गगन थापाका दुई विकल्प : सभापतिमा लड्ने या उपसभापतिमै सम्झौता गर्ने ? | Khabarhub Khabarhub

गगन थापाका दुई विकल्प : सभापतिमा लड्ने या उपसभापतिमै सम्झौता गर्ने ?


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली शब्दकोष अनुसार ‘उच्च लक्ष्य प्राप्त गर्ने आकांक्षा राख्ने व्यक्ति’लाई महत्वाकांक्षी भनिन्छ । नेपाली राजनीतिमा महत्वाकांक्षी नेतामध्येमा पर्छन्– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । 

महामन्त्री थापाले झन्डै एक दशकअघि घोषणा गरेअनुसार उनी अबको सात वर्षमात्रै सक्रिय राजनीतिमा देखिने छन् । किनभने, उनले ०७२ सालमै ५५ वर्षको उमेरसम्म मात्रै सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेका थिए । महामन्त्री थापा अहिले ४८ वर्षका भए । 

अबको सात वर्षभित्र अर्थात् २०८८ सम्म महामन्त्री थापाले साढे सात दशक लामो विरासत बोकेको कांग्रेसको नेतृत्वमा पुग्दै मुलुकको शासन सत्ता सञ्चालनको महत्वाकांक्षा पूरा गरिसक्नुपर्ने छ । 

३१ वर्षको उमेरमै पहिलो संविधानसभा निर्वाचन (२०६४) बाट समानुपातिक सांसद भएका महामन्त्री थापाले सक्रिय राजनीतिबाट बाहिरनुअगावै प्रधानमन्त्री बन्ने महत्वाकांक्षा राखेका छन् । 

‘प्रयोग’को राजनीतिमा माहिर मानिने थापालाई आफैँले तयार गरेको ‘रोडम्याप’अनुसार महत्वाकांक्षी लक्ष्य प्राप्तिको बाटो चर्चामा आएजस्तो सहज भने छैन । तथापि, उनले कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । 

महामन्त्री थापाले उम्मेदवारीको विषयमा सार्वजनिक रूपमा मुखै खोलिनसके पनि कांग्रेस नेताहरूको भनाइ र थापा स्वयंको सक्रियताले उनी सभापतिको दौडका लागि तयारीमा लागिसकेको देखाउँछ । 

‘गगनजी उम्मेदवार स्पष्ट हो । सबै साथीभाइलाई उहाँले भन्नुभएको छ,’ महामन्त्री निकट प्रतिनिधि सभा सदस्यसमेत रहेकी केन्द्रीय सदस्य प्रतिमा गौतम भन्छिन्, ‘उहाँलाई सबैतिरबाट पार्टीका साथीभाइ, महाधिवेशन प्रतिनिधिहरूले पनि चुनाव लड्नका लागि दबाब पनि दिइरहनुभएको छ । उहाँले राम्रो ढंगले भित्री तयारी गर्नुभएको छ ।’

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पनि आगामी महाधिवेशनमा महामन्त्री थापा सभापतिको उम्मेदवार बन्नुपर्ने सुझाव जिल्ला–जिल्लाका नेता–कार्यकर्ताबाट आइरहेको बताउँछन् । नेता–कार्यकर्ताको सल्लाह–सुझावले थापा सभापतिमा उम्मेदवार बन्ने विषयमा बल पुगिरहेको उनको भनाइ छ । 

‘पार्टी अरूभन्दा अब्बल बनोस्, अब्बल पार्टीको नेतृत्व राम्रा मान्छेले गरुन् भन्ने चाहना राख्नेबाट गगन थापा चुनावमा उठ्नुपर्छ भन्ने रेस्पोन्स पाउनुभएको सुनेका छौँ,’ सिवाकोटीले खबरहबसँग भने, ‘यी सबै कुराबारे उहाँ समीक्षामै हुनुहुन्छ । समीक्षा क्रमको तयारी हेर्दा र तलबाट आइरहेको फिडब्याकले सभापतिमा उठ्ने कुरालाई बल पुर्‍याइरहेको छ ।’

कांग्रेसका युवा नेता शंकर तिवारी पनि आम–कार्यकर्ताहरूबाट सभापतिमा उठ्नै पर्ने दबाब आइरहेको बताउँछन् ।

‘गगन थापालाई १४औँ महाधिवेशनमा महामन्त्री भएर सभापति हुने कि सभापति हारेर सभापतिको सौदा गर्ने भन्ने थियो,’ तिवारीले खबरहबसँग भने, ‘उहाँ महामन्त्री भएर सभापति बन्दै हुनुहुन्छ । उहाँलाई शुभेच्छुक कार्यकर्ताहरूबाट सभापति छोड्नु हुन्न भन्ने दबाब तीव्र देखिन्छ ।’   

कांग्रेसको १२औँ महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका थापा १५औँ महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्ने जोडबलमा देखिन्छन् । त्यसका लागि १४औँ महाधिवेशनमा पार्टीको महामन्त्री बनाएको इतर (कोइराला–गगन) समूह सग्लो राख्नुपर्ने थापासामु चुनौती छ । 

तर, अघिल्लो महाधिवेशनमा ‘एक पटक, यसै पटक’को नारा बोकेर सभापतिका लागि प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले फेरि पनि आकाङ्क्षा राखेर सभापतिको तयारीमा लागि सकेका छन् । जसका कारण इतर समूह आगामी महाधिवेशनमा सग्लो नरहने विश्लेषण कांग्रेसमा हुने गरेको छ । 

१४औँमा सभापतिका लागि प्रतिस्पर्धा गरेका कोइरालालाई फेरि उम्मेदवार बनाएर महामन्त्री थापा आफू उपसभापतिको उम्मेदवार बने मात्रै इतर समूह सग्लो रहने देखिन्छ । तर, इतर समूहकै नेताहरू साबिकको समूह एक ढिक्का नरहने बताउँछन् । 

‘आजको दिनसम्म शेखर दाइले सभापतिको उम्मेदवार हुन्छु भनेर घोषणा गरिसक्नुभएको छ । गगनजीले पनि उम्मेदवारीका लागि तयारी गरिरहनुभएको छ,’ इतर समूहबाट केन्द्रीय सदस्य बनेकी नेतृ प्रतिमा गौतम भन्छिन्, ‘दुवै जना उम्मेदवार हुने सम्भावना देख्छु । दुवै जना तीव्र गतिमा तयारीका लागि हिँडिरहनुभएको छ ।’

केन्द्रीय सदस्य सिवाकोटी पनि १४औँमा देखिएको समूह १५औँमा सग्लो नरहन पनि सक्ने बताउँछन् । 

‘१५औँ महाधिवेशनमा पुग्दै गर्दा १४औँको समीकरण जस्ताको त्यस्तै नरहन सक्छ,’ उनले भने, ‘नयाँ ढंगले एकीकृत हुन सक्छन् । नयाँ–नयाँ उम्मेदवारको ध्रुवमा मानिसहरू जोडिन सक्छन् । ध्रुवीकरण भइरहन्छ । १४औँ महाधिवेशनको समीकरण हुबहु हुन्छ भन्ने मलाई लाग्दैन ।’   

थापाले १३औँ महाधिवेशनको पूर्वसन्ध्यामा आफू निकटहरूसँग सघन छलफल गरेका थिए । तत्कालीन समयमा उनी महामन्त्रीमा उम्मेदवारी दिएर पराजित हुने कि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर निर्वाचित हुने भन्नेबारे दोधारमा देखिन्थे । 

सहयोगी र शुभचिन्तकहरूसँगको सघन छलफलहरूपछि थापाले महामन्त्रीमा उम्मेदवारी दिने, आफू अनुकूल परिणाम नआए पनि आगामी महाधिवेशनका लागि माहोल तयार गर्ने स्वनिर्णय गरे ।  केन्द्रीय सदस्य मात्रै हुँदा राजनीतिक दौडमा धेरै ढिलो हुन्छ भन्ने थापाको निष्कर्ष थियो । जसका कारण उनी १३औँ महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीको उम्मेदवार बने । 

थापा आफ्नै ससुरा अर्जुननरसिंह केसी र बीपीपुत्र डा. शशांक कोइरालासँग महामन्त्रीका लागि चुनावी प्रतिस्पर्धामा उत्रिए । उनी आफ्नो उम्मेदवारीका लागि यतिसम्म प्रतिबद्ध थिए कि आफ्नै ससुरालाई पनि समर्थन गरेनन् । थापा ‘हार्ने चुनाव’ लडे । 

थापाले १३औँ महाधिवेशनमा दिएको उम्मेदवारी र महत्वकाङ्क्षाको प्रतिफल १४औँ महाधिवेशनमा चाख्न पाए । महामन्त्रीका लागि प्रतिस्पर्धामा उत्रिएका अन्य आकांक्षीलाई पछि पार्दै तीन हजार २३ मतका साथ शानदार जित दर्ज गर्न पुगे ।

महामन्त्री थापा सामु अहिले त्यही १३औँ महाधिवेशनको जस्तो सकसपूर्ण परिस्थिति सिर्जना भएको छ । सभापतिमा कोइरालालाई सघाएर उपसभापतिमा उम्मेदवारी दिने कि सभापतिमा उठेर नेतृत्वमा पुग्ने अथवा १६औँका लागि माहोल बनाउने।  

पार्टीको १५औँ महाधिवेशनको तयारी चल्दै गर्दा महामन्त्री थापा अहिले १३औँ महाधिवेशनको पूर्वसन्ध्यामा जस्तै दोधारमा छन् । तर, आफ्नै ससुरासँग प्रतिस्पर्धामा उत्रिएको विगत हेर्दा थापा आसन्न महाधिवेशनमा कोइरालासँग चुनावी प्रतिस्पर्धा गर्न सक्छन्।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिमा होमिएका थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए । २०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बनेका थापा २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष भएका थिए । 

कांग्रेस महामन्त्री थापा विद्यार्थी जीवनमा नेविसंघको उपाध्यक्षपछि महामन्त्री बनेका थिए । उनले २०५९–२०६१ सम्म महामन्त्रीका रूपमा नेविसंघ हाँकेका थिए ।

पूर्वराजा राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धका आन्दोलनहरूमा आक्रामक भाषण गरेर चर्चामा आएका थापा कांग्रेसको १२औं महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएका थिए । 

पार्टीको १३औँ महाधिवेशनमा पूर्वमहामन्त्री सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर थापा तेस्रो भएका थिए । सोही महाधिवेशनबाट पहिलोपटक पार्टीको नेतृत्वमा पुगेका शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । 

राजनीतिले नातागोता चिन्दैन भनेजस्तै त्यसबेला थापाले आफ्नै ससुरा अर्जुननरसिंह केसीसँगै प्रतिस्पर्धा गरेका थिए ।

महामन्त्री थापा पहिलो संविधान सभादेखि हालसम्म लगातार संसदीय भूमिकामा छन् । पहिलो संविधान सभा (२०६४)मा समानुपातिक प्रणालीबाट सदस्य बनेका थापा दोस्रो संविधान सभा (२०७०) निर्वाचनमा काठमाडौं– ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । 

दोस्रो संविधान सभा निर्वाचनमा विजयी थापाले २०७१ संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए।

उनी २०७३ मा स्वास्थ्य मन्त्री बनेका थिए । कांग्रेस महामन्त्री थापा २०७४ र २०७९ सालको निर्वाचनमा पनि काठमाडौं–४ बाट नै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

गगन थापाले राजनीतिमा अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । तर, महामन्त्री र संसदीय दलको नेतामा एक–एकपटक पराजीत बनेको उनीसँग इतिहास छ । तथापि पहिलोचोटि उनी पार्टीको महामन्त्रीमा जीतका लागि भन्दा पनि प्रचारका लागि लडेका थिए तर दोस्रोचोटि जीतका लागि लडे ।

अब आगामी महाधिवेशनमा प्रचारका लागि सभापतिमा लड्छन् ? या उपसभापतिमा सुरक्षित हुँदै पराजयको जोखिमबाट ‘ब्याक’ हुन्छन् ? यो चाहिँ अहिले नै स्पष्ट भइसकेको छैन ।

यो पनि-
कांग्रेसमा खुम्चिँदै ‘विरासतको राजनीति’

पन्ध्रौं महाधिवेशनमा के गर्लान् कांग्रेसका सात ‘भेट्रान’ ?

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ११ : ०६ बजे

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि

द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत प्रहरीका प्रशिक्षार्थीद्वारा बञ्जी जम्प

कुष्मा – एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत–बाग्लुङ

ब्यालेन्स र डाटा बिनानै चल्ने भयो ‘खल्ती एप’

काठमाडौं– खल्तीले एन्सेलसँग सहकार्य गर्दै डिजिटल पहुँच विस्तार गरेको छ।

राजावादीले मोर्चा कस्दा झस्किए गणतन्त्रवादी, नसुध्रिए अराजकता र संकटतिर जान सक्छ देश

काठमाडौं– पछिल्लो समय राजावादी पार्टीहरू पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा सक्रिय