लेखकलाई किन लाग्यो डलरमा कलम बेचेको आक्षेप ? | Khabarhub Khabarhub

लेखकलाई किन लाग्यो डलरमा कलम बेचेको आक्षेप ?

प्रमाण पेश गर्न चुनौती



काठमाडौं– चुस्सदारी, खुम्चेको लबेदा सुरुवाल, गफाडी, चिया र सुराको ग्राहक खोज्न तल्लीन आकृति कल्पना गर्दा जुन स्वरूप बन्छ, कुनै समय त्यसैलाई लेखकको उपमा भिराउने नेपाली समाजको मनोविज्ञान थियो । त्यो समयमा आकाश पातालको अन्तर आइसकेको छ । अहिले कलाकारकै हाराहारीमा कविको कविता टिकटमा सुनिन थालेका छन् । 

लेखकका आख्यानहरू हजारौँ कपी बिक्न थालेका छन् । नेपालीको डायस्पोराले विश्वमा आयतन बढाएसँगै लेखकहरू व्यावसायिक बाटोमा हिँडेका छन् । खानाको फास्टफुड कल्चर लेखनमा भित्रिएको छ । लेखकका कृतिहरू डिजिटलाइज हुँदै गएका छन् । सामाजिक सञ्जालमा छाएका छन् । घोस राइटिङ अभूतपूर्व शैलीमा फस्टाएको छ । 

त्यसो त आम मानिसले बुझ्ने भाषा लेखकसँग हुने भएकाले उनीहरू सम्मानित छन् । त्यसकारण लेखकलाई समाजले उच्च दर्जा दिएको छ । तर त्यही तहले लेखकलाई कहिलेकाहीँ समस्यामा पारिदिन्छ । यति बेला नेपालका केही लेखकहरूले त्यही परिस्थितिको सामना गरिरहेका छन् । लेखकको जीवन हुँदैन, लेखकको परिवार हुँदैन, जिम्मेवारी हुँदैन । लेखकले धनार्जन गर्न हुँदैन । लेखकले पैसा छुनै हुँदैन जसरी उनीहरूमाथि हमला भइरहेको छ । 

अमेरिकामा डोनाल्ड ट्रम्पको सरकार आएपछि विश्वभर अमेरिकी सहयोगका परियोजना कटौतीमा परेका छन् । नेपालमा पनि त्यसको प्रभाव परेको छ । एक समूहले अमेरिकाको सहयोग रद्द भएपछि उत्सव मनाउन सुरू गरेको छ । यूएसएडको सहयोग रोकिएर नेपाललाई कति घाटा होला त्यसको बहस छुट्टै गरौँला । तर यति बेला यूएसएडको पैसा खाएर हिन्दु धर्मविरुद्ध लेख्ने भन्दै केही लेखकहरूमाथि प्रहार भइरहेको छ । 

लेखकहरू नारायण वाग्ले, अमर न्यौपाने, खगेन्द्र संग्रौला, सीमा आभास, कनकमणि दीक्षित, कुन्द दीक्षित, कृष्ण धरावासी, युग पाठक, आहुतिसहितलाई विदेशी दाताको पैसा खाएर किताब लेखेको भन्दै सामाजिक सञ्जालमा आलोचना र गालीसहितका टिप्पणी गरिएको छ ।
 
सबैभन्दा धेरै गाली महजोडी अर्थात् कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले खाइरहेका छन् । अमेरिकी डलर खाएर ‘भैँसीको मःम बाहुनले खान्छ’ भन्दै टेलिसिरियलमार्फत् ‘धर्मभ्रष्ट’ गराएको आरोप उनीहरूमाथि लगाएर गालीको बर्षा गरिएको छ ।

त्यस्तै मदन पुरस्कार विजेता कृष्ण धराबासीले जर्मन लगानीको सहयोगमा ‘टुँडाल’ लेखेको आरोप लगाइएको छ । अर्का मदन पुरस्कार विजेता अमर न्यौपानेले पनि डलर खाएरै ‘पानीको घाम’ लेखे भन्ने आरोप सामाजिक सञ्जालभर छरपस्ट छ ।

पत्रकार तथा लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ मा माओवादी द्वन्द्वको विषय देखाइएको छ । जसलाई पश्चिमा पूँजीवादी शक्तिको दबाब र पैसाको प्रभावमा तयार भएको आरोप छ ।  

पत्रकार कनकमणि दीक्षितले लेखेको ‘देखेको मुलुक’ पुस्तकमा बुद्ध जन्मभूमि र सगरमाथाबारे अपव्याख्या गरेको आरोप लगाइएको छ ।

उनले पुस्तकमा अढाई हजार वर्षअघि सिद्धार्थ गौतम जन्मँदा नेपाल राज्य नभएको कारण नेपाललाई बुद्ध जन्मेको देश नभनी ‘जुन ठाउँमा बुद्ध जन्मेका थिए, त्यो कपिलवस्तु क्षेत्र वर्तमान नेपालको भूभागभित्र पर्दछ’, भन्नुपर्ने भनेर उल्लेख गरेका छन् । 

विश्वको सर्वोच्च शिखर सगरमाथाको विषयमा पनि उनले चीनसँग सन् १९६० मा भएको सिमाना सन्धिले हिमालको आधा मात्रै भाग यतातिर पर्न गएको उल्लेख गरेका छन् । वास्तवमा सगरमाथामा दुवै देशको हक लाग्ने भएकै कारण उत्तरी र दक्षिण दुवै मोहडाबाट आरोहण हुने गरेको छ ।

सत्य तथ्य तथा र वास्तविकता बुझ्ने भन्दा सामाजिक सञ्जालमा फैलिएका केही भ्रमणलाई आधार मानेर गालीको वर्षा सुरु भएको छ । लेखक श्रवण मुकारुङ, जीवा लामिछानेलगायतले अनुदान कसले पायो भन्दा पनि त्यो अनुदानबाट के लेखियो ? भन्ने महत्त्वपूर्ण हुने जिकिर गरेका छन् । 

लेखक लामिछानेले लेखेका छन् – अनुदान (ग्रान्ट) लेखनलाई संसारभर नै सामान्य अभ्यास मानिन्छ । वास्तविक बहस अनुदान कसले पायो भन्ने होइन, त्यसबाट लेखिएका कृति कस्ता छन् भन्नेमा केन्द्रित हुनुपर्छ । यदि कुनै पुस्तकले महत्त्वपूर्ण विषय उजागर गरेको छ । साहित्यिक संस्कृतिलाई समृद्ध बनाएको छ भने लेखकले कसरी वित्तीय सहायता प्राप्त गर्‍यो भन्ने विषय गौण हुनुपर्छ । अन्तर्राष्ट्रियस्तरमा नोबेल र पुलित्जर पुरस्कार विजेताले पनि अनुदान पाएर महत्त्वपूर्ण कृतिहरू लेखेका छन् । अनुदानले सृजनशीलता, अनुसन्धान र बौद्धिक उन्नतिमा टेवा पुर्‍याउँछ । व्यक्तिगत पूर्वाग्रह भरिएका बहसले कसैलाई फाइदा पुर्‍याउँदैन । रचनात्मक आलोचना हुनुपर्छ, तर घृणायुक्त बहसले समाज भाँड्ने र सिर्जनशीलतालाई हानी पुर्‍याउँछ ।

अदालतमा जानुस् : कृष्ण धराबासी

चर्चित साहित्यकार कृष्ण धराबासीले डलर खाएको प्रमाण बोकेर अदालतमा जान चुनौती सञ्जालमा प्रश्न उठाउनेहरूलाई दिएका छन् । फेसबुक लाइभमा बसेर उनले यूएसएडको पैसा खाएको सबुत छ ? भनेर सञ्जालका प्रयोगकर्तालाई प्रश्न गरेका छन् । यदि छ भने लेखकहरूलाई अदालतसम्म घिसारेर लैजान उनले अनुरोध गरेका छन् । 

उनले भनेका छन्, ‘लेखकको अनुहारमा गोबर दलिदिएर कसले के जित्छ ? एक कृष्ण धराबासी हुन ६४ वर्ष लागेको छ । एक दिनमा कोही धराबासी बन्दैन । जीवन, घर-गृहस्थ परिवार छोड्नपर्छ । अरूसँग आँखा जुधाएर बोल्न सक्ने मान्छे मात्रै लेखक बन्न सक्छ । 

तपाईंहरूको मोबाइल भक्तपुरमा बनेको कि विदेशमा ? 

‘हामीले यही देशको दुःख पीडा, यही देशको समस्या, गरिबका संघर्षका कथा लेखेको होइन ? ट्रोल बनाउनुअघि सम्बन्धित व्यक्तिसँग पनि सोध्न आवश्यक छ । कहाँनिर निहुँ पाउँछु र हतियार घुसाउँछु भनेर तिखारेर बसेका छन् । मैले हिजो जेजे पुर्‍याइदिएको थिएँ, त्यो दिन दाजु भएँ । आज एकाएक खलनायक भएँ ?’ उनले प्रश्न गरेका छन् ।

कम्तीमा लेखकहरूलाई तैँले कति हण्डी खाइस् ? भनेर प्रश्न सोध्ने नैतिकता अरुसँग नभएको धराबासीको टिप्पणी छ । ‘पाँच हजार किताब बजारमा छ, दश हजारको गाली आयो । गालीअनुसार किताब २० हजार बेचिनुपर्ने हो । किताब पढेर आलोचना गरेकोभन्दा हौवाका भरमा आलोचना गरिरहेका छन्’, उनले भने । 

उनले लेखक भनेको व्यक्ति, परिवारभन्दा माथि सामाजिक मानिस हुने जिकिर गर्दै समाजले उठाएको जवाफ दिनुपर्ने दायित्वअन्तर्गत आफूले बोलेको स्पष्ट पारेका छन् । 

गर्वको साटो गाली : अमर न्यौपाने

अध्ययनका लागि संसार नै विश्वविद्यालय हो । त्यसैले अध्ययन गर्न चाहने प्रतिभावनका लागि देशविदेशमा अनेक छात्रवृत्ति व्यवस्था गरिएको हुन्छ । वि.सं. २०६५ मा जर्मनीबाट तत्कालीन जिटिजेडमार्फत् ‘टाउन राइटर रेजिडेन्स प्रोग्राम’मा  कृष्ण धरावासी, भीष्म उप्रेती, सीमा आभास, प्रकाश आङ्दम्बे र म चुनियौँ । हामी लेख्नका लागि विषय, विधा र सम्पूर्ण तरिकाले स्वतन्त्र थियौँ । 

धेरैले किताब मन पराउनुभयो । पानीको घाम (२०६६)ले पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित भयो । यसप्रकारका लेखनवृत्ति देशविदेशमा सञ्चालन भइरहनु पर्छ । यो संसारभरको अभ्यास हो । विकासका लागि पनि अनुदान (ग्रान्ट) आउँछन् । चीनको अनुदानमा अहिलेको हाम्रो संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृह) नै बनेको छ । 

के अब हामी अनुदानमा बनेको भनेर त्यस भवनमा संसद् नै नचलाउने ? अनुदानमा बनेका ती सडकहरूमा नहिँड्ने ? उक्त अनुदानमा लेखका किताबहरू पढ्नुहोस् र तिनकाबारे समीक्षा गर्नुहोस् । गर्व गर्नुपर्ने कुरामा गाली गर्ने संस्कारले हामीमा घृणा र उपेक्षा भाव मात्र जन्माउँछ । 

हरेक अक्षरको जवाफ छ : सीमा आभास 

पहिला कृतिहरू पढ्नुस् । हामीले गलत केके गरेका छौँ  ? तिनका प्रमाण सार्वजनिक गर्नुस् । यो कानुनी राज्य हो ।

कानुनविपरित कुनै पनि क्रियाकलाप हामीबाट भएको छ भने प्रमाणसहित आउनुस् । नत्र खुल्लम् खुल्ला हामीलाई मानमर्दन गरेको मूल्य कसरी चुकाउनुहुन्छ ? हामीलाई बिनाप्रमाणका गालीगलौज गर्ने तपाईं स्वयम् कस्तो हो ? 

