गाउँले गएनन् मलामी, २४ घण्टापछि ट्याक्टरमा लगियो प्रकाशकी आमाको शव « Khabarhub

गाउँले गएनन् मलामी, २४ घण्टापछि ट्याक्टरमा लगियो प्रकाशकी आमाको शव


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

धनगढी- बैतडीका प्रकाश दमाईकी आमाको शव २४ घण्टापछि घाट लगिएको छ । मलामी नपाएर घरको आँगनमै राखिएको शव २४ घण्टापछि ट्याक्टरमा राखेर पाटन नगरपालिका–६ सुर्नयागाडमा रहेको तिपडा घाट पुर्‍याइएको हो ।

बैतडीको सिगास गाउँपालिका–१ का प्रकाश दमाईकी आमा माना दमाइको शनिवार ६१ वर्षको उमेरमा मृत्यु भएको थियो । छिमेकी कसैले पनि मलामी जान नमानेपछि ट्याक्टर प्रयोग गरेर सीमित आफन्तले शवको दाहसंस्कार गरेका हुन् ।

प्रकाश गाउँमा रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । तर उनलाई छिमेकी कसैले पत्याएनन् । तराईबाट आएका आफन्तहित दुईजना गैरदलित समुदायका गरी १८ जना शवयात्रामा सहभागी भए ।

करिब तीन सयजनाको बसोबास रहेको सिगास–१ अङडेगाडा गाउँमा प्रकाशको परिवार दमाई समुदायको एक्लो हो ।

उनकी ६१ वर्षीया आमा मानाको शव बोक्न कोही स्थानीय नमानेपछि झन्डै अढाई सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र पाटन– ६ बाट आफन्त आएपछि दाहसंस्कारका लागि लगिएको हो । त्यसअघि छिमेकी कसैले पनि मलामी जान मानेनन् ।

आइतबार बिहान ११ बजे शवयात्रा सुरु सहभागी स्थानीय नरबहादुर साउदले बताए । छिमेकी डडेल्धुराबाट आफन्तको घरमा आएका साउदले शनिबार प्रकाशको घरमा पुगेर राति पनि सघाएका थिए । आइतबार बिहान शवयात्रामा सहभागी भएका उनले गैरदलित समुदायबाट दुईजना मात्र मसानघाट पुगेको जानकारी दिए ।

सिगास–१ स्थित घरभन्दा आधा घण्टानजिक डुब्के घाट रहे पनि आमाको मरणोपरान्त इच्छाअनुसार शवलाई करिब ५० किलोमिटर टाढाको पुर्ख्यौली घाट पाटनमा दाहसंस्कार गरिएको प्रकाशले बताए ।

सिगासनजिकका जिप तथा ट्याक्टर व्यवसायीले समेत शव बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर उठाइएको हो ।

सिगास–१ का वडासदस्य धनीराम भट्ट राति १२ बजेसम्म प्रकाशकै घरमा शव कुरेर बसे । तीबाहेक कसैले पनि सहानुभूति दिएनन् ।

दलित भएकै कारण प्रकाशकी आमाको शव २४ घण्टासम्म घरमै राख्नु परेको हो । छिमेकीले सामाजिक मर्यादा र मानवताको धर्मसमेत निर्वाह गर्न नसकेपछि चौतर्फी आलोचना भइरहेको छ ।

केही सामाजिक मान्यताका कारण शनिबार शव उठ्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले स्वीकार गरेका छन् । ऐरीका अनुसार स्थानीयले नै शवयात्राका लागि केही रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : १५ बजे

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका