पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका | Khabarhub Khabarhub

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट ।

यतिबेला पोखरा महानगरपालिकाले अहिले पोखरा भ्रमण वर्ष २०२५ लाई भव्य रूपमा मनाउने तयारी गरिरहेको छ ।

महानगरको नीति तथा कार्यक्रममा समेटेको भ्रमण वर्षलाई यही जनवरी महिनाको अन्तिम या फेब्रुअरीमा औपचारिक कार्यक्रम गरेर अघि बढाउने तयारी गरिरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । 

उनले पोखरा भ्रमण वर्षलाई सफल बनाउन विशेष तयारीमा साथ लागिपरेको बताए । ‘पोखरा भ्रमण वर्ष २०२५ हाम्रो महानगरको पर्यटन क्षेत्रको उन्नति र प्रवर्द्धनका लागि कोसेढुङ्गा साबित हुने विश्वाससहित हामीले गृहकार्य थालेका छौँ, सफल बनाउँछौँ,’ प्रमुख आचार्यले भने  । 

उनले नेपालको पर्यटकीय राजधानीका रूपमा रहेको पोखरालाई उत्कृष्ट गन्तव्य बनाउनका लागि विभिन्न पर्यटकीय गतिविधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको बताए । ‘पोखराको पर्यटनलाई साँचो अर्थमा नयाँ उचाइमा पुर्‍याउनका लागि सबै पक्षको समन्वय र दीर्घकालीन दृष्टिकोण अपनाउनु पर्छ,’  आचार्यले भने । 

उनले मित्रराष्ट्र चीनले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र यसले नेपालको पर्यटन प्रवर्द्धनमा ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो कदमले नेपाल र चीनबीचको मित्रता अझ सुमधुर बनाउनाका साथै पोखरालगायत नेपालको पर्यटकीय गन्तव्यलाई विश्वव्यापी रूपमा चिनाउने अवसर प्रदान गरेको छ ।’

नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्षका अवसरमा ठमेल र भक्तपुरमा आयोजना गरिएका सांस्कृतिक महोत्सवहरूले नेपालको सांस्कृतिक विविधता, परम्परा र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । 

पोखरा महानगरपालिकाका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले पोखरा महानगरले वर्ष २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा सफल बनाउन विभिन्न योजना समेटेको बताए । 

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रमुख देशहरूमा नियमित उडान सुरु गर्ने, पर्यटन विविधीकरणका लागि साहसिक पर्यटनसँगै सांस्कृतिक, ग्रामीण र पर्यावरणीय पर्यटनलाई प्राथमिकता दिने तथा स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा आधारित योजनाहरू लागू गरेर उनीहरूको आर्थिक स्थिति सुधार गर्ने उद्देश्य रहेको छ । महानगरले यो घोषणापश्चात १५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको कार्कीले जानकारी दिए । 

‘यस योजनामा पर्यटन, पूर्वाधार विकास, वातावरणीय दिगोपन, र सामुदायिक उत्थानलाई प्राथमिकता दिइएको छ,’ कार्कीले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै वर्षभरि पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य महानगरले राखेको छ ।’ 

प्रत्येक वडामा कम्तीमा एक पर्यटकीय गन्तव्य विकास गरी तालदेखि ताल, गुफादेखि गुफा, हाइकिङ मार्ग निर्माण गरिनेछ । विशेष परियोजनाहरूअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, डेभिज फल्समा ग्लास ब्रिज, सेती नदी खोँचमा पर्यटक पूर्वाधारको विकास, फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । 

फेवाताल, सराङकोट, र अन्नपूर्ण परिपथजस्ता गन्तव्यहरूलाई थप प्रवर्द्धन गर्नाका साथै नयाँ पारिस्थितिक पर्यटन पहल, सांस्कृतिक पर्यटन कार्यक्रम र समुदाय–आधारित परियोजनामार्फत पर्यटकलाई विविध अनुभव प्रदान गर्ने प्रयास पनि भइरहेको छ । 

त्यसैगरी, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदामा आधारित पर्यटन कार्यक्रम सञ्चालन गर्नाका साथै मुक्तिनाथ प्रवेशद्वार निर्माण, फेवातालमा बाँध निर्माण, कोत्रेमझुवामा बहुउद्देश्यीय प्रवेश पार्क, फेवातालको माथिल्लो भागमा फेवा बीच विकास, रत्न मन्दिरलाई दरबार सङ्ग्रहालयका रूपमा पुनर्निर्माण, हेरिटेज ट्रेल र मेट्रो ट्याक्सी सेवाजस्ता पूर्वाधार विकास योजनाहरू कार्यान्वयन गरिने जनाइएको छ । 

एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा पोखराको पर्यटन विकास र स्थानीय जीविकोपार्जन सुधारका लागि विभिन्न परियोजना अहिले सञ्चालित रहेको पोखराको पर्यटन सुधार परियोजनाबाट काम सुरुआत भएका छन् । एडिबीबाट सहरी उत्थानशील तथा जीवनयापन सुधार आयोजनाका लागि ३१.७९ मिलियन डलर आर्थिक सहयोग गरेको आयोजनाका म्यानेजर इन्जिनीयर कविता पौडेलले जानकारी दिए । 

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले महानगरपालिकाले घोषणा तयारी गरेको पोखरा भ्रमण वर्षले पर्यटन क्षेत्रको विकास र पोखराको विश्वव्यापी पहिचानका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिन सकिने बताए। 

उनले हालै मात्र सम्पन्न ड्रागन बोट रेस प्रतियोगिता, सडक महोत्सव, हट एयर बेलुन महोत्सवजस्ता जल, जमिन र आकाश लक्षित महोत्सवहरुले अन्तर्राष्ट्रियजगत्मा पोखरालाई चिनाउन थप सहयोग पुर्‍याएको  बताए । 

भ्रमण वर्षका लागि पनि साहसिक पर्यटन, ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।  

पोखरा महानगर सहरी योजना आयोगका पूर्वउपाध्यक्ष तथा पर्यटन रणनीतिका योजनाकार डा रामचन्द्र लामिछानेले भ्रमण वर्ष घोषणा मात्र नगरी यसको लक्ष्य हासिल हुने गरी काम गर्नुपर्ने बताउँछन् । 

पोखरा भ्रमण वर्ष घोषणा गरेर मात्र पर्यटक आउँदैनन्, रणनीतिक योजनासहितका कार्यक्रम र पूर्वाधार विकासमा ध्यान दिनुपर्छ भन्दै उनले घोषणलाई व्यवहारमा उतार्नका लागि स्पष्ट रणनीति र दृढ इच्छाशक्ति हुनुपर्ने आवश्यकता औँल्याए । –रासस

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : ४१ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ १२ गते शनिबार माघ

आज २०८१ साल माघ १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ १२ गते शनिबार माघ

पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न

गण्डकी – पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ ।

पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता

कास्की – पोखरा रङ्गशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर

सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री