पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर | Khabarhub Khabarhub

पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्रहालय निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिए ।

‘एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो’, उनले भने, ‘अन्नपूूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ ।’

योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन भइसकेको अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताए । सन्धीखर्क, भुसकेट, पञ्चकुण्ड ताल परिसरमा ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ ।

हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुण्डमा खानेपानी र शौचालय निर्माणका लागि  ३० लाख रुपैयाँ विनियोजन भएको छ । फुटफुते झरना परिसरमा चिया पसल र आधार शिविरमा खुला सङ्ग्रहालय निर्माणका लागि १०–१० लाख रुपैयाँ विनियोजन भएको छ । खुला सङ्ग्रहालयमा आधार शिविरमा रहेका अभिलेखलाई सङ्कलन र संरक्षण गर्ने लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका सबइन्जिनियर बालकृष्ण पौडेलले बताए ।

पदमार्ग निर्माण र सुधारका लागि पर्यटन बोर्डको २० लाख, गाउँपालिकाको १० लाख र एक्यापको पाँच लाख बजेट परिचालन गर्ने गरी उपभोक्ता समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेल, सबइन्जिनियर पौडेल र समुन्त यादवको टोली गत हप्ता आधार शिविर पुगेर योजना निर्माणस्थलको निरीक्षण गरेर फर्किएको थियो ।

मानव बस्तीदेखि टाढा, होटल र रेष्टुराँ नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिका– ४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दशैँ–तिहारको समयमा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । मौरिस हर्गोज पदमार्गमा झोलुङ्गे पुल, सञ्चार, विद्युत सुविधा विस्तार र पर्यटक चेकपोष्ट राख्नका लागि पनि पहल भएको उनले बताए ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

तीन दिनको छोटो अवधीमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।

सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले मौरिस हर्जोग’ नामकरण गरेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किमी पदमार्ग तयार भएको छ । 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : ०७ बजे

ताल तथा सिमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा

कञ्चनपुर– कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सिमसार क्षेत्रमा पाइने चराको

थप अधिकारका लागि समर्पित हुनु नै शहीदप्रति श्रद्धाञ्जली : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं–  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी– राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५

सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ

आज शहीद दिवस मनाइँदै

काठमाडौं– प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि