काठमाडौं – सानो पुँजी लगानीमा सञ्चालन गरिएका कम्पनीहरूलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण शेयर (आइपीओ) जारी गर्ने बाटो खोलिदिएको छ ।
बोर्डले अघिल्लो बिहीबारबाट लागु हुनेगरी ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेको हो ।
बोर्डले उक्त नियमावली धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति लिएरै कार्यान्वयनमा ल्याएको हो ।
स्टार्टअप (नवप्रवर्द्धक) कम्पनीहरूको धितोपत्र सूचीकरण तथा कारोबार गर्ने विशिष्टीकृत बजार (एसएमई प्लेटफर्म)लाई पुँजी सङ्कलन गर्न विभिन्न प्रावधानहरू तोकिएको छ ।
एसएमई अन्तर्गतका कम्पनीको चुक्ता पुँजी सीमा बढीमा २५ करोड रुपैयाँ तोकिएको छ । त्यस्ता कम्पनीका आइपीओमा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था पनि नियमावलीको दफा १५ ले व्यवस्था गरेको छ ।
साधारण भाषामा भन्ने हो भने एसएमई अन्तर्गतका कम्पनीहरूमा न्यूनतम आइपीओ भर्न अब ५० हजार रुपैयाँ लाग्नेछ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/2.png)
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार एसएमई अन्तर्गतका कम्पनीहरूमा बढी जोखिम हुने भएकाले आइपीओ भर्दा न्यूनतम ५०० कित्ता सीमा राखिएको हो ।
‘यस्ता कम्पनीहरू केही रिस्की (जोखिमयुक्त) पनि हुन्छन्, पुँजी पनि सानो हुन्छ’, घिमिरेले भने, ‘यस्ता कम्पनीले आइपीओ जारी गरेपछि कारोबार पनि छुट्टै गर्ने हो, भारतमा पनि त्यस्तै हुन्छ ।’
ठूला कम्पनी आइपीओमा आउँदा पनि त्यही व्यवस्था र सानालाई पनि त्यही व्यवस्था हुँदा समस्या भएकाले गर्दा नयाँ व्यवस्था ल्याइएको घिमिरेको भनाइ छ ।
‘साना कम्पनीहरूलाई सहज रूपमा आउन दिन, तर जोखिम लिन सक्ने लगानीकर्ताले मात्र लगानी गरुन् भन्ने आशय हो’, घिमिरेले खबरहबसँग भने, ‘साना–साना स्टार्टअप कम्पीहरूलाई बजारमा आउन र कारोबार गर्ने दिने व्यवस्था विश्वभर नै छ ।’
दोस्रो बजारमा कारोबारबारे गोलमटोल नियमावली
तर, दोस्रो बजारको कारोबारबारे नियमावलीले स्पष्ट पारेको छैन ।
अहिले दोस्रो बजारमा आउन चाहने सबै कम्पनीहरूले आइपीओ जारी गर्दा न्यूनतम १० कित्ताको लागि आवेदन दिनुपर्ने हुन्छ । त्यो शेयर कारोबार गर्ने संस्था (कम्पनी) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरण भएपछि न्यूनतम १० कित्ताको लागि सहजै खरिद बिक्री हुन्छ ।
नेप्सेमा १० कित्ताभन्दा पनि कम शेयर भए पनि अडलट अप्सनबाट खरिदबिक्री गर्न सकिन्छ, तर त्यहाँ राखेको शेयर खरिदबिक्री ग्यारेन्टी चाहिँ हुँदैन । न्यूनतम १० कित्ता शेयर भने बिक्रीकर्ता र खरिदकर्ताबीच मूल्य मिलेपछि सहजै कारोबार हुन्छ । त्यसकारण दोस्रो बजारमा १० कित्ता किनबेच गर्न पाइन्छ भन्ने गरिन्छ ।
तर, यता एसएमई प्लेटफम नियमावलीमा भने दोस्रो बजारमा बेच्न पाउने न्यूनतम र अधिकतम कित्ताबारे गोलमटोल व्यवस्था छ ।
नियमावलीको दफा ३७ मा धितोपत्र कारोबारको संख्या तोक्न सक्ने व्यवस्था छ । जसमा ‘धितोपत्र बजारले अग्रिम सूचना प्रकाशन गरी धितोपत्रको बाँडफाँट बमोजिम हुनेगरी कारोबार हुने न्यूनतम र अधिकतम धितोपत्रको संख्या तोक्न सक्नेछ’ लेखिएको छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/1--768x527.png)
उक्त नियमावलीले न्यूनतम १० कित्ता नै बेच्न पाउने हो वा ५०० कित्ता हुनुपर्ने हो भन्नेबारे स्पष्ट पारेको छैन । बोर्डका प्रवक्ता घिमिरे पनि नियमावलीले कति कित्ता बेच्न पाउने हो भन्ने कुरा स्पष्ट तरिकाले नबोलेको स्वीकार गर्छन् ।
उक्त व्यवस्था नेप्सेले बनाउने प्रवक्ता घिमिरे बताउँछन् । ‘अहिलेसम्म किनबेचमा न्यूनतम ५०० कित्ता हुनुपर्नेमै छलफल केन्द्रित छ’, घिमिरेले भने, ‘तर स्पष्ट गरिसकिएको छैन, कारोबार हुने बेलासम्म प्रष्ट हुनेछ ।’
नियमावली अनुसारको व्यवस्था कार्यान्वयनअघि आवश्यक केही विनियमावलीहरू नेप्सेले बनाएर स्वीकृतिका लागि बोर्डमा पठाउने र बोर्डले स्वीकृति गरेपछि लागु हुने घिमिरे बताउँछन् ।
‘यहाँ छुटेका विषयमा नेप्सेलाई कानुन बनाउनुपर्नेछ भने बनाऊ, पूर्वाधार बनाउनु पर्ने छ भने बनाऊ भनेर हामीले भनिसकेका छौँ’, घिमिरेले भने ।
अध्यक्षले चाहेको हुने
दोस्रो बजारमा एक पटकमा एक कम्पनीको न्यूनतम कति कित्ता शेयर कारोबार गर्न पाइने भन्नेबारे धितोपत्र बोर्डका अध्यक्षले चाहेकै हुने देखिएको छ । हाल बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ हुन् ।
नियमावलीले प्रष्ट व्यवस्था नगरेका कुरा विनियमावलीमा समेटिने बोर्डका अधिकारीहरू बताउँछन् । बोर्ड प्रवक्ता घिमिरेका अनुसार उक्त विनियमावली नेप्सेले बनाउने र त्यसलाई बोर्डले स्वीकृत गर्नेछ । अर्थात्; विनियमावलीको ड्राफ्ट नेप्सेले गरे पनि अन्तिम स्वरूप भने बोर्डले दिन्छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2024/06/sebon-logo-768x390.jpg)
नेप्सेका प्रवक्ता मुरहरी पराजुलीका अनुसार नेप्से सञ्चालक समितिको बैठकमा न्यूनतम कति कित्ता शेयर कारोबार गर्न दिने भन्ने विषयमा छलफल हुनेछ । सोही आधारमा निर्णय हुनेछ ।
‘अब त्यो विषयबारे सञ्चालक समितिमा छलफल हुन्छ’, पराजुलीले भने, ‘त्यहाँ निर्णय भएअनुसार विनियमावलीको ड्राफ्ट (खाका) बनाएर हामीले स्वीकृत गर्न बोर्डमा पठाउँछौँ ।’
‘सञ्चालक समितिले १० कित्ता कारोबार गर्न पाउने निर्णय गरे विनियमावलीमा त्यही हुन्छ र बोर्डमा त्यही स्वीकृतिको लागि पठाउनुहुन्छ ?’ भन्ने खबरहबको प्रश्नमा पराजुलीले भने, ‘अब त्यो त सञ्चालक समितिले गर्ने निर्णयको कुरा भयो, तर, समितिले निर्याण त्यस्तो गरेको खण्डमा त्यही कार्यान्वयन हुने हो ।’
नेप्सेको सञ्चालक समितिले निर्णय गरेर पठाएको कुरामा धितोपत्र बोर्डले भने कैँची चलाउन सक्नेछ । धितोपत्रसम्बन्धी ऐनअनुसार नेप्सेले बनाएको विनियमावली स्वीकृत गर्न बोर्डमा पठाउनुपर्ने हुन्छ । त्यसो हुँदा अध्यक्ष श्रेष्ठले नै एसएमईजहरूको न्यूनतम कति कित्ता कारोबार गर्न दिने भन्ने निर्णय गर्न सक्नेछन् ।
यता नेप्सेले न्यूनतम ५०० कित्तामात्र कारोबार गर्न पाइने व्यवस्था गरेको खण्डमा पनि अध्यक्ष श्रेष्ठले कैँची चलाएर १० कित्ताकै व्यवस्था गर्न सक्ने सम्भावना देखिन्छ ।
नेप्सेले गरेको ड्राफ्टमा धितोपत्र बोर्डले कैँची पनि चलाउन सक्ने सम्भावना रहने बोर्डका पूर्व अध्यक्ष भीष्मराज ढुङ्गाना पनि सहमत छन् । तर त्यसरी कैँची चलाउँदा भने लजिक दिनुपर्ने ढुङ्गानाको अनुभव रहेको छ ।
नेप्सेले पठाएको ड्राफ्टमा कैँची चलाउनको लागि वा नेप्सेले ५०० कित्ता न्यूनतम कारोबार गर्नुपर्ने भनेर सिफारिस गर्यो । तर, बोर्डले त्यो व्यवस्था हटाउन खोजेमा भने त्यसको कारण दिनुपर्ने ढुङ्गाना बताउँछन् । ‘नेप्सेले पनि कति कित्ता किन्न मिल्ने भन्ने ड्राफ्ट गर्दा लजिक दिनु पर्यो’, ढुङ्गानाले भने, ‘बोर्डले पनि परिवर्तन गर्दा लजिक दिनुपर्यो ।’
बोर्डमा अध्यक्षको मुख्य भूमिका हुने भएकाले गर्दा न्यूनतम कति कित्ता राख्ने भन्ने प्रस्ताव अध्यक्षले नै गर्ने ढुङ्गाना बताउँछन् ।
‘पास गर्ने सन्दर्भमा मत बाझियो भने, हुँदैन भनेर सबै सञ्चालक सदस्यले भनेमा नहुन पनि सक्छ’, ढुङ्गानाले भने, ‘तर, सामान्यतयाः त्यहाँ अध्यक्षले आफ्नो सदस्यहरूलाई कन्भिन्स गर्ने नै हुन्छ, त्यसपछि पास हुन्छ ।’
![](https://www.khabarhub.com/wp-content/uploads/2024/12/stock-nepse-nepal-768x434.jpg)
दोस्रो बजारमा न्यूनतम कारोबार ५०० कित्ता राख्न माग
लगानीकर्ता तथा बजारका जानकारहरूले भने एसएमई प्लेटफममा आउने कम्पनीहरूको शेयर दोस्रो बजारमा कारोबार कित्ता न्यूनतम ५०० नै राख्न माग राखेका छन् ।
एसएमई अन्तर्गत आउने कम्पनीका शेयरमा लगानी जोखिम बढी हुने हुँदा दोस्रो बजार कारोबारमा हालकै १० कित्ते नीति भए त्यो झन् खतरा हुनसक्ने जानकारको भनाइ छ ।
५०० कित्ता आइपीओ भर्न पाउने व्यवस्था भएपछि दोस्रो बजारमा पनि ५०० कित्ता नै कारोबार सीमा तोक्नुपर्ने शेयर विश्लेषक अम्बिका पौडेल बताउँछन् ।
‘त्यस्ता कम्पनीको आइपीओ सीमा ५०० कित्ता हुने हो भने दोस्रो बजारमा पनि कारोबार सीमा ५०० कित्ता नै तोक्नुपर्छ’, पौडेलले भने, ‘त्यस्तो भएन भने झन् धेरै जोखिम हुन्छ, अहिले लो क्याप (कम कित्ता शेयर भएका) कम्पनीहरूमै त्यो समस्या देखिएको छ ।’
इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुलसीराम ढकाल र नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले भने आइपीओमा न्यूनतम ५०० कित्ता सीमाबारे नै प्रश्न सवाल उठाए । आइपीओ भर्ने र बजारमा कारोबार गर्ने कित्ता सीमा ५०० तोक्न नहुने उनीहरूको तर्क छ ।
त्यस्तो प्रावधान राख्ने हो भने दोस्रो बजारमा पनि न्यूनतम ५०० कित्ता शेयर कारोबार हुनुपर्ने उनीहरूको माग छ ।
‘न्यूनतम ५०० कित्ता आइपीओ भर्नुपर्ने हो भने दोस्रो बजारमा पनि न्यूनतम ५०० कित्ता नै कारोबार हुने हुनुपर्छ’, ढकालले भने, ‘यदि स–साना कित्ता हुने हो भने एसएमइज जुन उद्देश्यले खोलिएको हो, त्यता जाँदैन, लगानीकर्ता झनै फस्छन् ।’
![](https://www.khabarhub.com/wp-content/uploads/2024/08/share-768x384.jpg)
आइपीओमा ठूलालाई पोस्ने र दोस्रो बजारमा साना लगानीकर्तालाई फसाउने अभिप्रायःले यो नियमावली आएको अध्यक्ष पाण्डेको आरोप छ । ‘नियमावलीमा दोस्रो बजारमा के हुने भन्ने प्रस्ट व्यवस्था नहुनु भनेकै ठूलालाई पोस्ने र सानालाई फसाउने अभिप्रायः हो’, पाण्डेले भने, ‘हेरिरहनुहोला ! पछि दोस्रो बजारमा १० कित्ता पनि कारोबार गराउने व्यवस्था ल्याउँछन् ।’
साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजङ्ग जीसी पनि आइपीओमा ५०० कित्ता प्रावधानप्रति असहमति जनाउँछन् । तर, न्यूनतम ५०० कित्ताका दरले आइपीओ ल्याए पनि दोस्रो बजारमा १० कित्ताका दरले कारोबार गर्ने दिनुपर्ने उनको भनाइ छ ।
‘दोस्रो बजारमा १० कित्ता कारोबार गर्न दिनुपर्छ’, जिसीले भने, ‘यदि ५०० कित्ता न्यूनतम गर्ने हो भने खरिद–बिक्री नै हुँदैन नि !’
प्रतिक्रिया