काठमाडौं – भारतीय गायक उदित नारायण झा विवादमा परेका छन् । ६९ वर्षीय गायकले महिला फ्यानलाई अश्लील व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेको छ ।
यो विवाद सामाजिक सञ्जालमा भाइरल एक भिडियो क्लिपले निम्त्याएको हो । ‘प्रयाग’ नामक एक्स खाताबाट यो भिडियो सार्वजनिक भएको छ ।
जसमा उदित कन्सर्टमा सांगीतिक प्रस्तुति दिइरहेका हुन्छन् । जुनबेला उनी गीत गाइरहेका हुन्छन्, ‘टिप टिप वर्षा’ ।
‘यो घटना कहिले र कहाँको हो ?’ भन्ने बारे एकीन हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
त्यहीक्रममा उनी मञ्चबाटै महिला फ्यानसँग फाटो खिचाउँछन् । फ्यानहरू मञ्च तल हुन्छन् । उदित घुँडा टेकेर फोटो खिच्न सहजीकरण गर्छन् । बीच–बीचमा गीत पनि गाइरहेका हुन्छन् ।
सुरुवातमा उनले तीन महिला फ्यानसँग फोटो खिचाउँछन् । उदितले फोटो खिचाउने तिनैको गालामा चुम्बन गर्छन् । त्यसक्रममा सुरक्षाका लागि खटिएको युवतीको गाला पनि मुसार्छन् ।
फेरि उदित गायनमै व्यस्त हुन्छन् । सेल्फी खिचिरहेका पुरुषलाई भने उनले वास्ता गरेको देखिँदैन ।
उदितको देब्रेतर्फ मञ्चको तल एक युवती सेल्फी लिइरहेकी हुन्छिन् । उनलाई पनि उदितले मञ्च नजिक बोलाउँछन् र पहिला जस्तै घुँडा टेकेर सेल्फी खिच्न सहजीकरण गर्छन् ।
अन्तिममा युवतीले उदितको गालामा चुम्बन गर्न खोज्छिन् तर, उदितले ओठमा चुम्बन गर्छन् । सुरक्षाकर्मीले ती युवतीलाई टाढा लैजान्छन् तर उदित उनलाई हेर्दै गीत गाइरहेका हुन्छन् ।
हेर्नुहोस् भिडियो :
यो एक मिनेट नौ सकेन्ड लामो भिडियोले उनलाई विवादमा तानेको छ । उनले महिलाहरुलाई अश्लील व्यवहार गरेको धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणी छ । केहीले ‘महिलामाथिको अपमान’को रुपमा पनि यसलाई हेरेका छन् ।
सामाजिक सञ्जालमा उनको यो व्यवहारविरुद्ध कानुनी प्रक्रिया चाल्नुपर्ने प्रतिक्रिया आएका छन् ।
उदितले यो विषयमा स्पष्टीकरण पनि दिएका छन् । उनले उक्त घटना सामान्य र ध्यान दिनुपर्ने विषय नभएको तर्क गरेका छन् ।
उनले हिन्दुस्तान टाइम्ससँग भनेका छन्, ‘फ्याले हामीलाई भेट्न पाउनुपर्छ । त्यस अवस्थामा कसैले हात मिलाउँछन् र केही चुम्बन गर्छन् । यो सब क्रेज हो । यसमा त्यति ध्यान दिनुहुँदैन ।’
यो घटनाले उदितको चरित्रमाथि प्रश्न भने उठाएको छ । उनका पुराना घटना भने सामाजिक सञ्जालमा चर्चामा आएका छन् ।
उदितले दुई गायिकालाई मञ्चमा चुम्बन गरेको भिडियो समेत अहिले चर्चामा आएको छ । जुन केही वर्ष पुराना हुन् ।
श्रेया घोसाल उनले इन्डियन आइडलको मञ्च र अलका यागनिकलाई एक अवार्ड कार्यक्रमको मञ्चमा उनले चुम्बन गरेका हुन् ।
यस विषयमालाई लिएर उदित सामाजिक सञ्जालमा मजाकको पात्रसमेत बनेका छन् । हिमानी गुप्ता उदितलाई कटाक्ष गर्दै लेख्छिन्, ‘मैले जीवनभरी चुम्बन गरेको भन्दा बढी उदितले मञ्चमै गरेका छन् ।’
प्रतिक्रिया