चैत अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण गरिसक्ने कांग्रेसको योजना | Khabarhub Khabarhub

चैत अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण गरिसक्ने कांग्रेसको योजना

निर्धारित समयमै काम सक्ने महामन्त्री थापाको तयारी


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगतका महाधिवेशनको पूर्वसन्ध्यामा देखिने क्रियाशील सदस्यता विवाद निरूपणका लागि प्रयासरत नेपाली कांग्रेसले मातहतका कार्यसमितिलाई समय तालिका दिएको छ ।

महामन्त्री गगनकुमार थापा संयोजकत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले पार्टीका विभिन्न तहका ६ वटा कार्यसमितिलाई क्रियाशील सदस्यता नवीकरण गर्ने समय तालिका दिएको हो ।

आसन्न १५औँ महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री थापको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।

त्यही समितिको गत पुस १९ मा बसेको बैठकको निर्णयअनुसार कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिलाई समय तालिका दिएको हो ।

महामन्त्री थापाको परिपत्रअनुसार क्रियाशील सदस्यता नवीकरणसम्बन्धी निर्णयको प्रतिलिपि, अद्यावधिक विवरण, सदस्यता शुल्कलगायत कागजातसहित जिल्लाको प्रतिवेदन आगामी चैत्र २९ गते ३ बजेसम्म अनिवार्य केन्द्रीय कार्यालयमा बुझाइसक्नु पर्नेछ ।

‘वडा, गाउँ-नगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्लासम्मका सबै कार्यसमितिले नवीकरण कार्य निर्धारित मितिमा सम्पन्न गरी क्रियाशील सदस्यता नवीकरणसम्बन्धी निर्णयको प्रतिलिपि, अद्यावधिक विवरण, सदस्यता शुल्क लगायतका कागजातसहित जिल्लाको प्रतिवेदन २०८१ चैत २९ गते शुक्रबार ३ बजेसम्म अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा प्राप्त हुने गरी पठाउन हुन अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।

समय तालिका

१) एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाका हकमा जिल्ला सभापतिले प्रतिनिधि सभा क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यता फारम र नामवाली माघ १२ गते ५ बजेसम्ममा अनिवार्य रुपमा बुझाइ सक्नुपर्नेछ ।

२) एकमात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाका सभापति र एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाका हकमा प्रतिनिधि सभा क्षेत्रीय सभापतिले प्रदेश सभा क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यता नवीकरण फारम र नामावली माघ १३ गते ५ बजेसम्म अनिवार्य बुझाइसक्नु पर्नेछ ।

३) प्रदेश सभा क्षेत्रीय सभापतिले गाउँ–नगरपालिका सभापतिलाई क्रियाशील सदस्यता फारम र सम्बन्धित गाउँ–नगरपालिकाका कियाशील सदस्यहरूको नामावली २०८१ माघ १४ गते सोमबार दिनको ५ बजेसम्ममा अनिवार्य बुझाइ सक्नुपर्नेछ ।

४) गाउँ–नगरपालिका सभापतिले आफूले प्राप्त गरेको क्रियाशील सदस्यता नवीकरण फारम र सम्बन्धित वडाका क्रियाशील सदस्यको नामावली माघ १५ गते ५ बजेभित्रमा अनिवार्य रुपमा वडा कार्यसमितिका सभापतिलाई बुझाइ सक्नु पर्नेछ ।

वडामा नवीकरणको समयसीमा

१) सम्बन्धित वडा सभापतिले गाउँ-नगरपालिका सभापतिबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फारम र नामावलीअनुसार माघ १५ गते मंगलवारदेखि फागुन १ गतेसम्म वडा कार्यसमितिको बैठक राखी क्रियाशील सदस्यता नवीकरण कार्य र नवीकरण शुल्क दुई सय रुपैयाँ मात्र लिई सम्पन्न गर्ने ।

नवीकरण भएका क्रियाशील सदस्यहरूको फारम र सम्बन्धित क्षेत्रका क्रियाशील सदस्यहरूको नामावली र सदस्य शुल्कसमेत अनिवार्य सम्बन्धित गाउँ-नगरपालिका कार्यसमितिमा बुझाइसक्नु पर्नेछ ।

२) वडाहरूबाट प्राप्त नवीकरण भइआएका क्रियाशील नवीकरण फारम आवश्यक निर्णय-सिफारिस गरी नवीकरण भएका क्रियाशील सदस्यता फारम र सदस्यता शुल्क रकमसमेत फागुन १० गतेभित्र प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा बुझाईसक्नु पर्नेछ ।

३) गाउँ-नगरपालिका समितिबाट प्राप्त क्रियाशील सदस्यहरूको नवीकरण भएका फारम र सदस्यता शुल्क फागुन २० गतेभित्र अनिवार्य प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाउनु पर्नेछ ।

४) प्रदेश सभा क्षेत्रबाट प्राप्त भएका क्रियाशील सदस्यता नवीकरण, फारम र सदस्यता शुल्क फागुन मसान्तभित्र अनिवार्य रुपमा सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाइसक्नु पर्नेछ ।

५) एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फारम र सदस्यता शुल्क चैत १५ गतेभित्र अनिवार्य जिल्ला कार्यसमितिमा बुझाइसक्नु पर्नेछ ।

६) जिल्ला कार्यसमितिहरूले मातहतका समितिबाट तहगत रुपमा नवीकरण र आवश्यक सिफारिस भइआएका क्रियाशील सदस्यता नवीकरण फारम जिल्लामै सरक्षित राख्नु पर्नेछ ।

महामन्त्री थापाले नवीकरण भएका क्रियाशील सदस्यहरूको नामवाली र वडागत संख्यासहित सदस्यता शुल्क कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको टेकु शाखामा रहेको खातामा जम्मा गर्न भनेका छन् ।

उनले बैंकमा सदस्यता शुल्कवापतको रकम जम्मा गरेको भौचर चैत्र २९ गते ३ बजेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रुपमा प्राप्त हुने गरी पठाउनसमेत आग्रह गरेका छन् ।

महामन्त्री थापाका अनुसार नवीकरण रकम, नामावली र वडागतको संख्याको विवरण केन्द्रमा प्राप्त भएपछि मात्रै पार्टीको वेबसाइटमा नवीकरण ‘डाटा इन्ट्री’का लागि ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइने छ ।

परिपत्रमा वडा, पालिका, प्रदेश सभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रीय समितिले आफूभन्दा माथिल्लो निकायमा नवीकरण फारम बुझाउँदा आफ्नो समितिले प्राप्त गर्ने प्रति क्रियाशील सदस्यताबापत १० रुपैयाँका दरले हुने रकम कट्टा गरेर बाँकी रकम माथिल्लो तहमा बुझाउनु पर्ने उल्लेख छ ।

कांग्रेसले जिल्ला कार्यसमितिलाई मातहतका तहहरूबाट प्राप्त भएको क्रियाशील सदस्यहरूको नवीकरण फारम संख्याका आधारमा प्रति फारम १० रुपैयाँ जिल्ला कार्यसमितिमा राखेर बाँकी रहेको प्रति फारम १५० रुपैयाँ (प्रदेश कार्यसमितिले प्राप्त गर्ने प्रति फारम रु. १०।– समेत गरी) का दरले एकमुष्ट रकम केन्द्रीय कार्यालयमा पठाउने परिपत्र गरेको छ ।

केन्द्रदेखि वडासम्म विस्तारित कांग्रेसको कार्यसमितिमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य मानिन्छ । कांग्रेसले क्रियाशील सदस्यता भएकाहरूबाटै महाधिवेशन प्रतिनिधि छनोट गर्दछ । यिनै महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्वका लागि मतदान गर्छन् ।

कांग्रेसको यही क्रियाशील सदस्यता वितरणमा महाधिवेशनअघि विवाद हुने गरेको छ । विशेषगरी १२औँ महाधिवेशनदेखि सुरु भएको क्रियाशील सदस्यता विवाद १५औँ महाधिवेशन नजिकिँदासम्म सुल्झिएको छैन ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको अधिकार प्रयोग गरेर एक वर्ष समयावधि थप नगरे आगामी मंसिरमा नयाँ नेतृत्वका लागि १५औँ महाधिवेशन गर्नुपर्ने छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  २ : ४६ बजे

कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा

झापा – झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ भलिबल

महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागीता

प्रयागराज – महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म

स्ववियु निर्वाचन चैत ५ गते हुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को

हुलाकी राजमार्ग छिट्टै सम्पन्न हुन्छ : मन्त्री दाहाल

नेपालगञ्ज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी

आजका समाचार : संसद्‍को हिउँदे अधिवेशन सुरु हुने, छविलाल जोशी धरौटीमा छुटे र अमेरिकासँग सहकार्य गर्न चीन तयार

माघ १८ गते संसद्‍को हिउँदे अधिवेशन बोलाउन सिफारिसप्रतिपक्षी दलहरूको विरोधको