महिला सशक्तीकरणको आशलाग्दो अध्याय : राष्ट्रपतिदेखि पत्रकारको नेतृत्वसम्म | Khabarhub Khabarhub

महिला सशक्तीकरणको आशलाग्दो अध्याय : राष्ट्रपतिदेखि पत्रकारको नेतृत्वसम्म



काठमाडौं- ‘कसैलाई पछि नछोडौँ’ भन्ने सिद्धान्तअनुसार दिगो विकासको लक्ष्य निर्धारण गरिएको छ । न्यायपूर्ण, समावेशी र समतामूलक विकास तथा समाजवाद उन्मुख समाज निर्माणका लागि महिला र पुरुष दुवैको बराबर सहभागिताको परिकल्पना पनि सँगै गरिएको छ ।

दिगो विकासको लक्ष्यअनुसार २०३० सम्ममा संघीय संसद्‍मा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चित गरिने भएको छ । त्यस्तै, महिला कर्मचारीको हिस्सा तीन गुणाले बढाउने योजना छ । लैङ्गिक असमानताको सूचाङ्क ०.४९ बाट घटाएर ०.०५ मा पुर्‍याउने लक्ष्य पनि नेपाल सरकारले बोकेको छ ।

नेपालको १६ औँ योजनाले पनि आर्थिक वर्ष २०८५/८६ सम्ममा संघ ४० प्रतिशत, प्रदेश ४० प्रतिशत र स्थानीय तहमा ४५ प्रतिशत महिला प्रतिनिधि सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

पितृसत्तात्मक संरचनामा महिलाले राज्यको कार्यकारी हाँक्नु निक्कै ठूलो उपलब्धि हो । शहरदेखि गाउँसम्म महिलाहरू आफूलाई अपडेट गर्दै हरेक क्षेत्रको नेतृत्वमा पुगेका छन् । हिजोका दिनमा महिलाहरूलाई पढ्ने अधिकारबाट वञ्चित गरियो । उनीहरूलाई राजनीतिक, आर्थिक तथा सामाजिक न्यायबाट वञ्चित गरियो ।

महिलाहरूले आफ्नो हक र अधिकारका लागि हरेक युगमा निकै ठूलो संघर्ष गर्नुपरेको इतिहास हामीसँग छ । राणाकालीन समय, राजतन्त्र, जातन्त्र र हाल संघीय लोकतान्त्रिक व्यवस्थामा महिलाहरूले  ठूलो चुनौतीसाथ आफूलाई स्थापित गरिरहेका छन् । त्यस्ता केही महिलाहरूबारे खबरहबले सामग्री तयार गरेको छ ।

पहिलो महिला मन्त्री द्वारिकादेवी

द्वारिकादेवी ठकुरानी

नेपालमा मन्त्री हुने पहिलो महिला द्वारिकादेवी ठकुरानी हुन्  । ठकुरानी तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वको सरकारमा २०१६ सालमा उप–मन्त्री बनेकी थिइन्  ।

डोटी गौडाको सिलगढीमा शिक्षित तथा सम्पन्न परिवारमा हुर्केकी द्वारिकादेवी साक्षर थिइन् । त्यो समयमा जनताका छोराछोरीले पढ्न पाउँदैनथे । सक्नेहरूले छोरालाई भारत पढ्न पठाउँथे तर छोरीको लागि शिक्षा वर्जित थियो । पिता वामदेव सरकारी जागिरे भएका कारण उनको घरमा समसामयिक राजनीतिक विषयमा छलफल कुराकानी हुने गर्थ्यो ।

राणाकालमै बैतडीका दशरथ चन्दलाई प्रधानमन्त्री जुद्धशमशेरले मृत्युदण्ड दिएपछि सिंगो सुदूरपश्चिम स्तब्ध बनेको थियो । सुदूरपश्चिममा राणाविरुद्धको आक्रोश चुलिएको अवस्था थियो । त्यसअघि प्रधानमन्त्री चन्द्रशमशेरसँग विद्रोह गरी बझाङकै जयपृथ्वीबहादुर सिंह निर्वासनमा गइसकेका थिए । ती सबै घटनासँग द्वारिकादेवी परिचित थिइन् ।

त्यसको मनोवैज्ञानिक असर द्वारिकादेवीमा परेको थियो । भारतको मुरादावादमा अध्ययनरत भाइ शिवराज पन्त ‘भारत छोड’ आन्दोलनमा सक्रिय थिए । द्वारिकादेवीका पति उद्धवबहादुरसमेत प्रगतिशील विचारधाराका थिए । राणाकालमै उनी  काठमाडौँ आइसकेकी थिइन् ।

