काठमाडौं – चैत २९ बाट दुई फ्रेस फिल्म प्रदर्शनरत छन्– कर्मा र पिताम्बर ।
‘पिताम्बर’ मल्टिस्टारर भए पनि केन्द्रीय नायक प्रदीप खड्का हुन् । कर्माको नायक विपीन कार्की हुन् । त्यहीकारण यसलाई बक्स अफिसमा प्रदीप र विपीनको भिडन्तका रुपमा हेरिएको छ ।
यी दुवै एक्सन प्रधान फिल्म हुन् । फेरि विपीन र प्रदीपले पहिलो पटक एक्सन फिल्म गरेका हुन् ।
अन्य जनरामा रुचाइएका नायकहरूलाई एक्सनमा दर्शकले अस्वीकार गरेको उदाहरण छन् । यस अर्थमा प्रदीप र विपीन दुवै एक्सन अवतारको परीक्षामा छन् ।
यी दुवै फिल्म नयाँ वर्षको ‘प्राइम डेट’ लक्षित गरी प्रदर्शनमा आएका हुन् । वैशाख १ गतेको हलमा दर्शकको उपस्थिति र उनीहरुको प्रतिक्रियाले यी फिल्मको व्यापारमा विशेष महत्व राख्छन् ।
अब प्रदीप र विपीनलाई एक्सनमा अवतारमा दर्शकले स्वीकार गर्छन् कि अस्वीकार त्यो थाहा पाउन धेरै दिन बाँकी छ ।
‘दिनको संकेत बिहानले गर्छ’ भन्ने उक्ति यहाँ लागु गर्ने हो भने फिल्म जानकारहरूले यी दुई फिल्मको प्री–बुकिङ हरेर एक्सनमा विपीन र प्रदीपको भविष्य देखिसके । तर, यही हो भनेर किटान गर्न अहिल्यै हतार हुन्छ ।

एक्सन अवतारमा विपीन आशावादी
चरित्र निर्माणमा दख्खल राख्ने क्षमताका कारण विपीनले भर्सटायल नायकको छवि बनाए छन् ।
उनी फरक फिल्ममा फरक चरित्र निर्माण गर्नुपर्छ भन्ने मान्यता राख्छन् । चरित्र निर्माणमा उनको मिहिनेत पनि देखिन्छ ।
विपिनले ‘छड्के’ फिल्ममा ‘इन्दु’, ‘पशुपतिप्रसाद’मा ‘भस्मे डन’, ‘लुट’मा ‘पितले डन’ र ‘जात्रा’ सिरिजमा निर्वाह गरेको ‘फणीन्द्र’को पात्र दर्शक समक्ष स्थापित छन् ।

कमै नायकले यति धेरै दर्शक समक्ष स्थापित हुने भूमिका निर्वाह गर्न पाउँछन् ।
तर, यी सबै पात्रमा विपीन एक्सन अवतारमा प्रस्तुत छैनन् । ‘कर्मा’मा नै उनी पहिलो पटक एक्सन भूमिकामा देखिँदैछन् । दर्शकले एक्सन अवतार अस्वीकार गर्ने जोखिम उनको हकमा पनि छ ।
यो जोखिमका बीच ‘कर्मा’ निर्देशक सौरभ चौधरी विपीनलाई एक्सन अवतारमा उतारेर नयाँ प्रयोग गरेका हुन् ।
यसलाई उनी जोखिमका रुपमा भने मान्न तयार छैनन । निर्देशक चौधरी बलिउडको उदाहरण दिँदै भन्छन्, ‘हिजो दिनमा यक्ष कुमारले एक्सन फिल्म गर्दै गर्दा कमेडी फिल्म गरेका थिए । आजको दिनमा उनी फेरि हरेक जनराका फिल्म गर्छन् । त्यो कुरा नेपालमा किन लागु हुँदैन र ?’
उनी विपीनको कामप्रति ‘कन्फिडेन्ड’ देखिन्छन् । भन्छन्, ‘यो पटक दर्शकले हलमा पहिलाभन्दा फरक विपीन कार्कीलाई देख्नुहुन्छ । केही नयाँ हेर्न जाँदैछु भनेर दर्शक हलमा जानुभयो बहुत मज्जा आउनेछ ।’
यता विपीनले पनि एक्सन अवतारमा प्रस्तुत हुन मिहिनेत गरेका छन् । उनले ‘कर्मा’का लागि ११ किलोग्राम तौल घटाएका छन् ।
विपीन थप्छन्, ‘अझै घटाउनुपर्ने थियो । समयका कारण पाइनँ ।’
फरक जनराका फरक–फरक चरित्र स्थापित भइसकेकाले एक्सन अवतार पनि दर्शकले मन पराउनेमा विपीन आशावादी छन् ।
भन्छन्, ‘एक्सन अवतार पनि दर्शकले रुचाउने गरी नै गरेको छु । सम्भवत यो अवतार दर्शकलाई नयाँ खुराक हुनसक्छ ।’
विपीनले भनेको ‘नयाँ खुराक’को अर्थ हो– दर्शक समक्ष आफ्नो नयाँ चरित्र स्थापित हुन्छ ।
अब, फिल्म दर्शक समक्ष गइसकेको छ । विपीनको एक्सन अवतारको परीक्षाको नजिता यो साता नै आइहाल्ला नि !

प्रदीप पनि नयाँ अभ्यास
‘लभर बोइ’बाहेक अर्को छवि बनाउन चाहान्छन्– प्रदीप । त्यसैले उनले ‘लभ स्टोरी’भन्दा फरक धारका फिल्म गरिरहेका छन् ।
यो वर्ष प्रदीपले चार फिल्म ‘पुजार सार्की’, ‘एक्टर : टेक वान’, ‘पिताम्बर’ र ‘एक्लो’ छायाङ्कन पूरा गरे ।
प्रदीपका अनुसार उनी यो वर्ष छोटो समय फरक–फरक चरित्र निर्वाह गर्ने अभ्यासमा केन्द्रित थिए ।
उनी भन्छन्, ‘म बक्स अफिसमा फिल्म सफल होस् भन्ने कुरालाई मात्र ध्यानमा राखेर यो वर्ष काम गरेको छैन । म चरित्र निर्वाहमा विविधता दिने हिसाबले काम गरेको छु ।’
अर्थात्, प्रदीपलाई आफ्नो नयाँ चरित्र स्थापित होस् भन्ने चाहाना छ । ‘पिताम्बर’मा एक्सन अवतारमा प्रस्तुत हुने निर्णयलाई पनि उनी नयाँ अभ्यासका रुपमा स्वीकार गर्छन् ।
एक्सन अवतार बारे उनी भन्छन्, ‘पिताम्बर फिल्म मैले त्यसै गरेको होइन । एक्सनको अभ्यासमा पास हुने इच्छा नै हो । यो चरित्र दर्शकले रुचाएको अवस्थामा थप स्थायित्व मिल्छ भन्ने अवश्य नै लागेको छ ।’

०००
विपीन ‘भर्सटायल नायक र ‘एक्टर : टेक वानबाट’ प्रदीपले ‘सुपरस्टार’को ट्याग पाएका छन् ।
‘कर्मा’ र ‘पिताम्बर’को बक्स अफिस प्रतिस्पर्धालाई भर्सटायल नायक र सुपरस्टारको भिडन्तका रुपमा पनि चर्चा भएको ।
दुई फिल्म एक साथ प्रदर्शनमा आउनु अहिले सामान्य हो । अझ ‘प्राइम डेट’मा सोलो रिलिजको उदाहरण शून्यःप्राय जस्तै छ ।
दुवै एक्सन प्रधान फिल्म भएकाले दर्शकलाई ‘कुन फिल्म हेर्ने ?’ भन्ने द्विविधा हुनसक्छ ।
प्रदीप र विपिनमा कसले बाजी मार्ने हुन् वा दुवै भाग्यमानी सावित हुन्छन्, त्यसको छनक यही साता थाहा पाइनेछ ।
प्रतिक्रिया