चन्दा उठाएरै बनाइयो धार्मिक पर्यटकीय स्थल मालिकाधुरी पुग्ने सडक | Khabarhub Khabarhub

चन्दा उठाएरै बनाइयो धार्मिक पर्यटकीय स्थल मालिकाधुरी पुग्ने सडक


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – सडक निर्माण सुरु भएको पाँच वर्ष भइसक्दा समेत ट्र्याक निर्माणले पूर्णता पाउन नसकेपछि चन्दा सङ्कलन गरेर धार्मिक पर्यटकीय सडक निर्माण गरिएको छ ।

म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिकाधुरीको सडक निर्माणमा देशविदेशबाट समुदायले १२ लाख रुपैयाँ सङ्कलन गरी सडक निर्माण गरेका छन् ।

‘पैदलयात्रा गरेर मालिकाधुरी पुग्न तीन घण्टा लाग्थ्यो, अहिले समुदायले सडक निर्माण गरेपछि मालिकाधुरीको यात्रा एक घण्टामा समेटिएको छ ।’ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर छन्त्यालले भने । देश तथा विदेशमा रहेका ठाडाखानीवासीबाट चन्दा सङ्कलन गरेर सडकलाई जोगी देउराली डाँडासम्म पुर्‍याइएको उनले बताए ।

म्याग्दीकै ठाडाखानीबाट तीन घण्टा पैदलयात्रा गरेपछि बल्ल पुगिने मालिकाधुरी, सडक निर्माण भएपछि एक घण्टामै पुग्न सकिने छ । ठाडाखानीबाट सरघारी हुँदै जोगीदेउराली डाँडासम्म सडक निर्माण भएको रघुगङ्गा–६ का वडासदस्य टेकजित छन्त्यालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन भएको ८ लाख रुपैयाँ बजेट र समुदायको अगुवाइमा थपिएको १२ लाख रुपैयाँ जुटाएर सडक निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

गत वर्ष गाउँपालिकाबाट १० लाख रुपैयाँ र स्थानीयवासीको चन्दा सङ्कलनबाट ८ लाख रुपैयाँ बजेट जुटाएर सरघारीसम्म सडकको ट्याक निर्माण गरिएको थियो ।

अहिले सडकको ट्र्याक पुगेको देउरालीधुरीमा सवारीसाधन पार्किङका लागि जग्गा सम्याइएको उनले जानकारी दिए ।

प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी पुग्ने सडकको ट्याक निर्माणमा पालिकाको बजेटमा श्रमदान र सहयोग जुटाएर लक्ष्यभन्दा बढी काम गरी उपभोक्ता समितिले उदाहरणीय काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

“हामीले सडकको अनुगमन पनि गरेका छौँ, पालिकाको बजेटभन्दा बढी रकम समुदायस्तरबाट जुटाएर निर्माणमा खर्च गरेको पाएका छौँ, विकासमा सरकार र समुदायको साझेदारीले उल्लेख्य उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उहादरण ठाडाखानीवासीले दिएका छन्”, उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार मालिकाधुरी जानका लागि मालिका गाउँपालिकाको बिमबाट सडक निर्माण भइरहेको छ ।

समुद्री सतहबाट ३ हजार ४ सय मिटरको उचाइमा अवस्थित मालिकाधुरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले सडकको पहुँचसँगै अन्य पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको गाउँपालिकाले जनाएको छ ।

म्याग्दीका ३५ भन्दा बढी गाउँ देख्न सकिने मालिकाधुरीबाट सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खलाको लहरै दृश्यावलोकन गर्न सकिन्छ भने यहाँबाट सूर्योदयको दृश्य मनमोहक देखिन्छ ।

मालिका क्षेत्रको जङ्गलमा पाइने लालीगुराँस, वन्यजन्तु, पशुपक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हुन् । पर्यटकीयस्थलको रूपमा विकास गर्न लागिएको मालिकाधुरीमा पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

चण्डी पूर्णिमा, ज्येष्ठी पूर्णिमा, भाइटीका र बालाचर्तुदर्शीमा यहाँ विशेष पूजा गरिन्छ । मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन रहेको स्थानीय बताउँछन् ।

विसं १९१० देखि पूजाआजा हुने गरेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलिको विकल्पमा नरिबल चढाउने चलन बसाइएको छ । भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंवदन्ती रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  २ : ०४ बजे

गर्मीबाट हज–यात्रीलाई बचाउन साउदी अरबको सङ्घर्ष

काठमाडौं – इस्लामको सबैभन्दा महत्त्वपूर्ण संस्कार हजमा दस लाखभन्दा बढी

वेददेखि विभेदसम्म !

काठमाडौँ – नेपालमा आज ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस’

बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन गर्न सकेन : नारायणकाजी श्रेष्ठ

काठमाडौं– सांसद नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि

सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन

धुलिखेल–खावा सडक : पुनः ठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन

काभ्रेपलाञ्चोक– सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा