काठमाडौं- नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीमा अर्को झमेला सुरु भएको छ ।
नयाँ नेतृत्वका लागि शनिबार ९ स्थानमा भएको मतदानको गणना अघि बढिरहँदा मधेश प्रदेशमा विवाद भएको हो ।
जारी मतगणनाका क्रममा लुम्बिनी, गण्डकी र सुदूरपश्चिमको नतिजा आइसकेको छ। उता मधेश प्रदेशमा मतगणना भइरहँदा एउटा पक्षले मतपत्रमा पानी खन्याइदिएको छ।
मधेश प्रदेशको १५४ मतगणना भइसकेको अवस्थामा चार मत कम भेटिएपछि विवाद देखिएको हो ।
क्रान्तिकारीको अध्यक्ष पदका लागि विजय शर्मा सापकोटा र हेमन्त राईबीच कडा टक्कर देखिएको छ । यस्तोमा गणनाका क्रममा पछि परेपछि सापकोटा पक्षधर विद्यार्थीहरूले मतपत्रमा पानी खन्याइदिएका हुन् ।
पछिल्लो परिणामअनुसार विजय र हेमन्तबीच कडा प्रतिस्पर्धा छ । उपदेश यादव तेस्रो र सुदीन पौडेल चौथो स्थानमा छन् ।
परिणामअनुसार विजयले हेमन्तभन्दा २३ मतले अग्रता बनाएका छन् । सापकोटाले कुल ४५३ मत पाउँदा राईले ४३० मत ल्याएका छन् ।
पछिल्लो अवस्थामा मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् ।
अध्यक्ष पदमा अगाडि रहेका हेमन्त राईले मधेशमा ४१ र समग्रमा उनीभन्दा केही अगाडि रहेका सापकोटाले ४० मत ल्याएका थिए । उता सुदीन पौडेलको पक्षमा एक मत झरेको छ ।
यता उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना पनि रोकिएको छ । त्यहाँ बदर मत कस्तोलाई मान्ने विषयमा विवाद हुँदा गणना रोकिएको हो । विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मत खसेको छ । मधेश प्रदेशमा १९५ मत खसेको थियो ।
दुवै प्रदेशको मतदान भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा भएको थियो। मतगणना शनिबार साँझदेखि सुरू गर्ने भनिए पनि सदर र बदर मतबारे सहमति जुट्न सकेको छैन ।
क्रान्तिकारीमा हरेक प्रदेशमा तोकिएका मतदान केन्द्र र अन्य दुईसहित ९ वटा मतदान केन्द्रमा २४ सय २८ जना प्रतिनिधिले मतदान गरेका थिए । सात प्रदेशमा सातवटा र उपत्यका विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र प्राविधिक जिल्लासहित ९ स्थानमा मतदान भएको हो ।
यसअघि उमेर हद राख्ने कि नराख्ने विवादले क्रान्तिकारीको सम्मेलन भाँडिएको थियो । गत पुस दोस्रो साता भएको मतदानमा क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउने पक्षमा बहुमत आएको थियो ।
त्यसबेला उमेर हद लगाउने पक्षमा ९०० र खुलामा ८७९ मत परेको थियो । उमेर हद लागू भएपछि करिब ६ सय विद्यार्थी नेता क्रान्तिकारीबाट एकै पटक बढारिएका छन् ।
क्रान्त्किारीको अध्यक्षका पदमा हेमन्त राई, सापकोटासहित विजय शर्मा सापकोटा, सुदीन पौडेल र उपदेश यादव प्रतिस्पर्धामा छन् । यी अध्यक्षका उम्मेदवारला माओवादी नेताहरूले खुलेर साथ दिएका छन् ।
विजयलाई प्रचण्डनिकट भनिएको छ । हेमन्तलाई जनार्दन शर्माको साथ मिलेको छ। उपदेशलाई नारायणकाजी श्रेष्ठको साथ मिलेको छ । सुदीनलाई वर्षमान पुनले साथ दिएका छन् । उनीहरू बसै प्यानल बनाएरै मैदानमा छन् ।
प्रतिक्रिया