एउटा जिम्मेवार लेखकसँग आफ्ना सिर्जनाको प्राण गाँसिएको हुन्छ । अक्षर-अक्षरसँग जबाफदेही र उत्तरदायी भएको हुन्छ । गलत लेख्यो भने चीरकालसम्म त्यसको असर पर्छ भनेर जानेको हुन्छ । कति कति हरफहरू त मुटुले लेखेको हुन्छ । देश, समाज, धर्म, कला, संस्कृति, आचरण लेखेको हुन्छ । यसभित्रका विकृतिलाई प्रहार गरेको हुन्छ । 

एउटा स्वाभिमानी लेखकलाई कसैका स्वार्थको गान वा भक्ति र  भजन लेख्न उसका अहमले दिँदैन । कसैले निर्दिष्ट गरेको सिद्धान्त वा कसैको इच्छामुताविक चल्न नसक्ने भएरै लेखक निर्भीक बन्ने हो । यो देशको भाषा, धर्म, संस्कृति, परम्पराको चिन्ता सबैलाई भएजस्तै लेखकलाई पनि हुन्छ ।

खबरहबसँग कुरा गदै आभासले आफ्नो पुस्तकमा राष्ट्रिय अखण्डतामाथि आँच आउने र सनातन धर्ममाथिको प्रहार देखाउन आग्रह गरेकी छन् । उनले भनिन्, ‘किताब पुनः प्रकाशन हुँदैछ । पढेर प्रतिक्रिया दिनुहोला । लेख्ने कुरा लुकाउने विषय होइन । धेरै पाठकसम्म पुगोस् भन्ने हुन्छ । अरूले भनेको सुनेर हल्लाका भरमा गाली गर्न सुहाउँदैन । सनातनीको संरक्षक भन्नेहरूले प्रयोग गर्ने शब्द त्यस्तो हुँदैन । म आफैँ सनातनी हो ।’ 

‘जर्मनीको प्रत्येक शहरमा हरेक वर्षको टाउन राइटर्स भनेर फेलो दिन्छ । खुला प्रतिस्पर्धाबाट लेखक छानेर किताब लेखन लगाउँछ । विषयवस्तुमा लेखक स्वतन्त्र हुन्छ । त्यहाँको एक कविले लेखेको ‘यो शहर कस्को हो ? भन्ने कविता नेपालमा करिब सयभन्दा कविलाई बोलाएर देखाइएको थियो’, उनले थपिन्, ‘तपाईंहरू पनि आफ्नो शहरको कविता लेख्नुस् भन्यो । सबैले आफ्नो शहरको कविता लेखेर प्रस्ताव हाल्न लगाए । त्यसमा म छानिएँ तर विधा र विषय आफैँ रोज्न पाइन्थ्यो । त्यसकारण छोटो समयमा कथा लेखे । कथा लेख्ने सल्लाह कृष्ण धरावासीले दिनुभएको थियो ।’

फेलोसिपको अभ्यास नेपालमा पहिलो पटक भएर आश्चर्य लागेको बताउँदै आभासले नेपाली लेखक सम्राट् उपाध्याय र मञ्जुश्री थापाहरूले ग्राण्ड फेलोसिप पाएर लेखेको स्मरणसमेत गराएकी छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : १९ बजे

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार

कटारी गोल्डकप : धरानलाई हराउँदै काठमाडाैं फाइनल प्रवेश

कटारी – ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल

रुसद्वारा पूर्वी युक्रेनमा हमला, ५ जनाको मृत्यु

किएभ – किएभ नजिकै ड्रोन आक्रमणको केही घन्टापछि देशको पूर्वमा