सरकारी लगानी नबढ्दा क्यान्सरका बिरामी विदेश धाउन बाध्य छन्‌ : डा. शर्मा (अन्तर्वार्ता) | Khabarhub Khabarhub

विश्व क्यान्सर दिवस

सरकारी लगानी नबढ्दा क्यान्सरका बिरामी विदेश धाउन बाध्य छन्‌ : डा. शर्मा (अन्तर्वार्ता)


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (मंगलबार) विश्व क्यान्सर दिवस । वर्ष २०२५ को क्यान्सर दिवस ‘युनाइटेड बाइ युनिक’ (अद्वितीयद्वारा संयुक्त) भन्ने नारासहित नेपाल लगायत विश्वभर मनाइँदैछ । यो नाराले मानिसलाई हेरचाहको केन्द्रमा राख्न र तिनीहरूको कथालाई संवादको केन्द्रमा राख्न विश्व समुदायलाई आव्हान गरेको छ ।

हरेक वर्ष लाखौँ मानिसको क्यान्सरका कारण हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने उद्देश्यले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । केही वर्ष अगाडिसम्म डरलाग्दो र ज्यानमारा रोगका रूपमा हेरिने क्यान्सरलाई पछिल्लो समय सामान्य रूपमा हेर्न थालिएको छ । 

उपचारमै पनि प्रविधिको प्रयोगले ठूलो फड्को मारेको छ । आधुनिक युगसँगै क्यान्सरका बारेमा नयाँ नयाँ खोज अनुसन्धान भएका छन् , जसले दशकअघि र पछि उपचार पद्धतिमा सहजता थपिएको चिकित्सकहरू बताउँछन् ।

 चिकित्सकहरूका अनुसार सुरुवाती अवस्थामा सीमित स्रोत साधन र जनशक्तिले मात्रै उपचार गरिरहेको क्यान्सरको उपचारको दायरा फराकिलो भएको छ । 

यसले पीडितहरुको आयु थपिएको छ । तर, अझै केही केही जटिल खाले क्यान्सरको उपचारका लागि बिरामी नेपाल बाहिर जानुपर्ने अवस्था रहेकाले सरकारले यसमा लगानी बढाएर नेपालमै उपचार गर्ने अवस्था बनाउन जरुरी रहेको चिकित्सक बताउँछन् । 

 क्यान्सरका बिरामीहरूमा अहिले गरिने उपचार शैली र पहिलेको उपचार शैलीमा के फरक छ ? पहिलेको बिरामीहरूले उपचारको क्रममा निकै पीडा हुने गुनासो आउँथ्यो । अहिले त्यसमा सहजता आएको हो ? उपचार प्रविधि कति महँगो छ ? कुन क्यान्सरका बिरामी अहिले धेरै आउने गरेका छन् ? यिनै विषयमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत डा. कृष्णशागर शर्मासँग गरिएको कुराकानी 

कुनै समय डरलाग्दो रोगका रूपमा हेरिने क्यान्सरको अहिले सहज उपचार हुन थालेको छ । अहिलेको उपचार शैली र पहिलेको उपचार शैलीमा के फरक छ ?

पहिले क्यान्सरलाई एकदमै डरलाग्दो रूपमा लिने प्रवृत्ति थियो, त्यसमा सुधार भएको छ । उपचार गर्ने शैलीमा खासै भिन्नता छैन किनभने स्ट्याण्डर्ड प्रोटोकल तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रोग पत्ता लगाएर उपचार गर्ने पद्धति त छँदै थियो । 

 तर, कतिपय जाँचहरू नेपालमै भए पनि कतिपय जाँचहरू हुन सकेको थिएन । जसका कारण धेरै जाँचका लागि बाहिर पठाउनुपर्ने र कतिपय बिरामीलाई पनि बाहिरै रेफर गर्नुपर्ने अवस्था थियो । अहिले केही कुरामा सहजता आएको छ ।

सबै जाँचहरू अहिले पनि नेपालमा सम्भव छैन जस्तै रक्त क्यान्सरको लागि जेनेटिक जाँच, क्यारियो टाइपिङ, सेलको क्रोमोजोमहरू हेर्ने लगायतका विशेष प्रकारका जाँचहरू अझै नेपालमा हुन सकेको अवस्था छैन । 

तर, पनि क्यान्सर लाग्दैमा उपचारका लागि विदेश नै जानुपर्ने अवस्था अहिले छैन । त्यस्तै बच्चाका क्यान्सरको लागि पनि विश्वमा राम्रो उपचार गर्ने देशहरूको सूचीमा नेपाल छ । सरकारले पनि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । 

 क्यान्सरका बिरामीलाई किमो चढाउँदा, थेरापी दिँदा वा अपरेसन गर्दा ठूलो पीडा महसुस हुने आम धारणा छ । आधुनिक उपचार प्रविधिले त्यो जटिलतालाई कम गर्दै लगेको हो ?

क्यान्सरका बिरामीहरूको अप्रेसन गर्नुपर्दा चिरफार गरी ठूलो घाउ बनाएर उनीहरूलाई निकै पीडा दिइन्छ भन्ने जनमानसमा छ । त्यो एउटा भय मात्रै हो । किनभने दुखाई हुने खालको उपचार या अप्रेसन गरिन्छ भने मेडिकल साइन्सले त्यसमा दुखाई नहुने खालका एनेस्थेसिया, पेनकिलर लगायतका औषधीहरुको प्रयोग गर्ने गरिन्छ, जुन हिजो पनि थियो अहिले पनि छ । 

क्यान्सरको उपचारका लागि रेडिएसन थेरापी, किमो थेरापी र अप्रेसन गरेर मुख्य तीनवटा विधिबाट उपचार गरिन्छ । किमो थेरापी भनेको औषधीले निको पार्ने हो, त्यसमा हिजोका दिनहरू अर्थात् आजभन्दा एक दशक अघिसम्म कतिपय रोगहरू निको पार्न सकिन्न भन्ने थियो । अहिले कतिपय रोगहरूका नयाँ नयाँ औषधी पत्ता लगाएको हुनाले अलि फैलिसकेको क्यान्सरमा पनि निको बनाउन सकिन्छ आशा जागेको अवस्था छ । 

त्यस्तै अर्को रेडियाथेरापी हो । यसमा विकिरणको माध्यमबाट रोगको उपचार गरिन्छ । पहिला पहिला यस्ता मेसिनहरु थोरै थिए भने चिकित्सकहरू पनि थिएनन् । अहिले चिकित्सकसँगै मेशिनहरू पनि थपिएका छन् ।

तर, त्यो पर्याप्त छैन । त्यस्तै अप्रेसन पनि पहिले चिरफार गरेरै उपचार गर्नुपर्ने हुन्थ्यो । अहिले सानो घाउ बनाएर ल्याप्रोस्कोपी विधिबाट दुर्बिनको सहायताले सानो घाउ बनाएर क्यान्सरको उपचार गर्न सकिन्छ । 

जसले गर्दा उपचारपछि बिरामीले लामो समय अस्पताल बस्नु पर्दैन । घाउ छिटो निको भएर जान्छ । समग्रमा भन्नुपर्दा हिजो भन्दा आज जनचेतना, राज्यको उपस्थिति र उपचारका क्षेत्रमा नयाँ नयाँ पद्धति, अस्पताल, उपकरण र जनशक्तिको संख्या बढिरहेकाले धेरै नै सुधारोन्मुख छ । 

यति हुँदाहुँदै पनि जति हुनुपर्ने हो, त्यति हुन सकेको अवस्था छैन । मेसिन, विशेषज्ञ चिकित्सक, नर्सको सङ्ख्या पर्याप्त छैन । कतिपय क्यान्सर पत्ता लगाउन भारतकै भरपर्नुपर्ने अवस्था छ । त्यसमा सुधार आएको भए अझै राम्रो हुन्थ्यो । जसको लागि सरकारले नीति बनाएर मात्र हुँदैन । 

 तत्काल लगानी बढाएर यी सबै सेवा सुविधाहरू दिनसक्यौँ भने मात्रै बिरामीलाई विदेश नपठाइकन नेपालमै उपचार गर्न सक्ने वातावरण बनाउन सकिन्छ । 

यहाँले अझै कुनै कुनै क्यान्सरको उपचार नेपालमा गर्न नसकिएको भन्नुभयो । निजी अस्पतालहरूले दुर्लभ उपचार सेवा दिने भन्दै प्रचार गरिरहेको पाइन्छ ।  के सरकारी अस्पतालहरूमा त्यो सुविधा नभएको हो ?

धेरैजसो सरकारी अस्पतालमा क्यान्सरको उपचारका लागि प्रयोग हुने रेडियोथेरापी, किमोथेरापी र अप्रेसन गर्ने लगायतका सबै सुविधा छन् । जुन पर्याप्त छैन । यसलाई बढाउनुपर्ने अवस्था छ । तर नेपालमै नभएको उपचार हामीले दिइरहेका छौँ भन्दै प्रचार गर्ने भनेको भ्रम फैलाएर बिरामीलाई आकर्षण गरी सरकारी अस्पतालबाट बाहिर निकाल्ने एउटा प्रपञ्च मात्रै हो । 

सरकारी अस्पतालमा आवश्यक स्रोत साधनको कमी छ, जसलाई बढाउनु राज्यको दायित्व हो । त्यो भन्दा बाहिर अवकाश प्राप्त विशेषज्ञ चिकित्सकहरू बसेको ठाउँमा केही सेवाहरू उहाँहरूले सरकारी अस्पतालहरूमा नभएका सेवा दिनुभएको पनि छ होला । त्यस्ता खालका चिकित्सकलाई सरकारले अवसर दिएर सरकारी अस्पतालहरूमा काम गर्ने वातावरण बनाउन सक्नुपर्छ । 

अहिले निजी अस्पतालहरू धेरै छन् । उनीहरूले आफ्नो व्यापार बढाउन यो सबै गरिरहेका छन् । एक किसिमले यो स्वाभाविक पनि हो । यसमा राज्यले सचेत भएर सरकारी स्वास्थ्य संस्थाहरूमा स्रोत साधन थप गर्न आवश्यक छ ।

 उपचार प्रविधि कति महँगो छ ?

कुनै पनि रोगको उपचारमा नयाँ नयाँ प्रविधि र औषधीको प्रयोग भइरहेकै हुन्छ । त्यस्तै क्यान्सरलाई पनि निको पार्न नयाँ खोज अनुसन्धान भइरहेको छ ।औषधी, औजार र पद्धतिहरू नयाँ नयाँ आइरहेका छन् ।  नयाँ औषधी निकाल्दा केही महँगो पर्न जान्छ । कतिपय औषधीको प्रयोगले रोग निको हुने तर किन्न नसक्ने खालको पनि छ । यसले उपचार नै महँगो भयो भन्ने होइन ।

नयाँ रोगको लागि नयाँ औषधी आउने हुनाले तिनको सुरुवाती मूल्य बजारमा बढी पर्न जान्छ । तर निको नहुने रोगलाई कुनै औषधीको प्रयोगले निको पार्न सकिन्छ भने जीवन बाँच्छ भन्ने आशा त हुन्छ । त्यसैले क्यान्सरको उपचार त्यस्तो महँगो छ जस्तो लाग्दैन । 

प्रेसर, सुगर, मिर्गौलाका बिरामी जस्तो जीवनभर यसको औषधी खानुपर्दैन र उपचार गर्दा निको हुन्छ । सरकारले पनि केही औषधी र स्रोत साधनमा सहुलियत दिएको छ । यसैलाई थप गरेर बढाउँदा अझ बिरामीहरूलाई सहज हुन्छ । 

क्यान्सरको उपचारका लागि पुरानो र अब्बल मानिने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अहिले प्रविधिको हिसाबले कुन स्थितिमा छ ? यो अस्पतालले सेवा दिन थालेको अहिले २५ वर्ष भएको छ ।

प्रतिवर्ष हजारौं क्यान्सरका बिरामीहरुको उपचार गर्दै आएको छ । हिजोका दिनहरुमा विषय विशेषज्ञको अभाव थियो भने विभिन्न रोगवका विशेषज्ञ हुनुहुन्छ ।  

एक सय बेडबाट सुरु गरेको अस्पतालमा पहिले बिरामीहरूले बेड नपाउने अवस्था हुन्थ्यो भने ५ सय बेडमा स्तरोन्नति भएको छ । बिरामीलाई बेड पुगिरहेको छैन । त्यस्तै हिजो नभएका प्रविधिहरू रेडियो थेरापी, किमोथेरापी लगायत अप्रेसनको क्षेत्रमा पनि नयाँ नयाँ प्रविधिहरू आएका छन् । ती सबै खाले सेवा सुविधा यस क्यान्सर अस्पतालले दिने गरेको छ । 

तर पनि यो सरकारी अस्पताल भएका नाताले जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन । अहिलेको बिरामीको चाप हेर्दा ५ सय होइन, एक हजार बेड हुनुपर्थ्‍यो । 

