इटहरीमा ७४ करोड लागतमा साइकल लेनसहितको सडक बन्दै  | Khabarhub Khabarhub

इटहरीमा ७४ करोड लागतमा साइकल लेनसहितको सडक बन्दै 


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

इटहरी– लामो समयदेखि लथालिङ्ग रहेको र पटक-पटक आलोचना खेपेको इटहरी उपमहानगरको तालतलैया सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ ।

वर्ल्ड बैंकको लगानीमा निर्माण भइरहेको उक्त सडकले यहाँका तीन वटा वडा छुन्छ । इटहरी २, ३ र ४ नं. वडा छुने उक्त सडक इटहरीको पूर्व लाइनमा रहेको ताल तलैया गेट नजिकै भेटघाट चौक हुँदै, तालतलैयासम्म निर्माण भइरहेको हो । यो सडक साइकल लेन सहितको अत्याधुनिक हुने मेयर हेमकर्ण पौडेलको भनाई छ ।

वर्ल्ड बैंकको ७३ करोड ८० लाख १२ हजार चार सय ७६ रुपैयाँ ५७ पैसा लगानीमा सडक निर्माण भइरहेको हो । खास गरी उक्त सडक तालतलैया हुँदै इटहरी २ बरगाछीसम्म जोडिनेछ इटहरीका मेयर हेमकर्ण पौडेलले भने ।

‘नेपाल सरकारले तयार गरेको घुम्नुपर्ने एक सय ठाउँको सूचीमा परेको तालतलैया जाने सडक बन्नु आफैँमा खुसीको कुरा हो । इटहरीको रिङ्गरोडमा पर्ने भएकाले पनि यो बाटो महत्त्वपूर्ण छ,’ मेयर पौडेलले भने, ‘कोशी प्रदेशका दुई उपमहानगरपालिका जोड्ने भएकाले यो अन्तरपालिकास्तरीय बाटो हो ।’

इटहरीको वडा नं. ३ र धरानको वडा नं ६ लाई यो सडकले जोड्ने उनको भनाइ छ ।

यो बाटो आगामी दिनमा धरान काँकडभिट्टा जोड्ने वैकल्पिक बाटोसमेत बन्नसक्ने उनको दाबी छ । इटहरीको मुख्य राजमार्गपछिको सुन्दर बाटोको रूपमा चिनिने बाटो तीव्र गतिमा बनिरहेको र चाडै बनिसक्ने उनको विश्वास छ ।

इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार इटहरी २ मा ३२ फिट, इटहरी ३ मा ६० फिट र इटहरी ४ मा ५० फिट चौडाइको सडक बन्ने क्रममा रहेको हो । जम्मा साढे ८ किलोमिटर सडक बन्ने उनले बताए ।

‘वर्ल्ड बैङ्कबाट नेपाल सरकारले ऋण लिएको र नेपाल सरकारले इटहरी उपमहानगरपालिकालाई अनुदान दिएपछि सडक बन्ने क्रममा रहेको हो,’ इन्जिनियर घिमिरेले भने, ‘हालसम्म २५ प्रतिशत काम भएको छ ।’

उनका अनुसार उदयपुरको त्रियुगा ७ मा रहेको आशिष् आशीर्वाद जेभी कम्पनीले गत असार ३ गते योजनाको सम्झौता गरेर निर्माण गरिरहेको हो । उक्त योजनाको म्याद आगामी असार (२०८२ असार) सम्म रहेको घिमिरेले बताए ।

खासगरी प्राविधिक विधिअनुसार सडकको पिचको मोटाइ ५० एमएमको हुनुपर्नेछ । उक्त सडक पनि सोहीअनुसार निर्माण हुने घिमिरेले बताए ।

‘अहिले धमाधम काम भइरहेको छ,’ उनले भने, ‘हामीले बेलाबेला अनुगमन पनि गरिरहेका छौँ । निर्माणको म्याद अवधिमै काम सम्पन्न हुने विश्वास छ ।

लामो समयसम्म बाटो नबनेपछि गएको असार १५ गते धान दिवसको दिन स्थानीयले सडकमै धान रोपेर विरोध समेत जनाएका थिए । तर, अहिले बाटो तीव्र गतिमा बन्न थालेपछि भने स्थानीयवासीहरू खुसी भएका छन् ।

‘पहिले बाटोमा जताततै खाल्डाखुल्डी थियो । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्थ्यो । भरसक यो बाटो चाहिँ यात्रा गर्नु नपरोस् झैँ लाग्थ्यो । वर्षायाममा पानी जमेको खाल्डोमा परेर धेरै साइकल, मोटरसाइकल र सिटी सफारीहरू दुर्घटनामा भए । तर, अहिले यो बाटो बन्ने क्रममा छ ।

स्थानीय गणेश फुयाँलका अनुसार खाल्डाखुल्डीमा पानी जम्ने र हिलाम्मे ठाउँमा गाडी कुद्दा पानी छ्याप्ने, बाटो हिलो र चिप्लो हुँदा बालबालिका र वृद्ध वृद्धालाई समस्या हुँदै आएको थियो । आफ्नो ठाउँको प्रमुख समस्या बाटो रहेको बताउँदै उनले बाटो बनिसकेपछि भने सहज हुने सुनाए ।

 

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १२ : ५३ बजे

प्रधानमन्त्री मोदी प्रयागराजमा

नयाँदिल्ली– प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी

हरेक बिहान पिउनुहोस् जौँको पानी, मिल्नेछन् यी फाइदा

काठमाडौं– स्वस्थ जीवनशैलीको लागि आहार र दिनचर्यामा साना परिवर्तनहरू धेरै

आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने आवासीय चिकित्सकको घोषणा 

काठमाडौं– सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आजदेखी देशभरका

भारतको दिल्लीमा विधानसभा मतदान

नयाँदिल्ली– भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको

जाजरकोट भूकम्पको १५ महिनापछि क्षतिबारे विस्तृत मूल्याङ्कन हुँदै

सुर्खेत – जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएको १५ महिना