मौलिकता गुमाएको बारपाक « Khabarhub

मौलिकता गुमाएको बारपाक


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गोरखाः गोरखा भूकम्पको इपिसेन्टर बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवं पर्यटकीय गाउँ हो । जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरुपमा जोडिएर रहेका एक हजार तीन सयभन्दा बढी घर बारपाकको मौलिकता र चिनारी थियो ।

२०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले पर्यटकीय सुन्दर गाउँ बारपाक क्षणभरमा तहसनहस बन्यो । गाउँका कुनै घर बाँकी रहेनन् । भूकम्पबाट बारपाक गाउँमा मात्रै ७२ जनाले ज्यान गुमाए ।

भूकम्प गएको शुक्रबार १० वर्ष पूरा भएको छ । पुनःनिर्माण सकिएसँगै बारपाकवासीले भूकम्पको पीडा पनि भुल्दै गएका छन् । पुराना शैलीमा घर नबने पनि बारपाक गाउँमा आधुनिक शैलीका घर बनिसकेका छन् । अर्थात् भूकम्पपछिको पुनः निर्माण लगभग सकिएको छ । भूकम्पपछि बारपाकमा अहिले एक हजार ४५० भन्दा बढी घर पुनः निर्माण भइसकेका छन् ।

‘परम्परागत शैलीका घर त बनाइएनन् तर आधुनिक शैलीका घर लगभग बनिसकेका छन्’, स्थानीयवासी सुशीला घलेले भनिन्, ‘भूकम्पको एकै झड्काबाट ठूलो क्षति ब्यहोरेका बारपाकीले फेरि पुरानै शैलीको ढुङ्गैढुङ्गा र काठले बनेका परम्परागत मौलिकता बोकेका घर बनाउने आँट भने गर्न सकेनन् ।’

भूकम्पपछिको पुनःनिर्माणले बारपाकको स्वरुप र पहिचान बदलिदिएको छ । एउटा ठूलो सुन्दर गाउँ अहिले शहर जस्तै बनेको छ । ‘हामीलाई बारपाकको चिनारी दिने घर बनाएर बस्न मन नभएको होइन,’ उनले भनिन्, ‘तर सुरक्षित हुँदैन भन्ने अनूभूति बारपाकीले गरेपछि आधुनिक शैलीका घर बनाउनुको कुनै विकल्प रहेन ।’

बारपाकमा निजी आवास पुनः निर्माण लगभग सकिएको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकका वडाध्यक्ष घनबहादुर घले बताए । ‘भूकम्पपछि यहाँका मौलिक चिनारी भने बचाउन सकिएन,’ उनले भने, ‘बारपाक त बारपाक नै हो तर पुरानो मौलिक बारपाक होइन, अहिले नयाँ र आधुनिक बारपाक बन्यो ।’

पुराना मौलिकता बोकेका घर नबने पनि बारपाकको सुन्दरता भने हराएको छैन । मौलिक पहिचान बोकेको लाहुरेको गाउँ बारपाकलाई गोरखा भूकम्पपछि ‘इपिसेन्टर बारपाक’भनेर पनि चिनिने गरेको छ । यसले बारपाकलाई फरक चिनारी दिएको छ ।

दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीय जोड दिन्छन् ।

बारपाक केन्द्रविन्दु भएर गएको गोरखा भूकम्पबाट गोरखामा मात्र ४७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखासहित १४ जिल्ला अतिप्रभावित बने भने देशभरका ३१ जिल्लामा गोरखा भूकम्पले क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ४३ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला