पोखरा– कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता तथा संरक्षणकर्मी आर.के अदिप्त गिरी सम्मानित भएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको निवास कुश्माबजारमै पुगेर शुक्रबार सम्मान गरेको हो ।
गिरीलाई कालीगण्डकी बचाऔँ अभियानमार्फत जनचेतना जगाउनुका साथै प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदा तथा वातावरण संरक्षणमा पुर्याएकाे उल्लेखनीय योगदानका लागि ‘वातावरण तथा सम्पदा संरक्षण सम्मान’ द्वारा सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले सम्मानपत्र प्रदान गरे भने अभियानका संयोजक रामबहादुर पौडेलले माला तथा नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले दोसल्ला ओढाएर सम्मान गरे ।
मुख्य न्यायाधिवक्ता शर्माले सभ्यताको जननी नदीलाई भावी पुस्तासम्म जस्ताको तस्तै संरक्षण गर्नुपर्नेमा जोड दिए ।
संरक्षणकर्मी गिरीले कालीगण्डकी नदी एकाध व्यक्तिको स्वार्थका लागि कब्जा भइरहेको आरोप लगाउँदै यसविरुद्ध आवाज उठाउनुपर्ने बताए । ‘जीवनको स्रोत नै नदी हो, यसलाई बचाउन सबैले सङ्कल्प गर्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया