कागबेनी स्नानस्थल जोखिमपूर्ण, नदीले बगाएकी महिलाको उद्धार गर्ने सेना सम्मानित | Khabarhub Khabarhub

कागबेनी स्नानस्थल जोखिमपूर्ण, नदीले बगाएकी महिलाको उद्धार गर्ने सेना सम्मानित


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ । तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा यहाँ श्राद्ध गर्न आउने भक्तजनमा सम्भावित दुर्घटनाको डर बढेको हो ।

कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनका लागि कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र यहाँका स्थानीयले सीमित स्रोतसाधनमा श्राद्ध गर्न आउने तीर्थालुलाई सहज व्यवस्थापन गर्ने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकिरहेको छैन ।

श्राद्धस्थल साँघुरो हुँदा श्राद्ध गर्न, पूजापाठ तथा स्नान गर्न समस्या र चुनौती हुने गरेको भक्तजन बताउँछन् । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले यसअघि रहेको भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । उक्त बाढीले स्थानीयको घर, बैंक तथा वित्तीय संस्था, कागबेनी श्राद्धस्थललगायत खेतीयोग्य जग्गामा करोडौँको भौतिक क्षति पुर्‍याएको थियो । 

जिल्लाका स्थानीय, सरोकार भएका निकाय र कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिको पहलमा अर्थ सङ्कलन गरी कागखोला धारलाई नियन्त्रणको प्रयास गरिएको समितिकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन्  । उनका अनुसार कागखोलाको धारलाई नियन्त्रणमा राखिए पनि श्राद्धस्थलको भौतिक संरचना दिगो रूपमा व्यवस्थापन हुन सकिरहेको छैन । 

यसैबीच, शनिबार यहाँ श्राद्ध गर्न आएकी म्याग्दीको बेनी नगरपालिका–९ का ५३ वर्षीया सीता शर्मालाई कालीगण्डकी नदीले बगाएको छ । कागखोला र कालीगण्डकी नदीको दोभानमा स्नान गरिरहेको बेला उनी अचानक चिप्लिँदा करिब ६० मिटर तलसम्म खोलाले बगाएको थियो । 

चिप्लिएर खोलाले बगाएपछि उनको उद्धारका लागि गएका अर्का एक जनालाई पनि कालीगण्डकी नदीले केही तलसम्म बगाएपछि नेपाली सेनाले सकुशल उद्धार गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले कागबेनीमा स्नान गर्दागर्दै खोलाले बगाएपछि शर्माको सकुशल उद्धार गरिएको जानकारी दिए । 

यहाँको श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा तीनै तहका सरकारले चासो नदिँदा समस्या भइरहेको समितिकी अध्यक्ष गुरुङले दुखेसो गरिन् । कागबेनीमा बाढीले क्षति पुर्‍याएको क्षेत्रको मर्मत तथा पुनः निर्माण गरी संरक्षण र प्रभावकारी व्यवस्थापनमा तीनै तहका सरकारले समन्वय र सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

‘अहिलेसम्म समिति र स्थानीयवासीको सहयोगमा स्थानीयस्तरबाट अस्थायी व्यवस्थापन र संरक्षण गर्दै आइरहेका छौँ, हामीसँग सीमित स्रोतसाधन भएकाले दीर्घकालीन संरक्षण र व्यवस्थापन सम्भव छैन’, अध्यक्ष गुरुङले भनिन्, ‘कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा सरकारले दीर्घकालीन समाधानसहित योजना अघि बढाउनु पर्दछ । यहाँ लाखौँ भक्तजन आउने भएकाले यस क्षेत्रलाई जोखिममुक्त गराउनु जरुरी छ ।’

अध्यक्ष गुरुङले समितिले भक्तजनबाट प्राप्त दान र सहयोग रकमबाट अस्थायी रूपमा श्राद्धस्थल र स्नानस्थल निर्माण गरेको बताइन्  । श्राद्धस्थललाई दीर्घकालीन रूपमा भरपर्दो बनाएर थप व्यवस्थापन गर्न कालीगण्डकी नदी र कागखोलालाई बृहत आरसिसी तटबन्धनको आवश्यक रहेकामा उनले जोड दिइन् ।

बर्सेनि बर्खायाममा कागखोला र कालीगण्डकीले धार परिवर्तन गर्दा यहाँको श्राद्धस्थल र स्नानस्थलको भौतिक संरचनामा क्षति पुगेको समितिले जनाएको छ । यसैबीच, समितिले कागबेनीधाममा श्राद्ध गर्न आउने भक्तजनलाई स्नान र श्राद्ध गर्दा सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

कागबेनीधामलाई केही फराकिलो र सहज तुल्याउन समितिले खडा गरेको एक दर्जन बढी व्यावसायिक अस्थायी टहरालाई केही पर स्थान्तरण गरिसकिएको समितिकी अध्यक्ष गुरुङले जानकारी दिइन् । उनका अनुसार नेपाली सेनाले कपडा फेर्नेस्थान र गाउँपालिकाले शौचालय निर्माण गरेको छ ।

सरकारले अहिलेसम्म कागबेनीधाममको संरक्षण र व्यवस्थापनका लागि बजेट विनियोजन नगरेको अध्यक्ष गुरुङले बताइन् । बर्सेनि बडादसैँ र चैतेदसैँको औँसीमा नुहाउन लाखौँ श्रद्धालु भक्तजन कागबेनी आउने गर्छन्  । 

‘यस वर्षको चैतेदसैँको औँसी नजिकिँदै गर्दा पनि हालसम्म तीनै तहका सरकारले यस क्षेत्रलाई व्यवस्थापन गर्न नसक्दा जोखिम मोलेर श्राद्ध र स्नान गर्नुपर्ने अवस्था छ’, उनले भनिन् । 

बारागु मुक्तिक्षेत्र–४ कागबेनीधाममा कागभुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागखोलामा स्नान गरेको भन्ने धार्मिक किंबदन्ती छ । यही कारण देशभरबाट बर्सेनि लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन यहाँ आएर पितृको नाममा श्राद्ध गर्ने, तर्पण दिने र कालीगण्डकी दोभानमा स्नान गर्दा दिवङ्गत पितृ खुसी भई आर्शिवाद दिने धार्मिक विश्वास रहिआएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  २ : २० बजे

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन

दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर

सन् १९९० को दशकको सुरुवात, रङ्गभेद नीतिको कारण अन्तर्राष्ट्रिय क्षेत्रले

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी