काठमाडौं – ताप्लेजुङको पाथीभरा–मुक्कुम्लुङमा केबलकार बनाउने कि नबनाउने भन्नेबारे आन्दोलन चलिरहेका बेला बरिष्ठ अधिवक्तासमेत रहेका ६५ वर्षीय प्रा.डा. नृसिंह खत्री चुप लागेर बस्न सकेनन्, फेसबुकमा स्टाटस लेखे ।
पाथीभराबारे प्रा.डा. खत्रीको फेसबुक स्टाटसको चर्चा गर्नुअघि उनी को हुन् भनी चिन्न आवश्यक छ । भोजपुरमा जन्मेर मेधावी विद्यार्थीको पहिचान बनाएका खत्रीले अहिलेसम्म इतिहास, कानून र ग्रामीण विकासलगायत आधा दर्जन विषयमा उच्च शिक्षा अध्ययन गरेका छन् । उनले सिंगापुर विश्वविद्यालयबाट वातावरण विज्ञानमा पीएचडी (विद्यावारिधि) गरेका छन् ।
जीवनमा सिंगापुरका ली क्वान र स्वीस भूगर्भविद् टोनी हेगनलाई पनि भेट्ने मौका पाएका खत्रीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिएपछि हाल वरिष्ठ अधिवक्ताका रूपमा सर्वोच्च अदालतमा वकालत गर्दै आएका छन् । उनी विकासविद्, संविधानविद्, इतिहासविद एवम् वातावरणविद हुन् । राजनीतिशास्त्रका पनि ज्ञाता हुन् । अध्यात्मका साधक हुन् ।
आफूभित्र ज्ञानको भण्डार भएता पनि खत्री मिडियामा चर्चामा आउन रुचाउँदैनन् । तर, ०४० को दशकमा उनी काठमाडौंमा ‘लोकसेवा हिरो’ का रूपमा ‘भाइरल’ थिए ।
खम्बुवानमा हुर्केर लिम्बुवानमा लामो समय कलेज पढाएका प्रा.डा. खत्री किरात समुदायको स्पन्दन छामेका रैथाने, तर अन्तर्राष्ट्रिय समुदायले पत्याएका बुद्धिजीवी हुन् ।
यिनै प्रा.डा खत्रीले आइतबार फेसबुकमा ‘पाथिभरा केबलकार मेरो अभिमत’ शीर्षकमा यस्तो स्टाटस लेखे–
‘केबलकार पाथीभरा माताको देवस्थलमा नगर्नु, नबनाउनु राम्रो हो । नबनाई नहुने हो भने पाँच/छ किलोमिटर तल मात्र बनाउने गरी सरसल्लाह गर्नु राम्रो हो । किन कि धर्मको रहस्य तत्वमा रहन्छ । जो शक्ति, रहस्य, त्यसको ऊर्जा र तेज ज्योतिमा रहन्छ । मानिसको मनमा, चित्तमा, आत्मामा बाधा अवरोध नहोस् भन्ने मलाई लाग्दछ । हामीले उहिले प्रो. टोनी हेगेनको भनाइ पनि यस्तै पाएका हौं ।‘
केबलकार बनाउने, लाने र लैजाने भनेको नै भौतिकवादी अर्थात् वितत्ववादी सोच हो । उपभोक्तावादी, यन्त्रवत् हो । सबै सम्वेदनाहीन मानिसहरूले गर्ने काम कुरो हो, जो–जसले शक्ति, रहस्य आदि भौतिक पराविज्ञानलाई जान्दैनन् र मान्दैनन् पनि ।
त्यसका अतिरिक्त आम याकथुम्बा समुदायको राय, सरसल्लाह विपरीतको कामले उनीहरूको मन, चित्त दुखाउँछ । जो काम राम्रो, शुभ र भलो होइन, हुँदैन ।
किराती समुदायलाई भित्रैबाट बुझेका बौद्धिक व्यक्तिबाट यस्तो स्टाटस आएपछि हामीले उनीसँग सम्पर्क गर्यौँ र खबरहबको कार्यालयमा बोलाएर फेसबुकमा लेखिएको स्टाटसको व्याख्या गरिदिन आग्रह गर्यौं । पाथीभरामा अहिले देखिएको विवादको समाधान के हो ? हामीले समस्याको उपचारसमेत खोज्ने प्रयास गर्यौं ।
पाथीभराको समस्या र समाधानको उपायबारे प्रा.डा. खत्रीको विचार अन्तिममा सुनौंला, पहिले चाहिँ उनले जीवनमा गरेको संघर्षको कथा र पञ्चायती निरंकुश सरकारले उनीमाथि गरेको विभेदको फेहरिस्त सुनौं –
पढ्नै जन्मेजस्तो !
नृसिंह खत्री भोजपुरको पोखरेमा वि.सं. २०१६ साल असोजमा जन्मेका हुन् । पोखरे गाउँ सिद्धकालीमाताको काखमा रहेको छ । पानीको स्रोत धेरै भएको हुनाले यो गाउँलाई पोखरे भनिएको हो ।
भोजपुरमा धेरै पहिले नै विद्यालयहरू खुलिसकेका थिए । मानिसहरूमा पढ्नुपर्छ भन्ने भावना थियो । नृसिंहले स्थानीय सरस्वती स्कुलमा पढाइ शुरु गरे । पूर्वमुख्यसचिव विमल कोइरालाका हजुरबा उमानाथ र हजुरआमा राजेश्वरीले आफ्नो धान खाने खेत दान दिएर खोलेको स्कुलको भवन अहिलेसम्म यथावत छ ।
त्यहाँ कथाकार परशु प्रधान, गुरुप्रसाद कोइरालाहरू नृसिंह खत्रीका शिक्षकहरू थिए । अहिलेका चर्चित व्यवसायी उमेश श्रेष्ठले पनि त्यही स्कुल पढेको र श्रेष्ठ पढाइमा प्रायः प्रथम हुने गरेको खत्री सम्झन्छन् । पूर्वप्रशासक शंकर कोइराला र गोविन्दमानसिंह कार्कीले पनि त्यही स्कुलमा पढेको उनको स्मरणमा ताजा छ ।
भोजपुरमा त्यसबेला रात्रि स्कुलसमेत सञ्चालनमा आएको खत्री बताउँछन् । उनी भन्छन्, ‘७ कक्षापछि मैले श्रीराम आदर्श रात्रि स्कुल पढेँ । ०२८ मा ८ र ९ कक्षा एकैचोटि पढेँ । ०३० सालमा एसएलसी (प्रवेशिका परीक्षा) दिएँ ।’
एसएलसी दिएर घरमै बसेपछि खाली समयमा नृसिंहलाई खटपटी भयो । मेलापात, हाटबजार साथीहरूसँग जिस्कँदै हिँड्न उनलाई खासै रुची भएन । पढ्न मात्र मन लागिरहन्थ्यो तर के पढ्ने ? गाउँमा पुस्तकहरू खासै भेटिँदैनथे । पञ्चायतकालमा पत्रपत्रिका पनि गाउँधरमा पुग्ने कुनै भएन । अहिलेजस्तो टीभी, मोबाइल त हुने कुरै भएन । गाउँमा बिजुलीसमेत थिएन ।
‘तँ सोच्, म पुर्याउँछु’ भनेजस्तो नृसिंहले एउटा रमाइलो जुक्ति निकाले । जे–जे भेटिन्छ, त्यही–त्यही पढ्ने । त्यसपछि उनले तल्लो कक्षामा पढेका सबै विषयका थोत्रा किताबहरू खोज्दै दोहोर्याएर पढ्न थाले । घरमा बा हजुरबाका कुनै धार्मिक किताबहरू छन् भने उनले ती पनि छाडेनन् । लेखेको देखेजति सबै पढिहाल्ने नीति लिए । यसले गर्दा उनको ज्ञानको जग असाध्यै बलियो बनाइदियो । यसले पछि उनलाई ‘लोकसेवाको हिरो’ या ‘लोकसेवाको किरो’ पनि बनाइदियो ।
एसएलसी सकेर उनी भोजपुर कलेजमा पढ्न थाले । कलेजमा उनी मेधावी विद्यार्थीका रूपमा परिचित भए । ०३१–०३३ सालमा सेमेष्टर सिस्टमको पढाइ हुन्थ्यो । खत्रीसहित गणेश कार्की, नरबहादुर राई (वायुसेवा निगमका जागिरे) र केशर श्रेष्ठसहित चारजनाले राम्रो नम्बरसहित आईए (प्रवीणता प्रमाणपत्र तह) गरे ।
तीनजना साथीहरू अन्यत्र पढ्न गए । नृसिंहचाहिँ पिताले ‘आईए पास गरिहालिस् अब माष्टर बन्’ भनेपछि अरूण नदीको पश्चिम किनारमा अवस्थित प्याउली गाउँमा रहेको स्कुलमा पढाउन गए । दुर्भाग्य भनौं या के भनौं, त्यही स्कुलको बसाइले अन्ततः खत्रीलाई पञ्चायती सरकारको ‘रेड लिष्ट’ मा दर्ता गराइदियो ।
‘राष्ट्रिय विकास सेवा’ अन्तर्गत सरकारले ०२८/०२९ तिर गाउँमा काठमाडौंबाट पढेलेखेका मानिसहरूलाई खटाउने गर्दथ्यो ।भोजपुरमा खटिएका ती ‘सरकारी मान्छे’हरूमा कांग्रेस र कम्युनिस्टका राजनीतिक कार्यकर्तासमेत परेका रहेछन् । खत्रीको पोखरे गाउँ आफैंमा कांग्रेसको गढ बनिसकेको थियो । त्यहाँका सिनियरहरूले कांग्रेसको कुरा गर्ने गरेको १७ वर्षे किशोर नृसिंहले पनि सुनिसकेका थिए ।
‘म ०३३ साल पुसमा शिक्षक भएँ । ०३३ पुस १६ मा वीपी स्वदेश फर्केका थिए । देशभरिका राजबन्दीलाई रिहा गर्नुपर्छ भन्ने थियो’, प्रा.डा. खत्री आफ्नो किशोरावास्थाको राजनीतिक स्थितिबारे वर्णन गर्छन्, ‘गाउँमा गन्नेमान्नेहरू भेला हुन्थे । चतुर अनि राम्रो अक्षर भएको मान्छे यही छ भनेर मलाई कागजमा नाराहरू लेख्न लगाए । मैले नारा लेखेँ । दलमाथिको प्रतिबन्ध फुकुवा गर, राजबन्दी रिहा गर, लगायतका नाराहरू हुन्थे । रातभरि भोजपुरका विभिन्न हाटबजार लाग्ने ठाउँदेखि धनकुटाको सीमासम्म टाँस्दै हिँड्न थाल्यौं ।’
शिक्षकहरूले राति–राति राजनीतिक प्रचार गर्दै हिँडेको पञ्चायती गुप्तचरले थाहा नपाउने कुरै भएन । खत्री त्यसबेलाको घटना सम्झन्छन्, ‘सरकारी गुप्तचरले थाहा पाइहाल्यो । शंकरराज कँडेललाई भोजपुरमा बोलाएर सोधपुछ गरियो । त्यो नारा लेख्ने नृसिंह खत्री हो भन्ने सरकारमा रेकर्ड भएछ ।’
यहीबीचमा जागिर खाँदाखाँदै खत्रीले बीएको परीक्षा दिए र पास गरे । त्यसपछि उनमा शिक्षक पेसामै झण्डिरहनु भन्दा लोकसेवाको परीक्षा दिएर निजामती सेवा जाने इच्छा जाग्यो ।
नायब सुब्बाका लागि लोकसेवा खुल्यो । उनले त्यो सजिलै पास गरे । अन्तरवार्ता पनि भयो । धनकुटामा कार्यरत शंकर कोइराला बुबा वेदनिधि कोइरालाले उनलाई भने, ‘ल ! तिम्रो चन्द्रगढी सहकारी कार्यालयमा सिफारिस भयो ।’
‘झापाको चन्द्रगढीमा पदस्थापना भयो’ भनेपछि खत्रीले चन्द्रगढी झर्ने तयारी गर्न थाले । तर, पछि उनलाई भनियो, ‘त्यो त होइन रहेछ, तपाईंको रातो लगाएको हुनाले त्यसको अर्थ तपाईं रेड लिस्टमा रहेको भन्ने हो । तपाईंको ठाउँमा वेइटिङ लिष्टमा रहेको मान्छेलाई पठाइयो ।’
पहिलोचोटि १४ जनामा खत्रीले नवौं स्थानमा नाम निकालेका थिए । तर, वेइटिङ लिस्ट (वैकल्पिक योग्यताक्रम) मा रहेकाले पो जागिर पाए । उनको नाममा ‘व्यवस्थाविरोधी’ को दाग लाग्यो । लोकसेवा पास गरेको व्यक्तिलाई पनि पञ्चायतले राजनीतिक आधारमा कसरी विभेद गर्थ्यो र जागिर खान दिँदैननथ्यो भन्ने तथ्यको जीवित साक्षी बने नृसिंह खत्री !
सिनियरहरूको लहैलहैमा लागेर १७ वर्षको उमेरमा पर्चा टाँस्न हिँडेका खत्रीलाई पञ्चहरूले ०१७ सालमा पनि ‘राजाको विरोध गरेको’ आरोप थपे । तर, उनले त्यसको प्रतिवाद गर्दै भने, ‘०१७ सालमा त म एक वर्षको मात्र थिएँ हजुर । म त ०१६ सालमा जन्मेको हुँ ।’
लोकसेवा पास गर्दा पनि जागिर खान नदिइएपछि एक युवालाई झोँक चल्नु अस्वाभाविक होइन । त्यसपछि उनले लोकसेवा खुल्नासाथ सेक्सन अफिसर (अधिकृत)को जाँच दिए । उक्त परीक्षामा ७२ जनाको सिटका लागि परीक्षा भएको थियो । खत्रीले सहजै नाम निकाले । तर, दोस्रोपटक पनि उनलाई सरकारी जागिर खान दिइएन । सरकारले एक सिट रद्द गरिदियो ।
भनिन्छ, लोकसेवाले निष्पक्ष काम गर्छ । तर, पञ्चायतकालमा पञ्चहरूले लोकसेवा पास गरेको मानिसलाई पनि जागिरबाट वञ्चित गर्थे । पढाइमा मेधावी नृसिंह फेरि पनि राज्यको विभेदमा परे ।
फेरि तेस्रोचोटि लोकसेवा खुल्यो । तेस्रोचोटि पनि खत्रीले सेक्सन अफिसर (शाखा अधिकृत)मा नाम निकाले । यसपटक ५६ जनाका लागि परीक्षा लिइएको थियो । तर, तेस्रोपटक पनि उनलाई जागिर खान दिइएन । कहिले ’प्रक्रिया अघि बढिरहेको’ भन्ने, कहिले ‘दरबारमै उजुरी पुगेको रहेछ, गाह्रो छ’ भनेर जवाफ दिने काम भयो ।
उनी बारम्बार लोकसेवा आयोगको कार्यालय धाइरहन्थे । कार्यालयका सबै कर्मचारीले उनलाई मेधावी, तर पीडित युवकका रूपमा राम्रोसँग चिन्थे । कीर्तिपुर कलेजदेखि भोजपुरको गाउँसम्म उनलाई सबैले ‘लोकसेवाको हिरो’ भन्थे । उनी सम्झन्छन्, ‘म त त्यसबेला अहिलेको भाषामा भन्ने हो भने भाइरल बनिसकेको थिएँ । मलाई मानिसहरू हेर्न आउँथे ।’
खत्रीले ०४१ सालको बैशाखसम्म आइपुग्दा तेस्रोपटक शाखा अधिकृतमा नाम निकालेका थिए । तेस्रोपटक नाम निकालेको ६ महिनापछि उनलाई दरबारमा बोलाइयो ।
खत्री दरबारका सचिव रञ्जनराज खनालकहाँ पुगे । खनालले उनलाई भने, ‘तपाईंको केस निकै जटिल छ । तपाईंको बारेमा जिम्मेवारी लिने मान्छे कोही पनि छैन । अब तपाईंले यता सरकारपट्टि आश नगर्नोस् !’
