विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि संस्थापन पक्षले धक्का व्यहोरेको छ ।
एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा भएको दोस्रो अधिवेशनको बिहीबार राति आएको परिणामले मोरङ जिल्ला कमिटीमा जस्तै महानगरमा पनि संस्थापनले धक्का व्यहोरेको हो ।
दोस्रो अधिवेशनबाट महानगर अध्यक्षमा बलराम गिरी ‘नवीन’ले बाजी मारेका छन् । एमाले संस्थापनसहित विवादित नेता परशुराम बस्नेतको संरक्षण प्राप्त वर्तमान अध्यक्ष रोहित कोइराको प्यानलै यहाँ पनि हारेको छ । गिरीले कोइरालालाई ५२ मतको फराकिलो अन्तरले पराजित गरे । विजेता गिरीले १७३ मतसहित अध्यक्ष पद पक्का गर्दा उनका प्रतिस्पर्धी कोइराला १२१ मतमा समेटिए ।
यहाँ गिरीसहित पदाधिकारी पदमा अजम्बर राई नेतृत्वको मोरङ जिल्ला कमिटीको साथ पाएको प्यानल नै आएको हो । यो प्यानललाई कोशी प्रदेश अध्यक्षमा पराजित नेता विनोद ढकालले तयार गरेका थिए ।
उता उपाध्यक्ष पदमा गिरी प्यानलकै सुवास कुमार न्यौपाने ‘सुरज’ १४५ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी राम पोखरेलले १३६ मत पाए ।
सचिव पदमा गिरी प्यानलकै विज्ञान चापागाईंले १८३ मतसहित बाजी मारे । उता पराजित कोइराला प्यानलबाट सचिवका उम्मेदवार नवराज काफ्ले १०४ मतमा समेटिए ।
त्यसैगरी उपसचिव पदमा पनि गिरी प्यानलकै हमिद आजाद र हिमा मैनाली (पोखरेल) आए । महानगर कमिटीको अधिवेशनका क्रममा दुवै समूहले प्यानल बनाएका थिए ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित ९७ सदस्यीय महानगर कमिटी निर्वाचित गर्नुपर्ने थियो । तर पदाधिकारीसहित १६ पदमा मात्रै निर्वाचन भयो । ८१ जना सदस्य सर्वसम्मत भइसकेका छन् । अब ४ जना मनोनीत गरेर १०१ सदस्यीय कमिटी बनाइँदैछ ।
संस्थापनलाई धक्कै धक्का
गत फागुन तेस्रो साता भएको नेकपा एमाले मोरङको दशौँ महाधिवेशनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले हस्तक्षेप गर्दा पनि विनोद ढकाल नेतृत्वको विद्रोही प्यानलले एकछत्र जित निकालेको थियो।
एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा ओलीसहितका शीर्षनेताहरू एकजुट भएर हराएपछि ढकालले मोरङको अधिवेशनबाट कमब्याक गरेका थिए ।
एमाले मोरङको अधिवेशनबाट ढकाल नेतृत्वको प्यानलबाट अजम्बर राईसहित पाँचै पदाधिकारीले एकपक्षीय जित निकालेका थिए ।
मोरङमा ढकाल पक्षले पकड बनाएपछि एमालेको संस्थापन पक्ष अहिले तनावमा थियो । कोशीका मुख्यमन्त्री हिक्मत कार्की, एमाले इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहितका नेताहरूले सारा शक्ति लगाउँदा पनि विनोद ढकाल नेतृत्वको प्यानललाई रोक्न सकेका थिएनन् ।
मोरङमा ढकाल पक्षको पकडका कारण अहिले एमाले मोरङमा कलहको बिउ रोपिएको छ । पराजित भएको ओली पक्षलाई अहिले ढकालको समूहलाई स्वीकार्नै मुस्किल परिरहेको छ ।
एमाले मोरङमा अहिले दुई पक्षले समानान्तर अभ्यास गरिरहेका छन् । त्यही अभ्यासको बाछिटा विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका क्रममा सार्वजनिक रुपमै पक्रट भएको थियो ।
