काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई एक–आपसमा गाभिने (मर्ज गर्ने) बाटो खोलिदिएको छ । धितोपत्र व्यवसायी गाभ्ने-गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका २०८१’ आएको छ ।
सेबोनले २०७९ सालमै नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिँदा न्यूनतम पुँजी २० करोड हुनुपर्ने मापदण्ड राखेको थियो । पुराना कम्पनीका हकमा ३ वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन दिएको थियो ।
आगामी आर्थिक वर्ष २०८२/०८३ बाट लागू हुने गरी ब्रोकर कम्पनीले नयाँ मापदण्डअनुसार चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ पुर्याउनु पर्छ । यो मापदण्डको समय–सीमा सकिन अब तीन महिनामात्र बाँकी छ ।
३८ ब्रोकर कम्पनीको २० करोड पुँजी पुगेको छैन । एकातिर पुँजी पुर्याउनु पर्ने दबाब र अर्कातिर मर्जरको नीतिले ब्रोकर कम्पनी कसरी अगाडि बढ्लान् ? भन्ने चिन्ता । मर्जरमा जाँदा र नजाँदा फाइदा–बेफाइदा के–कस्ता छन् भन्ने विषयमा केन्द्रित रहेर स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालसँग गरिएको कुराकानी
तपाईंहरूले ब्रोकरको पुँजी बढाउनका लागि समय माग गरिरहनु भएको थियो । तर, धितोपत्र बोर्डले त मर्जरको उपाय दियो नि ?
हामीले मर्जर र समय दुवैको माग गरेका थियौँ । पहिले २ करोड चुक्ता पुँजी भएका ब्रोकर थिए । त्यसको १० गुणा एकै पटक बढेर न्यूनतम २० करोड पुर्याइएको छ । यसअघि ५ करोडमा ‘मर्जिङ ल्यान्डिङ’ को लाइसेन्स दिइएको थियो । अहिले ६० करोड रुपैयाँ पुगेको छ । त्यसको विषयमा कुरै भएको छैन । पहिले ५ करोड हुँदा लिएको लाइसेन्स नवीकरण गर्ने कि नगर्ने ? त्यसले ६० करोड पुँजी कसरी पुर्याउने ? बैङ्क मर्ज गराउँदा होस् वा बिमा कम्पनी, व्यवहारिक कठिनाइलाई हेरेर मर्ज गराएको देखिन्छ । पुँजीको मापदण्ड पुर्याउनु पर्ने समय तोकिएको ३ महिना अगाडिमात्र मर्जरको पोलिसी आएको छ ।
३ महिना समयावधिमा ३५ दिने सूचना त निकाल्नु पर्यो नि । मर्जरकै कामका लागि यति धेरै फास्टट्र्याकमा काम गर्नुपर्ने छ । ‘क्यापिटल’ बढाउनु पर्ने कम्पनीका लागि पनि काम गर्नुपर्ने छ । यो दुवैको विषयलाई बुझेर बोर्डले समय पनि थप गराओस् । हामीले २ वर्षका लागि समय थप गरिदिनुस् भनेको हो । ता कि अहिले बजारमा भएको सङ्कुचनले व्यवसायीलाई राहत पनि मिल्छ ।
अहिले गरेको नाफाले पुँजी थप गर्न पनि सहज हुन्छ । मर्जरमा जान चहाने साथीहरूले पनि सहज रूपमा जान सक्नुहुन्छ ।पहिले व्यवसायी अगाडि बढ्नै नसक्ने अवस्था थियो । अहिले सेबोनले मर्जरको बाटो खोलिदिएको छ । छिटोभन्दा छिटो सेबोनले नियमावली संशोधन गरेर २ वर्षका लागि समय थप गरिदिओस् भन्ने नै हो । त्यसोगर्दा सहज रूपमा व्यवसाय गर्न सकिन्छ ।

पुँजी वृद्धिका लागि दिइएको समय–सीमा अब ३ महिनामात्र बाँकी छ । तपाईंहरू कसरी अगाडि बढ्नु हुन्छ ?
मर्जरमा हामी छिटो तरिकाले कसरी लाग्न सकिन्छ भन्ने हेर्छौं । मर्जरमा जान स्वीकृति लिएका कम्पनीलाई सेबोनले केही समय दिने कुरा र सकेसम्म २ वर्ष समय थप माग्ने प्रयास नै हुन्छ । यो विषयमा फेरि हामी धितोपत्र बोर्डसँग सिरियसली कुरा पनि गर्छौं । उहाँहरूलाई यसको गम्भीरताको विषयमा बुझाउँछौँ पनि ।
नियामक हिसाबले पनि कमजोरी भयो नि त । हामी जुन दिन आउनुपर्ने थियो, त्यो दिन मर्जरको पोलिसी आइदिएको भए उहाँहरू पनि प्रिमियम भएर मर्जरमा जान सक्नुहुन्थ्यो । कमी–कमजोरी नियामक निकायबाट पनि भएको छ । बल्ल आएर नीति पास भएको छ । ब्रोकरलाई लाग्ने लिगल समय पनि त चाहियो नि । कम्पनीले यति दिनको सूचना निकाल्नु भनेको छ भने त्यति दिनकै समय पनि चाहियो होला नि ।
विशेषका लागि १५ दिन भनिएको छ भने १५ दिनकै सूचना निकाल्नु पर्यो । दुईवटा कम्पनीको डाटा मर्ज गरेर जानु पर्यो । यस्ता प्राविधिक विषय पनि आफ्नो ठाउँमा छन् । यदि मर्जरमै गइसकेपछि एमओयू गरिसकेका कम्पनीहरूका लागि केही समय दिएर एउटा बीचको बाटो खुलाउनु पर्छ ।
दुईभन्दा बढी ब्रोकरहरू मर्ज गर्दा के फाइदा हुने देख्नुहुन्छ ?
मर्ज गर्दा कर्मचारी घट्छन् । त्यसले गर्दा कर्मचारीलाई दिनुपर्ने पारिश्रमिक पनि कम हुन्छ । टिएमएसको प्रिमियम शुल्क, अफिस सञ्चालन खर्च, धितोपत्र बोर्ड, नेप्सेमा तिर्नुपर्ने रकममा खर्च कम हुन्छ । बत्ती, इन्टरनेट, भइपरिआउने खर्च पनि घट्छ ।
दुईवटा ब्रोकरका ग्राहक एक ठाउँमा हुने भएपछि भोल्यूम बढ्छ र त्यसले ब्रोकरको आमदानी बढ्छ । मर्जरमा जाँदा एक खालको परिवर्तन आउँछ ।
हिजोका दिनमा जुन खालका ब्रोकर थिए, त्यसलाई एक साइजको क्यापिटल बनाउँदा त्यसले बजारको विकास गर्छ भनेर निजी क्षेत्रको तर्फबाट ११ अर्ब ६० करोड रुपैयाँ लगानी गरेर नयाँ डिलरसहित ब्रोकरहरू आए । त्यसलाई तपाईँले हेर्नुभयो भने त्यसको अफिस, काम गर्ने जनशक्ति र संरचनामा परिवर्तन देख्नुहुन्छ । त्यो फिल पनि पाउनुहुन्छ । हिजो नयाँ ब्रोकरहरू आउनुभन्दा अगाडि कतिपय अफिसको कुना–कुना जानु पर्ने, लगानीकर्तालाई अविश्वासको महसुस हुने अवस्था थियो । त्यसकारण अहिले कहीँ न कहीँ परिवर्तन आएको छ । फेरि हामी क्वान्टिटीमा जाँदा त्यही लेबलको व्यवसाय गर्नेका लागि सहयोगी बन्न सकिरहेका छैनौं ।
त्यो क्यापिटलले कहीँ न कहीँ त रिटर्न त खोज्छ । संस्थामा त्यो खालको रिटर्न भएको छैन । त्यसरी हेर्दा नयाँलाई व्यवसाय पुगिरहेको छैन । हामी नयाँ प्रोडक्ट ब्रोकरलाई दिन नसक्ने क्यापिटल बढाएपछि प्रोडक्ट त थप्न सकिन्छ । हामीले ५ करोडको मर्चेण्ट बैङ्कहरूलाई पोटफोलियोको एडभाइजरीको काम दिन्छौँ भने २० करोडको ब्रोकरलाई हामी त्यो दिन सक्दैनौं ? त्यसरी दिनसक्दा उहाँहरूको व्यवसाय बढ्थ्यो । हामीले त्यसो पनि गर्न सकिरहेका छैनौं । प्रोडक्ट कुनै पनि थप नगर्दा उहाँहरूले व्यवसायको विस्तार गर्नसक्नु भएको छैन ।
पुरानो कतिपय साथीहरूको क्यापिटल पुगिरहेको छैन । उहाँहरूसँग ग्राहकहरू भने धेरै हुनुहुन्छ । पुँजी बढ्छ र ग्राहक बढ्ने कुराहरु त छँदैछ । मर्जर भएपछि टेक्नोलोजीमा पनि फरक पर्छ । म्यानेज नै गर्न नसक्ने खालका ग्राहक पनि छैनन् । मर्जरको बाटोतिर जानुपर्छ भन्नेजस्तो लाग्छ । भोलिका दिनमा ‘शु–साइन’का हिसाबले पनि ठूलो कम्पनी बन्दा विश्वसनीय हुन्छ ।
हामीले विगत देखिकै उठाइरहेको कुरा हो अर्ब माथिको कम्पनी बनाएर राम्रो सुशासनमा चलाएर सर्वसाधारणलाई पनि सहभागिता गराएर बजारमा लानुपर्छ । आइपीओ जारी गरेर सर्वसाधारणलाई पनि शेयर दिँदा यसको भ्याल्यू राम्रो हुन्छ । सबै सहभागी गराएर यसलाई पारदर्शी व्यवसायका रुपमा लग्दा राम्रो हुन्छ र पुँजी बजारको विकास हुन्छ । यसरी पनि हामी अगाडि बढिरहेका छौँ ।
दुई वा दुईभन्दा बढी ब्रोकर कम्पनी मर्ज गर्दा त्यसका चुनौतीहरू पनि छन्, त्यसलाई कसरी सम्बोधन गर्ने ?
हिजोका दिनमा बैङ्क मर्ज गर्दा होस् वा बिमा कम्पनी । त्यहाँ देखिएको समस्याबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । कर्मचारीको गुटबन्दी हुन सक्ने कुरा औँल्याइएको छ । त्यो समस्या कहीँ न कहीँ देखिन आएको छ । अहिलेको मर्जर नीतिमा पनि त्यस्ता कुरा पहिले समाधान गरेर ल्याउनुपर्ने भनिएको छ । अहिले मर्जरको नीति हेर्यो भने पनि दुवै कम्पनीका सिनियर लेबलका कर्मचारीसहित शाखाको रुपमा सञ्चालन गर्न पाउने व्यवस्था छ ।
तुरुन्त यो किसिमको काम नहोस् भन्ने पनि छ । पछि कर्मचारी धेरै हुने भएकाले शाखा सञ्चालन गर्दा वा उनीहरूलाई बिदा गर्दा कुनै स्किम दिएर बिदा गर्न सकिन्छ ? यो विषयलाई मर्जरको तत्कालीन च्यालेञ्जका रुपमा हेर्न सकिन्छ । अहिले व्यवस्थापन गरेर त्यसलाई शाखाको रुपमा विकास गर्न सकिन्छ । नजिक शाखा छ भने त्यसलाई स्थानान्तरण गर्न पनि सकिन्छ । ब्रोकरमा त्यति धेरै ठूलो सङ्ख्यामा कर्मचारी नभएकाले गर्दा त्यस्तो समस्या नआउला ।

मर्जर हुँदा त्यसको लागि एउटै टिएमएसबाट कारोबार गराउनु पर्छ । ग्राहकलाई झन्झटिलो पनि बन्छ नि त होइन ?
हाम्रो ब्याक–इनमा सबै सिस्टम रेडी हुन्छ । ग्राहकलाई रोकेरै गर्नुपर्छ भन्ने छैन । त्यसका लागि एक दिन पनि लाग्दैन । तपाईंले उठाउनु भएको विषय कार्यविधि छलफलको क्रममा उठेको विषय हो ।
टिएमएस दुईवटा होला त्यसलाई कसरी म्यानेजमेन्ट गर्ने भन्ने विषय उठेपछि हामीले टेक्निकल टिमहरूसँग बसेर कुरा गर्यौँ । ब्याकइनमा सबै डाटाहरू मर्ज गर्न सकिने निष्कर्षमा पुग्यौँ । शुक्रबार र शनिबार बिदा हुन्छ भने कारोबारको दिनलाई हेरेर त्यसरी लञ्च गर्ने भनिएको छ । लगानीकर्तालाई असर गर्ने हिसाबले आउँदैन ।
ब्रोकरहरूसँग प्रायः चिनजानका हिसाबले ग्राहक बन्ने गरेको पाइन्छ । तर, मर्ज भएर ठूलो बन्दै गर्दा ग्राहक अन्यत्र जान सक्ने खतरा कतिको देख्नु हुन्छ ?
अब हामीले यो बिजनेसलाई प्रोफेसनल बिजनेसका रूपमा अगाडि बढाउनुपर्छ । यसलाई हामीले चिनेजानेको हिसाबले अथवा त्यसलाई हामी नजिक छौँ भन्ने हिसाबले भन्दा पनि सेवा दिने हिसाबले अगाडि बढाउनुपर्छ । संस्थामा जोसुकै जोडिँदा उस्तै खालको सेवा दिन सक्ने हुनुपर्छ ।
ग्राहकको मन जित्ने भनेको सर्भिसले हो । हामी मर्जरमा जाँदै गर्दा दिने सेवामा कुनै पनि कमी हुनुहुँदैन । अन्यथा ग्राहकसँग धेरै अप्सन छन् । आज यहाँ भएको ग्राहक भोलि अन्यत्र राम्रो सेवा दिने ठाउँमा पनि जान सक्नुहुन्छ । हाम्रो पेशा सेवामुखी हुनुपर्छ । निश्चित एकजना व्यक्तिले कतिलाई ‘टेक–केयर’ गर्न सक्छ ? अफिसमा आफू नहुँदा पनि त्यही स्तरको सेवा दिन सकियो भने संस्था सफल हुन्छ । यस कारणले गर्दा मेरो विचारमा संस्था प्रोफेस्नल हुनुपर्छ ।
जुन–जुन डिपार्टमेन्ट हो त्यो डिपार्टमेन्टको हेडहरूले राम्रो सर्भिस दिनु भयो भने चिनजान नहुँदाखेरि पनि ग्राहकले त्यो सेवामा केही फरक महसुस गर्नुहुन्न । एकजना दुईजनालाई त्यसरी सेवा दिन पनि सकिएला तर, धेरैलाई सकिँदैन । त्यसैले अबको क्यापिटल मार्केटको विकास प्रोफेस्नलिजमको अभ्यासमा अगाडि बढाउनु पर्छ । ताकि, आम मानिसले सेवा लिन आउँदा त्यसको गुणस्तर हेरेर गरून् । राम्रो सेवा दिन नसकेर ग्राहक अर्कोमा जाने कुरा ब्रोकर व्यवसायी साथीहरूले बुझ्नुपर्छ ।

नयाँ ब्रोकरहरू बढी मर्जरमा जानुहुन्छ वा पुराना ? तपाईं आफूले के देख्नु हुन्छ ??
यसमा दुईवटै अप्सन छन् । म अहिले एसोसियसनको अध्यक्ष छु । नयाँ–पुरानाभन्दा पनि हामीसँग सिङ्गो व्यवसायी साथीहरू हुनुहुन्छ । उहाँको हकहितकै लागि म बोल्छु । अब यसमा दुईवटा अप्सन छन् । एउटा अप्सन त पुरानो–पुरानो मर्ज हुने र अर्को नयाँ–पुरानो मर्ज हुने । किनभने दुईवटा मर्ज हुँदा पुग्छ । नयाँसँग ग्राहक थोरै छन् । नयाँ र पुरानाको रेसियो मिलाउँदा क्यापिटलको हिसाबले पनि पुग्छ । ग्राहकको हिसाबले पनि पुग्छ । उहाँहरूको अनुभवसहित रन गर्नलाई नयाँ टिमसँग मर्ज गर्न सकिन्छ । यो विषय सहमति कसरी हुन्छ भन्नेमा निर्धारित हुन्छ ।
मर्ज गर्ने भनेपछि मर्ज गर्ने पार्टनर त्यही लेबलको कसरी खोज्नु हुन्छ ? धेरै साथी मर्जर नीति आएपछि उत्साहित पनि हुनुहुन्छ । राम्रो पार्टनरको खोजीमा हुनुहुन्छ । कति जनाले आठ–दस कम्पनी नै मर्ज भएर डिलरमा जाने हिसाबले छलफल गरिरहनु भएको छ । डेढ अर्बको पुँजी बनाएर डिलरको रूपमा जानेबारे पनि छलफल चलिरहेको छ । त्यो हिसाबले विभिन्न लेबलमा छलफल चलिरहेको छ ।
तपाईं हिमालयन (ब्रोकर नम्बर ६३) मा हुनुहुन्छ । तपाईंले मर्जरमा जाने बारेमा के विचार गर्नु भएको छ ?
अहिले हामीले मर्जरमा जाने सोचेका छैनौँ । हामी अब व्यवसायलाई कसरी हुन्छ बढाउन सकिन्छ भन्ने हिसाबले लागिपरेका छौँ । डिलरको हिसाबले अथवा पछि अहिलेको भन्दा माथि जाने हिसाबले हाम्रो छलफल चल्यो भने ती अप्सन त हाम्रा अगाडि छन् नै । मल्टिपल अप्सनहरू प्रत्येक दिन खुल्ला हुन्छन् भने त्यो लेबलको छलफल चलाउन सकिन्छ । तर, तत्काल मर्जरमा जाने विषयमा हामीले सोचेका छैनौँ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अहिले मर्जरकै कुरा चलिरहेको छ । कहीँ न कहीँ ढिला भए पनि नीति आएको छ । हामीलाई समय दिने विषयमा धितोपत्र बोर्डले चाँडो काम गरोस् । बोर्डले नपठाएसम्म अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा लाने कुरा हुँदैन । केही समय थप गर्दा सबै व्यवसायी एक लेबलको कम्फर्ट हुन्छन् । पुँजी नपुर्याउने भनेर कोही पनि साथीहरूले भन्नु भएको छैन । त्यसलाई हेरेर समय थप गर्दा राम्रो हुन्छ ।
प्रतिक्रिया