एआई प्रविधिको दुरुपयोग बढ्दा सेलिब्रेटी हैरान, कानुनी दायरामा नल्याए विकराल अवस्था आउने विज्ञको चेतावनी  | Khabarhub Khabarhub

एआई प्रविधिको दुरुपयोग बढ्दा सेलिब्रेटी हैरान, कानुनी दायरामा नल्याए विकराल अवस्था आउने विज्ञको चेतावनी 

कानुनी सचेतता अपनाउन प्रहरीको सुझाव



घटना एक – केही दिन अगाडि गायिका समीक्षा अधिकारीको एक भिडियो भाइरल भयो । जसमा उनी र एक युवक एक अर्कालाई चुम्बन गरिरहेका थिए । सामान्य आँखाले हेर्दा पनि उक्त भिडियोमा दुई जनाको फोटो प्रयोग गरिएको देख्न सकिन्छ । तर प्रविधि वा एआईबाट उक्त भिडियो बनाइएको हो भनेर बुझ्न नसक्नेहरूले गायिकालाई सामाजिक सञ्जालमा गाली गरिरहेका थिए ।

अधिकारीले आफ्नो चरित्र हत्या भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । एआईको दुरुपयोग गरी भिडिओ बनाएर चरित्रहत्या गरिएपछि उनले शनिबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन् । २१ हजार फलोअर्स रहेको ‘दिपु कान्छो’ प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उजुरी दिएको समीक्षाले जनाएकी छन् ।

उजुरी दिएको विवरण सामाजिक सञ्जालमा राख्दै उनले भनेकी छन्– ‘सस्तो लोकप्रियता कमाउने उद्देश्यले कसैको जीवनलाई असर पर्ने गरी गैरकानुनी क्रियाकलाप नगर्नु ।’

उजुरीपछि कसुरदारले सामाजिक सञ्जालमार्फत अधिकारीसँग माफी मागेका छन् । उनले एआई भर्खर चलाउन सिक्दै गर्दा उक्त भिडियो रमाइलोको लागि बनाएको अभिव्यक्ति दिएका छन् ।

घटना दुई– सामाजिक सञ्जाल टिकटकमा सबैभन्दा धेरै एआईमार्फत हुने दुरुपयोगको मारमा तनहुँकी अनु परियार परेकी छिन् । फेसबुक रिलमा उनी निकै लोकप्रिय छिन् । उनी गाउँले सामान्य युवती हुन् । नृत्यमा निकै पोख्त छिन् ।

आफ्नो नृत्य प्रस्तुत गरेरै उनी टिकटक र रिलमा निकै रुचाइएकी छन् । नेपाली लोक गीतदेखि चलचित्रका गीत र हिन्दी तथा अंग्रेजी गीतमा पनि उनले टिकटक बनाउने हुँदा उनको नेपाली मात्र नभएर देशविदेशी फ्लोअर छन् ।

तर पछि उनका निकै भद्दा टिकटकहरू आउन थाले । उनका फ्यानहरू भड्किन थाले । केही लाख फ्लोअर भएकै भरमा उनले नेपालीपन बिर्सिएको आरोप लाग्न थाल्यो । गाली र आलोचनाको वर्षा भएपछि अनु सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिन बाध्य भइन् । उनले त्यस्ता भद्दा टिकटक आफूले नबनाएको स्पष्ट पारिन् ।

अनुले भनेकी छन् – ‘छोटा र ग्ल्यामर भिडियो मैले बनाएको होइन । मेरो भिडियोको दुरुपयोग भएको छ । एआईमार्फत मेरो अनुहार अरुको शरीरसँग जोडिएको छ । अनुहार मेरो भए पनि शरीर मेरो होइन । त्यस्ता महँगा लुगाहरू मैले इफोर्ट गर्नै सक्दिनँ ।’ अनुले आफ्नो नाम र अनुहार दुरुपयोग गरी भिडिओ सामग्री बनेको भन्दै यसबाट नझुक्किन आग्रहसमेत गरेकी छन् ।

घटना तीन – बलिउडका रणवीर कपुर र आलिया भट्टको पनि यस्तै अन्तरङ्ग भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरू पति–पत्नी हुन् । उनीहरूका डेढ  वर्षकी छोरी पनि छन् । परिवारमा लगभग धेरै सदस्य फिल्म उद्योगमा छन् । फिल्ममै पनि उनीहरूले त्यस्तो सिन गरिरहेका हुन्छन् ।

तर फिल्ममा गर्‍यो भन्दैमा कसैले उनीहरूको फोटो दुरुपयोग गर्न पाइँदैन । बलिउडलाई संसारकै सबैभन्दा दोस्रो ठूलो उद्योगको रूपमा लिइन्छ । त्यस कारण पनि उनीहरूले यसको बारेमा कुने प्रतिक्रिया दिएका छैनन् । कानुनतः यस्ता क्रियाकलाप वर्जित छन् ।

घटना चार – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निकै चर्चित नेता हुन् । आफ्नै पार्टी भित्र मात्र नभएर अन्य पार्टीका युवाहरुबीच पनि उनी लोकप्रिय छन् । जति चर्चित उति नै आलोचित हुनु पनि स्वाभाविक हो ।

गगनको चर्चित काण्डमध्ये उनलाई कहिले पनि नछोड्ने काण्ड भनेको बाख्रा काण्ड पनि हो । उनले केही समय अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘इट्स माइ सो’ कार्यक्रममा यो कुरालाई स्वीकार गर्दै बाख्रा देख्यो भने पनि आफूमाथि लागेको आरोप याद आउने बताएका थिए ।

आरोप लागे पनि बाख्रा पालनका लागि लिएको अनुदान खाएको कानुनतः भने भेटिँदैन । तर पनि उनले यो आरोपबाट मुक्ति पाएका छैनन् । उनको विरोध गर्नुपर्‍यो भने बाख्राको टाउको प्रयोग गरिन्छ । एआईमार्फत बाख्राको शरीरमा उनको टाउको जोडेर व्यापक आलोचना गरेको पाइन्छ ।

उनी बोल्न पाउनु पर्छ भन्दै राजतन्त्रको अन्त्यको लागि लडेका व्यक्ति हुन् । र आलोचना गर्न पाउनु पर्छ भन्ने विचारमा अडिग थापाले यस कुरालाई सामान्य रूपमा लिँदै अगाडि बढिरहेका छन् ।

यी केही प्रतिनिधि पात्र हुन् । जो एआई प्रविधिको मारमा परिरहेका छन् । नागरिकका लागि शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, बिजुली तथा सूचना–प्रविधि आधारभूत सेवाको रूपमा स्थापित छ ।

त्यस्तै नेपालको हकमा २०८१ को बजेटमा मुख्य पाँच आधारमा सूचना–प्रविधि क्षेत्र पनि प्राथमिकतामा परेको छ । यसै वर्षलाई प्रस्थान बिन्दु मान्दै बजेटमा सूचना–प्रविधि दशकको घोषणासमेत गरिएको छ । योसँगै सूचना–प्रविधि क्षेत्र आगामी १० वर्षसम्म प्राथमिकतामा पर्नेछ । जसले ३० खर्बको सूचना–प्रविधि सेवा निर्यातसहित १५ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

एआई विज्ञान तथा प्रविधि क्षेत्रको सबैभन्दा पछिल्लो आविष्कार हो जसले आजको दुनियाँमा सबैभन्दा धेरै चर्चा पाइरहेको छ । मानवीय जीवनमा आउने कुनै क्रान्तिकारी परिवर्तनको सुरुवाती संकेतको रूपमा यो प्रविधि देखा परेको छ ।

कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोगबाट सांसारिक जीवनचक्रमा देखिँदै गरेका अवसर र चुनौतीका बारेमा विश्वभर चर्चा चलिरहेकै छन् । एसिया, युरोप होस् वा अमेरिकाको प्रविधि उद्योगमा अहिले एआई सबैको चासो, आशा र चिन्ताको विषय बनिरहेको छ ।

एआईमार्फत चरित्र हत्या गरेर कोही उम्किन पाउँदैन : साइबर व्यूरो

साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थी चरित्र हत्या गरेर कोही उम्किन नपाउने बताउँछन् । रिसको झोंकमा, बदलाको भाव र रमाइलो लागि प्रविधिको दुरुपयोग गर्नु दण्डनीय अपराध भएको भन्दै अवस्थी भन्छन्, ‘चरित्र हत्यासम्बन्धी कानुनमा स्पष्ट व्यवस्था गरिएको छ । कुनै पनि माध्यमद्वारा कसैको चरित्र हत्या गरेमा कानुनी कठघरामा उभिनु पर्छ ।’

विशेषगरी सेलिब्रेटी यसको मारमा परेको पनि उनी सुनाउँछन् । एआईमार्फत नेपालमा ठूलै अपराध नभए पनि निकै सतर्कता अपनाउनुपर्ने अवस्थी बताउँछन् । उनी थप्छन्, ‘यसका लागि ब्यूरोको प्रयास भनेको निकै सामान्य हो, यस्ता अपराधबाट जोगिन सरकारले नै संयन्त्र खडा गर्न आवश्यक छ । ’
छिमेकी राष्ट्र भारत र अन्य विकसित देशहरूमा जस्तै ऐन नै बनाउनुपर्छ’ उनले भने । यो व्यक्ति वा सेवाग्राहीको सचेतनाले मात्रै समाधान नहुने भन्दै प्रवक्ताले सम्बन्धित निकायको पनि ध्यानाकर्षण गराएका छन् । साथै, उनले प्रविधि प्रयोगकर्तालाई सञ्चालनसम्बन्धी भएका वा उपलब्ध नियम कानुन राम्रोसँग अध्ययन गर्न सुझाव दिएका छन् ।

आईटीसम्बन्धी कानुनको अभाव: आईटी विज्ञ

आईटीसम्बन्धी कानुन निर्माण हुन नसक्दा मानिसहरूले प्रविधिलाई चुनौतीको रूपमा बुझ्न थालेको आईटी विज्ञ उत्तम कार्कीले बताएका छन् । अबको युग प्रविधि विना कल्पना पनि गर्न सकिँदैन तर यसको सदुपयोग भएन भने यसले अराजकता निम्त्याउने उनको भनाइ छ ।

कार्की थप्छन्, ‘नेपालमा प्रविधि भित्रिन्छ तर त्यसको नियमनको लागि कानुन बन्न कति वर्ष लाग्छ भन्ने ठेगान छैन । कानुनको अभाव छ । कानुन बनाएर नियमन गर्न सकिएन भने यसले विकराल स्थिति सिर्जना गर्छ । मुख्य कुरा नीतिगत कुराहरूमा कमीकमजोरी देखिन्छ । प्रविधिको विकास सँगसँगै चुनौती पनि आउँछ ।’

एआईलाई शिक्षा तथा अनुसन्धान, स्वास्थ्य लगायतका धेरै क्षेत्रमा प्रयोग गर्न सकिन्छ । प्रविधिसम्बन्धी सचेतना जगाउने कार्यक्रमहरू बढाउँदै सरकारले दक्ष तथा विज्ञ जनशक्तिलाई खटाउनुपर्ने आवश्यकता उनी देख्छन् ।

के छ कानुनमा ?

नेपालको संविधान २०७२ को मौलिक हकमा नै गोपनीयता सम्बन्धी अधिकारको व्यवस्था गरेको छ । त्यसै गरी वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५ को पनि व्यवस्था छ ।

साथै, कानुनमा व्यवस्था भएअनुसार प्रत्येक व्यक्तिलाई निजको चरित्र वैयक्तिक आचरण र व्यवहारको गोपनीयता राख्न पाउने अधिकारको व्यवस्था छ । यदि यस्तो गरेको पाइएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : २४ बजे

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज  ट्रिपर दुर्घटना हुँदा दुई

बालबालिकालाई सानैदेखि खेलकुद क्षेत्रमा लगाऊँ : खेलकुदमन्त्री

काठमाडौं– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा

नर्भिकमा टाउकोमा पानी जम्ने समस्याको उपचार सुरु 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालमा टाउकोको पानी जम्ने समस्याको शन्ट शल्यक्रिया

जलवायु परिवर्तनले प्राकृतिक प्रकोप झन् पेचिलो बन्यो : गृहमन्त्री  

काठमाडौं – गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई

पशुपतिनाथको दर्शन गर्न पुगे सोनु निगम (तस्बिरहरु)

काठमाडौं– भारतीय चर्चित गायक सोनु निगमले पशुपतिनाथको दर्शन गरेका छन्