व्यापार नफापेको सरकारलाई ‘सञ्चो’ले दिएको खुशी | Khabarhub Khabarhub

व्यापार नफापेको सरकारलाई ‘सञ्चो’ले दिएको खुशी

निर्यात गर्ने कम्पनीलाई कम आँक्दै राज्य


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी स्वामित्वका नेपाल औषधी कम्पनी लिमिटेड र सिंहदरबार वैद्यखाना घाटामा चलिरहेका बेला जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको प्रगति भने उत्साहप्रद देखिएको छ ।

यस कम्पनीको मुख्य तथा चर्चित उत्पादन ‘सञ्चो’लाई ब्राण्ड बनाएर सञ्चो बाम, सञ्चो हिमालयन मसाज तेल, सञ्चो सिलाजित, स्यानिटाइजर, जटाकेश तेल र मह गरी ६ प्रकारका जडीबुटीहरू उत्पादन भइरहेको छ । यी उत्पादनमा स्वदेशी कच्चा पदार्थको प्रयोग हुने गरेको छ ।

यसका लागि कम्पनीले आफ्नै लगानीमा जडीबुटी खेती गरिरहेको छ । ४५ जना स्थायी कर्मचारी व्यवस्था भएको कम्पनीमा जडीबुटी खेती तथा संकलनका लागि करार र ज्यालादारी गरी झन्डै ८०० भन्दा बढी किसानले रोजगारी पाएको कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवले बताइन् ।

स्थानीयलाई रोजगारीसँगसँगै यहाँका उत्पादन तथा प्रशोधन गरिएका जडीबुटी स्वदेश तथा विदेशमा बिक्री गरी आर्जन गर्ने उद्देश्यले वि.सं. २०३८ सालमा कम्पनीको स्थापना भएको हो । कम्पनीले बाराको तामागढीस्थित ५०० बिघा जमिनमा मेन्था, लेमनग्रास, सिट्रोनेला, पामारोजा, क्यामोमाइल र फ्रेन्चबेसिल नामका जडीबुटीको खेती गरिरहेको छ ।

महाप्रबन्धक यादव भन्छिन्, ‘नेपालको इतिहास र हाम्रा पुराना धर्मग्रन्थहरू हेर्ने हो भने जडीबुटीसँग मानिसको नङ र मासुजस्तै सम्बन्ध छ । यहाँ धेरै किसिमका जडीबुटीहरू पाइन्छ । तर, यसको भरपुर उपयोग हुन सकिरहेको छैन ।’

सञ्चोले बजारमा व्यापक चर्चा पाएका कारण यसको बिक्री-वितरणमा कुनै समस्या छैन । तर अन्य उत्पादनहरू; जस्तै बाम, पेन रिलिफ आयल, शिलाजित, स्यानिटाइजर र हेयर आयल लगायत अन्य उत्पादनहरूले सोचेजस्तो बजार पाउन नसकेको महाप्रबन्धक यादवले बताइन् ।

अहिलेका उत्पादनहरूले अन्य कम्पनीका उत्पादनलाई विस्थापित गरेर सञ्चोजस्तै चर्चा पाओस् भनेर कम्पनी जोडतोडका साथ लागिरहेको यादवको भनाइ छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी महाप्रबन्धक सङ्गीता यादव ।

सञ्चोको कच्चा पदार्थ कहाँबाट आउँछ ?

महाप्रबन्धक यादवका अनुसार आफ्नै उत्पादन खेतीबाटै कच्चा पदार्थ पुगिरहेको छ । कहिलेकाहीँ नपुगेको अवस्थामा टेण्डरमार्फत पनि जडीबुटी ल्याउने गरिएको छ । त्यसलाई पनि हटाउन अझै खेती विस्तार गर्ने योजनामा कम्पनी रहेको छ । सञ्चो उत्पादनका लागि चाहिने मुख्य जडीबुटी मेन्था हो । त्यसको खेती मधेश प्रदेशमा हुने गरेको छ ।

‘मेन्था बाहेक यसमा विभिन्न खालका जडीबुटीको प्रयोग हुन्छ । पहिले यसका शाखाहरू तराई क्षेत्रमा आधारित थिए । अहिले पहाडी क्षेत्रतिर विस्तार भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगतिर पाइने मूल्यवान् जडीबुटीहरूको आवश्यकता पर्ने भएकाले जाजरकोटमा एउटा संकलन केन्द्र राखिएको छ । अब तत्कालै गोरखामा पनि स्थापनाको तयारी कम्पनीको छ,’ यादवले जानकारी दिइन् ।

ती क्षेत्रहरूमा पाइने जडीबुटी संकलन गरेर प्रशोधन गरी मागअनुसार स्वदेशमै प्रयोग गर्ने र बचेको औषधी विदेशमा पनि निर्यात गर्ने योजना कम्पनीको छ । अहिले बाराको तामागढीमा ५०० बिघामा मेन्था खेती भइरहेको छ ।

अब सिराहामा पनि यसको खेती विस्तारको योजना रहेको बताइएको छ । जसका लागि जग्गा हेरिसकिएको छ । विगतको तुलनामा कम्पनीको आर्थिक अवस्था सुधारात्मक रहेको जनाइएको छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धनमा सरकारी चुक

यस्ता कम्पनीहरू कुनै एउटा प्रदेश र जिल्लामा मात्रै सीमित नरही सात वटै प्रदेशमा विस्तार भए मात्रै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने महाप्रबन्धक यादवको तर्क छ । यसबाहेक सरकारले आफ्ना उत्पादनलाई प्रवर्द्धन र उपयोग गरे सरकारी कम्पनी उँभो लाग्ने उनले बताइन ।

महाप्रबन्धक यादवका अनुसार खरिद ऐनमा पनि २० प्रतिशत महँगो भए पनि नेपाली उत्पादनहरू नै प्रयोग गर्नुपर्छ भनिएको छ । तर सम्बन्धित निकायहरूलाई नेपाली उत्पादनहरूको प्रयोग गरिदिन अनुनयविनय गर्दा उत्साहजनक प्रगति नदेखिएको उनको गुनासो छ ।

सरकारी कम्पनीले नै स्वदेशी बाम उत्पादन गरिरहँदा नेपालमा बर्सेनी झन्डै १८ करोडको बाम विभिन्न देशहरूबाट आयात भइरहेको तथ्याङ्क छ ।

त्यस्तै; सरकारी कम्पनीहरू जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र नेपाल औषधी कम्पनी लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर हुँदाहुँदै सरकारी अस्पतालमै विदेशी स्यानिटाइजरको प्रयोग हुनु दुखद रहेको गुनासो यादवको छ ।

यत्र, तत्र, सर्वत्र ‘सञ्चो’

विभिन्न प्रकारका जडीबुटीहरू जुन स्थानीय वातावरण, वनजंगल र खेतमा उत्पादन हुने जडीबुटी संकलन गरी त्यसबाट निस्कने तेलबाट सुगन्धित तेल नै सञ्चो हो । यो तेललाई कम्पनीले बजारको माग अनुसार नेपाल भित्र र देश बाहिर निर्यात गर्ने गरेको कम्पनीले जनाएको छ ।

अमेरिका, अष्ट्रेलिया, जापान, खाडीलगायतका देशमा रोजगारी या बसोबासका लागि जाने नेपालीले यताबाट जाँदा सञ्चो लगायत यहाँका उत्पादनहरू लगेर जाने गरेको बताइएको छ ।

यसैगरी व्यवसायिक हिसाबले भारत, पाकिस्तान, चीन, स्वीडेन र जर्मनी लगायत देशमा निर्यात हुने गरेको कम्पनीका योजना तथा बजार व्यवस्थापन शाखा प्रमुख गोविन्द शर्माले जानकारी दिए ।

उनका अनुसार गर्मीभन्दा चिसो मौसममा सञ्चोको अत्यधिक माग हुने गरेको छ । युक्रेन लगायतका युद्धग्रस्त देशहरुमा हिमालयन मसाज तेलको माग धेरै हुने उनले बताए ।

वार्षिक १६–२० करोडको जडीबुटी बिक्री

यहाँका उत्पादन भनेको मुलरुपमा सबैलाई अनिवार्य हुने चिज होइन । जस्तै सञ्चो आवश्यक परेको मान्छेले किन्छ । जसलाई आवश्यक छैन उसले किन्दैन भन्दै महाप्रबन्धक यादवले मौसम तथा आर्थिक मन्दीको असर यसमा पनि पर्ने बताइन् ।

जस्तै सञ्चोको बिक्री गर्मी मौसममा भन्दा चिसो मौसममा धेरै हुने भएकाले यसको बिक्री वितरण पनि तलमाथि हुने गरेको छ । सञ्चोका प्रयोगकर्ताहरू नेपाल बाहिर पनि त्यत्तिकै मात्रमा रहेकाले आर्थिक मन्दीको असर यसमा पनि पर्छ । तर, वार्षिक १६ देखि २० करोड बराबरको जडीबुटी कम्पनीले आफ्ना उत्पादन बेचबिखन गरिरहेको छ ।

त्यसैबाट कर्मचारीहरूको तलब, जडीबुटी संकलनलगायत काम गर्नुपर्ने भएकाले धेरै नाफा नभए पनि व्यापार सन्तुलित अवस्थामा छ ।  चालु आर्थिक वर्षको चार महिनामा तीन करोड बराबरको औषधी बिक्री गरेको बजार व्यवस्थापन प्रमुख शर्माले बताए । जसमा साढे चार लाख रुपैयाँ बराबरको सञ्चो विदेश निर्यात भएको छ ।

के छ त आगामी योजना ?

धेरै वर्षदेखि संकुचित भएर बसेको यस संस्थामा आफू आएपछि जाजरकोटमा शाखा विस्तार भएको र अब गोरखामा पनि छिट्टै नै शाखा विस्तारको तयारी रहेको जानकारी महाप्रबन्धक यादवले दिइन्  । त्यस्तै; सिराहामा खेती विस्तारसँगै मेसिनको प्रयोगबाट औषधीहरूको प्याकेजिङ गर्ने कामको सुरुवात गरिएको दुई वटा उत्पादन बढाइएको छ ।

पहिले पहिले हातले नै गरिने कामहरू अहिले मेसीनबाट भइरहेको छ । जस्तै प्रतिघण्टा पाँच हजारसम्म बोटल भरेर प्याक गर्ने मेसिन अहिले कम्पनीसँगै रहेकाले मागअनुसार उत्पादन गरी बजारमा पठाउन सहज भइरहेको उनले बताइन् ।

कम्पनीको क्षमता अनुसार अझै उत्पादन बढाउने, अपुग जनशक्ति पूरा गर्ने योजना रहेको उनले बताइन् । विगतमा जे जस्तो भए पनि अहिले कर्मचारीहरूको सेवा सुविधाका लागि कम्पनीको बजेट पर्याप्त रहेको र माग अनुसारको उत्पादन भइरहेको छ ।

कम्पनीकै बजेटबाट विभिन्न ठाउँमा शाखा विस्तारको काम भइरहेको र जतिसक्दो चाँडो ती शाखाहरूबाट पनि उत्पादन तथा बिक्री गर्न संस्थान अझै उचाइमा पुग्ने विश्वास कम्पनीको छ ।

सरकारी प्रक्रियाको असर बजारमा

एउटा कम्पनी राम्रोसँग चलेको अवस्थामा आठ सयले रोजगारी पाएको यो उदाहरणले यस्ता कम्पनी हरेक प्रदेश तथा पर्याप्त जडीबुटी पाइने स्थानीय तहमा विस्तार गर्न सके किसानले रोजगारी पाउनसक्ने देखिन्छ ।

