भोजपुर– सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनर्निर्माण थालिएको छ ।
पदमार्गको स्वीस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा एक करोड रुपैयाँको लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनर्निर्माणको काम थालिएको हो ।
पदमार्ग निर्माणका विषयमा जानकारी गराउने उद्देश्यले पदमार्ग बनिरहेको हाँस पोखरीमा सार्वजनिक सुनुवाइसमेत गरिएको छ । सार्वजनिक सुनुवाइमार्फत योजनाको लागत, योजना सञ्चालन पद्धती, योजना सञ्चालन हुने क्षेत्र र पदमार्ग निर्माण अवधिलगायतको विषयमा सरोकारवाला पक्षलाई जानकारी दिइएको हो ।
यो पदमार्गलाई थप व्यवस्थित बनाउनका लागि पहिलो चरणमा पाँच दशमलव ४४ किलोमिटर पदमार्ग निर्माण तथा पुनर्निर्माण थालिएको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । पदमार्गसँगै पयर्टकलाई लक्षित गरेर यहाँ तीन वटा सार्वजनिक सौचालय, दुई वटा रात्री विश्राम स्थल, एउटा खानेपानी धारा निर्माण गरिने उनको भनाइ छ ।
पदमार्गको निर्माण तथा पुनर्निर्माणको लागि स्वीस सरकारको ५१ प्रतिशत, गाउँपालिकाको २२ प्रतिशत, केन्द्र सरकारको ५ प्रतिशत र प्रदेश सरकारको २२ प्रतिशत लागत साझेदारी रहेको प्रशासकीय अधिकृत दाहालले जानकारी दिए ।
मुन्दुम पदमार्ग गाउँपालिकाको गौरवको आयोजना रहेकोले यसको थप विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।
गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकता राखेर यहाँका स्थानीयको समृद्धिको आधार तयार गर्ने लक्ष्यका साथ पदमार्ग विस्तार तथा विकासको काम गरिरहेको उपाध्यक्ष राईले बताइन् । पदमार्गले यहाँको धर्म, सस्कार, सस्कृति रहनसहन, रितिरिवाजको जर्गेनासँगै स्थानीय कृषि उत्पादनलाई पर्यटनसँग जोड्न टेवा पुग्ने उनको भनाइ छ ।
मुन्दुम पदमार्ग एक मात्र राम्रो पदमार्ग रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । सडक विस्तारका कारण पदमार्गलाई असर पुग्ने भएकाले यस्ता क्रियाकलापलाई रोक्न आवश्यक रहेको उनको भनाइ छ ।
बस्नेतले मुन्दुम पदमार्ग नेपाल सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकोले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर विकास तथा विस्तार भइरहेको बताए ।
एक करोड लागतमा भइरहेको पहिलो चरणको काम सम्पन्न भएपश्चात यही आर्थिक वर्षमा सम्पन्न हुने गरी दोश्रो चरणमा ८५ लाख रुपैयाँ बराबरको निर्माणको काम हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत दिगो र नविनतम पर्यटन विकासको अवधारणा अनुसार यहाँ काम भइरहेको परियोजनाकी सामाजिक सुरक्षा अधिकृत पार्वती राणाले बताइन् ।
प्रतिक्रिया