विराटनगर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारका कामकारबाहीबारे आलोचना गरेको छ ।
बिहीबार कोशी प्रदेशसभा सचिवालयको बैठक हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको कडा आलोचना गरेका हुन् ।
सरकार सञ्चालनका लागि बनेको दुई दलीय संयन्त्रले संविधान र कानूनविपरीत गतिविधि गरेको भन्दै आङ्बोले निर्वाचनमा पराजित भएका व्यक्तिले संयन्त्रको नाममा प्रदेश सरकार र संसदमाथि हस्तक्षेप गर्ने निर्णय गरेको दाबी गरे । कांग्रेस र एमालेको सरकार सञ्चालन संयन्त्रमा रहेका पूर्वमुख्यमन्त्री शेरधन राईप्रति लक्षित हुँदै यस्तो बताएका हुन् ।
राई संयोजक रहेको संयन्त्रले कोशी सरकारको बजेट पुनरावलोकन गर्ने निर्णय गर्दा उनी मुख्यमन्त्री कार्यालयमा रहेको सभाहलको मुख्यमन्त्री बस्ने आसनमा बसेका थिए । यसैगरी, आङ्बोले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनका विषयमा पनि अन्यौलता भएको बताउँदै निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सुझाव दिए ।
उनले सरकार सञ्चालनका लागि बनेको दुई दलीय संयन्त्र संविधान र कानून विपरीत भएको दाबी गरे । उनले संविधान र कानूनमै नभएको बजेट पुनरावलोकनको विषयमा संयन्त्रले फर्मान जारी गरेको आरोप लगाए ।
उनले भने ‘संविधान र कानूनले नचिनेको मान्छेले बजेट पुनरावलोकन गर्ने फर्मान गरेकाले माओवादीले प्रतिवाद गर्छ ।’
नेता आङवोले कोशी प्रदेश संसदीय दलले प्रदेश सभा बोलाउन माग समेत गरेको छ । दलका नेता इन्द्र आङवोले पत्रकार सम्मेलन गर्दै सरकार बेथितिपूर्ण ढङगले चलेको भएपनि ससदमा जनताले थाहा पाउने गरी बहस गर्न चाहेको बताए । उनले सरकार जनताका बीचमा पुग्न नसकेको भन्दै सदन मार्फत यो कुरा माओवादीले भन्न चाहेको बताए ।
निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीको प्रकरणबाट पनि प्रदेश सरकारले पाठ नसिकेको बताउँदै आङ्बोले नियम विपरीत कोशीका चार सांसदले कोलकाता भ्रमण गरेको बताए ।
त्यसबाहेक आङ्बोले उमागौरी सहकारीको ठगी प्रकरणको निष्पक्ष अनुसन्धानको लागि संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागे ।
पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै आङ्बोले पोखरेलको राजीनामा मागेका हुन् । उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
मुद्दामा अञ्जलासहित २५ जना फरार छन् । सहकारी ठगीमा पोखरेलकी पत्नी जोडिएको भएपनि प्रहरीले उनलाई कुनै सोधपुछसमेत नगरी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
सहकारी ठगीमा जोडिएका व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने गरेको प्रहरीले सत्तारुढ दलकै सांसदकी श्रीमती जोडिएको कारण उनलाई पक्राउ नगरेको आरोप लाग्दै आएको छ । मुद्दा दर्तापछि विराटनगरको महेन्द्र रात्री विद्यालयकी शिक्षिका रहेकी अञ्जला विद्यालयमा ५ दिनको बिदा लेखेर सम्पर्कविहिन छन् ।
प्रतिक्रिया