अमानवीय मान्छे : जिउँदो गोरुको मासु चोर्ने, नदीमा गाई बगाउने ! | Khabarhub Khabarhub

अमानवीय मान्छे : जिउँदो गोरुको मासु चोर्ने, नदीमा गाई बगाउने !

पशुमाथि अत्याचार गर्दा के हुन सक्छ सजाय ?


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भनिन्छ, हिंस्रक बाघले पनि जनावरलाई नमारिकन मासु खाँदैन । तर, विवेकशील भनिएको मानिसले मासु खानकै लागि जिउँदो गोरुको फिला ताछेर मासु चोर्छ भनेर कसरी पत्याउने ? यसै साता इलामको कन्याममा भएको घटनाले मानिस त्यतिसम्म निर्दयी हुँदोरहेछ भनेर पत्याउनै कर लाग्छ ।

इलामको सूर्योदय नगरपालिका–६, कन्याममा जिउँदो गोरुको फिलाको मासु चोरेर लगिएको घटनाले धेरैलाई अचम्मित बनाएको छ ।

गोरुधनी राम राईले मिडियाहरुलाई दिएको जानकारीअनुसार उनको गोठमा रहेको गोरु शुक्रबार राति फिला काटिएको अवस्थामा भेटिएको थियो । केही समय पहिले पनि त्यही गोरुको फिला काटेर अज्ञात व्यक्तिले मासु लगेका थिए ।

उपचारपछि घाइते गोरु बिस्तारै सञ्चो हुँदै थियो । तर, शुक्रबार फेरि त्यही गोरुको फिला काटेर मासु चोरले करीब पाँच किलोजति मासु लगेको पाइएको छ ।

सामान्य खेती किसानी गर्दै परिवार सम्हाल्दै आएका राईले अपराधीको पहिचान गरी कारबाही गर्न माग गरेका छन् । तर, अहिलेसम्म प्रहरीले अपराधीलाई पक्रन सकेको छैन ।

गाईलाई कुट्दै कर्णाली नदीमा

अर्को घटना बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्रेमा भएको छ । त्यहाँ गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो सामाजिक सञ्जालमा आयो । ‘गौदान गरेको दृश्य’ भनेर परम्पराका नाममा गाईलाई ढुंगाले हान्दै कर्णालीपारि खेदाइएको दृश्य उक्त भिडियोमा देख्न सकिन्छ ।

स्थानीय व्यक्तिको मृत्युपछि दाहसंस्कार गर्ने क्रममा ‘गौदान’ गरेको भन्दै मानिसहरुले जर्बजस्ती गाईलाई नदीमा हेलेका थिए । गाई डरले फर्किन थालेपछि स्थानीयले ढुङगाले हानेको दृश्य निकै हृदयविदारक थियो ।

उक्त घटनालाई लिएर प्रतिनिधि सभामा सकेत परम्पराका नाममा जनावरमाथि ज्याजती गर्नेहरुलाई कारवाही हुनुपर्ने माग उठेको थियो ।

हालसालैका भएका यी दुई प्रतिनिधि घटनाले मानिसभित्र करुणा मर्दै गएको संकेत गर्छ ।

इलाम सुर्येदय नगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रकै घटनाबारे अनभिज्ञ छन् । गोरुधनीले न्यायका लागि प्रतिनिधिसँग बारम्बार हारगुहार गर्दा पनि चासो नदेखाएको गुनासो गरेपछि खबरहबले सूर्योदय नगरपालिकामा सम्पर्क गरेको थियो ।

खबरहबसँग कुरा गर्दै पालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले घटना भएको ठाउँ टाढा भएकाले आफूले विस्तृत जान्न नपाएको बताए ।

के भन्छन् पशु अधिकारकर्मी ?

स्नेहा केयरकी अध्यक्ष एवं पशुअधिकारकर्मी स्नेहा श्रेष्ठले कानुनकमजोर हुँदा जनावरमाथिको क्रुरतालाई रोक्न कठिन भएको बताइन् । उनले खबरहबसँग भनिन्, ‘सबै जनावरको हकमा कानुन अपर्याप्त भए पनि गाईगोरुको हकमा कानुन छ । मानिसका लागि जस्तो कानुन छ, जनावरका लागि पनि उस्तै कानुन बन्नुपर्छ ।’

उनले अगाडि भनिन्, ‘जे गर्दा पनि हुन्छ, जाबो गोरुको फिला नै काटेको त हो, मान्छे काटेको होइन भनेर सजिलै लिइदिन्छौं । पशु अधिकारका बारेमा बुझेका न प्रतिनिधि छन्, न प्रहरी, न कर्मचारी । त्यसैले जनावरमाथि भइरहेको क्रुरता र अत्याचार रोक्न गाह्रो भैइरहेको छ ।’

स्नेहा थप्छिन्, ‘प्रशासनले पनि यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्नुपर्छ । तर, भएको कानुनसमेत कार्यान्वयन हुन सकेको छैन ।’

बारम्बार भइरहेका यस्ता घटनामा स्थानीय सरकार मूकदर्शक बनेर बस्नु आफैंमा लाजमर्दो विषय भएको स्नेहाले बताइन् । उनले भनिन् ‘इलाममा गोरुको फिला काटेको घटना पहिलो होइन । त्यहाँको प्रहरी प्रशासन के हेरेर बसेको छ ? बाटोमा हिँडेको बेवारिसे जनावर पनि होइन, व्यक्तिले पालेको गोरु हो । त्यो जनावर मात्र नभएर व्यक्तिको सम्पत्ति पनि हो नि । यो त कानुनी राज्यमाथिकै चेतावनी हो । घटनामा संलग्नलाई प्रहरीले अनुसनधान गरी कडा कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ ।’

यस्ता कतिपय घटनामा पशुअधिकारकर्मीले जाहेरी दिए पनि पशुधनीलाई दबाबमा पारेर जाहेरी फिर्ता लिन लगाइने गरेको दुःखेसो स्नेहाले पोखिन् । उनी भन्छिन्, ‘स्थानीय प्रतिनिधि र प्रहरीले मिल्न दबाब दिन्छन् । जनावरका लागि छुट्टै कानुन नै नभएको कारणले गर्दा समस्या भइरहेको छ । यो कानुन मन्त्रालयमा अड्किएर बसेको छ । जनावरका लागि छुट्टै ठोस कानुन हुन्थ्यो भने यस्ता घटना रोकिन्थे । भइहाले पनि कारवाही गर्न सकिन्थ्यो ।’

कानुनीरुपमा आफूहरुले लडिरहेको बताउँदै इलामका गोरु धनीलाई चाहिने सहयोग गर्न अधिकारकर्मी तयार रहेको उनले बताइन् ।

कानुनले के भन्छ ?

मुलुकी फौजदारी संहिता २०७४ ले दण्डनीय अपराधको रुपमा उल्लेख गरेको छ । परिच्छेद–२७ को दफा २८९ मा गाईगोरु कुट्न वा मार्न हुँदैन भन्ने उल्लेख छ । कसुर गर्ने व्यक्तिलाई ३ वर्ष कैदको व्यवस्था छ ।

साथै, दफा २८९ को उपदफा ३ अनुसार गाईगोरुको अंगभंग गरेमा ६ महिना कैद र ५० हजार जरिवाना तोकिएको छ ।

अधिवक्ता रामकृष्ण बञ्जाराले गाईगोरु काट्नु दण्डनीय अपराध भएको बताए । उनले भने, ‘पशुसम्बन्धी हक अधिकारको विषयमा मानिसहरुलाई ज्ञानको अभाव छ । जसले गर्दा यस्ता अपराध भइरहेको छ । वध नै गर्ने ठाउँको पनि मापदण्ड छन् । तर, इलाम र बझाङमा भएको घटनाले मानवीयतामाथि नै प्रश्न उठाएको छ । अझ डरलाग्दो त धर्म र परम्पराका नाममा पशुमाथि हुने क्रुरता हो ।’

बञ्जाराले अगाडि भने, ‘समयको परिवर्तनसँगै धर्म–संस्कृतिका कुरा पनि परमार्जित हुँदै जानुपर्छ । आजको आधुनिक पुस्ताले जनावरको हकहित मात्र नभई जनावरको कल्याणसमेत सोच्ने युगमा छ । यो युगमा जिउँदो गोरुको फिला काट्नु दण्डनीय अपराध हो । जनावर त हो भनेर यस्ता अपराधलाई हल्कारुपमा लिनु हुँदैन । कानुनले दण्ड गरेको अपराधमा सजाय हुनै पर्छ ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ११ : ०० बजे

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ– नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको

मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला

भोजपुर– मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा