काठमाडौं– एउटा स्वस्थ मानिस सामान्यतया अस्पतालमा धाउँदैन । स्वास्थ्यमा समस्या भएपछि मात्रै अस्पताल धाउनै पर्ने बाध्यता आउँछ । कुनै प्रकारको पीडा भएपछि वा स्वस्थ मान्छे बिरामी लिएर उपचार गर्न अस्पताल पुग्छ । राजधानीका ठूला सरकारी अस्पतालमा रोग निको पार्ने विश्वासकाे केन्द्र ठानेर देशभरबाट बिरामी आउँछन् ।
सरकारी अस्पताल मध्यम र निम्न आयस्तरका मानिसमात्रै उपचार गर्ने थलाे हुन् । धनी वर्गका मान्छे त्यति आउँदैनन् । आएको पनि देखिँदैन । रोग निको हुने विश्वास बोकेर वीर अस्पताल छिरेका बिरामी थकित र थिल्थिलो बन्छन् । बिरामी निको नै त हुँदैन नभनौँ तर, सरकारी अस्पतालका बेथितिले अर्काे एउटा राेग थपिदिन्छ ।
बिरामीलाई टिकटको लाइन, डाक्टर चेकजाँचको लाइन, स्ट्याम्पको लाइन, मितिको लाइन र रिपोर्टको लाइनले थप रोगी बनाइदिन्छ । थप गरिब गराउँछ । सायद कति बिरामीको अकालमै मृत्यु हुन्छ । जसको राज्यसँग कुनै तथ्याङ्क नै छैन ।
स्वास्थ्य बिमा र सामाजिक कोषमा आबद्धलाई थप लाइन
सामान्यतया सबै सरकारी तथा निजी अस्पतालमा बहिरङ्ग उपचार (ओपीडी) पद्धति समान पाइन्छ । वीर अस्पतालमा बिरामीले एकपछि अर्काे लाइनकाे सामना गर्नुपर्छ । उपचारका लागि पहिला ओपीडीको टिकट हाेइन, टिकटका लागि टोकन लिनुपर्छ ।
याे अस्पतालमा एकै दिनमा हजारौँ बिरामी उपचारका निम्ति आउँछन् । बिहान साढेसात बजेदेखि अस्पतालमा डिजिटल प्रणालीबाट लाइनको लागि टोकन लिने काम सुरु हुन्छ । जुन टोकन नम्बर साढे ८–९ बजेसम्म झण्डै हजार पुगिसक्छ ।
डिजिटल टोकन नम्बरअनुसार सबै बिरामीले पालैपालो टिकट लिन्छन् । स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीले भने टिकट लिँदा नै आफूलाई प्रणालीमा आबद्ध गराएर टिकट लिने व्यवस्था छ ।
मङ्गलबारसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीलाई अस्पतालले अन्य सर्वसाधारणलाई लाग्ने टिकट शुल्कको तुलनामा दुई गुणा बढी बिल बनाएर त्यसमा फेरि ८० प्रतिशत छुट दिएरमात्रै टिकट दिने गरेको छ ।
सायद काठमाडौंको सबैभन्दा बढी चहलपहल हुने गल्लीमा जस्तै आधा दिउँसो बढी समयसम्म चहलपहल हुने वीर अस्पतालमा आउने बिरामीलाई कसैसँग गुनासो सुनाउने र झगडा गर्ने फुर्सद हुँदैन । किनकि त्यसो गर्यो भने उसको उपचार प्रक्रिया नै छुट्छ ।
टोकन लिएपछि बिरामीले पालैपालो टिकट लिएर आ–आफ्नो सम्बन्धित रोगको चिकित्सा विभागमा पुग्नुपर्ने हुन्छ । सामान्यतया केही विभागबाहेक धेरै विभागमा बिरामीको घुइँचो राम्रै देख्न सकिन्छ । त्यहाँ पनि बिरामी गएर दोस्रो पटक लाइन बस्न सुरु गर्छ ।
सामान्यतया एउटा विभागमा वरिष्ठ चिकित्सकदेखि एमबिबिएस चिकित्सकसम्म ४–५ जनासम्मले बिरामी बाँडेर पालैपालो हेर्ने गर्छन् । अधिकांश विभागमा बिरामीलाई पुगनपुग बस्ने व्यवस्था पनि मिलाइएको छ । यद्यपि सबै बिरामीलाई भने बस्ने ठाउँ पुग्दैन ।

चिकित्सकलाई देखाउने बेलासम्म बिरामीको अन्य खर्च, टिकट शुल्कबाहेक बढी खर्च भएको हुँदैन । चिकित्सकलाई देखाइसकेपछि मात्रै उसले औषधिमात्रै खाने वा थप परीक्षण गर्ने भनेर निर्क्यौल गरेर सिफारिस गर्छ ।
चिकित्सकले थप परीक्षण गर्नुपर्ने सिफारिस गरेमा बिरामीले तोकिएको परीक्षणका लागि पैसा तिर्नुपर्ने हुन्छ । औषधिको लागि मात्रै सिफारिस गर्यो भने औषधि किनेर घर फर्किन सक्छ ।
वीर अस्पतालमा गरिब तथा विपन्न वर्गले पाउने सहुलियत उपचारको सुविधा पाउने व्यवस्था छ । साथै, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीलाई पनि सुविधा पाउने परीक्षण, उपचार र औषधिमा सहुलियत पाउने व्यवस्था छ ।
तर, विडम्बना झण्डै २ देखि ३ घण्टा समय लगाएर चिकित्सकलाई देखाएको स्वास्थ्य बिमा वा सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीले थप परीक्षणको लागि वा औषधि खरिदमा सहुलियत लिन पर्योभने उसको टिकटमा थप छाप लगाउनुपर्ने हुन्छ । वीर अस्पतालमा त्यस्तो लाइन लाग्ने व्यवस्था नयाँ र ठूलो निलो भवनमा गरिएको छ ।
ती स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीहरू सहुलियतको सुविधा लिनका लागि नयाँ भवनको छाप लगाउनका लागि मात्रै बनाइएको काउन्टरमा लाइन लगाउन पुग्छन् । जुन लाइनमा धेरै प्रौढ र वृद्ध मान्छेहरू देखिन्छन् ।
६ जना कर्मचारी रहेको सो काउन्टरमा असाध्यै ढिलो काम हुन्छ ।
काम गर्दागर्दै कर्मचारीले बीच–बीचमा इन्टरनेट गयो भन्छन् । उनीहरूलाई स्वास्थ्य बीमासँग सम्बन्धित बिरामीले रेफरल सिफारिस देखाउनुपर्ने हुन्छ भने सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीले परिचय–पत्रको फोटोकपी दिनुपर्ने हुन्छ । त्यो काउन्टरले डिजिटल कार्ड देखाएर मान्दैन ।
अहिलेको डिजिटल समयमा अधिकांश बिरामीले आफ्नो कार्ड भिन्दै बनाएर हिँड्दैनन्, त्योमात्रै होइन कि सामान्यतया अस्पताल वरिपरि फोटोकपी गर्ने ठाउँ हुँदैन । जुन वीर अस्पतालमा पनि छैन । फोटोकपी ल्याउन सक्ने बिरामीले सहुलियतको छाप पाउँछ भने फोटोकपी ल्याउन नसक्ने बिरामीले त्यो सुविधा पाउँदैनन् ।
सुरुमा टिकट काउन्टरमा स्वास्थ्य बिमा वा सामाजिक सुरक्षा कोषमा आबद्ध भएको भनेर डिजिटल कार्डको आधारमा नै टिकट दिने अस्पतालले सहुलियतको लागि छुट्टै सास्ती दिने गरी लाइनमा किन लगाउँछ भन्ने प्रश्न त छ नै । फेरि अहिलेको डिजिटल समयमा उसले डिजिटल कार्डलाई छाप लगाउने बेलामा मान्दैन ।
बिरामीले छाप लगाउने लाइनमा घण्टौँ बिताएपछि औषधि किनेर फर्किने रहेछ भने त फर्किन्छ । परीक्षणको लागि थप पैसा तिर्नुपर्ने रहेछ भने त्यसपछि फेरि पैसा तिर्ने काउन्टरको लाइनमा गएर उभिनुपर्छ । पैसा तिर्दातिर्दै धेरै बिरामीको त्यो दिनको अधिक समय बितिसकेको हुन्छ ।
त्यसपछि भिडिओ एस्करे, एक्सरे, रगत जाँचजस्ता अधिकांश परीक्षण त्यो दिन पाइने सम्भावना लगभन न्यून भएपछि टाढाको बिरामी रहेछ भने भोलि बिहान फेरि आउने गरी बासस्थान खोज्न हिँड्छ । नजिककै रहेछ भने पनि आफ्नो घरतर्फ लाग्छ ।
अन्य ठाउँमा एकैदिन आउने धेरै परीक्षणको रिपोर्ट वीर अस्पतालमा आउँदैन । त्यसमा पनि सरकारी अस्पताल भएर सार्वजनिक बिदा लागू हुने नै भयो । शुक्रबार कुनै परीक्षण दियो भने त आइतबारमात्रै रिपोर्ट आउँछ भनेर प्रयोगशालाको कर्मचारीले भन्छ ।
पछिल्लो हप्तादेखि वीर अस्पतालमा थाइराइडको जाँच भइरहेको छैन । मेसिन बिग्रेको कारण परीक्षण रोकिएको प्रयोगशालाका कर्मचारीले बताएका छन् ।
सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमासँग आबद्ध बिरामीलाई अर्को अझै झन्झट के छ भने, कुनै दिन सामाजिक सुरक्षा कोष वा स्वास्थ्य बिमासँग आबद्धताको छाप लगायो भने त्यही दिन नै बिल काट्नुपर्छ । कुनै कारणले त्यो दिन नै लाइनमा बसेर बिल काट्ने अवस्था बनेन भने भोलिपल्ट फेरि भोलिकै मितिमा छाप लगाउनुपर्छ ।
विपन्नलाई थप पीडा

सरकारले सञ्चालन गरेको गरिब तथा विपन्न समुदायका मानिसलाई सहुलियत औषधोपचार गर्ने कार्यक्रम वीरमा पनि लागू भएको छ । जुन सुविधा देशको जुनसुकै ठाउँबाट आउने बिरामीले प्राप्त गर्न सक्छन् ।
दिउँसो १२ बजेदेखि १ बजेसम्म अस्पतालको भुइँतलामा रहेको सामाजिक सुरक्षा इकाईको कार्यालय रहेको बाहिरपट्टि हेर्यो भने दैनिकजसो विपन्न व्यक्तिहरू देखिन्छन् । जो टाढादेखि आएका साथै सँगै झोला बोकेका बिरामी वा आफन्तरहरू देखिन्छन् । उनीहरू गरिब तथा विपन्नले अस्पतालमार्फत् प्राप्त गर्ने सेवाको लागि कागजपत्रमा छाप लगाउनका लागि प्रतिक्षा गरिरहेका हुन्छन् ।
तर, १२ देखि १ बजेसम्म १ घण्टा शाखाका कर्मचारी भने खाजा खान भनेर बाहिर निस्कन्छन् । टिकटको लाइनदेखि चिकित्सकको लाइनसम्म पुगेर फर्किँदाको समयमा कर्मचारी खाजा खान निस्कन्छन् । जसको प्रतिक्षामा देशैभरीबाट आएका विपन्न समुदायका मानिसहरूको एक घण्टा समय बित्छ । सरकारकै सहयोग लिएरमात्रै उपचार गर्नसक्ने विपन्नहरूको उपचार समय लम्बिने, उनीहरूको बसाइ र खर्च बढ्ने गरेको छ ।
प्रतिक्रिया