बाजुराका स्थानीयको खुसी – गाउँमा फोरजी चल्दा दंग  « Khabarhub

बाजुराका स्थानीयको खुसी – गाउँमा फोरजी चल्दा दंग 


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

धनगढी – शहरमा बस्ने र सुविधा भोग गर्नेलाई पत्याउन गाह्रो पर्छ कि अझै गाउँहरू बिजुली, फोन र इन्टरनेट सेवाबाट बाहिर छन्, भन्दा विश्वास पनि नलाग्न सक्छ । तर सुदूरपश्चिमका पहाडी गाउँहरू अझै बिजुली, फोन र इन्टरनेट सेवाबाट निकै पछाडि छन् ।

गाउँमा फोन सेवा जडान हुँदा, बिजुली बत्ती बल्दा, फोरजी इन्टरनेट सेवा सञ्चालनमा आउँदा होस् की पहिलो पटक बस पुग्दा उत्सव मनाइन्छ । यहाँका स्थानीयहरूका लागि त्यो कुरा नयाँ र नौलो हो । त्यो भन्दा पहिला शहर पुगेर सुविधा लिएका बाहेक स्थानीय अरूलाई थाहा हुँदैन । 

यस्तै खुसीयाली हिमाली गाउँपालिका ६ पाडीका स्थानीय पनि मनाएका छन् । गाउँमा सामान्य फोन सेवा बाहेक थिएन, सोमबार देखि गाउँमा फोनसहितको भरपर्दो फोरजी इन्टरनेट सेवा समेत सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । गाउँमा इन्टरनेट सेवा सञ्चालन पछि उत्सव मनाएका छन् ।

हिमाली गाउँपालिकाले अपवाद बाहेक देशकै सर्वाधिक विकट पालिका हो । बाजुराका नौ वटा स्थानीय तहमध्ये सबैभन्दा विकट र विकासको सुविधा पुग्न नसकेको पालिका पनि हिमाली नै हो । हिमालीमा पनि साविक बिच्छ्या र रुगीन गाउँ विकास समिति अन्तर्गत पर्ने वडाहरू दुरी र विकास दुवैले टाढा छन् । पछाडि छन् । 

तीनै गाउँहरूमा बिजुली बाल्ने प्रयास, सडक पुग्ने संकेत र फोन सहितको फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएपछि स्थानीयले विकास गाउँ पुगेको आभास गर्न थालेका छन् । गाउँपालिकाले वडामा फोरजी सेवा विस्तार गर्नुलाई ठूलो सफलता ठानेको छ ।

भूगोल र सडक सञ्जालको समस्याले सामान्य विकासको अनुभूति गराउन समस्या हुने गाउँमा फोरजी सञ्चालन पछि धेरै ठूलो उपलब्धिका रूपमा पालिकाले लिएको भन्छन्, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज भण्डारी । भण्डारीले नै प्रत्येक वडामा फोरजी सेवा जडान गर्ने र स्थानीयलाई इन्टरनेट सेवाको पहुँचमा पुर्‍याउने पालिकाको लक्ष्य पुरा भएको बताएका छन् ।

यहाँका स्थानीय मोबाइलमा कुरा गर्न पनि डाँडा, अल्गो रुख खोज्न बाध्य थिए । अहिले भने घरमै बसेर आरामले कुरा गर्न सक्ने भएका छन् । यसले निकै सुविधा दिएको अनुभूति स्थानीयले गरेका छन् । फोटा र भिडियो देखिने सुविधा पुगेकोमा खुसी लागेको स्थानीय रनी रावलले बताए । प्रवासमा बस्ने छोरासँग भिडियो सहित कुरा भएपछि रावलको परिवार झनै खुसी भएको छ ।

कम क्षमताको सोलारबाट नै फोन सेवाका टावर जडान गरिँदा फोन सेवा समेत अनियमित थियो । त्यो पनि घाम लागेका बेला मात्रै फोन गर्नु पर्ने बाध्यता थियो । तर पालिकाले पाडीमा भने ठूलै क्षमताको सोलार पाटा जडान गरेको छ । हप्ता दिन घाम नलागेपछि टावरका लागि धान्न मिल्ने क्षमताको सोलार जडान पछि सहज हुने भन्छन्, गाउँपालिका उपाध्यक्ष राजकला सार्की ।

हिमालीको भौगोलिक अवस्था अन्य स्थानीय तहको भन्दा निकै फरक छ । विकास गर्न सहज छैन । ढुवानीमा समस्या छ । सानो लगानीले केही गर्न सक्ने अवस्था नै पालिकामा छैन । जेनतेन विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सञ्चारलगायतका सुविधा विस्तारमा लागि परेको पालिका अध्यक्ष गोविन्द्र बहादुर मल्ल बताउँछन् ।

पालिकाले विगत पाँच वर्षदेखि नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँ, प्रदेश कार्यालय अत्तरिया जिल्ला कार्यालय बाजुरासँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वय गर्दै आएको थियो । त्यसकै निरन्तरता गत वैशाखदेखि पाडीमा टावर निर्माण कार्य सुरु गरिएको हो ।

फोरजीसहितको टेलिफोन सेवा सञ्चालन भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि निकै सहज भएको छ । अबदेखि यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्ने तयारीमा पालिका देखिएको छ ।

हिमालीको धुलाचौरमाथि डाँडामा पालिकाको १५ लाख रुपियाँ लगानी गरेर टावर निर्माण गरेपछि यहाँ फोरजी सेवा सञ्चालन भएको थियो । सो सेवा अहिले पाडीमा पनि सञ्चालन भएको छ । केही समयमै हिमाली गाउँपालिको १, २, ३, ४, ५, ६ र ७  गरेर सबै वडामा टावर र इन्टरनेटसहित टेलिफोन सेवा विस्तार गर्ने योजना पालिकाले अघि सारेको छ ।

गाउँपालिकाले हिमालीका दुर्गम गाउँमा इन्टरनेट सुविधा जडानको विषयलाई ठुलै उपलब्धिका रूपमा हेरेको छ । सुविधा जडानसँगै यहाँका स्थानीयको जीवनशैली केही नयाँ र फरक हुने विश्वास पालिकाको छ । सम्पर्क सम्बन्ध र शिक्षा विकास, स्वास्थ्य सचेतना र सूचना आदान प्रदानमासमेत सहज हुने देखिएको छ । बाजुराका अझै अधिकांश गाउँ बस्तीमा फोन र इन्टरनेट सुविधा विस्तार हुन सकेको छैन ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ६ : ५७ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक