श्रवण शक्ति नभएकी सुनीता गण्डकी सभाकै कान्छी सांसद, दत्तचित्त भएर काम गर्ने अठोट | Khabarhub Khabarhub

श्रवण शक्ति नभएकी सुनीता गण्डकी सभाकै कान्छी सांसद, दत्तचित्त भएर काम गर्ने अठोट


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

पोखरा– स्याङ्जा चापाकोटकी सुनीता थापाको नाम गएको आमचुनावमा नेपाली कांग्रेसले प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीमा आदिवासी/जनजाति महिलामा म्याग्दीकी विमला गौचनको नाम १ नम्बरमा थियो । त्यसपछि पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ थिए ।

४ नम्बरसम्मका उम्मेदवार निर्वाचित हुँदा पाँचौं नम्बरमा रहेकी थापा मत संख्यामा आधारमा प्रदेश सभामा जान पाइनन् । २ वर्ष ढिला भए पनि उनले यो मौका पाएकी छन् । प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि रिक्त पदमा बन्दसूचीमा रहेका नामबाट नेपाली कांग्रेसले थापाको सिफारिस गर्‍यो । निमोनियाले गालेपछि कात्तिक २८ मा विमलाको निधन भएको थियो । 

निर्वाचन आयोगले मंसिर २५ मा उनी निर्वाचित भएको प्रमाणपत्र दियो । मंसिर ३० मा उनको शपथसँगै गण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको पहिलो पटक प्रतिनिधित्व भएको छ । अर्को संयोग उनी प्रदेश सभाको सबैभन्दा कान्छी सदस्यसमेत बनेकी छन् ।

उनै सुनीताले माघ २१ गते आइतबार सुरु भएको गण्डकी प्रदेश सभाको बैठकमा पहिलो पटक सहभागिता जनाइन् । उनको सहभागितासँगै प्रदेश सभामा फरक दृश्य देखियो । सभामुख आसनको दाहिनेतिर सांकेतिक भाषाका दोभासे थिए । सदनमा सभामुखसहित अन्य प्रदेश सभा सदस्यले राखेका विषयका बारेमा दोभासेले सुनीतालाई बुझाइरहेका थिए । दोभासे रोकिएका बेलामात्र सुनीता दायाँबायाँ हेर्थिन् । सुनीता आएपछि प्रदेश सभाले ज्यालादारी रूपमा दोभासे राखेको छ । 

नियमित तलब दिने व्यवस्था नभएकाले हालका लागि ज्यालादारीमा दोभासे राखिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव प्रेम सुवेदीले बताए । सुनीताले सुविधाबापत पाउने स्वकीय सचिव सांकेतिक भाषा जानेकै व्यक्तिलाई राखेकी छन् ।

अधिवेशनको पहिलो दिन भएकाले प्रदेश सभाको बैठकमा शून्य र विशेष समय राखिएको थिएन । विशेष समय लिएर सदनको पहिलो बैठकमा आफ्नो विचार राख्ने अवसर सुनीतालाई मिलेन । बैठकलगत्तै फेसबुकमा उनले प्रतिक्रिया जनाएकी छन् । भनेकी छन्, ‘२०८१ साल माघ २१ गते, गण्डकी प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकमा पहिलो पटक जनताको प्रतिनिधित्व गर्दै सदन प्रवेश गर्न पाउँदा गर्व सँगै थप जिम्मेवारी थपिएको महसूस भएको छ । 

जनताको विश्वासलाई जिम्मेवारीका साथ वहन गर्दै, विशेष गरी जनजाति, पछाडि परेका वर्ग समुदाय अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र समावेशी नीतिहरूका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु । साथ दिनुहोस्, परिवर्तन सम्भव छ !’ 

अपाङ्गता क्षेत्रमा कार्यक्रम बनाउन पुलको भूमिका निर्वाह गर्ने उनले बताइन् । संविधानमा भएका अधिकार प्रयोग नभएको भन्दै ती अधिकार प्रयोग गर्ने कोसिस गर्ने उनको भनाइ छ । अहिले धेरै बोल्नेभन्दा पनि काम गरेर देखाउने बेला रहेको र सबैको साथ सहयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता थापाले जनाइन् ।

प्रदेश सभा सदस्य विमला गौचनको निधनप्रति उनले दुख व्यक्त गरिन् । ‘विमला दिदीको मृत्युले निकै दुखी छु, त्यो दुखलाई शक्तिमा परिवर्तन गर्ने साहसका लागि उहाँको सपना पूरा गर्ने दायित्व ममाथि आएको छ,’ उनले खबरहबसँग भनिन् । 

प्रदेश सभामा सुनीताको प्रतिनिधित्वले अपाङ्गता भएकाहरूको समुदाय हर्षित मात्र होइन उत्साहित समेत छ । मंसिर ३० मा उनको शपथ हुँदा प्रदेश सभा सचिवालय परिसरमा अपाङ्गता भएकाहरूको सहभागिताले नै उत्साहलाई पुष्टि गरेको थियो । 

शपथ लिँदाका बखत राष्ट्रिय गान पनि सुनीताले सांकेतिक भाषाबाटै गाइन् । सभामुखले शपथको विवरण पढ्दा पनि उनले सांकेतिक भाषाबाटै शपथ लिइन् । शिक्षा संकायमा स्नातक उनलाई पढ्न समस्या छैन । तर पहिचानकै लागि उनले सांकेतिक भाषा प्रयोग गरिन् ।

२०४९ मा स्याङ्जाको चापाकोट ९ सुन्तलीटारमा जन्मिएकी सुनीताले ११ वर्षको हुँदा श्रवणशक्ति गुमाएकी हुन् । ‘६ कक्षा पढ्दै गर्दा टाइफाइड भएपछि त्यसैका कारण मैले श्रवण शक्ति गुमाएकी हुँ,’ उनले भनिन् । २०६५ मा एसएलसी उत्तीर्ण भएपछि पोखराको सिर्जना बहिरा माविमा कक्षा ११ र १२ पढेकी उनले महेन्द्ररत्न क्याम्पस काठमाडौंबाट स्नातक गरेकी छन् ।

नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील उनी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि संघर्षरत छन् । सुनीताले जापानमा क्षमता अभिवृद्धिसम्बन्धी १० महिने तालिमसमेत लिएकी छन् । 

संयुक्त राष्ट्र संघको सहयोगमा विभिन्न देश पुगेर नेतृत्व विकास कार्यक्रममा सहभागी भएकी छन् । उनले स्याङ्जा बहिरा संघ अध्यक्ष, राष्ट्रिय बहिरा महासंघ गण्डकी अध्यक्ष, राष्ट्रिय अपांग महासंग गण्डकी कोषाध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ केन्द्रीय सदस्य भई भूमिका निर्वाह गरिसकेकी छन् ।

उत्साही छ अपाङ्गता भएकाहरूको समुदाय 

सुनीताका शिक्षक एवं सिर्जना बहिरा स्कुलका प्रधानाध्यापक सुनील भण्डारीले सुनीताको सफलतामा सबैभन्दा बढी आफू खुसी भएको बताए । उनले भने ‘सुनीता कान नसुन्ने मात्र हुन्, पढाइ र अरु क्रियाकलापमा जहिल्यै अब्बल छन् ।’

गण्डकी बहिरा संघ अध्यक्ष किसान तामाङले प्रदेशमा पहिलो पटक अपाङ्गता भएको व्यक्तिको प्रतिनिधित्व भएकाले अब अपाङ्गता क्षेत्रको अधिकार, बहिराको आवश्यकताको पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अब सांकेतिक भाषालाई राष्ट्रिय मान्यता र अपाङ्गता भएका व्यक्तिहरूलाई सवारी चालक अनुमति पत्रको व्यवस्थामा पनि सुनीताले पहल गर्नुपर्ने भनाइ राखे ।

राष्ट्रिय अपांग महासंघकी आशा गुरुङ श्रवण शक्ति नभएको, जनजाति महिलाको प्रदेश सभामा पहिलो पटक प्रतिनिधित्व हुनुले धेरै महत्त्व राख्ने बताउँछिन् । अब यस समुदायका व्यक्तिहरूको आवाज प्रदेश सभामा उठ्ने र यस क्षेत्रको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने उनको अपेक्षा छ ।

दृष्टिविहीन शिक्षक श्रीकान्त सापकोटाले अपाङ्गता भएकाहरूले भाग्दै आएका समस्यालाई प्रदेश सभामा आफैँले राख्नु पाउनु ठूलो अवसर भएको बताए । ‘एकातिर भौतिक अवरोध, अर्कोतिर सामाजिक परिवेश लगायतका कारणले हामीले समस्या खेप्दै आएका छौँ, यसको अन्त्यका लागि सबै क्षेत्रमा हाम्रो प्रतिनिधित्व हुनुपर्छ, प्रदेश सभामा पनि त्यो भयो,’ उनले भने ।

राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेश उपाध्यक्ष अञ्जना केसी अपाङ्गता अधिकारका लागि सँगै जुधिरहेको साथी प्रदेश सभामा प्रतिनिधित्व गरेको देख्न पाउँदा निकै खुसी लागेको बताउँछिन् । विभिन्न संरचनामा अपाङ्गता भएकाहरूको सहभागिता नभएकै कारण उनीहरूका मुद्दा पछाडि परेको उनको भनाइ छ ।

‘शिक्षा, स्वास्थ्य, रोजगारमा समान सहभागिता र भौतिक संरचना परिवर्तन र १० प्रकारको अपांगता भएका व्यक्तिको समस्याको कसरी हामीले समाधान गर्न सकिन्छ भन्ने आवाज उठ्नेमा हामी विश्वस्त छौँ,’ उनले भनिन् ।

स्वावलम्बन जीवन पद्धति नेपाल अध्यक्ष हेम गुरुङ राजनीतिक समावेशीकरणको व्यवस्था अनुसार प्रदेश सभामा अपांगताका भएकाहरूको तर्फबाट प्रतिनिधित्व हुनु आफैँमा गौरवको विषय रहेको बताउँछन् । ‘यो हाम्रो इतिहासकै सुन्दर क्षण हो, यसलाई हामीले गौरवका साथ हेरेका छौँ, राष्ट्र निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूले पनि भूमिका निर्वाह गर्न सक्छन् भन्ने यसले देखाएको छ,’ उनले भने ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : ५१ बजे

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरणको काम सकियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

पर्सा – जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६

अफ्रिकाबाट दुई करोड ७५ लाख मानिस विस्थापित

एजेन्सी – सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित

हिमालय होटलमा १२ घण्टा ! न सरकार पछि हट्यो, न आन्दोलन रोकियो

काठमाडौं– पूर्वी नेपालतिर एउटा आहान छ, ‘इयाँली–बियाँली दिन गुमाई, जूनेली

आजका समाचार : आए बेलायती राजकुमार, कांग्रेसले सभापतिहरूलाई पढाउँदै र फेरि मारिए इजरायली सैनिक

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका