काठमाडौं– ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि केपी शर्मा ओली नेतृत्वको सरकारले गोली चलाएको भन्दै कोशी प्रदेशका कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसका कोशी प्रदेशअन्तर्गत १४ जिल्लाका सभापतिहरुले मंगलबार बिहान गृहमन्त्री रमेश लेखकलाई भेटेर आन्दोलनकारीमाथि दमन नगर्न चेतावनी दिएका हुन् ।
‘सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । तर, प्रधानमन्त्रीबाट निर्देशन आयो भन्दैमा सुरक्षा निकायको जिम्मेवारी सम्हालेको कांग्रेस नेतृत्वबाट जनतालाई गोली ठोक्न मिल्छ ?’ गृहमन्त्रीमाथि कांग्रेस नेताहरुले प्रश्न उठाए ।
गृहमन्त्रीसँगको भेटमा सहभागी एक नेताले खबरहबसँग भने, ‘हाम्रो चासो गोली चलाएर समस्या समाधान हुँदैन भन्ने हो । एमालेका साथीहरु पेलेर अघि बढ्ने पक्षमा हुनुहुन्छ, तर सरकारले दमन गरिरहने हो भने हामी कांग्रेसका नेता–कार्यकर्ता पनि आन्दोलनमा उत्रनुपर्ने स्थिति आउन सक्छ भनेर हामीले गृहमन्त्रीज्यूलाई जानकारी गराएका छौं ।’
भेटका क्रममा कांग्रेसका अधिकांश नेताहरु गृहमन्त्रीसँग आक्रोशित रुपमा प्रस्तुत भएका थिए । धार्मिक आस्था र स्थानीयबासीको भावनामा चोट पुर्याएर राज्यले बलजफ्ती गर्न नमिल्ने भन्दै उनीहरुले सरकारको भूमिकाको विरोध गरे ।
गृहमन्त्री लेखकले भर्खरै सरकारी वार्ता टोली गठन भएको र त्यसले ल्याउने निचोडका आधारमा अघि बढ्ने जवाफ दिएका थिए।
कांग्रेस, एमालेकै कार्यकर्ता आन्दोलनमा
मंगलबार बिहान गृहमन्त्री लेखकसँगको भेटमा कतिपय कांग्रेस नेताहरुले केबलकार विरोधी आन्दोलनमा नेपाली कांग्रेस र एमालेका कार्यकर्तासमेत सक्रिय भएर लागेको रिपोर्टिङ गरे ।
भेटमा एक नेताले गृहमन्त्रीलाई भने,‘किरात याक्थुङ चुम्लुङ र किरात धर्म साहित्य उत्थान संघको ब्यानरमा आन्दोलन भइरहेको छ । यी संस्थाहरु कांग्रेस, एमाले सबैका साझा संस्था हुन् । र, यसको अर्थ हो केबलकार विरोधी आन्दोलनमा सत्तापक्षका कांग्रेस–एमाले कार्यकर्ता पनि संलग्न छन् । सरकारले यो कुरा बुझोस् ।’
डीपीआरमा गडबडी गरेको रिपोर्टिङ
गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरुले केबलकारको डीपीआरमा चन्द्र ढकालले गडबडी गरेको भन्दै छानविन गर्न मागसमेत गरे ।
भेटपछि एक नेताले खबरहबसँग भने, ‘कांग्रेसका प्रदेश सभापति उद्धव थापासँग चन्द्र ढकालले पटक–पटक छलफल गरेका थिए । लिम्बू समुदायको आस्थाको केन्द्र रहेको कान्छीथानकै माथिबाट केबलकार लैजाने पुरानो डीपीआर सच्याउने भनिएको थियो, तर अहिले पुरानै डीपीआरमा काम अगाडि बढाइएको सुनिँदैछ, यसबारे गृहमन्त्रीज्युले छानविन गर्नुपर्यो ।’
जग्गामा पनि चलखेल भएको गुनासो
छलफलमा कांग्रेस नेताहरुले डीपीआरका साथै जग्गाको गडबडीबारे पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए । छलफलमा कांग्रेसका एक जिल्ला नेताले गृहमन्त्रीसँग भने,‘८० लाख पनि नपरेको जग्गालाई ८० करोड मूल्य बनाएर सेयरमा चलखेल गर्न खोजिएको छ, यसको पनि छानविन होस् ।’
सरकारले पाथीभराको ३१६ रोपनी जमिन यती समूहलाई सित्तैमा प्रयोग गर्न दिने भनेको थियो । पहिले यतीले लिएको सोही परियोजनामा चन्द्र ढकालले हात हालेका हुन् ।
प्रतिक्रिया