त्यसबेला लोकसेवा आयोगको अध्यक्षमा प्रद्युम्नलाल राजभण्डारी थिए । शायद भुवनलाल श्रेष्ठ सचिव थिए । अध्यक्षले खत्रीलाई भने, ‘बाबु ! दरबारबाट पनि फायल आएको पाइयो, मैले सबै कुरा यो ठाउँमा बसेर भन्न मिल्दैन । अब तपाईं विश्वविद्यालयतिर प्रयास गर्नुहोस् है ! त्यताचाहिँ यस्तो साह्रो हेरिँदैन, जागिर पाउन सकिन्छ ।’
राजभण्डारीले यस्तो ‘क्लु’ दिँदै गर्दा खत्रीले इतिहासमा एमएको जाँच सकिसकेका थिए ।
निजामती छाडेर त्रिवितिर
त्रिभुवन विश्वविद्यालयका ‘टपर’ प्रेम खत्री नाताले नृसिंह खत्रीका दाजु पर्छन् । प्रेमले दरबारका सम्धी रामचन्द्रबहादुर सिंहका भाञ्जा हेमन्त समशेर राणालाई भनेका रहेछन्, ‘मेरो भाइले साह्रै दुःख पायो । ऊ केटाकेटी नै थियो, त्यस्तै भइहाल्यो ।’
त्यसबेला नृसिंह भोजपुरको आफ्नै गाउँमा थिए । नृसिंह गाउँमै थिए । प्रेमले उनलाई आकाशवाणी पठाए, ‘तिमी इलाम क्याम्पसमा जाऊ । त्यहाँ गएर पढाऊ ।’
यो कुरा ०४१ साल साउन ८ गतेको हो । खाली बस्न नचाहने र हरेक समयको सदुपयोग गर्ने खत्रीले त्यसबेला माध्यमिक तहको स्थायी शिक्षकमा नाम निकालिसकेका थिए ।
उनी समयको ख्याल गरेर पाई–पाई समयलाई सदुपयोग गर्थे । ‘असल कुरालाई जोड्दै जाने, कमी कमजोरी छोड्दै जाने’ उनको सिद्धान्त थियो । इलाम जाने आकाशवाणी आउँदा उनी स्थायी शिक्षक बनेको करिब चौथो वर्ष पुगिसकेको थियो ।
नृसिंहलाई इलाम क्याम्पसमा किन सिफारिस गरियो त ?
उनी भन्छन्, ‘त्यसबेला इलाम क्याम्पसमा तीनजना शिक्षकहरूले वीरेन्द्र राजाको चित्र बनाएर मुखमा जुत्ताले हानेको बनाएका रहेछन् । त्यो काम खासगरी प्रोग्रेसिभ (कम्युनिस्ट) विचारधाराका साथीहरू राजेश्वर निरौला, रामचन्द्र पराजुली र ठाकुर भट्टराईले विद्यार्थीहरूको पनि सहयोग लिएर गरेका रहेछन् । ती शिक्षकहरूलाई गिरफ्तार गरेपछि र त्यहाँ पठाउने शिक्षकको खाँचो परेपछि खत्रीलाई बोलाइएको रहेछ ।’
खत्री थप्छन्, ‘प्रायः के हुन्छ भने वास्तविक प्रतिभाशाली मान्छेहरूलाई नेपालमा सितिमिति बोलाउने र ठाउँ दिने चलन थिएन । जोखिम जहाँ छ – त्यहाँ पठाइदिने प्रवृत्ति थियो ।
उनले खबरहबसँग भने, म इलाम गएँ र राम्रोसँग कमाण्ड सम्हालेँ । विद्यार्थी, शिक्षक र सोसाइटीलाई परिचालन गरेर काम गरेँ । जेलमा परेका साथीहरूलाई पनि सपोर्ट गरेँ ।’
पञ्चायतकालमा राजनीतिक पूर्वाग्रहका कारण निजामती सेवामा प्रवेश नपाएका खत्री त्यसबेलाको परिस्थितिबारे भन्छन्, ‘दरबारको परिवेश कस्तो थियो भने ०२८ सालसम्म उसले कम्युनिस्टलाई बोक्ने, कांग्रेसलाई ठोक्ने नीति लियो । ०३३ सालपछि कांग्रेसलाई बोक्ने, कम्युनिस्टलाई ठोक्ने । यही अन्तरविरोधी राजनीतिबाट दरबार चलेको थियो । तर, यो प्रवृत्ति ०४६ सालबाट अन्त्य भयो ।’
इलाम बहुमुखी क्याम्पसबाट त्रिवि सेवामा प्रवेश गरेका खत्री चाँडै बढुवा भए । ०४६ को परिवर्तनपछि उनले ०५५ सालसम्म इलाममै काम गरे ।
अहिले कोशी प्रदेशका अर्थमन्त्री रहेका राम रानामगर इलाममा खत्रीले पढाएका विद्यार्थी हुन् । जिल्लामा रहँदा उनले पढाउनेमात्र होइन, पढ्ने कार्यलाई पनि निरन्तरता दिए । जिल्लामा शिक्षा क्षेत्रको अभिवृद्धिका लागि कलेज बाहिरसमेत निस्केर भूमिका निभाए ।
तत्कालीन राष्ट्रपति रामवरण यादवले चन्द्रगढी गएका बेला ‘शिक्षा त इलामको जस्तो पो हुनुपर्छ’ भनेर भाषण गरेको सम्झँदा खत्रीलाई खुशी लाग्छ ।
इलाम क्याम्पसमा मास्टर्सको पढाइ पनि खत्रीकै पालाबाट चल्यो । भौतिक संरचनामा पनि सुधारहरू भए । रिसर्चमा इलामको टिमले राम्रो काम गर्यो । २० मध्ये ५/६ वटा त इलाम क्याम्पसका शिक्षकहरूको प्रपोजल पास हुने गरेको उनी सम्झन्छन् ।
झण्डै डिप्रेसनमा !
खत्रीको परिवारमा ०५५ सालमा एउटा अप्रत्याशित दुर्घटना निम्तियो, जसले उनलाई झण्डै–झण्डै डिप्रेसनमा पुर्यायो ।
आफ्ना तीनजना छोराछोरी र श्रीमतीलाई बिराटनगरमा छुट्टी मनाउन छाडेर उनी इलाममै काम गरिरहेका थिए । दिउँसो २ बजेतिर बिराटनगरबाट जहानपरिवार इलाम आइपुगे ।
भोलिपल्ट बिहानै ७ बजे बच्चाको मृत्यु भयो । बच्चा ४ कक्षामा पढ्दै थिए । छोराले बाबुको दर्शन गर्न आएजस्तो मात्रै लाग्यो उनलाई ।
बिराटनगर बस्दा नै उनलाई इन्सेफ्ल्याइटिस भएको रहेछ । इलाम पुगेपछि हनहनी ज्वरो आयो । ब्लिडिङ भएर बच्चाको मृत्यु भयो ।
बिराटनगर फर्केर आएपछि खत्री तीन महिनासम्म ओछ्यानबाट बाहिर निस्केनन् । एकदिन श्रीमतीले बेस्सरी गाली गरिन्, ‘मेरो बच्चा मर्यो । मैले जन्म दिएको ! म त गरिखाइरहेकी छु, तपाईंचाहिँ के भएको यस्तो ?’
खत्री झल्याँस्स भए । सोचे, ‘वास्तवमा म के भएको ?’
त्यसपछि उनी एउटा खास्टो, एउटा झोला र एउटा राडी बोकेर बिराटनगरबाट इलामतिरै निस्किए । उनी साधुजस्तै भएर हिँडे । यो घटना थियो – ०५६ साल पुसको ठण्डीको !
खत्री भन्छन्, ‘मान्छेको आत्माबाट शक्ति आइसकेपछि यस्तो हुँदोरहेछ । ०५६ सालको पुसदेखि पाँच वर्षभित्र ०६१ सम्म मैले सिंगापुर युनिभर्सिटीबाट वातावरण साइन्समा पीएचडी पनि सकेँ । कानूनमा पनि स्नातकोत्तर गरेँ । म्यामलाई बिराटनगर बसेर नानीहरूलाई पढाउनू भनेँ ।’
उनी सुनाउँछन्, ‘त्यसपछि मैले ०६७ बाट ०७० सम्म विश्व बैंकको शिक्षा क्षेत्रका ठूला–ठूला प्रोजेक्टहरू हेरेँ । काठमाडौंमा भन्दा इलाममा यी परियोजना शतप्रतिशत सफल भयो ।’
यही क्रममा ०६९ मै त्रिविले खत्रीलाई प्रोफेसर (प्राध्यापक) बनायो । अन्तरवार्ताका बेला पदाधिकारीले जिस्कँदै भनेको उनी सम्झन्छन्, ‘सबै ज्ञान जति आफूले कब्जा गर्ने, काठमाडौंका साथीलाई जीरो पार्ने !’
प्राध्यापक भइसकेपछि खत्री बागबजारको पद्मकन्या (पीके) क्याम्पसमा सरुवा भए । त्यहाँ पनि उनले शैक्षिक सुधारमा जोड दिए । तर, त्यहाँको अवस्था सम्झँदै उनी भन्छन्, ‘त्यहाँको दुःखद समस्याचाहिँ के थियो हामी त्यहाँ ४२० जना शिक्षक थियौं । पीएचडी होल्डरमात्रै ६४/६५ जना थियौं । प्राध्यापक नै हामी २० जना थियौं । भनेपछि, त्यहाँ त चियाको कपमा सानो तरङ्ग आयो भने पनि सिंहदरबार पुग्ने रहेछ ।’
पीके क्याम्पसमा खत्रीको कार्यकाल करिब चार वर्षको थियो । उनले क्याम्पस प्रमुख र आफ्ना बोसहरूलाई भने, ‘तपाईंहरू अब सतर्क हुनोस् ! काम गर्नु भनेको जोखिम लिनु हो । जोखिमलाई सुव्यवस्थापन गर्न डकुमेन्ट तयार गर्नुपर्छ । डकुमेन्ट तयार गर्ने भनेको जान्नेले हो । त्यो पनि कानून जान्ने, पोलिटिक्स जान्ने, सिस्टम जान्ने हुनुपर्छ । यहाँ त्यो मान्छेको अभाव देखिन्छ । तपाईंहरू सतर्क रहेर काम गर्नुहोला । मैले यत्ति काम गरिदिएको छु ।’
यत्ति भनेर त्रिवि छाड्दा खत्री एलएलएम गरी वरिष्ठ अधिवक्ता भइसकेका थिए । त्रिवि छाडेपछि उनी सर्वोच्च अदालतमा वकालती पेशामा सक्रिय हुन थाले । अहिले पनि उनी यही पेशामा छन् ।
देश बनाउन के गर्ने ? खत्रीको भिजन, उनकै शब्दमा–
नेपालका युवा भाइबहिनीहरूमा विदेशमा, विकसित देशमा जाने महात्काङ्क्षा हुन्छ, त्यो नराम्रो पनि होइन । तर, त्यो महत्वाकाङ्क्षालाई सम्बोधन गर्ने हरेक तहमा हामीले पोलिसी (नीति), प्रोग्राम (कार्यक्रम), स्ट्राटेजी (रणनीति) बनाउनुपर्छ ।
यस्तो नीति कार्यक्रम बनाउँदा पनि अहिलेको जस्तो सपना देखाएर होइन कि परिणामका ठोस सूचकहरू राखेर, भूमिका र जिम्मेवारी तोकेर काम गर्यो भने नेपालमा अवसरै-अवसर देखिन्छ । त्यही बनाउन नसकेका कारणले अहिले अप्ठ्यारो भएको हो । १० नम्बरको काम एकै नम्बरमा गर्नुछ । ९ नम्बरको काम पनि एकै नम्बरमा गर्नुछ । यसले गर्दा हामीकहाँ समस्या आएको हो ।
भाइराजा पाण्डे भन्ने कहीँ हुनुहुन्छ, यहाँहरूले खोजेर हेर्नुहोला । उहाँले भन्नुहुन्छ– बहिदार र सिपाहीले चाहिँ जाँच दिनुपर्ने, सचिव र प्रधानमन्त्री चाँहि जाँच नदिइकन हुने । नेपाल बिगार्ने यसैले हो ।
मैले यो किन भनेको भने राइट म्यान इन राइट प्लेस ! क्यापेबल म्यान इन अप्रोप्रिएट प्लेस । अनि, प्रणाली सुधार गर्यो भने नेपालमा अवसर छ ।
लोकसेवाको परीक्षा दिइरहेका युवाले पनि सधैंभरि त्यहीँ अल्मलिरहनुपर्छ भन्ने पनि छैन । लोकसेवा दिइरहेका भाइबहिनीहरूलाई मेरो सविनय अनुरोध के छ भने ५/१० जनाको समूहमा, ग्रुपमा बस्नुहोस् । ग्रुपमा सबैका व्यक्तिगत सामर्थ्य र सीपलाई जोड्नुहोस् । अनि त्यसै बमोजिमको योजना बनाउनोस् । त्यसलाई अझै परियोजनामा ढाल्नोस् । अनि काम सुरु गर्नुहोस् ।
नेपालमा अभावै अभाव छ । अभावभित्र अवसरै अवसर छ । स्थानीय तहले पनि सपोर्ट गर्छ । प्रदेशले पनि सहयोग गर्छ ।
केन्द्रले पनि गर्छ । हाम्रो समुदाय पनि रमित हेरिरहने समुदाय छैन । अत्यन्त सहयोगी समुदाय छ । केवल हामीले हृदयको आवाजचाहिँ दिन सक्नुपर्छ ।
संविधान संशोधनको मुद्दाबारे के गर्ने ?
संविधानसभाले संविधान निर्माणको काम गरिरहेका बेला दमननाथ ढुंगाना लगायतको टिमसँग नजिक रहेर बौद्धिक योगदान दिएका प्रा.डा. खत्रीसँग संवैधानिक कानून र विधिशास्त्रको समेत गहिरो ज्ञान छ ।
अहिले कांग्रेस–एमालेको गठबन्धन सरकारले संविधान संशोधनको तयारी गरिरहेको छ । यसमा एकजना विज्ञको हैसियतले खत्रीको सुझाव के छ ? हामीले संविधानको संशोधनमा जोड दिने कि कार्यान्वयनमा ? यो सामग्री अति नै लामो हुने भएकाले संविधान संशोधनको विषयमा चर्को संस्करणमा चर्चा गरौंला ।
अब पाथीभराका विषयमा विद्वान प्राज्ञ डा. खत्रीको कुरा सुनौं, उनकै शब्दमा–
पाथीभरामा कस्तो नीति लिने ?
पाथीभरा जुन स्थल छ, यो ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङबाट १९.४ किलोमिटर टाढा पर्छ । तर, विस्तारै उकालो–उकालो चढ्दै जानुपर्छ ।
फुङलिङ बजारबाट तेर्सो गएर केही ओरालो अनि उकालो जाँदाखेरि विभिन्न ठाउँहरू आउँछन्, जस्तो– देउराली, रमितेडाँडा, भालुडाँडा, फेदी भन्ने ठाउँहरू आउँछन् । सामान्य मानिस झोला झ्याम्टासँग जाँदाखेरि दुईदेखि अढाइदिन लाग्छ । बुढापाकाहरूलाई त तीन–चार दिन नै लाग्ने ठाउँ हो । अहिले त अलि पर (तल्लो फेदी) फेदीसम्म गाडी पनि जान्छ ।
पाथीभरा क्षेत्रमा जहाँ अहिले पाथीभरा माताको मन्दिर छ – त्यसको पुरानो ऐतिहासिक विश्वास छ र त्यो ऐतिहासिक धरातल वा मिथ (पुराकथा) मा आधारित भएर त्यो ठाउँको स्थापना र मान्यता र संरचना बनेको हो र त्यहाँ मानिसहरूले दर्शन गर्ने, भेटी चढाउने र गरगहना चढाउने क्रम विकास भएको हो ।
पाथीभरालाई शक्तिपीठका रूपमा लिइन्छ । त्यहाँ दर्शन गर्न जाने जति पनि मान्छेहरू हुनुहुन्छ, उहाँहरूले फर्केर आइसकेपछि जीवनको कुनै कालखण्डमा म त दर्शन गरेर आएँ, मेरो मनको कल्पना साकार भयो भन्ने गर्नुहुन्छ । धनार्थीले धन पायो, पुत्रार्थीले सन्तान पायो, विद्यार्थीले विद्या पायो भन्ने किसिमको विश्वास सामान्य नागरिकदेखि लिएर वैज्ञानिकहरूमा पनि छ । हामी त सामान्य नागरिक भइहाल्यौं, डा. सुन्दरमणि दीक्षितले पनि त्यो कुरा भनेको मैले पाएँ ।
पाथीभरा माताको दर्शन गर्नेहरू नेपाल, भारत, सिक्किम, भुटान र दक्षिणपूर्वी एशियाका हिन्दू र बुद्धिष्टहरू हुन् । चीनबाट पनि अहिले मानिसहरू आउन थालेका देखिन्छ । त्यसैले यो ठाउँ अनादि कालबाट एउटा भावना र विश्वासका आधारमा स्थापित भएको ठाउँ हो ।
त्यहाँ भेडा गोठालाहरूले भेडा पाल्थे रे ! खर्क थियो रे ! त्यो खर्कमा ३/४ सय भेडाहरू एकैचोटि हराएपछि गोठालाहरू खोज्दा खोज्दा हैरान भए भन्ने छ । पछि गोठालाहरू थाकेर सुते ।
‘तिमीहरू भेडामात्रै चराउँछौ, लान्छौं, यहाँबाट आम्दानी गर्छौ । तर, मैले एउटा पनि भोग खान पाइनँ’ भनेर सपनामा देवीले भनिसकेपछि त्यसमध्येको सबभन्दा राम्रो एउटा भेडो बलि दिए । त्यसपछि उनीहरूका भेडा जहाँ जहाँ थिए – त्यहाँबाट चर्दै फर्केको कथा जोडिएर ‘त्यहाँ साक्षात देवी हुनुहुँदोरहेछ’ भन्ने भावका साथ यस स्थलको विकास भएको देखिन्छ ।
यस्ता ठाउँहरू मैले नेपाल, भारत र इण्डोनेसियासम्म पनि देखेँ, जसलाई हाम्रो स्वस्थानी माता, सतीदेवीको अङ्गगपतन भएका पीठका रूपमा मान्ने गरिएको छ । यो एउटा विश्वास हो ।
पाथीभराको वरिपरि धेरै मात्रामा लिम्बुहरू, याक्थुम्बाहरूको बसोबास छ । गुरुङ र तामाङहरूको बसोबास छ ।
पाथीभराबाट एकैचोटि पूर्वी नेपालका ठूला–ठूला हिमश्रृंखलाहरू कञ्चनजंगा, कुम्भकर्ण, मकालु, सगरमाथा र चोयु लगायत २१ वटा उच्च हिमालहरू देखिन्छन् । पाथीभराको एउटा संवेदनशीलता के छ भने पूर्वपट्टी कञ्चनजंगा आरक्षण क्षेत्र छ भने पश्चिमपट्टि मकालु-बरुण आरक्षण क्षेत्र छ । त्यसको केन्द्रमा पाथीभरादेवीको मन्दिर छ, जो तीन हजार ७९४ मिटर उचाइमा छ । चार हजार मिटर आसपासमा पनि सानातिना थुम्काहरू छन् ।
सबभन्दा ठूलो कुरा के छ भने जैविक विविधताको दृष्टिकोणले त्यो क्षेत्र हिमचितुवा, कस्तुरी मृग, घोरल र रेडपाण्डा (रातो हाब्रे)को एरिया त हुँदै हो, अमूल्य वनस्पति र २५० भन्दा बढी चराका प्रजातिहरू पाइने ठाउँ हो ।
वि.सं. ०६३ सालभन्दा अघि; ०४७ को नेपालको संविधानमा हेर्दाखेरि पाथीभरा भनेको कञ्चनजंगा आरक्षण क्षेत्र र मकालु–बरुण आरक्षण क्षेत्र दुबैको बीचको क्षेत्रमा पर्ने भएको हुनाले यसको नियन्त्रण र सुव्यवस्थापन भनेको हाम्रो ऐन अन्तर्गत हुन्थ्यो । यो वन्यजन्तु आरक्षण संरक्षण ऐन अन्तरर्गत हुन्थ्यो र नेपाल सरकारको वन मन्त्रालय, वन विभाग र अरू मन्त्रालयका साथै विज्ञहरूसँग समन्वयन गरेर हुन्थ्यो ।
यसलाई आरक्षणको हैसियत दिन अन्तर्राष्ट्रिय स्तरका संगठनहरू, जस्तै– डब्ल्युडब्ल्युएफ र आइयूसीएन आदिले आफ्ना विज्ञ पठाएर ‘यो क्षेत्र अन्तर्राष्ट्रिय सरोकारको पनि क्षेत्र हो’ भनेर त्यसलाई महत्व दिने र प्राविधिक सहयोग दिने काम हुँदै आएको थियो । अध्ययनको अवसर प्रदान गर्ने र फन्डहरू जुटाइदिने काम पनि ती संस्थाहरूले गर्थे ।
०६३ सालको परिवर्तन पछाडि अन्तरिम संविधान हुँदै ०७२ को संविधानसम्म आइपुग्दा स्थानीय शासनको एउटा अवधारणा आयो । हामीले तीन तहको सरकार बनायौं । यसले समन्वयन गर्न सकेन । त्यहाँ प्रदेश १ को नामकाकरणमै निकै किचलो आयो ।
स्थानीय पाथीभरा क्षेत्रलाई त्यहाँका स्थानीय नामगरिकहरू, विशेषगरी त्यहाँका लिम्बू याक्थुम्बा समुदायहरू मिलेर सरोकारवालाहरूले ‘मुक्कुम्लुङ संरक्षण समिति’ बनाउनुभयो । यसलाई ‘पाथीभरा होइन कि हाम्रो याक्थुम लिम्बुहरूको मुक्कुम्लुङ आरक्षण क्षेत्र हो र हामी प्रकृतिपूजक हौं, भोग दिने हैनौँ’ भनेर फेरि अलिकति कल्चरल डेभिएसन (सांस्कृतिक विचलन) को कुरा त्यहाँ सुरु भएको छ ।
अर्कोथरीले भन्छ – हामीले यो देवाधिदेव महादेवकी पत्नी सतीदेवीको अङ्गपतन भएको ठाउँ भएको हुनाले रक्तकालीका रूपमा अथवा बागेश्वरीका रूपमा देवीलाई मानेर हामीले त्यहाँ भोग दिन्छौं । हिन्दूहरूले भोग दिन्छन् र गुरुङहरूले पनि भोग दिन्छन् भन्ने पनि गरिन्छ । उता, गैरदेवीलाई मान्नेहरूले नरिवलको बली दिन्छन् ।
अहिले एउटा समूहले छुट्टै तरिकाले यसलाई आफ्नो स्वामित्वको हैसियत दाबी गर्यो । योसँग जोडिने कुरो के छ भने जब जात जाति र संस्कृतिको कुरा उजागर भएर बाहिर आउँछ – त्यो कुरा धेरै सम्वेदनशील हुन्छ । किनभने, त्यहाँ आस्थाको कुरा जोडिन्छ । भावनाको कुरा जोडिन्छ । आस्था र भावनालाई अलि मध्यमार्गी तरिकाले सम्बोधन गर्न सकेमा सुव्यवस्थित हुन्छ । उता, आरक्षण र संरक्षणको पाटो अन्तर्राष्ट्रिय रूपमा जोडिएकै छ ।
त्यहाँ फेरि गैरलिम्बु जातिहरूको आफ्नै दृष्टिकोण पनि छ । त्यो भनेको राई, तामाङ, गुरुङ, मगर र क्षेत्री बाहुनहरू आफ्नै दृष्टिकोण छ । क्षेत्री र बाहुनको बीचका कुमाइहरूको पनि आफ्नै दृष्टिकोण छ । यी सबैको आस्थाको धरोहर हो पाथीभरा ।
त्यसकारण स्थानीय सरकारले मात्रै यसलाई सम्बोधन गर्ने विषय होइन । प्रदेशले मात्रै पनि सम्बोधन गर्ने विषय होइन । यो आरक्षण, संरक्षण क्षेत्र भएको हुनाले अहिलेको संविधानअनुसार केन्द्रले चासो लिएर मिलाउनुपर्ने विषय हो ।
(नोट– ०५५ भदौ २९ को राजपत्रमा पाथीभरा क्षेत्र ‘कञ्चनजंघा संरक्षण क्षेत्र’ मा रहने निर्णय प्रकाशित भएको थियो । तर, ओली सरकारले ०७५ चैत १८ गते उक्त जग्गा संरक्षित क्षेत्रबाट हटाएर पाथीभरा विकास क्षेत्र समिति मातहत ल्याउने निर्णय गरी राजपत्रमा अर्को सूचना निकाल्यो । संरक्षित क्षेत्रमा केबलकार निर्माण गर्न दिनकै लागि यसो गरिएको थियो । कञ्चनजंघा क्षेत्र व्यवस्थापन नियमावली २०६४ को नियम १० विपरीत सरकारले त्यस्तो निर्णय लिएको फोम्बोको रिटमा उल्लेख थियो । ०५५ को राजपत्रमा तत्कालीन श्री ५ को सरकारले राष्ट्रिय निकुञ्ज संरक्षण ऐन २०२९ को दफा ३ को उपदफा २ लेखिएको अधिकार प्रयोग गर्दै ०५४ साउन ६ गते राजपत्रमा कञ्चनजंघा क्षेत्रको सीमा तोकिएको उल्लेख थियो । कञ्चनजंघा संरक्षण क्षेत्रले भने पूर्वमा भारत र पश्चिममा संखुवासभासम्मको भूभाग छोएको छ । विस्तृतमा हेर्नुहोस्– ताप्लेजुङमा ‘विकासको बाढी’ वा भगवानमाथिको व्यापार ? –खबरहब )
पहिला कञ्चनजंगा संरक्षण क्षेत्र जो बनाइएको थियो, त्यसमा पाथीभरालाई बाहेक गरेर बनाइएको थिएन । पाथीभरा क्षेत्रको सामाजिक, सांस्कृतिक, जैविक एवं वातावरणीय परिवेशलाई समेत मूल्यांकन गरेर संरक्षण क्षेत्र घोषणा र स्वीकृति भएको हो । त्यसका केही सूचकहरू हुन्छन् । ती सूचकमा त्यसले पूर्णता पाएर उत्तीर्णांक पाइसकेपछि मात्रै त्यो सदर हुने हो ।
केन्द्र सरकारले पाथीभरालाई कञ्चनजंगा संरक्षण क्षेत्रबाट झिकेर छुट्टै विकास क्षेत्र बनायो, योचाहिँ मलाई के लाग्छ भने यो बीचमा केन्द्र सरकार चल्दाखेरि एउटाले गरेको कामलाई अर्कोले नमान्ने दलीय स्वार्थका कुराहरू त्यहाँ बाझिएको र आफ्नो पहुँच आउँदाखेरि त्यहाँ त्यो काम गरिहाल्ने भन्ने हुन सक्छ ।
किनभने त्यहाँ भेटी प्राप्तिको कुरा छ, त्यहाँ ठूलो रकम छ । भेटी मात्रै होइन, मान्छेले गरगहना पनि चढाउँछन् । कतिपय ठाउँमा ऐलानी पर्ती जमिन छ , त्यहाँ बसोबास गर्ने, रिसोर्ट खोल्ने, होटल चलाउने भन्ने दिवा सपना देखेर गरेको हुन सक्छ । मेरो मनले त्यसो भन्छ । किनभने, मैले धेरै ठाउँमा हेर्दाखेरि पनि यस्ता ठाउँहरूलाई हेर्ने एउटा स्वच्छ र न्यायपूर्ण दृष्टिकोणचाहिँ कुनै पनि सरकारको देखेको छैन ।
निष्कर्षमा भन्नुपर्दा मलाई कस्तो लाग्छ भने यो पाथीभरा क्षेत्र, संरक्षण क्षेत्र अनि त्यहाँबाट देखिने २१ वटा हिमालयका अत्यन्त स्निग्ध हिमशिखरहरू, जसलाई ‘स्लाइम एण्ड भर्जिन पिक्स’ भनिन्छ, त्यस्तो दृश्यलाई व्यवस्थापन गर्न आमाले अत्यन्त होसियारीपूर्वक पेटमा राखेर बाहिर निकालेको बच्चाजसरी संवेदनशील भएर हेरचाह गर्नुपर्छ । त्यसरी संरक्षण गर्नुपर्ने क्षेत्र हो यो ।
तर, यसलाई गिजोल्ने काम केन्द्रबाट भएको जस्तो मलाई लाग्छ । केन्द्रबाट गिजोल्ने काम भएपछि स्थानीय मानिसहरूको त कोही भोका छन्, कोही नाङ्गा छन् । कसैलाई रोजगारी छैन । कसैलाई केन्द्रले त्यसो गर्दा हुन्छ भने हामीले किन नगर्ने भन्ने होला । यी सबै कुराले पाथीभरालाई जटिल बनाएको छ । यो जटिलताले गर्दा मलाई के लाग्छ भने झिल्कोले मुढो डढाउँछ, मुढोले वन डढाउँछ । भोलि पूर्वी नेपालको प्रदेश १ लाई पूरा यसले तहस–नहस गर्छ ।
त्यसैले म के भन्छु भने केबलकार बनाउनलाई बनाउनोस्, तर यसरी होइन । त्यो बनाउनुअगाडि सम्बोधन गर्नुपर्ने विषयहरू छन् । जस्तो– देउरालीदेखि भालुडाँडासम्मको २० किलोमिटर सडक ट्रयाक छ । त्यो बाटोमा दायाँ बायाँ साना–साना झुप्रा घरहरू छन् । त्यहाँ होटल छन् । स्थानीय उत्पादनहरू छन् । मान्छे आउँछन् । बास बस्छन् । खान्छन् । त्यहाँ लगभग पाँच हजारभन्दा बडी साना ठूला घरहरू होलान् । ती मान्छेलाई के गर्ने ? किनभने, तिनीहरूको दैनिकीसँग जोडिएको कुरा छ ।
स्थानीयको सरोकार यही कुरामा भएको हुनाले केबलकारको सट्टा बरु बाटोचाहिँ बलियो बनाउँदाखेरि पो हुन्थ्यो कि ? जस्तो– हामीले कामाक्षमा देख्छौं । यहीँ पनि हामी सराङकोटमा देख्छौं । बाटो बनाउनुपर्ने कुरा पो जरुरी थियो कि ?
दोस्रो कुरा– वातावरणशास्त्रीका अनुसार पाथीभराजस्तो क्षेत्रले इनर्जी माथि निकालिरहेको हुन्छ । हरेक शिखरको भौगोलिक विशेषता के हुन्छ भने त्यसले एकप्रकारको इनर्जी निकालिराखेको हुन्छ । अब केबलकार सञ्चालन गरिसकेपछि सुविधा त होला, तर समस्या धेरै मानिसहरूको त छँदैछ ।
तेस्रो कुरा– सुविधाको बाँडफाँटचाहिँ स्थानीय तहले यसलाई संरक्षण गरेर आएको हुनाले अधिकतम स्रोत साधन त्यहाँका मानिसले पाउनुपर्नेमा कम्पनीले लिँदा भोलि हाम्रो चन्द्रागिरिको जस्तो भयो भने के हालत हुन्छ ? चन्द्रागिरिमा तपाईंले बाहिरबाट कुनै खाना ल्याउन पाउनुहुने छैन । पानी ल्याउन पाउनुहुने छैन । तपाईंले यो गर्न पाउनुहुन्छ, त्यो गर्न पाउनुहुँदैन भनिदियो भने के हुन्छ ? हाम्रो स्थानीय तहका नागरिकको सार्वभौमसत्तामाथि चुनौती हुन्छ ।
सार्वभौमसत्तामाथिको चुनौतीलाई तपाईं मान्नुहोला, मैले मानौंला, काठमाडौंका मानिसहरूले मानौंला, तर त्यहाँका मानिसले मान्दैनन् । किनभने, उनीहरू किरात समुदायका हुन्
यो सार्वभौमसत्तामाथिको चुनौतीलाई तपाईं मान्नुहोला, मैले मानौंला, काठमाडौंका मानिसहरूले मानौंला, तर त्यहाँका मानिसले मान्दैनन् । किनभने, उनीहरू किरात समुदायका हुन् ।
किरातहरूको आफ्नो एउटा लिगेसी छ । हामी गैरकिरातीहरू ठट्टा गर्दाखेरि जिस्केर ‘तिमी चितुवाहरू’ भन्छौं, त्यो नेचर भनेको हो । उनीहरूमा एकदम लडाकू, बहादुर स्वाभाव छ । त्यहाँका जातिहरू हामी (गैरकिरात) सँग बडो राम्रो मेलमिलाप गरेर बसेका छन् । उनीहरूको ब्रिटिस आर्मी र इण्डियन आर्मीसँग जोडिएको लिगेसी छ । त्यसलाई सरकारले वास्ता गरेकै छैन ।
त्यसो भएको हुनाले मलाई के लाग्दछ भने त्यहाँकै आम नागरिकको चाहना, माग र आवश्यकतामा आधारित भएर यसलाई हेरियो भने ठीक छ । तर, अहिले केबलकार बनाउने बेला होइन । अहिले त गर्ने भनेको त्यहाँका मानिसहरूको के भनाइ छ ? बाटो कसरी बनाउने ? त्यहाँका मानिसहरूलाई के गर्ने ? पूर्वाधारहरू, होटलहरू कसरी बनाउने ?
पाथीभरामा एकदम स्वस्थ हावापानी छ । ताजा ठाउँ छ । स्थानीय सामग्रीहरू खान, उपभोग गर्न पाइन्छ । मानिसहरू त हिँडेरै तीन/चार दिनमा स्वास्थ्यलाभ गरेर फर्केर आउँछन् । त्यसकारण, यी पूर्वाधारहरूको विकास नगरिकन एकैचोटि केबलकार भनेर बनाइदिँदा त्यहाँका मानिसहरूको मनोदशा र भावनामा चोट पुग्छ । मनोदशा र भावनामा चोट पुग्यो भने मानिसले आफ्नो जीवन समर्पण गरेर त्यो आस्थाको प्रतिरक्षा गर्छ । त्यसो भएको हुनाले अहिले त्यहाँ केबलकार निर्माणको हतारो नगर्नु बेस हुन्छ भन्ने म अनुरोध गर्छु ।
जुन कम्पनीका जो मान्छेले लगानी गर्दै हुनुहुन्छ – उहाँ पनि नेपालको आर्थिक समृद्धि गर्न हैसियत बनाएकै मान्छे हो । त्यस्तो हैसियत बनाएको मान्छेले फेलियर हुने ठाउँमा हात हाल्नुहुँदैन भन्ने लाग्छ
किनभने, जुन कम्पनीका जो मान्छेले लगानी गर्दै हुनुहुन्छ, उहाँ पनि नेपालको आर्थिक समृद्धि गर्न हैसियत बनाएकै मान्छे हो । त्यस्तो हैसियत बनाएको मान्छेले फेलियर हुने ठाउँमा हात हाल्नुहुँदैन भन्ने लाग्छ मलाई ।
रिसर्चरहरू भोलि त्यहाँ पस्छन् । स्वीजरल्याण्डमा पनि यस्ता भर्जिन ठाउँहरू छन् । रवीन्द्रनाथ टैगोर पनि आएर उतापट्टि बोर्डरमा बसेर लेख्नुभएको रे ! इलामको सन्दकपुर एरियामा । यति लोकप्रिय ठाउँ छ, तर यसलाई गिजोलियो ।
अहिले गोली लागेर घाइते भएका मानिस छन् नि ! एकजना तेह्रथुमका छन् । अर्को एकजना इलाम माङ्सेबुङका छन् । माङ्सेबुङका मान्छे भनेका निरामिश मान्छे हुन् । उनीहरू गएर अहिले त्यसलाई जोगाउनुपर्छ भनिरहेका छन् । उनीहरू धेरै ढिलो छन्, तर पक्का छन् । स्थिर छन् । त्यसैले अहिले त्यहाँ केबलकार बनाउनुहुँदैन ।
माङसेबुङका बारेमा अस्तिमात्रै मलाई एकजना डाक्टरले भन्नुभयो । प्रचण्ड कामरेड (माओवादी केन्द्रका अध्यक्ष) आफैं जानुभयो रे त्यो ठाउँमा । ‘हामीले यो माङसेबुङलाई कति प्रयत्न गर्दा पनि सकेनौँ’ भन्नुभयो रे !
मलाई थाहा छ, मेरा एकजना विद्यार्थी कानून पढ्दै थिए । १०/१५ दिन अगाडि मसँग भेट गरेका थिए, पछि माओवादीमा लागेछन् । ‘सर, म त यता लागेँ’ भने मलाई क्याम्पसमा ।
मैले ‘बाबु ! सशस्त्रमा भरसक नगए हुन्थ्यो, चेतनाको द्वन्द्व हो, अलि होस गर्नू’ भनेँ । मैले त्यसो भनेको सात दिनपछि उनलाई माङसेबुङमा पक्डेछन् । पक्डेर आर्मीलाई जिम्मा लगाइदिएछन् । पछि आमीले उनलाई कतै लगेर गोली हान्यो ।
तर, उनले कहीँ पनि आत्मसमर्पण गरेनन् रे ! कर्णेललाई उनले ‘हेर्नुहोस् ! तपाईंहरू राज्य पक्षमा लाग्नुभयो, हामी समाज परिवर्तनमा लागेका छौं, हामी मर्छौं, तर आफ्नो आस्था छाड्दैनौँ’ भन्दा कर्णेल रोए अरे ! ‘तँ जनजातिको छोराले यस्तो हिम्मत गरिस् । मचाहिँ दासजस्तो भएर सहनुपरेको छ’ भनेर रोए अरे ।
त्यसकारण त्यो लिम्बु काम्राङहरूको सेना जो छ, त्यो सेनालाई कसैले सक्दैनन् । मलाई के लाग्छ भने जब त्यो चेतन तत्व भित्रैबाट त्यसको जग भएर बसेको हुन्छ नि ! त्यो गीतामा कृष्णले भनेको जस्तो आत्मिक तत्व हो । नैनं छिन्दन्ति शस्त्राणि…(हतियारले छिन्न सक्दैन) नै हो क्या त्यो ।
यस्तो बनेर आएको क्षेत्र भएको हुनाले मलाई लाग्छ – अहिले केबलकारै बनाउनुपर्ने बेला होइन । बनाए पनि तल फेदीमा यसो ४/५ किलोमिटर बाँकी राखेर बनाउन सकिएला ।
टोनी हेगेनले सिनासमा भएको हामीसँगको भेटमा भनेका थिए – नेपालको कुनै पनि संवेदनशील क्षेत्र, तीर्थस्थल, देवी देवताका स्थलहरूमा सोझै गाडी नपुर्याउनू
टोनी हेगेनले पनि हामीलाई त्यही भन्नुहुन्थ्यो । नेपालमा टोनी हेगेनको ठूलो योगदान छ । उनी जुद्धसमशेरकै पालामा नेपाल पसेर उनले झण्डै पचहत्तरै जिल्ला भ्रमण गरेर, हेरेर लेखेको पुस्तक छ । त्यो पुस्तकमा पनि उनले लेखेका छन् र नेपाल आएका बेला सिनासमा भएको हामीसँगको भेटमा पनि उनले भनेका थिए, ‘नेपालको कुनै पनि संवेदनशील क्षेत्र, तीर्थस्थल, देवी देवताका स्थलहरूमा सोझै गाडी नपुर्याउनू । त्यहाँ पानीको स्रोत हेरेर बूढापाकाले बनाएका छन् । त्यसको दुई–चार किलोमिटर तलै गाडीहरू राख्नु अनि त्यहाँबाट हिँड्न दिनू । ताकि, मानिसहरू त्यहाँ गएर कमसेकम एक–दुईदिन बास बसुन् । त्यसो गर्दा त्यहाँको इकोनोमी पनि राम्रो हुन्छ र त्यहाँको प्राकृतिक सुरन्दरता पनि बच्छ ।’
यो कुरा गोरखामा हेरौं न ! त्यहाँको माथ्लो दरबारमा हिँडेरै जान्छौं । गाडीहरू तलै राखिन्छ । मनकामनामा केबलकार गए पनि ट्रेकिङ रुट छँदैछ । मनकामनामा मानव बस्ती छ, तर पाथीभरा जंगल एरिया हो ।
पाथीभरा जलाधारलाई पक्डिने अथवा प्रकृतिलाई समात्ने एरिया हो । पानी बोकेर सागरबाट सगरसम्म आइपुग्ने बादललाई पक्डने पर्दाको एरिया हो पाथीभरा । त्यसकारण त्यो पर्दाको एरियाको आफ्नो संरचना र बनावट छ । त्यो संरचनालाई डिस्टर्ब गर्ने कामचाहिँ इलेक्ट्रिक प्रवाह, मानिसहरूको आवाज र खानपानले प्रभावित गर्छ भन्ने विश्लेषण छ क्या वातावरण विज्ञानमा । त्यसकारण अहिले नै त्यो ठाउँमा हात नहालेकै राम्रो ।
संसारमा हिँडेर कुम्भमेलामा गएका साधुहरू हेरौं त ! हामी सबै साधु हुनुपर्छ भन्ने होइन । तर, हिँडेर दीर्घजीवन चलेको छ भन्ने तर्क पनि आफ्नो ठाउँमा कमजोर छैन । तर, पाथीभराको भर्जिनिटी र सामाजिक–सांस्कृतिक महत्व र त्यसको रहस्यमय शक्तिको कुरालाई अहिले नै मानिसको हृदयबाट हटाउन सकिन्न ।
सरकारसँग फोर्स छ भनेर पेलेरै केबलकार बनाउन सकिन्छ जस्तो मलाई लाग्दैन । किनभने, कत्रा ठूला मानिसहरूले गरेका प्रोजेक्टहरू पनि उपभोक्ता वा स्थानीय मान्छेले पूर्वाग्रह राखिदिने हो भने त्यो चल्दैन
केबलकार लान सकिँदैन हैन, सकिन्छ भन्ने कुरा त हुँदै हो, तर अहिले नै लानुपर्छ भन्ने कुरा परिपक्व भएजस्तो लाग्दैन । जस्तो– कुनै मान्छेलाई बाबुआमा बन्न हतारो भयो भनेर प्राकृतिक रुपले आउने बच्चा छिटो जन्मँदैन । त्यसको पनि एउटा परिपक्वता हुनुपर्छ ।
त्यहाँका सरोकारवाला वा साझेदारहरूले ल केबलकार बन्नुपर्छ भनिदिएको खण्डमा मात्रै त्यसको दिगोपना हुन्छ । स्थानीयले त्यो महसुस गर्ने अवस्थामा मात्रै बनाइयो भने त्यो काम लाग्छ । नत्र यसबाट सुरु हैन, दुःख धेरै हुन्छ । किनभने, हामीले विश्वका ठूला–ठूला परियोजनाहरू हेरेका छौं ।
सरकारसँग फोर्स छ भनेर पेलेरै केबलकार बनाउन सकिन्छ जस्तो मलाई लाग्दैन । किनभने, कत्रा ठूला मानिसहरूले गरेका प्रोजेक्टहरू पनि उपभोक्ता वा स्थानीय मान्छेले पूर्वाग्रह राखिदिने हो भने त्यो चल्दैन ।
जस्तो– हिन्दुहरू किन मुस्लिम भएनन् ? मुस्लिमहरू किन हिन्दु भएनन् ? यो आस्थाको कुरा हो । पाथीभरामा भोलि सरोकारवालाले ‘कुनै सहयोग गर्दैनौं, खाना, पानी केही पनि दिँदैनौं, छुवाछुतजस्तो भेदभावै गर्छौं’ भन्दिए भने के हुन्छ ? त्यसकारण मानिसको चित्त दुखाएर, अन्तरमनलाई दुखाएर गरिएको कामले स्थायित्व पाउँछ भन्ने मलाई लाग्दैन ।
किरातहरू परम्परागत प्रथाजन्य कानूनबाट चल्छन् । परिवारका सबै सदस्यले के भन्छन्, त्यस अनुसार गरौं भनेर चल्ने समुदाय हुन् । त्यसैले उनीहरूको आस्था र परम्पराविपरीत काम गर्यौं भने त्यो ठाउँमा कमाउन त सकिएला, रमाउन सकिँदैन ।
जस्तो– अहिले घाइते मान्छे शरीरमा गोली लागेर बसेका छन् । एबीसी राजा भएर, एबीसी मन्त्री भएर के भो ? उनीहरूको त शरीरबाट गोली झिक्नुपरेको छ । त्यसकारण यसबाट त्यहाँको समुदाय रमाउन सक्छ जस्तो लाग्दैन ।
अघि मैले दुईवटा कुरा भनेको छु । भारतीय सेना र बेलायती सेनासँग उनीहरूको लिगेसी जोडिएको छ । त्यसकारण यो प्रोजेक्टले अहिले नेपालको भलो गर्दैन । त्यसैले यसलाई सामान्य रूपमा लिइनु हुँदैन ।
पूर्वका किरातहरूले देशको सीमाना रक्षा गरेर बसेका छन् । राज्यसँग उनीहरूको केही विमति र केही चित्त दुःखाइ छ । तर, त्यो चित्त दुखाइलाई सम्वोधन गर्यो भने उनीहरू मस्तीसँग सहकार्य गर्न तयार हुन्छन्
सरकार अहिले ब्याक भएर कुनै कम्प्रोमाइज्ड गरेर विन–विन परिस्थितिमा जानु बेस हुन्छ मेरो विचारमा । सरकारमा रहेका त्यहाँका साथीहरूको चेतनाको स्तर, उहाँहरूको दृष्टिकोण र उहाँहरूको अनूभूतिको लेबल मलाई थाहा छ ।
उहाँहरूले अहिले सोझै बनाउनुपर्छ भन्नुहोला तर मेरा मित्रहरूसँग मेरो फरक मत छ । अहिले हतार नगरौं । त्यहाँ केबलकारबाट धन कमाउन सकिएला तर रमाउन सकिँदैन ।
नेताहरूलाई त हामीले देखेकै छौं । हाम्रै साथीभाइहरू हुनुहुन्छ, उहाँहरू ‘छिटै पाक्कपुक्क गरिहालौं र लाटलुट पारिहालौँ’ भन्नुहुन्छ, त्यसरी कहाँ हुन्छ ?
पूर्वका किरातहरूले देशको सीमाना रक्षा गरेर बसेका छन् । राज्यसँग उनीहरूको केही विमति र केही चित्त दुःखाइ छ । तर, त्यो चित्त दुखाइलाई सम्वोधन गर्यो भने उनीहरू मस्तीसँग सहकार्य गर्न तयार हुन्छन् । हामी त त्यहीँ बसेका मान्छे हौं । चित्त बुझ्यो भने उनीहरूले हाम्रो (क्षेत्री–बाहुन) को साथ छाड्दैनन् ।
ती देवाधिदेव, जसलाई हामीले स्वयं उत्पति भएको भनेर मानेका उहाँकै सन्तति हुनुपर्छ उनीहरू । किनभने यो क्रम पर इन्डोनेसियासम्म पनि रहेछ । कोही ठाउँमा नाऊमा चढे होलान् । कोही ठाउँमा शक्ति थियो होला । त्यहाँ बनाएर केही मन्त्रहरू छन् । ती मन्त्रहरू कहिलेकाहीँ यहाँ पशुपतिमा पनि मैले गाएको सुनेँ । इण्डियामा पनि ठ्रला ठूला मठाधीशहरूले भनेको सुनें ।
हाम्रो शरीरले उज्यालो फ्याँकिरहेको हुन्छ । यही शरीरले पनि अँध्यारोको प्रकटीकरण गर्छ । त्यो उज्यालोमा चेतना हुन्छ । अँध्यारोमा पनि चेतना त हुन्छ, तर त्यो विनासक चेतना हुन्छ । सर्जक चेतना हुँदैन । विनासक चेतना हुनेले जीवास्म र भस्म बनाउँछ । सर्जक चेतना हुनेले चाहिँ फेरि उद्बीज, अण्डज बनाएर सिर्जना गर्छ भनिन्छ । त्यसैले हामीले खोजेको खरानी बनाउने त होइन नि त ।
मन्त्रमा माथिको आकाश पनि चेतनशील छ भनिन्छ । चिदाकाश भन्ने शब्द हेर्ने हो भने चिदाकाशमाकाशवासं भजेऽहम्। भनेर प्रार्थना गरिएको हुन्छ । त्यो महादेवको एउटा शक्ति हो दुर्गामाता रक्तकाली । त्यसकारण पाथीभरामा के छ, हामी भन्न सक्दैनौं । अपत्यारिलो रहस्यको साकार रुप यो हो है भनेर देखाइएको हो ।
कतिपय साइन्टिस्टहरू वितत्ववादी हुन्छन् । वितण्डावादी साइन्टिस्टहरू हुन्छन् । उनीहरू तहस नहस गरिराख्छन् । तर, तत्ववादीहरू चाहिँ चे छन् भने यसको ‘चेनवाइज्ड’ सम्बन्ध हुन्छ र यसमा हरेक अक्षर मन्त्र हुन्छ भन्छन् । हरेक श्वास प्राण हुन्छ भन्छन् । प्राण श्वास माथिबाट चल्छ, अप्राण वायु तलबाट चल्ने हुन्छ भन्ने मान्यता छ ।
त्यसकारण त्यहाँका लिम्बुहरू मान्यतामा चल्छन् । अहिले मान्यतामा चल्नेहरूले यसलाई (केबलकारलाई) रोक्न खोजेका छन् । मान्यतामा हैन, साइन्समा चल्नेहरूले केबलकार लानुपर्छ भन्छन्, यसले भोलि त्यहाँ विनास गराउन सक्छ ।
तपाईं-हामी बाख्राको पाठोसँगसँगै सुत्न सक्छौं तर चितुवा हो भने विचारै गर्नुपर्छ । यो त नेचर हो । झिल्कोले मुढो डढाउँछ, मुढोले वन डढाउँछ । आगो दियोमा बलुञ्जेल पो भगवानको भयो, डढेलो भएपछि त्यो आगो कसैको रहँदैन
केबलकार बनाउने कम्पनीका मान्छे पनि राम्रै छवि भएको मान्छे हुनुहुन्छ । त्यस्तो क्रेडिट भएको मान्छेका लागि अरू ठाउँमा अवसर र क्रेडिबिलिटी धेरै छन्, अहिले त्यहाँ नगर्नु नै बेस हुन्छ ।
तपाईं-हामी बाख्राको पाठोसँगसँगै सुत्न सक्छौं । तर, चितुवा हो भने विचारै गर्नुपर्छ । यो त नेचर हो । हजारौं वर्षबाट आएको नेचर हो । यो राम्रो छ । हामीले सिक्किमलाई पनि बिर्सनुहुन्न । यतापट्टि भुटान, डोक्लामलाई पनि बिर्सनुहुन्न । उत्तरपट्टिको चीन र दक्षिणको भारतलाई पनि बिर्सनुहुन्न ।
अनि, सबैभन्दा मुख्य कुरा त पाथीभरा मातालाई नै बिर्सनुहुन्न । यसमा त इतिहास जोडिएको छ ।
हामी मानौं नमानौं, उनीहरूको मुन्धुमभित्र यसको कथा सुइँसुइँ आउँछ । उनीहरू त्यो माटोलाई आमा छान्छन् । माटोलाई लिएर कसम खाने समुदाय छन् त्यहाँ । त्यसकारण हामीले यस्तो कुरालाई ध्यान दिएर मात्रै हात हाल्नुपर्छ । यसलाई अझै चर्कायो भने त्यो ठाउँका अरू ठूला प्रोजेक्टहरूमा पनि असर पर्छ ।
त्यहाँ हाइड्रोहरू चलिराखेका छन् । तिब्बतसम्म जोड्ने बाटोको प्रोजेक्ट चलिराखेको छ । त्यसमा डिस्टर्ब हुन सक्छ । अब ९ जिल्ला बन्द भन्दिएपछि त जम्मै डिस्टर्ब भयो नि !
मैले अघि नै भनेँ, झिल्कोले मुढो डढाउँछ, मुढोले वन डढाउँछ । आगो दियोमा बलुञ्जेल पो भगवानको भयो, डढेलो भएपछि त्यो आगो कसैको रहँदैन ।
भिडियो-
प्रतिक्रिया