काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १२ पदाधिकारीमध्ये ४ जना महिला छन् । जसमा सुमना श्रेष्ठ सहमहामन्त्री, लीमा अधिकारी कोषाध्यक्ष, बसुमाया तामाङ सह–कोषाध्यक्ष र प्रतिभा रावल सहप्रवक्ता छन् । रास्वपामा अहिलेसम्म महिला उपसभापति छैनन् । आगामी महाधिवेशनबाट महिला उपसभापतिको पद रहने छ ।
पार्टीमा सहमहामन्त्रीको महत्वपूर्ण जिम्मेवारीमा रहेकी सुमना श्रेष्ठले दिएको राजीनामा चर्चाको विषय बनेको छ ।
सुमनाले राजीनामा दिएपछि कतिपयले उनको निर्णयलाई स्वागत गरेको देखिन्छ भने कतिपयले अपरिपक्व र ‘पदको बार्गेनिङ’सम्म भन्न भ्याएका छन् । कतिले उनलाई स्टन्ट गरेको आरोपसमेत लगाएका छन् । तर, सुमनाले भने दाबी भने पार्टी विधानतः एक व्यक्ति एक पदमा चल्नुपर्ने र निर्णयहरू पारदर्शी हुनुपर्ने बताएकी छिन् ।
आफूले सांसदको जिम्मेवारीलाई केन्द्रमा राखेर पार्टीको महत्वपूर्ण जिम्मेवारी अन्य नेतालाई दिइनुपर्ने तर्क गर्दै राजीनामा दिएकी हुन् । उनले सहमहामन्त्रीबाट राजीनामा दिनुका तीन कारण उल्लेख गरेकी छन् । पहिलो– ‘एक व्यक्ति एक पद’को एजेन्डा । दोस्रो– ‘पार्टीमाथि जनताको ठूलो आशा रहेकाले डेलिभरी क्षमता बढाउनुपर्ने । र, तेस्रो– पार्टीभित्र ‘कर्मकाण्डी प्रक्रिया’ अन्त्य हुनुपर्ने ।
सुमनाले गत चैत्र १७ गते सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएकै दिन राजीनामा बुझाएकी थिइन् । तर, रवि सहकारी प्रकरणमा जेल चलान भएको डेढ सातापछि विहीबार मात्रै राजीनामा प्रकरण बाहिरियो । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सुमनाको राजीनामा कार्यसूची चढेको थियो ।

संसदीय दलको जिम्मेवारी दिए सम्हाल्न तयार
सुमनाको राजीनामापत्र बिहीबारको केन्द्रीय कमिटी बैठकमा औपचारिक रुपमा टेबल भएको छ । रास्वपाको विधानमा महामन्त्रीमार्फत सभापतिमा गएर स्वीकृत हुने प्रावधान छ । बिहीबारको बैठकमा यसबारे कार्यवाहक सभापति डोलप्रसाद अर्यालले श्रेष्ठसँग छलफल गरेर टुंग्याउने सहमति भएको नेताहरु बताउँछन् ।
बिहीबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यले सुमनाको राजीनामा स्वीकृत गर्न नहुने र उनी जिम्मेवारीमा फर्कनुपर्ने अडान राखेको बैठकमा सहभागी नेताहरूको भनाइ छ ।
बैठकमा सुमनाले १७ चैतमा नै सभापति रवि लामिछानेलाई दुई वटा कुरा गरेर राजीनामा बुझाएको जानकारी गराइन् । उनले लामिछानेलाई पार्टी मूल्य मान्यता अनुसार चलोस् भन्दै एक व्यक्ति र एक पदको अवधारणा अनुसार बुझाएको कुरा राखिन् । उनले आफू जे कुरामा सक्षम छु, त्यही कुरामा केन्द्रित हुन चाहेकाले पनि राजीनामा बुझाएको बताएकी थिइन् । उनले सभापतिलाई पार्टीको काममा भन्दा पनि आफू संसदीय कार्यक्षेत्रमा बढी केन्द्रित हुन चाहेको बताएकी थिइन् । यही कुरा उनले बिहीबारको बैठकमा पनि राखिन् ।
‘मेरो स्वभाव पार्टीको काममा भन्दा पनि संसदीय काममा फोकस हुने छ, म परिणामको आश गर्छु,’ श्रेष्ठले बैठकमा भनिन् , ‘यदि संसदीय दलको नेता या उपनेताको विषयमा विधानतः प्रतिस्पर्धा गर्नुपर्छ भने म तयार छु ।’

बैठकमा सहभागी नेताहरूका अनुसार सुमनाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न चाहे पनि पार्टीको महाधिवेशनमा भने कुनै पदमा उम्मेदवारी नदिने दाबी गरिन् । ती नेताले सुमनाको भनाइ उधृत गर्दै खबरहबसँग भने, ‘म महाधिवेशनमा कुनै पदको उम्मेदवार हैन । म संसदीय दलमा बसेर काम गर्न चाहन्छु । तर, मैले संसदीय दलको जिम्मेवारी दिनू भनेर राजीनामा दिएको होइन ।’
सभापति रविको सांसद पद निलम्बनमा परेपछि रास्वपामा अहिले संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको जिम्मेवारी सम्हालेका छन् । स्रोतका अनुसार सभापति निलम्बनमा परेपछि सुमनाले दलको उपनेतामा दाबी गरेकी थिइन् र त्यसबारे पार्टीमा छलफलसमेत भएको थियो । तर, सभापति नै दलको नेताको जिम्मेवारीमा फर्कने आधारहरू बाँकी नै रहेकाले तत्कालै यो निर्णय गर्न उचित नहुने भन्दै रास्वपा पछि हटेको थियो ।
पछिल्लो समय सुमनाले रास्वपा छाड्न लागेको हल्ला आएको भन्दै उनले बैठकमा त्यसको खण्डन गरिन् । उनले भनिन्, ‘म पार्टीबाटै बिदा हुन लागे जसरी बाहिर भाष्य आएको छ, यो गलत छ । फागुनमा हुने महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने कुरा पनि यहाँहरूलाई राख्न चाहन्छु । हामीले सहकारी ठगको ट्याग चिर्नु छ । जनतालाई नयाँ पार्टीको भरोसा दिलाउनु छ । म यसका निम्ति काम गर्न तयार छु । सहमहामन्त्रीको जिम्मेवारी अरूलाई दिनुहोस्, अहिले म केन्द्रीय सदस्य र सांसदको भूमिकाका रहन चाहन्छु । मैले सभापतिलाई पनि यही कुरा भनेकी छु ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुमनाले आफू अन्य पार्टीमा जाने वा बालेन्द्र शाहसँग मिलेर पार्टी खोल्ने हल्ला नियोजित र गलत भएको बताइन् ।

सुमनबारे नेताहरूको टिप्पणी
सहमहामन्त्रीबाट राजीनामा दिने सुमनाको निर्णयबाट रास्वपाका धेरै नेताहरू आश्चर्यचकित बनेका छन् । बूढानीलकण्ठ मावि र विदेशमा पढेकी सुमना व्यवस्थापन विषयकी अब्बल विद्यार्थी हुन् । रास्वपाका एक नेताले खबरहबसँग भने, ‘तर, उहाँसँग समुदायमा भिजेर काम गरेको लामो अनुभव छैन । ०७२ को भूकम्पका बेला समुदायमा उल्लेखनीय कामहरू गरे पनि जनतासँग जोडिएको लामो अनुभव छैन । व्यवस्थापनको विद्यार्थी भएकाले उहाँ तत्कालैै रिजल्ट खोज्नुहुन्छ । उहाँको अपेक्षा पार्टीले तत्काल नतिजा दिने काम गरोस् भन्ने छ ।’
रास्वपाका ती नेता थप्छन् , ‘राजनीतिमा तत्कालै परिणामको आश गर्नु हुँदैन । पार्टी स्थापना भएको दुई वर्षमै पुस्तान्तरण गर्दा हाम्रो संस्थागत संरचनाले धान्दैन । किनकि लामो इतिहास बोकेका ठूला दलहरुजस्तो हाम्रो पार्टी संस्थागत बनिसकेको अवस्था होइन ।’
याे पनि…
प्रतिक्रिया