त्यस्तै देशैभरि जनशक्ति एकदमै कम रहेको अवस्थामा थप जनशक्ति उत्पादनका लागि यस अस्पतालले धेरै खालका शैक्षिक कार्यक्रम चलाएको हुनाले यसलाई शैक्षिक संस्थाको रूपमा लिएर देशैभर पुग्नेगरी जनशक्ति उत्पादन गर्न सरकारले नीति र लगानी बढाउनुपर्ने आवश्यकता छ ।  

त्यस्तै नेपाल सरकारले यस अस्पताललाई दिने अनुदान दिनानुदिन घट्दै गइरहेको छ । जस्तै हिजो १ सय बेडको अस्पताल हुँदा राज्यले जति लगानी गर्थ्यो, ५ सय बेडको अस्पताल हुँदा अवस्था उही छ । तर पनि अस्पतालले आफ्नै क्षमताले दत्तचित्त भएर सेवा दिइरहेकै छ । यसरी सरकारी स्वास्थ्य संस्थाहरूलाई राज्यले बेवास्ता गरे यसको फाइदा निजी अस्पतालहरूले लिनेछन् र बिरामी चर्को मूल्यमा उपचार गराउन बाध्य हुनेछन् । 

अहिले पनि निजी अस्पतालहरूभन्दा कम सेवा सुविधा छैन, आवश्यक उपचारका लागि चाहिने सबै प्रविधि र उपकरण छन्, तर चाहिने जति छैन । किनकी यसको दायरा ठूलो भएकाले आवश्यकता अनुसारको सेवा सुविधा थप गर्न सके कुनै पनि बिरामी विदेश जान नपर्ने गरी नेपालमै उपचार गर्न सकिन्छ । 

बोनम्यारो प्रत्यारोपण लगायत केही जटिल खालका उपचारका लागि अहिले पनि भारत लगायत अन्य मुलुक जानुपर्ने अवस्था रहेकाले यस विषयको जनशक्ति र पूर्वाधार नेपालमै उपलब्ध भए त्यो अवस्थाको पनि अन्त्य हुने थियो । 

क्यान्सरको उपचारका क्रममा कपाल झर्ने, छालाको रङमा परिवर्तन आउने जस्ता समस्याहरू देखिन्छन् , त्यसलाई रोक्न सकिने प्रविधि छैन ?

क्यान्सरको उपचारमा किमो चलाउँदा, रेडिएसन थेरापी दिँदा रौँ झर्ने समस्या सामान्य हो । नेपालमा मात्रै होइन विश्वभर यो हुन्छ । तर यसलाई कम गर्न कतिपय नयाँ नयाँ थेरापी प्रयोग गरिँदैछ, जसलाई टार्गेटेड थेरापी भनिन्छ । यसको प्रयोग गर्दा केही कम हुन्छ । 

 यो सबै बिरामीहरूमा उपचार गर्न नमिल्ने र केही महंगा पनि हुने भएकाले सबैको पहुँचमा छैनन् । विकसित देशहरूमा मान्छेहरूको जनचेतना अलि बढी छ । त्यहाँका मानिसहरू आर्थिक रूपमा पनि सबल हुन्छन् जसले गर्दा रौँ झर्दा पनि कृत्रिम रौँहरू राखेर नझरेको जस्तो बनाउन सक्लान् त्यो छुट्टै कुरा हो । तर, क्यान्सरको उपचारमा रौँ नझर्ने गरी गर्ने कुनै प्रविधि छैन । युरोप– अमेरिका जहाँ गर्दा पनि यसको उपचार विधि एउटै हुन्छ । 

 कुन क्यान्सरका बिरामी अहिले धेरै आउने गरेका छन् ?

नेपालमा बालबालिकामा सबैभन्दा धेरै ब्लड क्यान्सरका बिरामी धेरै छन् । बयस्क मान्छेमा फोक्सोको क्यान्सर १ नम्बरमा छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर १ नम्बरमा पर्छ । स्तन क्यान्सर र फोक्सोको क्यान्सर पनि देखिने गरेको छ । त्यस्तै पुरुषहरूमा आन्द्रा र प्रोस्टेट क्यान्सर बढी देखिने गरेको छ । 

विश्वमा महिलाहरूमा स्तन क्यान्सर धेरै देखिने गरेको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर नै अहिलेसम्म धेरै जनामा देखिएको छ । त्यसैले अहिले पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिन लागिएको छ । भविष्यका दिनमा महिलाहरूलाई यो क्यान्सरबाट बचाउनु यसको उद्देश्य हो । 

अहिले खोप लगाउँदा अहिले नै घट्ने त होइन । तर अहिले खोप लगाएका बालिकाहरूको उमेर ३५–४० वर्ष पुग्दा अर्थात् आजभन्दा २० वर्ष पछाडि यो अवस्था अहिलेको भन्दा फरक हुन सक्छ । विश्वभर नै क्यान्सरका बिरामी बढेजस्तै नेपालमा पनि रोग पत्ता लाग्ने र उपचारमा सहजता भएसँगै बिरामीहरू दिनानुदिन बढिरहेको जस्तो देखिएको छ । 

अहिले हामीले खाने तेल चिनी लगायतका खाद्यान्न प्रयोग तथा हरियो सागपात र फलफूलमा हुने विषादीका कारण पनि क्यान्सर बढेको सामाजिक सञ्जालहरूमा धेरैले भनेका छन् । यसमा कति सत्यता छ ? यसबाट बच्न खानपानमा कसरी ध्यान दिनुपर्छ ?

क्यान्सर कुनै पनि एउटा कारणले लाग्ने रोग होइन । धेरै कारणहरूको सम्मिश्रणका कारण हुने हो । फलफूलहरूमा प्रयोग हुने कीटनाशक औषधीहरू र तरकारीमा प्रयोग हुने विषादीहरूका कारणले क्यान्सर हुने जोखिम हुन्छ, भनिन्छ । 

यसबारे धेरै खोज तथा अनुसन्धान भएर पुष्टि पनि भएको छ । यस्ता खानेकुराहरुले क्यान्सर मात्रै नभएर अन्य रोगहरूको जोखिम पनि त्यत्तिकै हुन्छ । त्यसैले यस्ता खानेकुराहरू बजारमा आउनुभन्दा पहिले त्यसमा विषादीको मात्रा कति छ ? खानयोग्य छ, छैन भन्ने जानकारी हुन आवश्यक छ । 

त्यस्तै अन्य कुराहरू लाइट पोलुसन, विकिरणका कारणले पनि शरीरलाई असर गर्दछ भने केमिकल रङरोगन, इनामेल लगायतमा जुन केमिकल प्रयोग हुन्छ, तिनीहरूको कारणले पनि क्यान्सर लाग्छ भन्ने तथ्यहरू छन् । तिनीहरूको प्रयोग गर्दा पनि सावधानी अपनाएर प्रयोग गर्ने गर्नुपर्छ । 

त्यस्तै खानपानमा स्वस्थकर खाना खाने । जस्तै तारेको पोलेको रौँ भएको मासु खाँदा पेटको क्यान्सर हुने सम्भावना धेरै हुने भएकाले त्यस्ता खानेकुराहरू सकेसम्म नखाने ।

फोक्सोको क्यान्सरको प्रमुख कारकका रूपमा रहेको धूम्रपान सेवन, वायु प्रदूषण, धुवाँ धुलोबाट बच्ने । शरीरलाई फाइदा हुने खालका फलफूल, हरियो सागपात खाने । नियमित व्यायाम गर्ने । नियमित स्वास्थ्य जाँच गर्ने लगायतका कुराहरूमा ध्यान दियौँ भने क्यान्सरसँगै अन्य विभिन्न रोगहरुबाट बच्न सकिन्छ । 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : १३ बजे

गण्डकीका वनमन्त्री पौडेललाई पितृशोक

पोखरा– गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाई पितृशोक

पाथीभरा प्रकरणमा कांग्रेस-एमालेबीच मतभेद, दमनमा नउत्रन गृहमन्त्रीलाई चेतावनी

काठमाडौं– ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि

अर्थसंक्षेप : टेलिकम सेवा प्रदायकको पुँजीगत लगानी घट्दै, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं– नाफा खुम्चिँदै गएका कारण टेलिकम सेवा प्रदायकले पुँजीगत लगानी

लागुऔषध कारोबारी भारतीय नागरिक समात्न झापामा प्रहरीले गोली चलायो

झापा- लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको

शेयर बजारमा ‘लो क्याप’ कम्पनीको दिन गएकै हो ?

काठमाडौं – गत साताको अन्तिम कारोबार दिन मङ्गलबार र यो