काठमाडौं- ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३ करोड ७९ लाखमा निर्मित उदयपुर जिल्लास्थित जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन उद्घाटन गरिएको छ ।
प्रतिनिधि सभाका सांसद डा. नारायण खड्का, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव र उदयपुरस्थित बेलका नगरपालिकाका मेयर अशोक कार्कीले भवनको संयुक्त उद्घाटन गरे। उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरू उपस्थित थिए ।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाको निर्माणमा प्रयोग गरिएको थियो ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र उदयपुरको बेलका नगरपालिकामार्फत् कार्यान्वयन गरिएको थियो ।

जनता बेलका माध्यमिक विद्यालय बेलका नगरपालिकाको पुरन्दहमा रहेको एक मात्रै माध्यमिक विद्यालय हो । यो सन् १९६२ मा प्राथमिक विद्यालयका रूपमा स्थापित भएको थियो ।
सन् १९७६ मा निम्न माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति गरिएको थियो । सन् २००८ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा लगभग ५०० विद्यार्थीहरू रहेका छन्, जसमध्ये ५५ प्रतिशत छात्राहरू छन् ।
काठमाडौंस्थित भारतीय दूतावासका नियोग उप-प्रमुख श्री प्रसन्न श्रीवास्तवले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गतको जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण कसरी भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीको उत्कृष्ट उदाहरण हो भने ।
उनले वर्षौंदेखि रहिआएको यस साझेदारीको वृद्धि, विस्तार र विविधिकरणमा खुशी व्यक्त गरे । उनले नेपाल सरकारको प्राथमिकतामा आधारित यो साझेदारीलाई थप सुदृढ पार्न भारत सरकारको प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिनिधि सभाका माननीय संसद सदस्य, उदयपुरस्थित बेलका नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको लागि भारत सरकारले गरेको विकास सहयोगको प्रशंसा गरे ।
उनीहरूले निर्माण गरिएको पूर्वाधारले उदयपुरको श्री जनता बेलका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।
यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्नुका साथै नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन पनि मद्दत गर्नेछ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको भारतीय दूतावासले जनाएको छ ।
प्रतिक्रिया