पार्टी कार्यालय पाञ्चाली परिसरमै भएको महानगर कमिटीको अधिवेशन उद्घाटन समारोहमा शुभकामना दिने नेताको सूचीमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल पनि थिए । एमाले मोरङमा उनले बनाएको पकड संस्थापनले अझैसम्म मन नपराएको कुराको प्रकट रुप महानगरको महाधिवेशनमा देखियो ।
उक्त उद्घाटन समारोहमा ढकाललाई अपमानजनक व्यवहार गरेर कलहको बिउ रोप्ने काम महानगर इञ्चार्ज परशुराम बस्नेतले गरेका थिए । बस्नेतले ढकालसहितका नेताहरूलाई ‘अवैधानिक नेतृत्व’ भनेर टिप्पणी गरेका थिए । उक्त टिप्पणीलाई लिएर नेता ढकालले मञ्चमै रोष प्रकट गरे ।
एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका बस्नेतले यसअघि आफूलाई मोरङ अध्यक्षका लागि लबिइङ समेत गरेका थिए ।विवादास्पद पृष्ठभूमिका बस्नेत आगामी चुनावमा विराटनगर महानगरको मेयरका लागिसमेत नेतृत्वसँग भनसुन गरिरहेका छन् । तर फागुन २३ गते एमाले मोरङको परिणाम ढकालको प्यानलतिर गएपछि उनलाई ठूलो धक्का लागेको थियो ।
एमाले मोरङको चुनावमा धक्का व्यहोरेका बस्नेतले विराटनगर महानगरको अधिवेशनमा त्यसको रिस फेर्न खोजेको ढकाल पक्षको बुझाइ थियो ।
बस्नेतले सार्वजनिक रुपमै आफूलाई ‘अवैधानिक नेतृत्व’को संज्ञा दिएपछि माला पहिरिएर अन्य अतिथिसँगै बसेका ढकालले तत्कालै प्रतिरोध गरेका थिए । उनले अतिथिगणको बेन्चबाट उठ्दै अधिवेशनस्थल छाडेर हिँडे । ढकालले वैधानिक नेतृत्वहरू मञ्चमा बस्ने म कार्यकर्तासँग बस्छु भन्दै असन्तुष्टि जनाए ।
तर, एमालेका अर्का कार्यकर्ताले ढकाललाई तानेर अतिथि भएको ठाउँमै फर्काउन खोजे । ढकालाई विराटनगर महानगरपालिका वडा नम्बर-३ का बासु बस्नेतसहितका कार्यकर्ताले तानेर मञ्चमा लैजान खोजे । तर उनी मञ्चमा नगई कार्यकर्तामाझ बसेका थिए ।
आफूलाई जुनियर एमाले नेताले अपमान गरेको भन्दै ढकालले मञ्च छाडेर कार्यकर्तासँग बस्न गएका थिए । उनलाई एमालेका कार्यकर्ताले मञ्चमै आउन भने पनि ढकालले कार्यकर्तासँगै उद्घाटन समारोहमा बसेर बिताए । अहिले उनै ढकालले बनाएको प्यानलले विराटनगर महानगरमा पनि पकड बनाएको छ ।
प्रतिस्पर्धा
२०८० असोज दोस्रो साता पाञ्चालीमै भएको कोशी प्रदेशको अधिवेशनमा ढकाललाई एमालेका शीर्ष नेताहरू लागेर हराएका थिए। चौतर्फी घेरामा पर्दा पनि ढकाल घनश्याम खतिवडासँग पराजित भएका थिए।
एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा खतिवडाले ५१२ मत पाउँदा प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याएका थिए । एक्लै मैदानमा उत्रिँदा पनि ढकाल केवल ८२ मतले पराजित भएका थिए ।
कुनैबेला ओलीकै संरक्षण पाएका ढकाल कोशी प्रदेशको चुनावपछि किनारा पारिएका थिए । यस्तो अवस्थामा विराटनगर महानगरका तत्कालीन अध्यक्ष सागर थापासहितलाई जुटाएर ढकालले एमाले मोरङको चुनाव जिताएका थिए । ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि संरक्षण मिलेको बताइन्छ ।
विराटनगरस्थित पुष्पलाल चोकमा रहेको मानगढ खानेपानी आयोजनाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको आरोपमा परशुराम बस्नेतसहितको दबाबमा थापालाई कारबाही गरिएको थियो । एमालेले थापा नेतृत्वको विराटनगर महानगरको निर्वाचित कमिटीलाई हटाएर नयाँ पदाधिकारी तोकेको थियो ।
प्रतिक्रिया