काठमाडौं– नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहसमेत तीन तहको संरचना परिकल्पना गरेको छ । तर, संविधानको धारा २२० ले जिल्ला समन्वय समिति (जिसस) को पनि परिकल्पना गरेको छ । जिल्लाभरिका पालिका प्रमुख र उपप्रमुखहरु जिससको सदस्य रहन्छन् । स्थानीय तहको निर्वाचन सकिएको ३० दिनभित्र पालिकामा निर्वाचित वडा सदस्यमध्येबाट जिसस प्रमुख र उपप्रमुख चुनिन्छन् ।
संविधानको धारा २२० को उपधारा ७ अनुसार जिससका काम ४ वटा तोकिएका छन्–
एक– जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने । दुई– विकास तथा निर्माणसम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने । तीन– जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने । र, चार– प्रदेश कानूनबमोजिमका अन्य कार्यहरू गर्ने ।
यीमध्ये आफ्नो जिल्लाभित्र प्रदेश र स्थानीय तहले गरेका विकासका कामहरुको अनुगमन गर्ने मुख्य जिम्मेवारी जिससले पाएको छ । तर, विरोधाभाष के छ भने स्थानीय सरकारका विकासको कामहरुको अनगमन स्वयं पालिकाकै उपप्रमुखले गर्ने संवैधानिक व्यवस्था छ ।
यस्तो अवस्थामा विगतको जिल्ला विकास समिति (जिविस) जस्तै गरी ७७ जिल्लामा जिसस किन चाहियो भन्ने प्रश्न पनि स्वाभाविक रुपमा उठ्ने गरेको छ । देशभर ७७ वटै जिल्लाका जिसस प्रमुख र उपप्रमुखहरुले सरकारी गाडी र अन्य सुविधाहरुको प्रयोग गर्दा सरकारी खर्च बढ्नु स्वाभाविकै हो ।
सरकारले तीन तहको संघीय संरचना बनाएको ठाउँमा जिससको गठनले सरकारी खर्च बढाउने काम गरेको र यसबाट संघीयताको मर्ममाथि प्रहार भएको भन्दै यसको आलोचना हुने गरेको छ । संघीयताका पक्षपातीहरु जिससलाई धेरै अधिकार दिन नहुने वा यसलाई खारेजै गर्नुपर्ने बताउँछन् भने जिससकै पदाधिकारीहरु चाहिँ यसलाई अझ बढी अधिकार दिइनुपर्ने तर्क गर्छन् ।
जिल्ला समन्वय समितिको प्रमुख भइसकेका पाँचथर एमाले अध्यक्ष विष्णुप्रसाद सापकोटासँग पनि जिससबारे निको अनुभव छैन । उनको निष्कर्ष छ– ‘यही अवस्थाको जिल्ला समन्वय समितिको औचित्य छैन ।’
पाँचथरको भारपास्थित नीलगिरी माविबाट कक्षा ८ अध्ययन गर्दागर्दै सापकोटा राजनीतिमा लागे । ०३९ सालमा अखिल नेपाल स्वतन्त्र युनियन संगठन पाँचथरको जिल्ला अध्यक्ष भए । ०५२ सालमा एमाले जिल्ला कमिटी प्रवेश गरेका उनी ०५४ सालमा भारपा गाविसको उपाध्यक्ष बने । नेकपा एमालेले सापकोटालाई ०७४ सालमा पाँचथर जिल्ला समन्वय समितिको सभापति बनायो । उनी ०७८ सालमा एमाले जिल्ला सचिव हुँदै अहिले ०८१ चैतबाट एमाले जिल्ला अध्यक्ष छन् ।
पूर्वी नेपालमा पहिचान पक्षधरहरुले कोशी प्रदेश नामकरण र पाथीभरा केबलकार परियोजनाको विरोध गर्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले नेकपा एमालेलाई नै प्रहारको केन्द्रमा राखेको देखिन्छ ।
जिल्ला समन्वय समितिको औचित्य, जिल्लामा एमालेको अवस्था, प्रदेशको राजनीति र पहिचानको आन्दोलन लगायतका विषयमा केन्द्रित रहेर खबरहबकर्मी ज्ञानु घिमिरेले पाँचथरका एमाले अध्यक्ष सापकोटासँग गरेको कुराकानी सारसंक्षेप –
तपाईं पाँचथर जिल्ला समन्वय समितिको पूर्वप्रमुख हुनुहुन्छ । के जिसस आवश्यक रहेछ ?
यसलाई संविधानमा पनि पूर्ण परिभाषित गरिएको छैन । काम कारवाही र अधिकारको सन्दर्भमा अलिकति अपूर्ण र अपुष्ट छ । राज्यले सरकारका हिसाबमा तीन तह मात्र देख्छ । संविधानले पनि त्यही भनेको छ । जिल्ला समन्वय समिति राखियो । जिल्ला तहमा अन्य सरकारी कार्यालय पनि राखियो । ती राखेपछि जिल्ला समन्वय समिति रहनु हुँदैन भन्ने आवाजहरू पनि उठेका छन् ।
तर, अहिले नै जिल्ला समन्वय समिति हटाइहाल्ने भन्ने होइन । कालान्तरमा स्थानीय तहमा नागरिकता दिने, जनताका मालपोतसँग सम्बन्धित सबै काम कारवाही स्थानीय तहमै हुन थालेपछि जिल्ला समन्वय समिति नरहे पनि हुन्छ ।
संविधानमा राखेर पनि समन्वय गर्ने अधिकार दिइएन । बिजनेस खोजेर काम कारबाही गर्नुपर्ने छ । अनुगमनका कुराहरू पनि परिभाषित छैन । त्यसकारण नरहे पनि केही नुहने जसरी भूमिका नै देखिएको छैन ।
कुहिरोमा काग कुदे जसरी म पहिलोपल्ट आउँदा त्यस्तो भएँ । तर, संघ र प्रदेशका कामको संयोजन हुने गरी स्थानीय तह, प्रदेश र संघको समन्वय गर्ने काम गरें । तर, स्पष्ट कानून नहुँदा धेरै समस्या भएको थियो ।
त्यसोभए जिसस हटाउनैपर्ने अवस्था हो ?
अहिलेकै अवस्थामा जिल्ला समन्वय समितिलाई योजना आयोजना र बजेट नदिने हो भने खारेज नै गर्दा पनि फरक पर्दैन । तर स्थानीय तहले योजना पनि आफैँ गर्ने र अनुगमन पनि आफैँ गर्ने कुरा अलिकति मिलेको छैन । त्यसकारण अनुगमनको जिम्मा कानूनमै किटान गरेर जिल्ला समन्वय समितिलाई दिने हो भने काम राम्रो हुन्छ ।
अहिले जिल्ला समन्वय समिति राख्ने हो भने स्पष्ट अधिकार सम्पन्न अनुगमन गर्ने नियमन गर्ने अधिकार दिनुपर्छ, नत्र भने राख्नुको कुनै अर्थ । संविधान संशोधन गर्दा यही अवस्थामा जिल्ला समन्वय समिति नराखे पनि फरक पर्दैन । तर, एउटा स्थानीय तहहरुको अनुगमन गर्ने निकाय खडा गरेर यसलाई खारेज गरे पनि हुन्छ ।
अब पाँचथरमा नेकपा एमालेको अवस्थाबारे चर्चा गरौं । पाँचथरमा तपाईंको नेतृत्वमा पार्टीको गतिविधि कसरी अघि बढेको छ ?
पाँचथरमा ०४४ सालपछि नै एमालेसँग जोडिएको मान्छे हुँ । मैले उत्पादन गरेको अर्को पुस्ता जिल्लाको राजनीतिमा क्रियाशील छ । त्यसमध्ये केही माओवादीमा जानुभयो । संगठनप्रतिको लगावले होला, पाँचथरका कुना काप्चा पुग्दा मलाई उर्जा मिलेको अनुभव हुन्छ । अरू खालका नकारात्मक प्रभाव र असर छैन । जिल्ला अधिवेशनमा म सर्वसम्मत हुनुको कारण मैले सबै साथीहरू र पार्टीमा असन्तुष्ट रहेको समूहलाई जोड्ने गरेको छु । घरगाउँमा भिजेको र अनुभवी मान्छे भएकाले पनि पार्टीले जिम्मेवारी दिएको हो । म अहिले गाउँ जाँदा पनि जनताले यहाँ आएपछि पार्टी एक ढिक्का बनाएर जानु पर्छ है भन्ने सल्लाह दिनुहुन्छ । मेरो नेतृत्व र एमालेको केन्द्रीय नेत्तृत्वप्रति जनता खुसी हुनुहुन्छ ।
बाहिर त यहाँमाथि केन्द्रसँग दुनो सोझ्याएर पटक-पटक जिल्लाको नेतृत्व हत्याएको आरोप छ नि ?
राजनीतिमा लागेपछि सबैको चित्त बुझाउन सकिँदैन रहेछ । हुन त एमालेमा लामो समय राजनीति गरेका आदणीय अग्रजहरू पनि हुनुहुन्थ्यो । तर मलाई उहाँहरूले पनि नेतृत्वमा आउन आग्रह गर्नुभयो । म जिल्ला अध्यक्ष भएको नाताले संघीय सांसद बसन्तकुमार नेम्वाङसँग नजिक भएर काम गरेकाले पनि यस्तो आरोप साथीहरूले लगाउनुभयो होला । तर स्पष्ट कुरा म यहाँमार्फत के भन्न चाहन्छु भने ०८० को असोजमा कोशीको अधिवेशन गर्दा नै पाँचथरका सबै नेता, नेतृत्व बसेर को–को प्रदेश कमिटीमा जाने को जिल्लामा बस्ने भनेर सल्लाह गरेका थियौँ ।
प्रदेशमा साथीहरू जाने र मेरो नेतृत्वमा जिल्ला रहने भनेर भद्र सहमति भएको थियो । पछि केही साथीहरूले अध्यक्ष हुने इच्छा जाहेर गर्नुभयो । तर सबै पाँचथरबासी नेता, नेतृत्व र कार्यकर्ताको पंक्तिले कुनै पनि हिसाबले मेरो विकल्प खोज्न चाहानु भएन । पार्टीलाई सबैको साझा बनाउने जिम्मेवारी मेरो काँधमा आएको छ । मैले पाँचथरमा सबैलाई जातीय, लिंगीय र क्षेत्रीय रूपमा समेटेर लगेको छु । सबै समुदायलाई अपनत्व हुने गरी पार्टीको जिल्ला संयन्त्र र फाँटको जिम्मेवारी बाँडफाँड गरिएको छ । अहिले हाम्रो जिल्ला कमिटीमा ९९ जना सदस्य हुनुहुन्छ । उहाँहरू सबै जिम्मेवारीमा हुनुहुन्छ ।
एमाले संघमा बलियो देखिए पनि प्रदेशमा कमजोर देखिन्छ । पाँचथरका केही कांग्रेसहरुले त पूर्वमन्त्री बसन्तकुमार नेम्वाङले मोटो रकम खर्च गरेर चुनाव जिते भन्ने आरोप पनि लगाएका थिए । यसको जवाफदेहीता को संग रहन्छ ?
संघको जस्तो ऊर्जावान् तरिकाले प्रदेशमा मत आएन । हामीले त्यसलाई समीक्षा गरेका छौँ । यद्यपि पात्र नयाँ हुनुहुन्न थियो । तर केही गठबन्धनका कारण प्रदेशमा गडबड भयो । केन्द्रमा जित्नुभएका बसन्त दाइ लामो समय पार्टी राजनीति र पूर्व भौतिक पूर्वाधार मन्त्री भएकाले उहाँले १० हजार बढी मतले अगाडि रहेको गठबन्धनलाई पराजित गर्नुभयो । तर उहाँले पैसा खर्च गरेर निर्वाचन जितेको हैन । साथीहरूले त आरोप लगाउन पाउनु हुन्छ ।
हो प्रदेशमा केही मेहनत पुगेन भन्ने लागेको छ । पाँचथरमा यस अगाडिको निर्वाचनमा पनि संघको मत राम्रो थियो । बसन्त दाइले सद्भावपूर्ण मत पाउनुभयो । यसमा उहाँको इमान र विकासप्रेमी छविले काम गरेको छ । ‘क’ प्रदेशमा उम्मेदवार दिनुभएका तत्कालीन एमाले अध्यक्ष राजकुमार भण्डारी राजकीय जिम्मेवारी सम्हाल्नुभएको, अनुभव नभएको र उहाँकै निर्वाचन क्षेत्र पनि नपरेकाले झिनो मतले हार्नुभयो । मत सम्मानजनक आएको छ । ‘ख’ मा पनि मत सम्मानजनक छ । तर माओवादीको उम्मेदवार इन्द्र आङ्बो पूर्व प्रदेशमन्त्री भएका कारण हाम्रो साथी तथा पूर्व संविधान सभा सदस्य आइन्द्र सुन्दर नेम्बाङ झिनो मतले हार्नुभयो ।
पाँचथरबाट प्रतिनिधित्व गर्नुहुने संघीय सांसद बसन्त कुमार नेम्बाङ विरामी हुनुहुन्छ । उहाँ अब राजनीतिबाट विश्राम लिने मनस्थितिमा हुनहुन्छ भन्ने सुनिन्छ । यदि त्यो अवस्था आएमा विकल्पबारे कुनै छलफल भएको छ ?
बको को भन्ने बारेमा ठूलो पार्टीमा छलफल हुनु स्वाभाविक हो । बसन्त दाइ स्वास्थ्य लाभ गरिरहनु भएकोले उहाँको स्वास्थ्यमा दिनानुदिन सुधार आइरहेको छ । अहिले एमालेमा थुप्रै नेताहरू हुनुहुन्छ । केन्द्रीय नेताहरू पनि हुनुहुन्छ । चुनाव लड्नलाई नेताको खाँचो छैन । इच्छा राख्ने र जित्ने खालका नेता पनि हुनुहुन्छ । एमालेले पाँचथरमा निकै राम्रो संगठन बनाएको छ । त्यसकारण हामीलाई कुनै समस्या छैन ।
अहिले त देशभर युवा नेताहरू नेतृत्वमा आउने लहर चलेको छ । पाँचथरले त्यो सम्भावना खोजेको छैन ?
अहिले नयाँ र युवा साथीहरू पनि पार्टीमा सक्रिय हुनुहुन्छ । तर चुनाव नै लड्छु भनेको सुनेको छैन । अनुभव र कामलाई पनि नजिकबाट नियालेर हेर्ने भएकाले पनि होला । तर युवा साथीहरू पार्टीमा सक्रिय हुनुहुन्छ ।
पाँचथरमा आदिवासी बाहेक अन्यलाई निर्वाचन जित्न कठिन छ । दीपकप्रकाश बाँस्कोटाबाहेक अरू राष्ट्रिय राजनीतिमा आउन सकेनन । यस पछाडिको मनोविज्ञान के हो ?
ठ्याकै त्यस्तै पनि हैन । कतिपय सन्दर्भमा यस्ता टिप्पणी आएका छन् । तर म आफैंलाई के उदाहरण दिन्छु भने थुप्रै नेताहरू म जस्तै क्षमतावान र म भन्दा पनि क्षमतावान् एमालेमा हुनुन्थ्यो । आदिवासी पनि हुनुन्थ्यो । कार्यकर्ता पनि आदिवासी जनजातिबाटै हुनुहुन्छ । तर पनि त्यो अवस्था देखिएन । सबैबाट साथ सहयोग भएको छ । मतदानको सन्दर्भमा केही मत यताउता होला तर पार्टीगत रूपमा त्यो समस्या छैन । यहाँले भनेको जस्तै दीपक प्रकाश बाँस्कोटाले पनि निर्वाचन जित्नुभएको हो । गाउँ पालिकाका निर्वाचन हेर्दा पनि अन्य समुदायका मानिसले निर्वाचन जितेको अनुभव छ । सानो प्रभाव हुनसक्छ ।
स्थानीय तहमा पनि पाँचथरमा एमाले कमजोर छ । यहाँको नेतृत्व कसरी प्रस्तुत भइरहेको छ ?
म ग्रासरुटमै काम अगाडि बढाउनु पर्छ भन्नेमा छु । जनतासँगको सम्बन्धलाई स्थापित गर्नुपर्छ भनेर लागेको छु । यहाँले भनेजस्तै बाहिर बाहिर जाने भाषण गर्ने आदि काममा अलमल भयो कि भन्ने हामीले महसुस गरेका छौँ । त्यसको समीक्षा भएको छ । एमाले यस्तो राजनीतिक पार्टी हो, जनतासँग सम्बन्ध राख्नु पर्छ भन्ने मान्यता राख्छ । यो बीचमा जनताको सम्बन्धमा जोडिन सकेनौ भन्ने लागेको छ । हामीले जनतालाई विश्वास र भरोसा दिलाउन नसकेको पक्कै हो ।
हामीले लिएको राष्ट्रिय सङ्कल्प, लक्ष्य र मुलुकको समृद्धिबारे जनतामा सन्देश प्रवाहित गर्न सकेका छैनौं । स्थानीय तहमा पनि यो तरिकाले गएको छैन । अब एमालेले जरासम्म पुग्ने अभियान चलाउन लागेको छ । स्थानीय तहमा एमाले कसरी प्रस्तुत हुने भनेर राष्ट्रिय कार्यशाला गोष्ठीमा पनि हामीले प्रशिक्षण पाएका छौँ । हामीप्रति चौतर्फी हमला भएकाले जनताकै बीचमा गएर चिरफार गर्ने अठोट गरेको छु ।
यहाँ अध्यक्ष भएको त एक वर्ष हुन लाग्यो । गाउँ घुमेर जनताको आवाज सुन्नु भएको होला । जनताको अन्तरआत्माको आवाज के रहेछ ?
म गाउँ गइरहेकै छु । तर आधारभूत ठाउँमा अझै पनि पुगेको छैन भन्ने मलाई महसुस भएको छ । वडा– केन्द्रसम्म तीन महिने अभियान केन्द्रले आयोजना गरेको छ । त्यो अभियानमा पनि जोडिएर म पार्टीको जरासम्म पुग्छु । संविधान लोकतन्त्र र जनताको अधिकारका लागि म उहाँहरूकै कुरा सुन्न लागिरहेको छु । सोचेजस्तो तरिकाले काम गर्न पाएको छैन । निर्ममतापूर्वक करेक्सन गरेर जनतालाई विश्वासमा लिने काम गर्न पनि म उहाँहरूको कुरा सुन्न गाउँ दौडिरहेको छु ।
०७९ को स्थानीय तहको निर्वाचनमा गठबन्धन नभएको भए दुई गाउँपालिका बाहेक सबै स्थानीय तहमा जित्ने थियौं । फालेलुङ गाउँपालिकामा राम्रो सम्भावना हुँदा पनि प्राविधिक कारणले समस्या भयो । यस्तै, मिक्लाजुङमा पनि रणनीतिक रूपमा पुगेको भए निर्वाचन जितिने थियो । अहिले हामीले हाम्रो शक्तिलाई कमजोर हुन दिएका छैनौं । सुधार गरेर लगिएको छ ।
सिङ्गल–सिङगल निर्वाचन लडियो भने एमालेले कुनै तहमा हार व्यहोर्नु पर्दैन । अहिले ६० वटा वडामध्ये एमालेले १७ वटा वडा जितेको छ । अन्य केही वडामा झिनो मत ल्याएर हारेका थियौँ । अब ०८४ मा ५० भन्दा बढी वडाहरू जितिन्छ । त्यसका लागि हामी कार्यकर्ता र जनताको भावना बुझ्न जानुपर्ने छ ।
जनताको गुनासो सुन्न हामीले अभियान नै चलाएका छौँ । योजनाबद्ध तरिकाले जाने अभियान छ । कमी कमजोरी भए सच्चिएर जाने छौँ । बाहिर जाने लहरले गाउँ रित्तै हुने चलन छ । त्यसलाई रोक्न उत्पादनसँग जोडिने कार्यक्रमहरूसञ्चालन गर्नुपर्ने छ । एमालेले रणनीतिक रूपमा उत्पादन र स्वरोजगारसँग युवालाई जोड्नुपर्ने छ ।
तर यहाँले यसो भनेपनि गाउँमा जनताको पुराना नेत्तृत्वप्रति तीब्र असन्तुष्टि छ भन्ने छ । प्रदेशको नाम पहिचानका आधारमा भएन भनेर त्यसको बाछिटाले मूलधारका पार्टीहरु प्रभावित भएको अनुभव गर्नु भएको छैन ?
पहिचानको सन्दर्भमा थुप्रै छलफलहरू भएका छन् । पहिचान र अधिकार के हो भनेर पनि बुझ्नुपर्ने रहेछ । कुनै पनि देशमा बस्ने नागरिकले अधिकारको निम्ति काम गर्नु स्वाभाविक हो । पछिल्लो समय पहिचानको विषयमा एमालेलाई पनि जोड्ने काम भएको छ । एमाले पहिचान विरोधी पार्टी हैन । राज्यबाट उपेक्षित भाषा संस्कृतिको लागि हामी लडेको हो । पहिलाबाट नै एमाले पहिचानको पक्षमा छ । कतिपय कुरा अस्थिरताबाट पनि आएको छ । नयाँ मान्छे आउने नआउने अलग पाटो हो । तर नयाँ मान्छे आउँदा पनि जनताले मूल्याङ्कन गर्छ । अब के गर्छ भन्ने आंकलन गर्छ । एमाले पहिचान विरोधी हैन, सबै कुरा जगजाहेर छ ।
एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्की यही कारण पूर्वका पहाडी जिल्लामा खुलेर जान नसकेको त सत्य हो नि ?
अहिले त्यो आक्रोश कम भएको छ । पहिला एक पटक कोशी प्रदेश नामाकरण भएको बेलामा त्यो अवस्था भएको थियो । हिक्मतजी मुख्यमन्त्री भएको बेला त्यो भएको थियो । तर कोशी प्रदेशको नाम एमाले एक्लैले राखेको हैन । त्यहाँ कांग्रेस, माओवादी सबै पार्टीले समर्थन जनाएका थिए । अन्य शक्तिहरू मिलेर नै नामाकरण भएको हो । तर एमाले लक्षित प्रहार भएकाले केही छ कि भन्ने पनि लागेको छ ।
होइन भने प्रहार एमाले केन्द्रित किन भयो ? यसको जिम्मेवारी सबैले लिनुपर्छ । संसदमा आम सहमति भएकोे विषय सबैले मान्नुपर्छ । होइन भने कोशी ठीक नै भएन भने त फेरि संसदबाट नै सच्चाउनु पर्छ । विधिबाट गरेको काम विधिबाट नै हल गर्नुपर्छ । सच्याउने बाटो ढुङ्गामुढा र कालो झन्डा हैन । ठीक लागेन भने सांसदबाट नै टुंग्याउँ न । म साथीहरूलाई यही आग्रह गर्छु । नाम सच्याउने काम संसद् नै हो ।
पाइला पाइला जनताको इजलासमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अवस्था छ हैन ?
पहिचानको लागि एमाले प्रष्ट छ । बहुपहिचानको पक्षमा नेकपा एमालेले वकालत गरेको छ । एमाले सबैको पहिचान हुनुपर्छ भन्छ । एकल जातीय पहिचानको कुराले राष्ट्रियता र एकतालाई बलियो बनाउँदैन । एमालेले इतिहासमा पनि पहिचानको पक्षमा निकै त्याग गरेको छ । पाँचथर जिल्लाको नाम पनि त पहिचानका आधारमा भएको छ ।
स्थानीय तहका नाम पनि पहिचानकै आधारमा राखिएको छ । सबै नाम लिम्बू भाषामै राखिएको छ । मेरो गाउँपालिका हिलिहाङ पनि लिम्बूवानको अन्तिम राजाको नाममा राखिएको हो । म यसलाई गौरव पनि गरिराखेको छु । जे कुराले चिनायो, त्यसलाई संरक्षण गर्नुपर्छ भन्ने छ । पहिचान पक्षधर व्यक्तिहरूसँग पनि हामी छलफलमै छौँ । पहिचान सबैको हुनुपर्छ । साझा पहिचान हुनुपर्छ भनेर लागिएको छ ।
पाँचथरको पहिचानसँग जोडिएको लिम्बूवान गेट भत्काइएको छ । त्यसको निर्माणबारे के पहल भइरहेको छ ?
सहमतिमै भत्काइएको हो । बाटो फराक गर्ने सन्दर्भमा गेट भत्काइएको छ । पछि व्यवस्थित गेट बनाउँ भन्ने कुरा छ । सडक विभागले गेट बनाउन प्रक्रिया सुरु गरेको छ । त्यो निर्माण चाँडो गर्नुपर्छ । हामीले पटक–पटक यो कुरा उठाएका छौँ ।
प्रतिक्रिया