पाथीभरा केबलकार घटना : वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह « Khabarhub

पाथीभरा केबलकार घटना : वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अनुरोध गर्दै उक्त आग्रह गरेको हो ।

“विकास निर्माणका क्रममा आउन सक्ने यस प्रकारका असहमति र विवादको समयमै पहिचान तथा सम्बोधन गर्न, विकासमा मानव अधिकारमुखी पद्धतिको अवलम्बन गर्न जरुरी छ,” विज्ञप्तिमा भनिएको छ, “झडपका क्रममा घाइते व्यक्तिको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्नु, एकापसमा देखिएका विवाद तथा असहमतिलाई सार्थक वार्ता र संवादका माध्यमबाट समाधान गर्न आयोग नेपाल सरकारलगायत सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।”

ताप्लेजुङको फुङ्लिङ–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर यही माघ १२ गते भएको विवादका क्रममा सुरक्षाकर्मी र स्थानीय प्रदर्शनकारीबीच झडप हुँदा प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैतर्फ घाइते भएका थिए ।

उक्त घटनाको आयोगको कोशी प्रदेश कार्यालयले अनुगमन गरिरहेको र यसअघि आयोगले २०८१ मङ्सिर २ देखि ८ गतेसम्म स्थलगत अनुगमन गरी वार्ता तथा सहमतिपश्चात् मात्र निर्माण कार्य अगाडि बढाउन सुझाव दिएको आयोगले जनाएको छ ।

आयोगले विकासको अधिकारसँगै नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय अधिकारको संरक्षण र संवद्र्धनको सुनिश्चितता गर्नु राज्यको दायित्व हुने उल्लेख गरेको छ । स्थानीय आदिवासी समुदायले पाथीभरा क्षेत्र स्थानीय लिम्बू÷याक्थुङ समुदायको सांस्कृतिक एवं आध्यात्मिक विश्वासको केन्द्र रहेको हुँदा यसको ऐतिहासिक नाम मुक्कुमलुङ नै राख्नुपर्ने, केबलकार निर्माण कार्य बन्द गर्नुपर्ने, विकास निर्माणका कार्य गर्दा आदिवासी समुदायबाट अग्रिम जानकारीसहितको स्वतन्त्र, सुसूचित सहमति लिनुपर्नेजस्ता मागसहित आयोगमा ज्ञापनपत्र बुझाएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : १४ बजे

बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी– पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास

मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल