दुर्गा प्रसाईंलाई कमल थापाको सुझाव– भागेर हुँदैन, प्रहरीको सम्पर्कमा आएको राम्रो | Khabarhub Khabarhub

दुर्गा प्रसाईंलाई कमल थापाको सुझाव– भागेर हुँदैन, प्रहरीको सम्पर्कमा आएको राम्रो

जगमान गुरुङको नेतृत्व स्वीकार्य छ, राजासँग ०७८ सालदेखि सम्पर्क छैन



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा विगतमा राजावादी आन्दोलनका मुख्य धरोहर मानिन्थे । तर, केही वर्षयता थापा स्वयं राजा ज्ञानेन्द्रबाटै ‘कर्नर’ मा पारिएका छन् ।

दुई वर्षअघि सम्पन्न राप्रपाको महाधिवेशनमा दरबारले राजेन्द्र लिङदेनलाई उचालेर आफूलाई हराएको गुनासो गर्दै थापाले राप्रपाबाट विद्रोह गरे र ‘राप्रपा नेपाल’ खोले । तथापि लिङदेनको पार्टीले १४ सिट जित्दा थापाको दलले प्रतिनिधिसभामा एकसिट पनि जित्न सकेन, जसले गर्दा थापामाथि राजदरबारको पनि दृष्टि पातलिँदै गयो ।

गत चैत १५ गतेको हिंसात्मक प्रदर्शनअघिसम्म पूर्वमाओवादी मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समेत कमल थापा र राजेन्द्र लिङदेनलाई होच्याएर भाषण गर्दै आएका थिए । उनले आफू नै सच्चा राजावादी भएको दाबी गर्दै निर्मल निवाससम्म पहुँच बडढाएका थिए ।

तर, चैत १६ पछि प्रसाईं सरकारबाट डराएर भूमिगत बनेका छन् । यता, चैत २६ को प्रदर्शनपछि सडकमा राप्रपा ‘मुखरित’ हुन थालेको छ । अराजनीतिक गतिविधिपछि दुर्गा प्रसाईंचाहिँ दुलोमा लुकेको स्थिति छ ।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत भइसकेका कमल थापाले दुर्गा प्रसाईंलाई भागेर समस्याको समाधान नहुने भन्दै प्रहरीको सम्पर्कमा आउन सुझाव दिएका छन् ।

खबरहबसँगको कुराकानीमा अध्यक्ष थापाले प्रसाईंलाई नलुक्न सुझाव दिँदै भने, ‘भागेर समस्या समाधान हुँदैन बरु समस्या झन् बल्झन्छ । यो राजनीतिक मुद्दा हो, उहाँ प्रहरीको सम्पर्कमा आएको राम्रो हो ।’

राप्रपा नेपालका अध्यक्ष थापाले ०७८ सालदेखि ज्ञानेन्द्र शाहसँग भेटघाट वा फोन सम्पर्क टुटेको बताए । तर, भेट नभए पनि आफूले राजाका रुपमा ज्ञानेन्द्रलाई सधैं सम्मान गर्ने बताए ।

अहिले नवराज सुवेदीको साटो डा. जगमान गुरुङले सम्हालेको राजावादीहरुको मोर्चा आफूहरुलाई स्वीकार्य भएको थापाले बताए । अब गुरुङकै नेतृत्वमा साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने बताउँदै उनी भन्छन्, ‘अहिले एक्लै आन्दोलन गर्नु भनेको प्रकारान्तरले आन्दोलन कमजोर बनाउनु हो । हाम्रो दृष्टिकोणमा एक्लै आन्दोलन गर्नु कुनै सार्थकता छैन ।’

आफूले चाहेको व्यवस्थामा विप्लव माओवादीसमेत अटाउने बताउँदै थापा भन्छन्, ‘हामीले ल्याएको व्यवस्थामा राजादेखि विप्लव माओवादी सबै अटाउन सकुन् ।’

प्रस्तुत छ, राप्रपा नेपालका अध्यक्ष थापासँग खबरहबकर्मी ज्ञानु घिमिरेले गरेको कुराकानी–

राप्रपा महाधिवेशनदेखि बिग्रिएको पूर्वराजा ज्ञानेन्द्र शाह र तपाईबीचको सम्बन्ध अहिले सुध्रिएको हो ? अहिले त पूर्वराजासँग भेट भइरहन्छ होला…

अहिले मेरो तत्काल भेटघाट भएको छैन । म इमानदारीपूर्वक भनिरहेको छु– मेरो तत्काल भेट वा फोन सम्पर्क केही पनि भएको छैन । काम पनि परेको छैन । ०७८ साल कात्तिक ११ गतेबाट मेरो भेट भएको छैन । त्यसपछि फोन संवाद पनि भएको छैन ।
तर, यहाँहरूलाई राजतन्त्र फर्काउने आन्दोलनमा लाग्न पूर्वराजाले नै उक्साएको भन्छन् नि ?

उहाँले भिडियो सन्देश (फागुन ६ ) जारी गरिबक्सेपछि हामीले थप अभियान गरेको हो । अन्य साथीहरूसँग छलफल भएको होला, मसँग छैन । म आफैं पनि हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको निम्ति लामो समयदेखि लागेको छु । उक्साएको भन्दा पनि म त आन्दोलनमै छु नि । आस्थाको कारणले निरन्तर रूपमा लागेका छौँ । राजालाई र राजसंस्थाको विचारलाई नै बदनाम गर्ने उद्देश्यको साथ यो निराधार आरोप लगाइयो भन्ने मलाई लाग्छ ।

पूर्वराजा पोखराबाट काठमाडौं आउँदा फागुन २५ गते यहाँहरू त्रिभुवन विमानस्थल पुग्नुभयो, त्योबेला त केही कुरा गर्नुभयो होला नि ?

स्वागत गर्न गएको हो, कुनै कुराकानी भएन । मैले भिडबाट उहाँलाई खादा दिएँ । उहाँले ग्रहण गर्नुभयो । त्योबाहेक कुनै कुराकानी भएको छैन ।

राप्रपा महाधिवेशनमा तपाईविरुद्ध राजेन्द्र लिङ्देनलाई जिताउन निर्मल निवासले भूमिका खेल्यो भन्नुभएको थियो, त्यसपछि ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको हो ?

त्यस्तो पनि हैन । त्योबेला अलग परिस्थिति थियो । हाम्रो सम्बन्ध बिग्रिएको छैन । भेट नहुनु नै सम्बन्ध बिग्रिएको हैन । उहाँप्रति मेरो सम्मान छ । जहिले उतिकै आदर छ ।

दुर्गा प्रसाईंलाई राजाले प्रोत्साहित गरेको र उहाँले राजाको सल्लाह र निर्देशनबमोजिम काम गरेको भन्ने कुरा मलाई केही जानकारी छैन । यो कुरामा मलाई विश्वास पनि छैन

तर, राजसंस्था फर्काउने आन्दोलनमा पूर्वराजाले यहाँहरू जस्ता राप्रपाका नेताहरुलाई विश्वास नगरेर किन दुर्गा प्रसाईं, नवराज सुवेदी, जगमान गुरुङ जस्ता व्यक्तिलाई साथ दिएका होलान् ? यसमा तपाईलाई चित्त दुःखेको छैन ?

दुर्गा प्रसाईंलाई राजाले प्रोत्साहित गरेको र उहाँले राजाको सल्लाह र निर्देशनबमोजिम काम गरेको भन्ने कुरा मलाई केही जानकारी छैन । यो कुरामा मलाई विश्वास पनि छैन । मान्छेले अनेक किसिमका आरोपहरू लगाउँछन्, मलाई त्यसमा पटक्कै विश्वास छैन । किनभने, अहिले भेटघाट पातलो भए पनि राजासँग मेरो पुरानो सम्बन्ध हो । राजा र राजसंस्थाबाट भिडलाई भड्काउने, अराजकतालाई प्रोत्साहित गर्ने, अस्थिरता र अराजकता सिर्जना गर्ने काम हुन्छ भन्ने म विश्वास गर्दिनँ । र, मलाई चित्त दुखेको छैन । किनकि यो आन्दोलनको मुख्य नेता जगमान गुरुङ हुन् अहिले ।

पछिल्लो समय सडकमा राजसंस्था फर्काउने भन्दै दल र केही राजावादी संस्थाहरू निस्किनुभएको छ तर यहाँहरुकै बीचमा किन एकता नभएको ?

अहिले डा. जगमान गुरुङको संयोजकत्वमा जुन संयुक्त जनआन्दोलन समिति रहेको छ, त्यसमा त प्रायः सबै राजावादी र हिन्दुवादी शक्तिहरू सहभागी छन् । हिजोको कार्यक्रममा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, केशरबहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, बिपी कांग्रेस, शिव सेना लगायतका राजावादी र अन्य शक्तिको प्रतिवद्धता र सहभागिता थियो । जगमान गुरुङको संयोजकत्वमा गठित समितिलाई साझा मोर्चाको रूपमा लिनुपर्छ । अहिले हामी बिस्तारै सबै एक ठाउँमा आएका छौँ ।

तर, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले मंगलबार गरेको खबरदारी सभामा त यहाँहरू जानुभएन नि, किन ?

त्यो राप्रपाले आयोजना गरेको कार्यक्रम हो, त्यहाँ राप्रपा नेपाल सहभागी हुने भन्ने विषय भएन । हामी साझा मोर्चामा सँगै छौँ । पार्टीले गरेको कार्यक्रम भएकाले हामी नगएको हो तर समर्थन त थियो नि । फेरि, उहाँहरूले बोलाउनु पनि भएन । पार्टीको कार्यक्रम भएकाले नबोलाउनु स्वाभाविक पनि हो ।

तपाईले नेतृत्व गरिरहनुभएको राप्रपा नेपाल चाहिँ अहिले के गर्दैछ ?

हामी त जगमानजीकै नेतृत्वमा गठित समितिमार्फत जनआन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने पक्षमा छौँ । जगमानजीको नेतृत्वमा हाम्रो पूर्ण साथ र समर्थन रहनेछ भनेर निर्णय गरेका छौँ । अहिले एक्लै आन्दोलन गर्नु भनेको प्रकारान्तरले आन्दोलन कमजोर बनाउनु हो ।

हाम्रो दृष्टिकोणमा एक्लै आन्दोलन गर्नु कुनै सार्थकता छैन । मोर्चा नबनेका बेला आफ्नो ढंगले गरिन्थ्यो । तर, संयुक्त मोर्चा बनेपछि त त्यसैको माध्यमबाट अगाडि जानुपर्छ भन्ने हाम्रो विचार छ । अहिले हामीले पार्टीको आन्तरिक सङ्गठन बाहेक राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनासँग सम्बन्धित सम्पूर्ण कामहरू यही संयुक्त जनआन्दोलन समितिको मार्फतबाट गर्ने निर्णय गरेका छौँ ।

यसो भनिरहँदा राजसंस्था फर्काउने अभियानमा लागेको सबैभन्दा ठूलो दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई एक्ल्याउन खोज्नुभएको ?

होइन । कहाँ हुनु ? उहाँहरु पनि हामीसँगै हुनुहुन्छ । हामीले लिङ्देनजीलाई कहिल्यै पाखा लगाउन खोजेको छैन । समाजमा गलत भाष्य बनाइँदैछ ।

चैत १५ गते तीनकुनेमा भएको अप्रिय घटनाको कुरा गरौं । तीनकुने घटनामा पक्राउ परेका नेताहरू ( (रवीन्द्र मिश्र, धवलसमशेर लगायत) लाई नछाडे सामुहिक गिरफ्तारी दिन्छौँ भनेर तपाईले बुधवार बोल्नुभयो । तर, तीनकुनेमा त अराजक गतिविधि भएको होइन ? पूर्वगृहमन्त्रीसमेत भएको तपाईजस्तो मान्छेले दुर्गा प्रसाईंँ, रवीन्द्र मिश्र, धवलशमशेर राणा र नवराज सुवेदीको बचाऊ किन गर्नुभएको ?

मैले बुधबारको कार्यक्रममा प्रस्ट रूपमा भनेको छु । अरूले पनि भन्नुभएको छ । त्यो आन्दोलनलाई अराजक र हिंसात्मक बनाउने काम नियोजितरूपमा सरकारबाट भएको देखिन्छ । प्रदर्शनकारीबाट अराजक गतिविधि सुरुमा भएको हैन ।

जहाँसम्म भाटभटेनी लुटपाटको कुरा छ, जडिबुटीमा आगजनी र व्यक्तिको घरमा तोडफोडको कुरा छ, यो छानविनको विषय हो

जहाँसम्म भाटभटेनी लुटपाटको कुरा छ, जडिबुटीमा आगजनी र व्यक्तिको घरमा तोडफोडको कुरा छ, यो छानविनको विषय हो । यहाँले भनेको जस्तै म पूर्वगृहमन्त्री भएको नाताले हेर्दा त्यो दिन सरकारले ज्यादती नगरेको भए दुईजनाको मृत्यु हुने थिएन । हाम्रा नेताहरू पनि आफ्नो ज्यान जोगाउन लाग्दा आन्दोलनबाट निस्कनुपरेको अवस्था छ । गल्ती बढी सरकारको छ ।

तर, कमजोर र अराजक नेता भएकाले आन्दोलन भाँडिएको जस्तो लाग्दैन ?

त्यो निष्कर्षमा पुग्न मलाई हतार हुन्छजस्तो लाग्यो । सुरुमा सरकारबाट नै गलत काम भयो । आन्दोलनकारीबाट नै ज्यादती भयो कि भनेर हामीले सुरुमा हेरेको पनि हो । तर, सामाजिक सञ्जालमा आएका भिडिओहरु हेर्दा र खबरहरूको माध्यमबाट हेर्दा सबै दृश्य आएको छ ।

उदाहरणका लागि– आन्दोलनको कुनै पनि गतिविधिमा सहभागी नभएका सविन महर्जनलाई ताकेर गोली हानी हत्या गरियो । सामान्य बल प्रयोग गरेर भिड नियन्त्रण गर्ने अवस्थामा झन्डै एक हजारको संख्यामा अश्रुग्यास प्रयोग भयो ।

म दुईपटक गृहमन्त्री भएको हुनाले प्रहरी प्रशासनको कार्यशैलीमा जानकार छु । आत्मरक्षा गर्नुपर्ने बेलामा परिस्थिति नियन्त्रणभन्दा बाहिर गयो भने रबरको गोली प्रहार गर्नु स्वाभाविक हो । तर, त्यहाँ अन्धाधुन्द लाइट गोली प्रहार गरियो, त्यो पनि धेरै ठूलो संख्यामा ।

हामीले भिडियो हेर्दा गोली चलाउनुपर्ने अवस्था नै सिर्जना भएको छैन । अत्यधिक बल प्रयोग सरकार पक्षबाट भयो । कार्यक्रम सुरु हुनुअगावै मञ्चमा टियर ग्यास प्रहार हुनुले पनि आन्दोलनकारीको भावना निषेध गरेको देखिन्छ ।

अर्को, सुरेश रजक जो आगलागी भएको घरमा पर्नुभएको थियो, उहाँको उद्धार नभएर निधन भएको हो । प्रहरी प्रशासन उहाँलाई उद्धार गर्नबाट चुकेको छ । यी सबै घटना हेर्दा सरकारबाट नियोजित हो कि भन्ने आंशका छ ।

सरकारले अस्वीकार गरेको छ, यो अवस्थामा एउटा निष्पक्ष, स्वतन्त्र छानबिन आयोग गठन गरेर जो जिम्मेवार छन्, प्रदर्शनकारी नै हो भने उनीहरूलाई कारबाही गर्ने । प्रहरी प्रशासनको ज्यादती हो भने कसको ज्यादती हो, उनीहरूमाथि छानबिन गरेर कारबाही गर्नुपर्छ ।

त्यो आन्दोलन भड्काएर भागेका दुर्गा प्रसाईंँसँग यहाँ सम्पर्कमै हुनुहुन्छ ? उहाँ अहिले कहाँ हुनुहुन्छ ?

मलाई केही थाहा छैन । तर, उहाँ समस्या बल्झाउन यसरी फरार हुनुभन्दा आफूलाई छानबिन गर्न पनि आउनुपर्छ जस्तो लाग्छ । भागेर समस्या समाधान हुँदैन । बरु समस्या झन् बल्झन्छ । यो राजनीतिक मुद्दा हो । त्यसबारे उहाँ प्रहरीको सम्पर्कमा आएको राम्रो हो । हामी त निरन्तर आन्दोलनमा छौँ । उहाँको केही कमजोरी परिस्थितिले गर्दा भएका होलान् तर यसको पनि त छानविन हुनुपर्छ ।

अब अलिकति राजनीतिक कुरा गरौं । यो राजतन्त्र फर्काउने कुरा बेमौसमको बाजा भएन र ?

यसमा बे–मैसमको बाजा भन्ने सन्दर्भ छैन । कारण, विगत १८ वर्षदेखि देशमा संघीय गणतन्त्र, धर्मनिरपेक्षता अभ्यासमा छ । यो संघीय धर्मनिरपेक्ष गणतन्त्रले जनताको अवस्थामा सुधार गरेन । जनताको चाहनाबमोजिम काम हुन सकेको छैन । ०६२/०६३ सालमा राजसंस्था र हिन्दु राष्ट्रलाई पाखा लगाउँदा जुन किसिमको आश्वासन जनतालाई दिएको थियो, सदियाौंदेखि दासताबाट जनतालाई मुक्त बनाउँछौँ र प्रजातन्त्रलाई बलियो बनाउँछौँ, नेपालको आर्थिक विकास र सम्वृद्धि हासिल गर्छौं भन्ने जुन किसिमको नारा थियो, त्यसको ठिक विपरीत काम भएको छ । थुप्रै कारणले गर्दा जनताले अहिलेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट मुक्ति खोजेका छन् ।

लोकतन्त्रको आवरणमा सीमित वर्गले राज्य सत्तामाथि कब्जा जमाएर विगत दुई दशकदेखि ब्रह्मलुट गरिरहेका छन् । सात पुस्तालाई पुग्ने सम्पत्ति आर्जन गरेका छन् । अकूत सम्पत्ति विदेशमा लुकाएका छन् भन्ने कुरा प्रमाणसहित सार्वजनिक भएको छ । यो कारण जनताले परिवर्तन खोजेका छन् । यो परिवर्तन राजसंस्था, हिन्दु राष्ट्रसहितको प्रजातन्त्र एउटा विकल्प हुन सक्छ भनेर हामीले अगाडि बढाइरहेका छौँ । त्यसमा जनताको साथ सहयोग बढिरहेको छ ।

यो १८ वर्षको अवधिमा राजाबाट जुन किसिमको भूमिका निर्वाह भयो, त्यसले पनि राजाप्रतिको आस्था र लोकप्रियता बढेको छ । ०६३ सालमा षडयन्त्र गरेर राजसंस्थालाई पाखा लगाइएको थियो । नेपाली जनताको रगतको खोलो नबगोस् भन्ने सदाशयताका साथ हाँसीहाँसी राजाले दरबार छाडेको जनताले देखेका छन् । अहिले पूर्वराजाले जनताको दुःख र पीडाको पक्षमा बोलिरहनुभएको छ । यसलाई बेमौसको बाजा भन्नु उपयुक्त हुँदैन । यो असफल प्रमाणित भइसकेको संघीय, धर्मनिरपेक्ष गणतन्त्रलाई निरन्तरता दिन खोज्नु चाहिँ बेमौसमी बाजा हो ।

यहाँहरूले भनेजस्तै दलका नेताहरु असफल भए रे, आगामी निर्वाचनमा जनताले नयाँ शक्तिलाई रोज्लान् नि ? यही व्यवस्थामा उन्नत विकल्प सम्भव छैन र ?

निश्चयपछि पछाडि फर्कने प्रश्न छैन । हामीले राजासहितको प्रजातन्त्र भनेर निरंकुश व्यवस्था स्थापना गरौँ भनेको हैन । लोकतन्त्र त लोकतन्त्र नै हो । उहाँहरू राजाविनाको लोकतन्त्रको वकालत गरिरहनुभएको छ, यो असफल भएको छ । हामी राजासहितको लोकतन्त्र भनिरहेका छौँ । हामीले लोकतन्त्रलाई समाप्त पार्ने प्रस्ताव गरेको हैन । हामीले त प्रष्ट भनेका छौँ, राजासहितको लोकतन्त्र हो ।

हाम्रो देशमा गणतन्त्र स्थापना भएपछि देश अभिभावकविहीन भयो । सीमित राजनीतिक दलका नेताले भागबन्डा गरेर सिन्डिकेट खडा गरे । संवैधानिक अंगदेखि राज्यका सबै संयन्त्र पार्टीगत भागबन्डा भएको छ । न्यायपालिकामा समेत भाग छ । यो छाडातन्त्र लोकतन्त्रमा सुहाएन ।

अभिभावक नभएर कसैसँग डराउनु परेन । अनि, जे मन लाग्यो, त्यही गरेको छ । यसलाई नियन्त्रण गर्नका लागि नैतिक शक्ति भएको अभिभावक भयो भने राष्ट्रियता बच्छ । यसमा राजाले सक्रिय भूमिका खेल्ने, शासन गर्ने होइनm अभिभावक हुने हो । हामीले यस्तो व्यवस्थाको परिकल्पना गरेका छौँ, जहाँ राजादेखि विप्लव माओवादी सबै अटाउन सकुन् । यसलाई अन्यथा लिनुपर्ने जरुरी छैन ।

अन्तिममा, यहाँले राजासहितको उन्नत लोकतन्त्र भन्नुभयो, बुझिने गरी भन्दा यो कस्तो हुन्छ ?

राजासहितको लोकतन्त्रमा तीनवटा कुरा मुख्य हुन्छन् ।

पहिलो : सबै विचार र शक्तिहरू अटाउँछन् । दोस्रो : राजा अभिभावक एवं राष्ट्रियता र एकताको प्रतीकका रूपमा रहने, राज्यको सञ्चालन जनताबाट निर्वाचित प्रतिनिधिहरूले गर्ने । र, तेस्रो : राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धिका निमित्त सुशासनको जग निर्माण गर्ने ।

मेरो भाषामा भन्दा अहिलेको जुन लोकतन्त्र छ, अहिलेको लोकतन्त्रभन्दा उन्नत लोकतन्त्र ल्याउनको निम्ति राजासहितको प्रजातन्त्र हो । ०४७ सालमा भएको परिवर्तनदेखि ०६१ सम्म जुन किसिमको उत्कृष्ट राजनीतिक अभ्यास भएको थियो, करिब–करिब त्यसैको नजिकको अभ्यासको कुरा हामीले गरेका हौँ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ०६ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख

सञ्चारीका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित (सूचीसहित)

काठमाडौं – सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन स् आफ्नै गाउँ फर्किए

खोटाङ – १८ वर्ष पहिले बसाइँ सरेर गएका बराहपोखरी गाउँपालिका–६

कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत

सुर्खेत – मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृति गरिएको