उनले वि.सं. २००५ मा बीपी कोइरालाको हातबाट नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा पाइला हालेकी थिइन् । २००७ सालको क्रान्तिपछि नेपालमा पहिलो पटक २०१५ सालमा आम निर्वाचन भएको थियो । द्वारिकादेवी २०१५ सालको चुनावमा निर्वाचित पहिलो र एक्ली महिला नेतृ हुन् । डडेल्धुरा क्षेत्र नं. ६६ बाट उनी निर्वाचित भएकी थिइन् ।

पहिलो राष्ट्रपतिदेखि महिला सशक्तिकरणसम्म

विद्यादेवी भण्डारी

लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति हुन् विद्यादेवी भण्डारी । उनी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला हुन् ।

उनको जन्म २०१८ असार ५ गते भोजपुरको मानेभञ्ज्याङ गाउँस्थित सामान्य किसान परिवारमा भएको थियो । विद्यार्थी जीवनदेखि वामपन्थी– लोकतान्त्रिक गतिविधिमा सहभागी हुँदै उनको राजनीतिक करिअर सुरु भएको थियो । उनले भोजपुरमै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को स्थानीय तहमा नेतृत्व गरिन्  ।

२०३७ सालमा नेकपा (माले) निकट अखिल नेपाल महिला संघको सदस्य बनिन् । विद्यार्थी आन्दोलनको अग्रणी, महिला अधिकारको सक्रिय अभियन्ता र लोकतन्त्रका निम्ति संघर्षरत पार्टीको प्रतिबद्ध कार्यकर्ताका रूपमा उनले काम गर्दै गइन् ।

२०३९ सालमा उनको कम्युनिष्ट नेता मदन भण्डारीसँग विवाह भयो । तर बिहे गरेको ११ वर्षमा मदनको २०५० जेठ ३ गते रहस्यमय सडक दुर्घटनामा चितवनको दासढुंगामा निधन भयो । त्यसपश्चात पनि उनले दुई छोरी र राजनीतिक सँगसँगै सम्हाल्दै अगाडि बढिन् ।

२०५० मा मदनको निधनपछि रिक्त पदका लागि गरिएको उपनिर्वाचनमा उनी काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित भइन् । २०५१ को मध्यावधि २०५६ को प्रतिनिधि सभा सदस्यको निर्वाचन गरी तीन पटक लगातार प्रतिनिधि सभा सदस्य भइन् । त्यस्तै २०५४ मा वातावरण तथा जनसंख्या मन्त्रीसमेत बनिन् ।

२०६२/६३ को आन्दोलनपछिको व्यवस्थामा राज्यका हरेक अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने पहिलो प्रस्ताव गर्ने उनी हुन् । २०७२ असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधानले महिलाको सहभागिता सुनिश्चित गरेको छ । त्यसपश्चात् उनी २०६६ सालमा रक्षा मन्त्री भइन् । रक्षामन्त्रीको पदभार सम्हाल्ने उनी नेपालकै पहिलो महिला हुन् ।

२०७२ मा उनी पहिलो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन् । साथै पहिलो कार्यकाल सकिए पनि पुनः दोस्रो पटक २०७४ मा पनि दोहोर्‍याएर राष्ट्रपतिमा निर्वाचित भइन् । भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुअघि उनी नवौँ महाधिवेशनबाट नेकपा (एमाले) को उपाध्यक्ष, अखिल नेपाल महिला संघको अध्यक्ष र व्यवस्थापिका–संसद सदस्य थिइन् ।

विद्रोही कमाण्डरदेखि पहिलो महिला सभामुख ओ‌नसरी

ओनसरी घर्ती

२९ असोज, २०७२ असोज २९ गते नेपालले पहिलो महिला सभामुख पायो । उनी थिइन्– ओनसरी घर्तिमगर । २०३४ कार्तिक २८ गते रोल्पाको जंकोटमा उनको जन्म भएको थियो । आमा नौमति र बुवा प्रसाद घर्तीमगर मध्यम वर्गका किसान थिए ।

ओनसरीको बाल्यकाल आर्थिक हिसाबले धेरै दु:खमा नबिते पनि समाजमा व्याप्त असमानता र विभेदले आन्दोलनमा सक्रिय हुन घच्घचाइरहेको थियो । गाउँका जमिन्दारले एउटा गरिब परिवारलाई उठिबास लगाएको घटनाले उनलाई विद्रोही बनाएको थियो । समाजमा व्याप्त असमानताविरुद्ध उनको पाइला आन्दोलनतिर लम्कियो । न्यायपूर्ण समाजको कल्पनामा उनी माओवादी आन्दोलनमा होमिइन् ।

ओनसरीबाट उनको परिचय कमरेड ‘उषा’ बन्यो । आन्दोलनताकै उनले ०५२ मा सहयोद्धा वर्षमान पुनसँग विवाह गरिन् । सात महिनाको गर्भ बोकेरसमेत उनी युद्धमा दौडिन्थिन् । नालापानीको किल्लामा महिलाहरूले पिठ्यूँमा बच्चा बोकेरै अंग्रेज विरुद्ध लडेर रचेको इतिहास जस्तै उनले पनि बच्चा पेटमै  बोकेरै बन्दुक भिरेर हिँडिन् । ०६० सालबाट उनी माओवादीको केन्द्रीय सदस्यको भूमिकामा छिन् ।

पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएकी ओनसरी युवा तथा खेलकुद मन्त्री समेत बन्न सफल भइन् । उनले सभामुखको जिम्मेवारी सम्हाल्दै गर्दा उनी त्यस पदका निम्ति योग्य नभएको भन्दै आलोचना भएको थियो । तर, ओनसरीले आफूलाई प्रमाणित गरेर छोडिन् । अपवादलाई छोडेर उनको सभामुख कार्यकाल विवादरहित रह्यो ।

न्यायालयमा सुशीलाको कीर्तिमान 

सुशीला कार्की

सर्वोच्च अदालतको ०६४ वर्षको इतिहासमा पहिलो पटक महिला प्रधानन्यायाधीश बन्न सफल भएकी थिइन् । तीन दशक बढी वकालत क्षेत्रमा काम गरेकी उनी सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरिन् । निडर स्वभाव र सरल जीवनशैली अपनाउने उनी २०७३ असार २७ मा नियुक्त भएकी थिइन् ।

उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ मा बि.ए र वनारस हिन्दु विश्वविद्यालयबाट २०३१ मा राजनीतिशास्त्रमा एमए गरेकी छिन् ।

त्यस्तै २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि कानुनी क्षेत्रमा उनको यात्रा अघि बढेको हो ।

२०४५–०४७ सम्म कार्की कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै ०५९–६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् ।

त्यस्तै, ०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनेकी उनी ०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन् ।त्यसपछि उनी ०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्न पुगिन् ।

प्रधानन्यायाधीशका रूपमा उनको कार्यकाल निकै चर्चित रह्यो । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा उनको विश्वास थियो । आफू न्यायाधीश हुँदा सुशीलाले थुप्रै चर्चित मुद्दाहरूमा फैसला गरेकी छिन् ।

न्यायाधीशको भूमिकामा हुँदा उनले बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताको भ्रष्टाचार मुद्दामा उनले दोषी ठहर गरेर गुप्तालाई जेल पठाएकी थिइन् ।

प्रधानन्यायाधीशको पदमा रहँदा उनले सुडान भ्रष्टाचार काण्डका दोषीहरूलाई जेल पठाएकी थिइन् । यद्यपि नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा भने उनी निकै विवादित भइन् ।

निजामती प्रशासनमा लीलाको फड्को

लीलादेवी गडतौला

मुख्य सचिव व्यवस्था भएको ७० वर्षको इतिहासमा पहिलोपल्ट कर्मचारी प्रशासनको उच्च नेतृत्वमा लीलादेवीले नाम लेखाइन् । उनी २७ औँ मुख्यसचिव हुन् । उनी विवादरहित कर्मचारीका रूपमा परिचित छिन । त्यसकारण पनि मुलुकमा पहिलो पटक महिला कर्मचारी उच्चपदस्थ पदमा पुग्ने अवसर उनले प्राप्त गरिन् ।

०२३ सालमा तेह्रथुमको म्याङ्लुङमा जन्मिएकी उनी ०५२ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । ०६३ सालमा उपसचिव, ०७० सालमा सहसचिव र ०७७ साल कात्तिकमा सचिवमा भइन् ।

उनले २०३८ सालमा एसएलसी पास गरेकी हुन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह (आइएल) र स्नातक (बीएल) गरिन् । काठमाडौं स्कुल अफ लबाट ह्युमन राइट्स एन्ड जेन्डर जस्टिजमा एलएलएम गरिन् । त्रिभुवन विश्वविद्यालयबाटै राजनीतिशास्त्रमा स्नातकोत्तर पनि गरिन् ।

लामो समय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहेर काम गरेकी उनले निर्वाचन आयोग, गृह मन्त्रालय लगायतमा काम गरिन् । निजामती सेवामा हाल  महिला कर्मचारी २८.२३ प्रतिशत छ । राष्ट्रिय किताबखानाका अनुसार ८५ हजार ५१२ जना कर्मचारीमध्ये २४ हजार १४३ जना महिला कर्मचारी छन् ।

कलमजीवीको नेतृत्वमा निर्मला

निर्मला शर्मा

नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा नेपाल पत्रकार महासंघले पहिलो पटक महिला अध्यक्ष पाएको छ । अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट निर्मला शर्मा विजयी भएकी छिन् । यस अगाडिको निर्वाचनमा पनि अध्यक्षका लागि उनले प्रतिस्पर्धा गरेकी थिइन् । यो पटक शर्माले प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट उठेका रमेश विष्टलाई १२ सय भन्दा बढी मतान्तरले पराजित गरेकी छन् ।

गत शुक्रबार सबै जिल्ला र प्रदेशहरूमा एक साथ निर्वाचन भएको थियो । हाल सरोकार टीभीमार्फत सरोकार संवाद कार्यक्रम चलाउँदै आएकी उनले करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैंगिक, न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउँदै आएकी छन् ।

उनले गत वर्ष गोपालदास पत्रकारिता पुरस्कार प्राप्त गरेकी थिइन् । उक्त पुरस्कार प्राप्त गर्ने शर्मा पहिलो पत्रकार महिला हुन् । दक्षिण एसियाली पत्रकार संजालका अध्यक्ष र सञ्चारिका समूहकी पुर्वकेन्द्रीय अध्यक्षसमेत हुन् ।

केही जिल्लामा महिलाको नेतृत्व

सबैभन्दा धेरै पत्रकारहरू सदस्य भएको काठमाडौं शाखा अध्यक्षमा शोभा अर्याल विजयी भएकी छन् ।  माओवादीको प्रेस सेन्टरनिकट उनी एमाले र कांग्रेस गठबन्धनलाई पराजित गर्दे अध्यक्ष बनेकी हुन् । उता  मोरङ जिल्ला अध्यक्षमा सुशीला पाठक निर्वाचित भएकी छन् । रोल्पामा खुबिना मगर र मुस्ताङमा सुनदेवी रसाइली निर्वाचित भएकी छन्।

राजधानी हाँक्ने शोभा

शोभा अर्याल

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा शोभा अर्याल विजयी भएकी छन् । उनी रेड भ्वाइस नेप्ला डटकमका सम्पादक तथा निशान न्युज डटकमका उपसम्पादकको रूपमा कार्यरत छिन् ।

मोरङकी सुशीला

सुशीला पाठक

नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सुशीला पाठक निर्वाचित भएकी छन् । महासंघको मोरङ शाखामा अध्यक्ष बन्ने उनी पहिलो महिला हुन् । प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेकी पाठक ११७ मतसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नवराज कट्टेलले ५९ मत प्राप्त गरेका छन् ।सुनदेवी

मुस्ताङकी रसाइली

सुनदेवी रसाइली

मुस्ताङमा सुनदेवी रसाइली पत्रकार महासंघको अध्यक्ष निर्विरोध भएकी छन् । अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको थियो । उनी मुस्ताङ विक साप्ताहिक पत्रिकाको सम्पादकको रूपमा कार्यरत छिन् ।

रोल्पाकी खुबिना 

खुविना सुनारीमगर

नेपाल पत्रकार महासंघ रोल्पा जिल्ला अध्यक्षमा खुविना सुनारीमगर विजयी भएकी छन् ।  उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला अध्यक्षसमेत हुन् ।

नाफिजमा मेनुका

यहीबीचमा नेपालका आर्थिक पत्रकारहरू सदस्य रहेको एउटा संस्थामा पनि महिला नेतृत्व आएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को अध्यक्षमा मेनुका कार्की निर्वाचित भएकी छन् । उनले अध्यक्षका प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गर्दै नाफिजमा पहिलो पटक महिला नेतृत्वको झन्डा गाडिन्। कार्कीले एक सय मत र बानियाँले ८७ मत ल्याएका थिए ।

मेनुका कार्की, नवनिर्वाचित अध्यक्ष, नाफिज

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ४४ बजे

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १

बुटवलमा औद्योगिक व्यापार मेला हुने

लुम्बिनी – बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला

स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन

काठमाडौं – पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको