उर्दू साहित्यका प्रसिद्ध कवि मिर्जा गालिवको बहुचर्चित शेर छ –
उमेरभर गालिव यही भूल गरिरह्यो / धूलो अनुहारमा थियो, ऐना सफा गरिरह्यो...
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मादेखि गृहमन्त्री रमेश लेखकसम्मले कहिले संसदको रोष्टमबाट त कहिले राजनीतिक मञ्चबाट यो शेर सुनाउँदै आएका छन् ।
ऐना पुछेर आफ्नो अनुहारको धूलो सफा हुँदैन भन्ने ज्ञान बाँड्न सजिलो छ तर व्यवहारमा लागु गर्न निकै गाह्रो छ । यतिबेला उनै गगन, विश्वप्रकाश र रमेश लेखकहरु ऐना पुछिरहेका छन्, जब कि धूलो कांग्रेसको अनुहारमा छ ।
सरकारले एकैसाथ आधादर्जन अध्यादेश जारी गर्यो । अध्यादेश जारी गर्न पाउनु सरकारको संवैधानिक हक हो । संसदको हिउँदे अधिवेशन सुरु हुन ढिलो हुँदा सरकारले अध्यादेश ल्याएको छ । मौका पर्दा २ पटकसम्म संसद विघटन गर्ने केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले यति धेरै अध्यादेश ल्याउनु असामान्य होइन । तर, अनुहारको धूलो नदेखेर ऐना पुछिरहेको कांग्रेस सरकारमा छ ।
गत बैशाख १५ गते कांग्रेस संसदीय दलको कार्यालयले एउटा विज्ञप्ति जारी गरेको थियो । त्यसका हस्ताक्षरकर्ता थिए, तत्कालीन कांग्रेस प्रमुख सचेतक रमेश लेखक । ‘नेपाली कांग्रेस सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्नेगरी गरेको गैरजिम्मेवार,लोकतन्त्र र संसदीय अभ्यास विपरीतका कार्यको विरोध गर्दै निन्दा गर्दछ’ विज्ञप्तिमा उल्लेख थियो ।
प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै ल्याएको अध्यादेशलाई कांग्रेसले असंसदीय मात्रै भनेको थिएन, लोकतन्त्र र संसदीय पद्दतिको अवहेलनाकै रुपमा अर्थ्याएको थियो । लेखकले विज्ञप्ति जारी गरे । महामन्त्रीहरुले अध्यादेशको विरुद्धमा धुँवादार अभिव्यक्ति दिए । कांग्रेस कार्यकर्ताहरुले फेसबुकमा लेखे – अध्यादेश, सिध्यादेश ।
उनै रमेश लेखक अहिले गृहमन्त्री छन् । सरकारले उस्तै प्रकृतिका अध्यादेश ल्याएको छ । एकैपटक ६ वटा अध्यादेश जारी हुनु न आकस्मिक आवश्यकता हो, जरुरी ।
अध्यादेशबाट सबैभन्दा बढी निजी क्षेत्र खुसी भयो भनेर कांग्रेस कार्यकर्ताले प्रचार गरिरहेका छन् । हिजो अध्यादेश ल्याउनु नै गलत भन्ने महामन्त्रीद्वय कोही अध्यादेशको फाइदा बुझाउँदैछन् त कोही अध्यादेशमा गैरआवासीय नेपालीका विषयमा अझ समेट्न बाँकी रहेको बताउँदैछन् ।
नेपाली कांग्रेसले बितेको ९ महिनामा न झण्डा फेरेको छ न नीति तर, हिजो कांग्रेस अध्यादेशका विरुद्ध कुर्लँदै भेटिन्थ्यो, अहिले कांग्रेस अध्यादेशको गाना गाइरहेको छ । हिजो अध्यादेशमा प्रतिगमन देख्नेहरु नै आज अध्यादेशलाई ‘नयाँ युगको सुरुआत’ भनिरहेका छन् ।
अध्यादेश एउटा सन्दर्भ मात्रै हो । कांग्रेसमा सत्ता र शक्तिको अद्भूत नशा सवार छ । सैद्धान्तिक राजनीतिक मान्यता भन्दा पर भाग्दै गरेको कांग्रेसमा फरक मत सुनिन छाडेको छ । फरक मतबाट स्थापित भएकाहरु नै फरक मतविरुद्ध उभिने परिस्थिति बनेको छ ।
सरकारमा गएपछि कांग्रेसले न आफ्ना गतिविधि नियमित गरेको छ, न उसको भूमिका सन्तुलित छ । एउटा लोकतान्त्रिक पार्टीका लागि सत्ता साधनका रुपमा मात्रै रहनुपर्ने थियो तर कांग्रेस सत्तामा पुगेर सत्ता जोगाउने एजेण्डामा मात्रै सीमित छ ।
संसदीय लोकतन्त्र कांग्रेसको सैद्धान्तिक निष्ठा हो । यसको विकल्पबारे कांग्रेसमा बहस नभएको होइन तर कांग्रेसकै जोडबलमा संविधाले संसदीय प्रणाली स्वीकार गरेको हो । आफैले स्थापित गरेको प्रणालीलाई कमजोर बनाउने कुरा कम्तीमा कांग्रेसका लागि शोभनीय रहदैन ।
संसदमा कांग्रेसबाहेक कुनै पनि राष्ट्रिय पार्टीले अहिलेको मोडलको संसदीय राजनीतिको पक्षपोषण गर्दैनन् । त्यसैले संसदीय मर्यादा कायम गराउने सन्दर्भमा कांग्रेसकै भूमिका बढी अपेक्षित हुन्छ ।
सत्तारुढ ‘महामन्त्रीद्वय’ को भूमिका
विद्यार्थी आन्दोलनदेखि नै ‘विद्रोही’ छवि बनाएका कांग्रेसका २ महामन्त्री एकैसाथ सत्तारुढ बनेका छन् । पार्टीसत्तामा महामन्त्री रहँदा समेत यदाकदा लोकतन्त्रान्त्रिक मूल्य मान्यताका सन्दर्भमा दुवै जनाका फरक मत आउने गर्थे । अब अवस्था त्यो रहेन ।
पार्टीसत्तासँगै राज्यसत्ताको बचाउ पनि महामन्त्रीद्वयकै जिम्मेवारीमा परेको छ । त्यसैले हिजो गलत भनेको कामलाई आज सही भन्दै हिँड्नुपर्ने बाध्यतामा उनीहरु रहेका छन् ।
सन् २०२१ को अगष्ट १८ मा सामाजिक सञ्जालमार्फत गगन थापाले लेखेका थिए, संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत , आज गलत सधै गलत, जसले गरे पनि गलत ।
त्यसैगरी, ०७९ मंसिरमा रेशम चौधरीलाई रिहा गराउने उद्देश्यले कांग्रेस नेतृत्वकै सरकारले ल्याएको अध्यादेशविरुद्ध अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि मुख खोलेका थिए ।
त्यतिबेला सामाजिक सञ्जालमार्फत उनले लेखेका थिए, ‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति ! संक्रमणकालमा अध्यादेश ल्याउन दलहरुबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत ! कानुनी राजनैतिक प्रश्न मात्रै होइन, यो प्रकरणमा प्रधानमन्त्रीको नैतिक प्रश्न पनि जोडिएको छ ।’
महामन्त्रीद्वयका हिजोका अडान र आजका अभिव्यक्तिमा आकाश – पातालको फरक भइसकेको छ । संस्थापन बन्ने आकांक्षाले सत्ताको निरपेक्ष सेवकका रुपमा उनीहरुले खेलेको भूमिकाले पनि कांग्रेसको मुहारमा धुलो लागेको छ । बिडम्बना महामन्त्रीद्वय ‘गठबन्धन’ को रुमालमा पार्टी सभापतिले छर्किदिएको फिनेल लगाएर ऐना पुछिरहेछन् ।
प्रश्नले कुनै पनि पार्टीलाई जीवन्त बनाउँछ । अझ लोकतान्त्रिक पार्टीका लागि प्रश्न नै पुँजी हो । पार्टीभित्र कुनैपनि सदस्यले जबसम्म निसंकोच प्रश्न उठाउन सक्छ तबसम्म नै त्यो पार्टीमा लोकतन्त्रको धड्कन रहन्छ ।
गत वर्षमात्रै कांग्रेसले संगठनको आन्तरिक कार्यतालिका बनायो । हरेक २ महिनामा बैठक गर्ने विषयलाई झ्याली पिटायो । तर न तालिका लागु भयो, न बैठक नियमित भए । महासमिति बैठकमा नेताहरुका मनचिन्ते प्रतिवेदनहरु पारित भएको घोषणा गरिए ।
प्रश्न हराएको कांग्रेस
महासमितिको वर्ष दिन पुग्नै लाग्दा पारित भएका वास्तविक प्रतिवेदन कार्यकर्तासम्म पुग्नसमेत सकेको छैन । महासमिति गर्दा कांग्रेस प्रचण्डसँग सत्तामा थियो, अहिले ओलीसँग सत्तामा छ ।
कांग्रेसका कुनैपनि सदस्यले महासमितिबाट पारित वास्तविक प्रतिवेदन खोजेको भेटिँदैन । कुनैपनि कांग्रेस नेताले पार्टी र सरकारका नियमित कारवाहीबारे चासो राखेको पाइँदैन ।
सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्रलाई लाभ दिदा कांग्रेस उत्साहित छ । निजी क्षेत्रलाई लाभ दिने कानून संसदबाट नबनाइनु ‘नीतिगत भ्रष्टाचार’ हो भन्ने व्यक्ति कांग्रेसमा भेटिँदैन ।
महाधिवेशन सकिएको दिनदेखि महाधिवेशन लाग्ने बिमारले गर्दा कांग्रेसभित्र प्रश्न हराउँदै गएको छ । १५ औं महाधिवेशनको संभावित उथुलपुथलमा आफ्नो सिट जोगाउन कांग्रेसभित्र ‘मूर्दाशान्ति’ छाएको छ । विधानतः सभापतिको दौडबाट बाहिरिएका सभापतिको समर्थन लिन प्रश्नकर्ताहरुले प्रश्नकै विरुद्ध प्रश्न उठाउने परिपाटी बनेको छ ।
सत्ता जोगाउनै सत्तामा
कांग्रेस सरकारमा भएकाले सरकारका कामसँग ऊ प्रत्यक्ष जोडिन्छ । कांग्रेसका मन्त्रीविरुद्ध मन्त्रालयमै हातपात भएको खबर छ । कांग्रेसका प्रदेश सभापतिविरुद्ध सडकमै आक्रमण भएको छ । तर, कुनै कांग्रेसको मन्त्रीलाई कोही एकजनाले राम्रो काम गरेकोमा धन्यवाद दिएको खबर कतै छैन । मन्त्रीहरु राम्रो काम गर्ने भाषण गरिरहेका छन्, काम गरिरहेका छैनन् । कांग्रेस यसैमा रमाएको छ । किनकि कांग्रेस सत्तामा छ । दुई वर्षसम्म अहिलेका मन्त्रीहरुको पालो, त्यसपछि नयाँ मन्त्रीको पालो ।
कांग्रेस पालो कुरिरहेको छ । सभापति देउवा प्रधानमन्त्री हुने पालो कुरिरहेका छन् । कोही सभापति हुने पालो कुरिरहेका छन् । कोही मन्त्री हुने पालो कुरिरहेका छन् ।
सत्तामा रहेर सत्ता जोगाउँदै पालो कुरिरहेको कांग्रेस इतिहासमा सबैभन्दा कमजोर छ । अघिल्लो निर्वाचनमा गुमेको लोकप्रिय मत फर्काउनेबारे कांग्रेसमा बहस छैन ।
संविधान संशोधनजस्तो गम्भीर एजेण्डामा मुलुक प्रवेश गरेको छ । संविधान निर्माणको नेतृत्व गरेका हिसाबले संशोधनका एजेण्डामा पनि कांग्रेसको अग्रसरता जरुरी छ । तर कांग्रेसभित्र संशोधनका विषयमा बहस भएको छैन ।
संविधान संशोधन गर्ने भए धर्म निरपेक्षता हटाउनुपर्छ भनी बहुमत महासमिति सदस्यले दिएको हस्ताक्षर कांग्रेसले मिल्काएर राखेको छ । संसदीय प्रणालीको विकल्पमा छलफल छेडिएको छ । कांग्रेस र एमालेले गर्न चाहेको संविधान संशोधन के हो ? सरकार गठन भएको ६ महिनासम्म जनताले जान्न पाएका छैनन् ।
अन्त्यमा, प्रतिपक्षमा हुँदा र नहुँदा पार्टीको भूमिकामा फरक पर्नु स्वभाविक हो । जिम्मेवारीका दृष्टिले सत्ता पक्ष र प्रतिपक्षको सरोकार फरक पर्न सक्छन् । यद्यपि सत्तामा हुने वा नहुने विषयले कुनै पनि पार्टीको निष्ठालाई फरक पार्नु हुँदैन । सत्ताकै लागि गम्भीर सैद्धान्तिक विचलनको बाटोमा हिडिरहेको कांग्रेसले अझै आफ्नो चुनौती चिन्न सकेको छैन ।
कांग्रेस पुरानो र लोकतान्त्रिक मात्रै होइन जिम्मेवार र जवाफदेही पार्टी पनि हो । यसर्थ कांग्रेसका नेताहरुले सत्ता पाउने र जोगाउनेमात्रै एजेण्डालाई प्राथमिकता दिनुहुँदैन । प्रश्नहरुको खारेजी र नेतृत्वको स्तुतिगान कांग्रेसको चरित्र थिएन, होइन ।
–अर्याल पत्रकार हुन् ।
प्रतिक्रिया