सुनसरी – आधा शताब्दी अघितिर बाबुबाजेले पाखाभित्तामा रोपेको बाँसका झ्याङले छोरानातिको पालामा वार्षिक पाँच/सात लाख रुपैयाँ आम्दानी गराउला भनी रेवतकुमार वान्तवाले सोचेकै थिएनन् ।
धनकुटाको शहीदभूमि गाउँपालिका–२ आङ्खुवा बस्ने वान्तवाका लागि बाबुबाजेले रोपेर छाडेका बाँसझ्याङ ‘पैसाको बोट’ साबित भएको छ ।
न पानी लगाउनुपरेको छ, न गोडमेल गर्नुपरेको छ । अन्य नगदेबालीमा लगानी गरेजस्तो वा फलफूल/तरकारी खेती स्याहारेजस्तो दुःख गर्नु नपर्ने बाँसको खेती वान्तवा परिवारका लागि जीवन धान्ने माध्यम नै बनेको छ ।
न कुहिएला भन्ने पीर ! न बिक्री नहोला कि भन्ने पीर ! न त सुन्तला र अलैचीँमा जस्तो किरा लाग्ला भन्ने पीर ! उनले खबरहबसँग भने, ‘यहाँ म जस्तै बाँस खेती गर्नेहरू त यहाँ घरैपिच्छे छन् ।’
भोजपुरको हतुवागढी र आमचोक, धनकुटाको साँगुरीगढी, शहीदभूमि साविक छिन्ताङ र उदयपुरको बेलकाका ६ हजार घरपरिवार बाँस खेतीमा रमाएका छन् । एउटा परिवारले वर्षमा कम्तिमा एक/डेढलाख रुपैयाँको बाँस बिक्री गर्छन् । झन् ५०/६० रोपनी जग्गामा बाँस लगाउनेहरूले त वार्षिक पाँच/सात लाख रुपैयाँ नै आम्दानी गर्छन् ।
बान्तवाले आफ्नो बाँसघारी देखाउँदै करिब ३० रोपनी जग्गामा बाँसखेती गरेको बताए । उनले बाँस खेतीबाट वार्षिक सरदर तीन लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । भने, ‘यति रकम कमाउन मैले बाँसमात्र रोप्नुपर्छ । तीन हजार रुपैयाँ पनि लगानी गर्नुपर्दैन । बाँस खेतीका लागि न स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई नै गुहार्नुपरेको छ ।’
पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, सङ्खुवासभातिर चिरैतो, अम्लिसो र अलैचीँ खेती, इलाममा चिया खेती गर्नेहरूले लगानीसँगै मल, पानी र परिश्रम पनि उत्तिकै गर्नुपरेको छ । तर, कोशीको पश्चिम किनारामा पर्ने भोजपुरको हतुवागढी र आमचोक, उदयपुरको बेलका, कोशीको पूर्वी किनारामा पर्ने धनकुटाको शहीदभूमि, साँगुरीगढी पालिकाका किसानहरूका लागि आर्थिक उन्नयन हासिल गर्न बाँस वरदान भएको छ । यी पालिकाहरू अरूण, दूधकोशी र कोशीका किनारमा पर्छन् ।
पछिल्लो समयमा सडक सञ्जाल पनि विस्तार भएकाले गाउँगाउँमा ट्रक र ट्याक्टर पुग्न थालेपछि बाँस ढुवानी गर्न सहज भएको छ । सडक नपुग्दा चतरा (बराहक्षेत्र)सम्म कोशी नदीको जलप्रवाहमै हेलेर बाँस ल्याउने गरिएको थियो । अहिले पनि करिब ५० प्रतिशत बढी बाँस कोशी नदी भएर नै ल्याउने सिलसिला जारी छ ।
वान्तवाका अनुसार ट्रक लिएर बाँसझ्याङमै पुग्ने व्यापारीहरूले प्रतिघना बाँस ७० देखि ८० रुपैयाँमा खरिद गर्छन् । त्यहाँको बाँस धरान या बराहक्षेत्रको चतरासम्म ल्याउँदा प्रतिघना मूल्य १५० देखि २५० रुपैयाँसम्म पुग्छ ।
धरान र चतरा कोशी किनारको १३ अराडी डिपोबाट ती बाँस वीरगञ्ज, पोखरा र काठमाडौंसम्म पुर्याउँदा मूल्य पनि बढ्दै जान्छ ।
६० करोडको बाँस शहर पुग्दा एक अर्ब ८० करोड
स्याहारको नाममा बाँसका कलिला तामालाई कसैले तरकारी बनाएर खान काटिदिन्छ कि भनी घरको डिलबाट हेरे पुग्ने, लगानी कम र परिश्रम पनि नलाग्ने बाँस खेतीप्रति स्थानीय बासिन्दाहरू वि.सं. २०५५ देखि आकर्षित भएका हुन् ।
धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोडजस्ता शहरी क्षेत्रमा कङ्क्रिटका घर निर्माण हुन थालेपछि बाँसको माग बढ्न थालेको हो । पक्की घर निर्माण गर्दा टेका लगाउन ठेकेदारले बाँस प्रयोग गर्छन् । किसानहरूले हाल बिक्री गरिरहेको बाँस चोयाबाँस वा तुम्बेबाँस नभएर मलबाँस हो ।
बाँस खेतीका लागि कुनै औपचारिक तालिम र आधुनिक प्रविधि आवश्यक नपर्ने बताउने शहीदभूमिका स्थानीय बाँस व्यवसायी लेखनाथ बान्तवाका अनुसार बाँसकै कारण किसानहरूले मनग्गे आम्दानी गरेका छन् ।
उनका छिमेकीहरू वीरबल राईसहित स्थानीय किसानहरू लोकेन्द्र राई, हरिमान राई, हेमन्त राई, सूर्यकुमार राई, भीम राई, सूर्यकुमारी राई, सोही क्षेत्रबाट प्रदेश सांसद भएका निरन राईलगायत बाँस खेतीका अगुवाहरू हुन् ।
तरकारी, फलफूलको व्यवसायिक खेती गर्न किसानहरूले अनुदान माग्ने गरेका छन् । त्यो अनुदान पनि टाठाबाठाले मात्र हात पार्छन् । यो झमेला र तनावबाट पनि बाँस खेतीमा लागेका स्थानीय बासिन्दा मुक्त भएका छन् ।
अरूण, दूधकोशी र कोशी किनार आसपासका पाखापखेरा र भित्ता बाँस खेतीका लागि उपयुक्त मानिन्छ । धरान, विराटनगर, काठमाडौं र पोखरामा बाँसको माग बढेपछि स्थानीय बासिन्दाहरूले थोरै अन्नबाली फल्ने खेतबारी नै मासेर बाँस खेती गर्न थालेका छन् ।
पाखा भित्तामा उत्पादित बाँस बिक्री गरेर कमाएको रकम किसानहरूले धरान, इटहरी, बराहक्षेत्र बजारमा चामल, दाल, नून तेल र लत्ताकपडा किन्न खर्च गर्ने गरेका छन् । त्यही रकमले छोरा छोरीलाई शहरका राम्रा स्कूलमा भर्ना गरेर पढाउने र दुःखबीमार भए औषधोपचारमा खर्च गर्ने गरेका छन् ।
भोजपुर, उदयपुर र धनकुटाका अरूण, दूधकोशी र कोशी किनार आसपासका करिब ६ हजार किसानले वार्षिक ६० करोड रुपैयाँभन्दा बढीको बाँस उत्पादन गरेर बाँसझ्याङमै बिक्री गर्ने गरेको अनुमान छ । सोही बाँस धरान, विराटनगर, काठमाडौं, पोखरा र वीरगन्ज पुग्दा तेब्बर मूल्य हुने भएकाले कम्तिमा एक अर्ब ८० करोड रुपैयाँको कारोबार हुने गरेको छ । बाँस खेतीले स्थानीय युवाहरूलाई वैदेशिक रोजगारमा जानबाट पनि रोक्न मद्दत गरेको छ ।
अधिकांशले पछिल्लो दशकयता धान, मकै र कोदो खेती मासेर बाँस रोपेका छन् । बाँस खेती गर्ने किसानले वार्षिक पाँच लाख रुपैयाँदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
आङ्खुवाकै वीरबल राईले वार्षिक करिब तीनहजार घना उत्पादन गर्छन् । उनले भने, ‘खेतबारीमा कोदो, मकै र धान रोप्दा आम्दानी र खर्च उस्तै उस्तै हुन्छ । दैनिक परिश्रम पनि उत्तिकै लाग्छ । अनि कसले गर्छ यस्तो खेती ? बाँस रोप्यो, अर्को वर्षदेखि तामा हान्न थाल्छ । अर्को वर्षमा तयार हुन्छ । केही वर्षमा झ्याङ तयार हुन्छ । पात जति गाइबस्तुका लागि घाँस हुन्छ, सग्लो बाँसको बोटमा खबटासँगै पैसा उप्कन थाल्छ ।’
०५५ अघि उनीहरूले बाँस खेती गर्न जानेका थिएनन् । आफैँ घरमा आवश्यक पर्ने सामान बनाउन दुईचार झ्याङमात्र लगाउने गरेका थिए ।
चेफा बनाएर कोशीमा जोखिम मोल्दै सलल
उदयपुरको बेलका नगरपालिका–६ बगुवाका राजन माझी, अनिल माझी, प्रकाश माझी र फौद श्रेष्ठ लगायत १० जनाको एउटा समूह छ, जसले कोशीको भङ्गालोमा चेफा हुल्छन् र गन्तव्यमा पुर्याउँछन् ।
कोशीमा अरूण मिसिएपछि उनीहरूले तयार गरेका चेफामा साथीको चेफा पनि जोडेर लैजान्छन् । त्यसो गर्दा नदीमा दुर्घटना सम्भावना कम हुन्छ । १५० घनाको चेफालाई नदीमा लगाएर ठेल्ने बाँसको लट्ठीलाई उनीहरू ‘चहरी’ भन्छन् ।
भोजपुरको बेल्टार, रानीटार, पोक्सुलुङ र गर्गरेका स्थानीय किसानबाट बाँस खरिद गरेर सिङ्गल चेफा बनाउँछन् । उनीहरूले डेढ दशकदेखि बाँस व्यवसाय गरिरहेका छन् ।
राजन माझीका अनुसार कोशीमा वर्षमा करिब ३० देखि ४० चेफा (जाक) बनाएर बराह क्षेत्रको १३ आरडी कोशी किनारमा पुर्याउने गरिन्छ । एक चेफामा करिब १५० घना बाँस हुन्छ । अरू छिमेकीको बाँस पनि खरिद गरेर व्यापार गर्ने गरेको उनले बताए ।
भने, ‘कोशीमा चेफा (जाक) बनाएर बाँस ल्याउँदा धेरै जोखिम मोल्नुपर्छ । १३ आरडीको डिपोमा पुग्न कहिलेकाँही तीन दिनसम्म लाग्छ . चेफा अड्किने, पल्टिने, भित्तामा ठोकिने र चेफा नियन्त्रण गर्न बसेका बेला पानीको बेगले बगाउनेजस्ता जोखिम मोलेर बाँस ल्याउनुपर्छ ।’
१२ हजार रुपैयाँमा किनेको बाँसको एक चेफा १३ आरडीमा पुर्याउँदा १८ हजार रुपैयाँको हुन्छ । अर्थात्; राजन माझीजस्ता युवाले बाँस कारोबारबाट वर्षमा करिब पाँच देखि सातलाख रुपैयाँ आम्दानी गर्छन् ।
बगुवाकै ३४ वर्षीय अनिल माझीले सातामा तीनपटकसम्म चेफा खियाउँदै बजारसम्म बाँस ल्याउने गरेका छन् । तीन वर्ष वैदेशिक रोजगारमा गएर फर्केको उनले बताए ।
आफ्नै गाउँमा बाँसको व्यापार र खेती गरेरै परिवार पाल्न सकिने देखेर फर्केको उल्लेख गर्दै माझीले भने, ‘वैदेशिक रोजगारमा पनि मैले अनेक दुःख गरेर, परिवारसँग टाढा रहेर कमाउने भनेको मासिक ४०/५० हजार रुपैयाँमात्र हो । खान र बस्नमा खर्च गरेर घर पठाउन त २५/३० हजार रुपैयाँमात्रै बाँकी रहन्छ । यही बाँसको व्यवसाय गर्दा जोखिम मोलेरै भए पनि सबै लगानी र खर्च कटाएर एक/डेढलाख रुपैयाँ आम्दानी गरिएको छ । तब किन जाने गाली खाँदै अर्काको देशमा काम गर्न ?’
चेफा जाकिँदा ज्यान गुमाउने उत्तिकै
कोशीमा चेफा बगाएर ल्याउँदा कति जोखिम मोल्नुपर्छ भन्ने कुराको अनुभव तिनैलाई थाहा छ, जसको धन र ज्यान चेफामै निर्भर छ ।
चौडाइ सानो, गहिरो, तीव्र प्रवाह र ढुङ्गासहित बगाउने छाल भएकाले कोशीमा बाँसको चेफा हेलाउन प्राय: सबैलाई मुस्किल पर्छ ।
कोशीको तीव्र जलप्रवाहमा हेलेर ल्याउँदै गर्दा दुईसाता अघिमात्र ढुङ्गामा चेफा ठोकिएर १८ वर्षीय मिलन माझीको मृत्यु भयो ।
तीव्र गतिमा बगेको बाँसको चेफा ढुङ्गामा ठोकिएपछि अनियन्त्रित चेफाबाट मिलन नदीमा खसे । १५० घनाको चेफा नदीमा जाकिँदा अर्को साथीलाई उद्धार गरेर निकालियो । तर मिलन भने बेपत्ता भए । नदीमा १०/१५ घनाको टुप्पामात्र देखियो । त्यति गहिरो नदीमा कसले खोज्ने ? नदीको प्रवाह हेर्दा नै अत्यासलाग्दो जो छ ।
एक महिना अघिमात्र तिनै मिलनका मामा रविन माझीको पनि बराहक्षेत्र नजिक आइपुग्दा चेफा अनियन्त्रित हुँदै जाकियो । चेफाबाट कोशीको तीव्र प्रवाहमा खसेर रविन बेपत्ता भए ।
कोशीमा चेफामाथि हुने जलविपद्मा बर्सेनि कम्तिमा चार जनाको ज्यान जाने गरेको छ । यसरी ज्यान गुमाउनेहरूलाई प्राकृतिक विपत्तिमा परेको ठानेर स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले सहयोग भने गरेको पाइन्न ।
प्रतिक्रिया