ने बीचको ग्याप पुर्ने मलाई दिर्घकालीन योजना आवश्यक थियो।
अर्को ‘उद्यम पनि के गर्ने ?’ भन्ने प्रश्न आफैंभित्र थियो। बजारबाट कच्चा पदार्थ किनेर आफूले उत्पादन गरेको सामान पुनः बजारमा ल्याउँदा त्यो कति नाफामूलक हुन्छ ? वा हुदैन ? अध्ययन गर्दा म के निष्कर्षमा पुगें भने गाउँमै उत्पादन हुने कृषिलाई हामीले प्रवद्र्धन गर्न सकिएको छैन।
लप्सीले खोलेको बाटो
म बसेको गाउँमा प्रशस्त लप्सीको उत्पादन हुन्छ। किन यसैको व्यापार नगर्ने ? हामीले लप्सी प्रशोधन तालिम दियौ। स्थानीस्तरकै स्रोतसाधनको परिचालन गर्नुपर्छ। तालिम दिएर मात्रै पर्याप्त हुँदैन। त्यसलाई बजारसँग जोड्ने प्रयास गर्नुपर्यो।
पछि यसलाई व्यापक अभियानका साथ लिएर हिँड्नको लागि कम्पनी दर्ता गरें। हामीले हाल सातवटा स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेका छौं। मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा दर्ता छ। हामी बाहिरी फण्डभन्दा पनि आफैं स्रोत जुटाइरहेका छौं। काम गर्दै जाँदा के थाहा भयो भने जति जनालाई तालिम दिन्छौं, ती सबै उद्यमी बन्न नसक्ने रहेछन्। अब उनीहरुलाई रोजगारीमा त जोड्नुप-यो। व्यवसाय सबैको वशको कुरा होइन।
एक गाउँमा एक हब वा केन्द्रले १० जनालाई रोजगारी दियो भने राम्रो उदाहरण हुन्छ।
हाम्रो टीमले रोजगारको सिर्जना गर्नुपर्ने ठान्यौं। त्यसपछि ‘नमूना एग्रोप्रोडक्स’ सञ्चालनमा ल्यायौं। यसको उद्देश्य हामीले जस्तो खालको उद्यमीलाई सहयोग गर्न खोजिएको हो, उनीहरुको लागि एक नमूना केन्द्र होस्। महिलाहरुले रोलमोडल देख्न पाएका थिएनन्, गर्नुस् मात्रै भनेर कसरी उर्जा आउँछ ? काम गरेको देखेर पो उर्जा आउँछ।
अर्को हामी आफैंलाई पनि कस्ता खालका चुनौती आउँछन् भन्ने थाहा हुने भयो। हामीले कुन चीजमा सहयोग गर्न आवश्यक छ भनेर जान्न पायौं।
‘कोसिस’ले खोलेको ढोका
नेपालको कुनाकाप्चामा पुगेर महिलाहरुलाई स्थानीय तहमा उपलब्ध स्रोत र साधन प्रयोग गरेर उद्यमशीलतामा जोड दिने थियो। उनीहरुले उत्पादन गरेको सामानलाई कुनै एक कमन ब्राण्ड ‘लेकबेसी’ मार्फत बजारमा लैजान्छौं।
त्यसलाई अलिकति मोडिफाइ गरेर सबैलाई उद्यमी बनाउन सकिदैन। तर रोजगारीको अवसर दिने सम्मको गर्न सक्छौं। जस्तै १० जनालाई तालिम दिएको छ भने एक अथवा दुईजना उद्यमी गर्ने। बाँकीले रोजगार गर्ने भए। दुईवटा क्षेत्र भयो हाम्रो। एक नमूना उद्योग सञ्चालन र अर्को तालिम दिने गरिरहेका छौं।
गाउँमा महिलाहरु एकपटक सिक्न निकै उत्साहित भएको पाएँ। तर निरुन्तरता दिन कठिन रहेछ। घरायसी, सामाजिक कारण उनीहरुले निरन्तरता दिन सकिरहेका छैनन्। परिवारभित्रको जिम्मेवारी र परिवारले नै साथ नदिने हुँदा त्यस्तो भएको छ। यसलाई लामो समय दिएर काम गर्नुपर्ने देख्छु।
हामी सामुदायिक केन्द्रको अवधारणमा पनि काम गरिरहेका छौं। त्यो भनेको एउटा गाउँमा एक मिनी स्टोर सेन्टरको स्थापना गर्छौं। त्यो ठाउँ उद्यमशीतलाको हब बन्छ। त्यो ठाउँमा उपलब्ध उत्पादन संकलन गरेर प्रोसेसिङ गर्ने हो। एक केन्द्रमा कम्तिमा १० जनालाई रोजगार दिने गरी व्यवस्थापन गर्न आवश्यक छ। एक गाउँमा एक हब वा केन्द्रले १० जनालाई रोजगारी दियो भने राम्रो उदाहरण हुन्छ। आगामी दिनमा उद्यमशीतलाको अवधारणालाई अरु स्थानीय तहमा लैजाने छौं।
बजारमा गुणस्तरहीन उत्पादनको बिगबिगी
बजारको कति कुरा हाम्रो हातमा छैन। सरकारको नीति होला। आयात निर्यातको कुरा होला, त्यसमा विभिन्न क्षेत्रले असर गर्छ। हामी बजारको विषयमा केही गर्न सक्ने स्थितिमा पुगिसकेका छैनौं । हाम्रो उत्पादन केन्द्रको फार्म पनि छ। तरकारी, गोलभेँडा, साग धनियाँलगायत छन्। भाउ यसरी तलमाथि भइदिन्छ । बजार हाम्रो कन्ट्रोलमा हुँदैन। भारतको बजारसँग प्रतिस्पर्धा गर्न गाह्रो छ।
तर प्रशोधित उत्पादन जो भण्डार गरेर प्रयोग गर्न सकिन्छ। आफ्नो उत्पादनमा आफूलाई विश्वास हुनुपर्छ। गुणस्तरीय उत्पादन बेच्न गाह्रो छैन। समुदायमा प्रशोधित उत्पादनमै जोड दिएका छौं। लप्सी, गेडागुडी, पाकेको फर्सी, गुन्द्रुक, सातु, सर्वोत्तम पिठो जहाँ हामीले सहयोग गरेका छौ त्यहीँको उत्पादनमा जोड दिएका छौं।
‘लप्सी ट्रफल’को प्रयोग
यो मध्यपहाडी भेगमा पाइन्छ। सिन्धुपाच्चोक, काभ्रे नुवाकोटदेखि पर्वतसम्म पाइन्छ। लप्सी पनि हाइजेनिक हुने रहेछ भन्ने सन्देश दिने उद्देश्य हो। बजारमै भइरहेको क्याण्डी बनाइरेहका छौ। अर्को नेपालमै पहिलो पटक लप्सी र चकलेटको सम्मिश्रणबाट लप्सी ट्रफल उत्पादन गरेका छौं।
हामीले गुणस्तरमा जोड दिएका छौं। लप्सीको धुलो हामीले निर्यात पनि गरिरहेका छौं। अन्तिम वर्ष तीन टन र यसवर्ष चार टन निर्यात गर्यौं। यो निर्यातकर्ताबाटै जान्छ। धुलो कुनै पनि परिकारलाई अमिलो बनाउन प्रयोग हुन्छ।
लप्सीबाट के के बन्छ भन्ने हामीले अध्ययन गर्न सकेका छैनौं। तर लप्सीबाट चकलेट पनि बन्ने रहेछ। स्टोर गरेर वर्षभरि काम गर्न सकिन्छ। वार्षिक २० टन हामी किन्छौं। हामीले तालिम दिएपछि केही विदेश जान तयार भएकाहरु पनि छोडेर पनि यही काममा रोकिएका छन्।
हालसम्म व्यवसायिक रुपमा लप्सीको उत्पादन छैन। व्यवसायिक रुपमै यसको उत्पादनमा किसान लागून भन्ने गरी काम गरिरहेका छौं। हामीले बजार बढाइदिएपछि उत्पादन बढाउनु पर्छ। लप्सीको फल दाना तयार हुन ३ देखि ४ महिना लाग्छ।
म आफैं उद्यमी बन्छु भन्ने थिएन। तर नमुना देखाउन पर्यो। नत्र किन हामीलाई कसैले विश्वास गर्ने ?
पाँच लाख बीउ पूँजी
पाँच लाख लगानी गरेको हो। तीन वर्ष भयो। बल्ल तलब खाने अवस्थामा पुगेको छु। जग्गा भाडामा लिएँ। मेसिन र भाँडाकुँडा सबै जोड्नुपर्यो। मेसिनभन्दा हातबाट काम हुन्छ। सिजनमा २५ जनासम्म हुन्छन। १० जनाले नियमित काम गरिरहेका छन्। लप्सी विश्वकै दुर्लभ फल हो। त्यसैले यसको लागि विदेशले के मेसिन बनाइदिन्छ ?
हामीले हाल प्रयोग गरेको लप्सीको लागि नभएर पिठोको लागि बनेको मेसिन हो। व्यवसायमा सुरु गर्ने बित्तिकै नाफा हुँदैन। फेन्सी सोचाइले व्यवसाय हुन्न। आजको आजै प्रतिफल हुन्न। पछिल्लो समय युवापुस्तामा भएको यही हो। तुरुन्तै नाफा हात नपर्दा निराश भएर गर्दै आएको व्यापार बन्द गर्ने।
बुवापुस्ताले अब बुझ्नुपर्ने कुरा के हो भने हिजो उहाँहरुले गरेजस्तो कृषि होइन अबको पुस्ताको कृषि फरक तरिकाले हुन्छ। आत्मनिर्भरमुखी , व्यवसायीमुखी कृषि हुन्छ।
व्यवसाय गर्दै गर्दा बुझ्नुपर्ने मुख्य कुरा कति वर्ष होल्ड गर्न सक्छु ? नाफा नहुँदाको समय पनि टिक्न सक्नुपर्छ। त्यसपछि बल्ल व्यवसायले नाफा दिँदै जान्छ। पाँच लाखबाट सुरु गरेको अहिले करिब एक करोडको पुग्यो। त्यहाँबाट आर्जित नाफा त्यहीँ लगानी गर्नुपर्यो।
अब बल्ल तलब अथवा नाफा खाने समय बनेको छ। जागिर जस्तो होइन, महिना दिन काम गरेपछि तलब पाउन। हाम्रो व्यवसाय नमूना देखाउनु पनि थियो। सानो बजेटबाट सुरु गरेको व्यवसाय कसरी बढाउँदै जाने भन्ने हो।
गुन्द्रुक पनि किनेर खाने ?
नेपालमा अथाह सम्भावना छ। जस्तै गुन्द्रुक नेपाली परिकार हो। तर हामी चीनबाट आयात गर्छौ। यदि हामीले गुन्द्रुकमै निर्भर हुन सक्ने हो भने कति फाइदा हुन्छ। यसको लागि धेरै लगानी पनि गर्नु पर्दैन।
अर्को अचारको माग धेरै छ। किनेर खाने बानी लागेको छ, त्यसलाई रोक्नु पर्छ। व्यक्तिगत रुपमा मानिसले आफ्नो खेतबारी बाँझो नराखौं। आफ्नो हावापानी अनुसार जे उत्पादन हुन्छ, त्यो उत्पादन गरौं। सरकारले पनि जमिन बाँझो नराख्ने नीति लिएर आयो भने हामी कृषिमा धेरै प्रगति गर्न सक्छौं।
एक गाउँमा पचास परिवारले एक एक पाथी भटमास उत्पादन ग-यौं भने पनि पचास पाथी हुन्छ। सबैले गर्ने हो भने सम्भव छ। नेपालमा बृहत आकारमा कुनै पनि कुराको उत्पादनको गर्न अझै समय लाग्छ।
आफूले नगरे कसले गर्छ ?
माटोसँग खेल्न मन पराउने मान्छे हो। म आफैंले नगरे कसले गर्छ। मैले माटो नछुने अरुलाई गर भनेर मात्रै हुन्न। मेरो अभियान सफल पार्न म आफैं उदाहरणीय बन्नुपर्छ। मेरा हात खुट्टाहरु पुरै फुटेको छ। तर मेरो अभियानले धेरै मानिसलाई व्यवसायी बन्न प्रेरित गरेको छ। त्यो देखेर आमाबुवा खुसी हुनुहुन्छ। सबैजना कुर्सीमा बसेर काम गर्ने हो भने खाने के त ?
हामी आफ्नो बारेमा मात्रै सोच्छौ, यो देश र अर्को पुस्तासम्मलाई हामीले के दिने ? श्रम गर्न नसिकाउने ? बुवापुस्ताले अब बुझ्नुपर्ने कुरा के हो भने हिजो उहाँहरुले गरेजस्तो कृषि होइन अबको पुस्ताको कृषि फरक तरिकाले हुन्छ। आत्मनिर्भरमुखी , व्यवसायीमुखी कृषि हुन्छ। अब कृषि नै गर्नु थियो भने किन पढेको ? यो तर्क सही छैन। पढेको र नपढेको मान्छेले गरेको कृषि फरक हुन्छ।
युवाहरु पनि विदेश जाने भन्दा यहीँ सम्भावना खोजौं। तुरुन्त रिजल्ट खोज्दा विदेशिनु परेको छ। तर दिर्घकालीन सोच्ने हो भने युवाले आफ्नै देशमा संघर्ष गर्नुपर्छ।
मैले मात्रै विदेश नजानु भनेर हुँदैन। सरकारले युवालाई यही देशमा रोक्ने नीति ल्याउनुपर्छ। उनीहरुले यहीँ सम्भावना देख्न सक्ने वातावरण बनाइदिनु पर्छ। जस्तै व्यवसाय गर्छु भन्नेहरुका लागि सहुलियत ऋण, अनुदान र करमा छुट दिनुपर्छ। यहाँ सानो काम गर्छु भन्नेलाई हौसला नै छैन। स-सानो प्रक्रियामै सरकारीस्तरका काम चुस्त छैन।
प्रतिक्रिया