‘सञ्चो यदि नेपालमा उत्पादन हुँदैन थियो भने अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था आउँथ्यो । हाम्रो देशको मुद्रा बाहिर जान्थ्यो होला । तर हाम्रा यी उत्पादनहरूले यसलाई रोक्ने काम गरिरहेको छ,’ महाप्रबन्धक यादव भन्छिन्‌, ‘यो सरकारी स्वामित्वको कम्पनी भएकाले सरकारले लागु गरेका प्रक्रियाहरू मान्नुपर्ने हुन्छ । हामीजस्ता थुप्रै निजी कम्पनीहरू पनि छन् । हामीले उनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ । निजी कम्पनीहरू कार्यउन्मुख हुन्छन् ।’

सरकारी संस्थान अवन्नतिको कारण के त ? महाप्रबन्धक यादवको कथन छ –

हाम्रो लामो प्रक्रियाले गर्दा कतिपय कुराहरूमा ढिलाइ भइरहेको हुन्छ । प्रक्रिया नपुर्‍याइ हामी कुनै काम गर्न सक्दैनौँ ।हामीले प्रक्रिया पुर्‍याउँदा हुने ढिलाइको फाइदा निजी कम्पनीहरूले उठाउँछन् । यो एउटा मुख्य चुनौती हो भने अर्को यहाँका सरकारी निकायहरूले आफ्नो उत्पादन प्रयोग गर्नुपर्ने भए पनि हुँदैन ।

हामीले उत्पादन गर्ने जडीबुटीहरू सरकारले नै विभिन्न आवश्यक जाँच तथा प्रक्रियाहरू पुर्‍याएर गुणस्तरीय बनाएको हुन्छ । तर त्यसको प्रयोगमा सरकारले गर्दैन । स्वदेशमै उत्पादन हुने औषधी, जडीबुटी लगायतका चिजहरू कमसेकम सरकारी निकायहरूले प्रयोग गर्ने वातावरण बनाएर त्यस्ता वस्तुहरू आयातमा कडाइ गरिदिएको अवस्थामा स्थानीय उत्पादनले प्रोत्साहन पाउँछ ।

नेतृत्व तहमा महिलाका चुनौती

उनको अनुभवमा तुलनात्मक रूपमा पुरुषभन्दा महिलाले धेरै कुरा सामना गर्नुपर्ने हुन्छ । जुनसुकै ठाउँमा जाँदा पनि पहिलेदेखि नै लैङ्गिक कसीमा तौलने समस्या भोग्नुपरेको उनी बताउँछिन्‌ ।

यादव भन्छिन्‌, ‘कामले महिला र पुरुष हेर्दैन । म यहाँ आउँदा महिलाले नेतृत्व लिएर आएको छ, काम गर्न सक्छिन् कि सक्दिनन् भन्ने धेरैको मनमा थियो ।  तर, मैले प्रश्न उठ्ने ठाउँ दिएको छैन । काम बोले भइगो नि !’

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ४ : ५६ बजे

सोनु निगमको कन्सर्टस्थलबाट हटाइए मदिराका बोर्ड

काठमाडौं– बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन

रसुवा भ्रमण गर्ने २५ हजार नाघे, दुई करोड बढी राजस्व संकलन 

रसुवा– रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने

सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता

न्यूयोर्क– संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार सुडानमा बढ्दो खाद्य

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले नियन्त्रणमा लियो व्यवस्थापन

काठमाडौं – कर्णाली विकास बैंक समस्याग्रस्त घोषित भएको छ ।

निगमका जहाज ग्राउन्डेड हुँदा दुर्गममा उडान प्रभावित

काठमाडौं – आन्तरिक उडानमा रहेका नेपाल वायुसेवमा निगमका जहाज ग्राउन्डेड